कसैले भनेको छ– प्राकृतिकरूपमा फुलेको फूलहरू स्वयंमा कला होइनन् । जब कुनै पारखीले फूलको फोटोग्राफी क्यानभासमा उतार्छ तब त्यो कला बन्दछ ।

प्रकाश तिवारी

दार्शनिक जोन स्टुआर्ट मिल विज्ञान र कला एक आपसमा आधारित हुन्छ भन्ने मान्यता राख्थे । उनको भनाइ थियो– ‘विज्ञानले अनुसन्धान गरी तथ्य एकत्र पार्छ, नयाँ कुरा बताउँछ । तर स्वयं निर्णय लिँदैन । निर्णय लिने काम कलाले गर्छ । त्यो कसरी हुन्छ ? भन्ने बताउने कामचाहिँ विज्ञानको हो ।’

मानवशास्त्री मलिनोवोस्की भन्थे– ‘कल्चर इज द निगोसियसन अफ ह्युमन विथ इन्भाएरामेण्ट । अर्थात् संस्कृति मानिसले आफ्नो व्यक्तिगत तथा जैविक आवश्यकता पूर्तिको लागि वातावरणसँग गरेको सम्झौताको परिणम हो ।’

प्राचीन ग्रीकमा जन्मिएका हेरोडट्स जसलाई फादर अफ हिस्ट्री पनि भन्ने गरिन्छ, उनले आफ्नो समयमा पचासथरि मानव समाज वा समूहसँग सम्पर्क गरी उनीहरूको जिवनशैली, भाषा, खानपान, परम्परा, धर्म, संस्कृति, पहिरन, प्रकृति र मानवबीचको अन्तर्सम्बन्धबारे गहन अध्ययन गरेका थिए ।

यिनीपछिका अर्का मानवशास्त्री डेमोक्रिटसले मानव, चराचुरुङ्गी र जनावरबीच तुलनात्मक अध्ययन गर्दै भनेका थिए – मानव संस्कृृतिको उत्पत्ति चराचुरुङ्गीको अनुकरणबाट भएको हो ।

उनको मत थियो– मानिसले उन्ने तथा बुन्ने कला माकुराबाट, घर बनाउने कला भँगेरा तथा गौंथलीबाट, संगीत नाइटेङ्गलबाट र नाँच्न–गाउन मयूर, हाँसबाट सिकेको हो ।

यस अर्थमा प्रकृति मानवजगतको महान् शिक्षकका अतिरिक्त कलाको सर्वश्रेष्ठ गुरु हो । कला मानवजातिले प्रकृतिबाट प्राप्त गरेको अनुपम सौजन्य पनि हो ।

जबदेखि चेतनशील प्राणीका रूपमा पृथ्वीमा मानजातिको अविर्भाव भयो, त्यहीँदेखि उसले प्रकृतिबाट कला सृजनाको गुरु दीक्षा पाउन थालेको अनुमान लगाउन सकिन्छ । आदिम मानवले चरीको चिरबिर, झरनाको झरझर, खोलाको कलकलबाट मोहित हुँदै प्रिति गीत गाउन सुरु गरेको हुनुपर्छ । फूलका तरेलीहरूमा भुँनभुनाउने भँवराहरूले कथेको पद्यरसमा डुबुल्किमार्दै कविता गुन्गुनाउन थालेको हुनुपर्छ । अनि प्रकृतिको छातिमा कोरिएको अमूर्त चित्र अवलोकन गर्दै चित्रकारिता सुरु गर्नुको अलवा पन्छीको उडानबाट मोहित हुँदै आफू पनि त्यसरी नै उड्ने रहर सजाएको हुनुपर्छ ।

मनोरञ्जनको पचूर साधन उपलब्ध नभएको त्यो युगमा पूर्खाहरूले आआफ्ना आस्था र भूगोलसापेक्ष पर्व, उत्सव, आदिका माध्यमबाट कला–संस्कृतिको सेतू जोड्न सुरु गरे । जन्मको खुशीयाली या मृत्युको शोक, वनमा घाँस–दाउरा गर्दा या खेतमा धान रोप्दा, जीवनका हरेक पहलुहरूमा कला मानवीय जीवनमा घुलनसिल हुँदै गयो । तीज–तिहार, माघी–फागु, गौरा, ल्होसार, छठ आदि आस्था परम्परा अनुसारका विविध चाडपर्वहरू कलाको इन्द्रेणी रङ्गमा रङ्गीन थाले ।

आजको व्यस्त मानिस कोलाहल र भीडभाडबाट मुक्ति खोज्दै प्रकृतिको मनोरम काखमा बास बस्न जानु सामान्य भैसकेको छ । ऊ मानसिक वा शारीरिक थकाइ भगाउन गीत सुसेल्छ । प्रेरक पुस्तक पढ्छ । सिनेमा घर धाउँछ । अमूक कविता कोर्दै मन बहलाउँछ ।

मूलतः कलालाई मूर्त (आँखाले देखेर अनुभव गर्न सकिने सौन्दर्यानुभूतिमा आधारित) र अमूर्त (कान वा श्रवण इन्द्रियबाट मात्र ग्रहण गर्न सकिने सौन्दर्यानुभूतिमा आधारित) गरी दुई भागमा बाँडेको पाइन्छ । मोटोमा भन्नुपर्दा– रङ्ग, कूची, काष्ठकला, मूर्तिकला, सङ्गीत, साहित्य, अभिनय आदिका माध्यमबाट आफूभित्रका भावहरू अभिव्यक्त गर्ने तरिका नै कला हो । कलामा अप्रियलाई प्रिय र अग्राह्यलाई ग्राह्य बनाउने अलौकिक दक्षता हुन्छ ।

पाश्चात्य साहित्यकारहरूले कलाबारे रोचक मतहरू दिएका छन् । होमरले ‘एलिकसको ढाल’ मा इलुजन अफ आर्टबारे भनेका थिए, ‘भावुकता र कल्पनाको बेसी उडानले कला–साहित्यमा वस्तुतः अयथार्थ दृष्टिगोचर हुने भए तापनि कतिपय कला साहित्यले यथार्थभन्दा बढ्ता प्रभाव पार्न सफल हुन्छन् ।’

दार्शनिक प्लेटोको भनाइ थियो, ‘कविलाई राज्यको ढोकाभन्दा बाहिरै राख्नु पर्दछ । कवि साहित्यकारहरू आफ्ना रचनाहरु आवेग र उत्तेजनायुक्त क्षणमा रच्ने गर्दछन् जसले समाजमा हरदम नकारात्मक उत्तेजना फैलाउने त्रास रहन्छ ।’

सुकरातको मान्यता थियो, ‘कविता र कलाको सिर्जना विवेकमय क्षणमा हुनै सक्दैन । उत्तेजित, उत्प्रेरित र अर्धचेतनको अवस्थामा रचिने भएकाले त्यो मानव चेतना र नियन्त्रण बाहिरको मानसिक अवस्थाको उपज हो ।’

मनोविज्ञानको क्षेत्र हुँदै समकालीन कला–साहित्यमा प्रभाव जमाउन सफल सिग्मण्ड फ्रायड पनि के कम ! उनले पनि भनिदिए, ‘कवि कलाकारहरू एक किसिमका मनोरोगी हुन् जो आफ्ना अपूर्ण दमित यौन कामनाहरूलाई मूर्तरूप दिन कल्पनाको साहारा लिने गर्दछन् ।’

पश्चिम विज्ञानको क्षेत्रमा अग्रणी रहेकोमा असहमति जनाउनुपर्ने कारण छैन तर पूर्व आदिमकालदेखि नै ज्ञानको क्षेत्रमा अपूर्व रह्यो । जर्मन स्कलर म्याक्समूलरले ऋग्वेद संसारकै पहिलो पुस्तक हो भन्ने दावा पेश गर्नु यसको प्रमाण हो । ऋग्वेद त्यो युगमा लिपिबद्ध गरिएको ज्ञान, इतिहास र साहित्यको अतुलनीय दस्तावेज हो । समकालीन विश्वमा सर्वप्रिय बन्दै गएको योग विज्ञानको चर्चा सबैभन्दा पहिले ऋग्वेदमा गरिएको थियो ।

योग प्रकृतिको अनुकरण गर्ने क्रममा पूर्वले अन्वेषण गरेको एक विशिष्ठ आविष्कार वा कला हो । शरीरलाई मनसँग जोड्ने यस अद्भुत कलाका अन्वेषक महर्षि पतन्जली थिए । जसमा एउटा साधक विभिन्न चरण हुँदै समाधिको अवस्थासम्म पुग्नसक्ने परिकल्पना गरिएको छ । ‘इन्दू सभ्यता’को उदयसँगै आजभन्दा करिब तीनदेखि पाँच हजार वर्ष पहिले योग विज्ञानको आविष्कार भएको भन्न सकिन्छ । श्रीकृष्णले प्रिय अर्जुनलाई आत्मबोध र संयममार्फत् मानवीय अहमलाई तिलाञ्जली दिन सकिने बताएका थिए । रत्नाकर नामले चिनिने खुङ्खार डाँकु, ऋषि वाल्मीकि बन्नुअघि कठोर समाधिमा लिन थियो ।

हामी अग्रणी पुर्खाका सन्तान हौँ । इतिहास साक्षी छ, धेरै देश उपनिवेशवादको चङ्गुलमा फसेका बेला हामीले देशलाई फिरङ्गीहरूबाट स्वतन्त्र राख्ने बहादुरीपूर्ण कर्म गरेर देखायौँ । महर्षि वेदव्यासले हाम्रै भीर–पहरा, कुना–कन्दरा र गुफाहरूमा बसी वेद, महाभारतजस्ता अमर साहित्य विश्वसामु उपहार दिए ।

अन्वेषकहरू कहिल्यै अररूको पछि लागेनन् । जीवन जिउने नियम वा सूत्र खुद् बनाए । तथाकथित मूलधारसँग पौँठेजोरी खेल्दै नयाँ धारको सिर्जना गरे । स्वाभिमानीहरू अरूको अनुयायी भएर होइन अरूलाई आफ्नो अनुगामी बनाएर बाँच्छन् । अरूले तयार पारिदिएको नियम वा सूत्रलाई कण्ठग्र गर्ने ट्रेण्ड वा रुझान कमजोर वा दास मनोवृत्तिको उदाहरण हो भन्ने तिनीहरूको मान्यता हुन्छ ।

बाटो त्यो मात्र होइन जहाँबाट विजेता हिँडेको थियो । बाटो त्यो पनि हो, जुन गोरेटोबाट हामी हिँडिरहेका छौँ ! कोही कसैले यात्रा नगरेको ‘अछूत’ भूमि भएर हिँड्नुको आनन्द कोलाहलपूर्ण वातावरणमा यात्रा गर्नुमाभन्दा लाख गुणा आनन्ददायी हुन्छ ।

त्यसैले, आउनुहोस् हामी त्यस्तो तिलस्मी चित्र बनाऔँ जो आजसम्म कसैले नकोरेको होस् ।