निर्मल अर्याल

वि.सं २०४१ सालको शरद ऋतुको एक उषाकालीन सुरूवातसँगै यस पृथ्वीमा जन्म लिने मानिसहरूको सूचीमा मेरो नाम पनि दर्ता भयो । म यस संसारमा पदार्पित भएकाले पृथ्वीको बोझ बढ्यो या आयु घट्यो, त्यो त मलाई अत्तोपत्तो छैन तर एउटा कुरा शाश्वत् छ, जबदेखि म यहाँ अवतरित भएको छु, तबदेखि नै रूग्ण छु । आफैंमा निर्लज्ज छु ।

मेरा ईच्छा आकांक्षाहरू दिनानुदिन बलात्कृत हुन्छन्, हृदयका कुण्ठाहरूको घनीभूत संघर्षले मेरो हृदय खुल्ला कुरुक्षेत्र भएको छ, जहाँ दिनहुँ मेरा हजारौं–हजार सदिच्छाहरूको हठात् घाँटी निमोठिन्छ, सुन्दर सपनाहरूको भ्रुण हत्या गरिन्छ । मेरो मन–मस्तिष्कका सुकोमल तन्तुहरूसमेत बेकामका भएका छन् । आखिर लामो त्याग, तपस्यापछि पाइने यस मानव जीवनमा पनि किन म यसरी क्षीण भएको छु ? अनि किन म आफ्नो अस्तित्व आफैँ गुमाउँदैछु ? उत्तर एउटै छ, किनकि ममाथि त धेरै अघिदेखि अर्कैले हैकम जमाएको छ ।

म त नाममा मात्रै सीमित छु । मलाई त सेकेण्ड सेकेण्ड मेरो मनले फनफनी घुमाएको छ । ‘मन’ यो शब्द कति सहज छ, यसको शाब्दिक रूपलाई त म एक औंलाले नै छोप्न सक्छु तर यसको गौण अस्तित्वलाई म जस्तो ‘नाथे’ ले त के तीन त्रिलोक चौध भुवन कसैले आजका मितिसम्म पनि बुझ्न सकेको छैन । दाबीका साथ भन्छु, संसारमा सबैभन्दा अस्थिर वस्तु मान्छेको बेचेन मन नै हो, जसको माखेसाङ्लो बुझिनसक्नु छ । मनका अतिरिक्त संसारमा अन्य विषयमा विरलै भनिएको होला, लेखिएको होला र विरलै भनिनेछ, लेखिनेछ ।

वास्तवमै अपरम्पार छ यो मन । निश्चय नै, यसको गति प्रकाशको भन्दा पनि कयौं गुणा तीव्र छ । यसले मलाई एकैछिन तराईको समथर भू–भागमा थ्याच्च थुपार्छ अनि फेरि लगत्तै बेजोडसँग हिमाली भेगमा उफार्छ । मनको बाँधलाई बाँध्न नसक्दाको परिणाम, आठ रेक्टर स्केल बराबरको महाभुकम्पको क्षति धेरैपटक यस मानवरुपी चोलामा व्यहोरी सकेको छु, थाहा छैन अझै कति व्यहोर्नु पर्ने हो । मनको अशान्त जलनपछिको व्यग्र छटपटाहटलाई म ज्वालामुखी विष्फोटपछि आफ्नो अन्त्यहीन गन्तव्य खोज्दै धर्तीको सतहमा देखापर्ने लाभाको मुश्लोसँग दाँज्दछु । मेरो मनले ममा कहिलेकाहीँ यस्तो भावना जागृत गराइदिन्छ तब लाग्छ कि म आकाशको तारा झारेर धर्तीमा फुटबल खेल्न सक्छु । त्यसैगरी, यसले ममा कहिले यस्तो हिनताबोध सिर्जना गरिदिन्छ तब लाग्छ आकाशको ताराको त कुरा नै छोडिदिउँ, मसँग धर्तीको फूललाई स्पर्श गर्ने सामान्य ल्याकत समेत छैन । त्यसैले भनिएको होला, ‘यो मनको के भर हुन्छ, बहकिने मात्रै डर हुन्छ…..’, यो मन नै हो जसले मलाई कहिले ‘द्यौः शान्ति, पृथ्वी शान्ति’ को उद्घोष सुनाउँछ त कहिले मभित्र भीषण बम र बारुदको वर्षा गरिदिन्छ ।

जब म महाभारत र रामायण पढेर मेरो रक्तकोषमा रहेका धार्मिक अल्पताका जीवाणुहरू मारी आध्यात्मिक खुराक प्राप्त गर्दछु, तब मेरो मनले मलाई पाश्चात्य संस्कृतितर्फ डोर्याउँछ, अनि म नचाहँदा नचाहँदै डिस्को र बारका ढोका ढक्ढक्याउन पुग्छु । यसर्थ मेरा मनले गर्दा नै यहाँ खाँटी सिक्का खोटो सिक्काका कारण विस्थापित भएको छ । मनभित्र उब्जिने तुच्छ तृष्णाका कारण मबाट जान अन्जानमा भएका गल्तीहरूको सूची सम्झने हो भने अहिले पनि आत्मालोचनासहित सिङ्गो संसारमा नै फगत अनन्तः सन्नाटा मात्र देख्छु, कवि शिरोमणि लेखनाथ पौडेलले त्यसै कहाँ भनेका हुन् र, ‘तृष्णाको तुच्छ जालो मनभित्र नभए जे मिल्यो सो उज्यालो ’ ।

के म र मेरो मन आपसी सहकार्यसहित समानान्तर रूपमा अघि बढ्न सक्दैनौं ? हामीमा किन यस्तो धुव्रीकरण छाएको छ ? हामी किन विपरीत खेमामा विभाजित हुँदैछौँ ? किन मन मेरो कुरा बुझ्न सक्दैन, अनि म पनि उसको कुरा बुझ्न सक्दिनँ ? यदि मन र म हातेमालो गरी अगाडि बढ्यौं भने मानवजीवनमा हामी अर्को अविस्मरणीय अध्याय थप्न सक्छौं । अन्यथा म सधैंका लागि शून्यमा विलीन हुनेछु, बेकम्मा अनि अर्थहीन हुनेछु ।

गीतकार आनन्द अधिकारीका यी शब्दहरू यसै मेरो मस्तिष्कमा फलामका अक्षर भएर रहेका होइनन्,

मन रहे पो माया प्रिती
हाँस खेल, हिरा मोती
मनै मरे के को तिर्सना
…………………………
मन फुले पो हरियाली
पोहोर साल यसपाली
मनै झरे के को तिर्सना

त्यसैले म अब सदा मेरो र मेरो मनको मेलको कामना गरिरहन्छु, निरन्तर गरिरहन्छु ।