राम, सीता, गौतम बुद्ध, ऋषि, महर्षी, अरनिको, भृकुटी, पृथ्वीनारायण शाह आदिको सुन्दर भूमिमा रमेका छौँ, हामी । सानदार जगमा उभिएका छौँ । सगरमाथाको फेदमा छौँ हामी । हाम्रो जस्तो पृष्ठभूमि सायद अरुको छ । मातृभूमि अरुको छैन । हामी जन्मदै स्वतन्त्र छौँ । गर्व गर्न लायकका छौँ हामी । तर अहिले अक्सर सुनिने वाक्य हो- `देश खत्तम भयो । कोही छैन जोगाउने ।´ तर यथार्थमा कुरा त्यसो होइन् भन्ने मलाई लाग्छ । हल्लाको पछि नलाग्न अनुरोध गर्छु ।

यो एकाइसौँ शताब्दीको यूग हो । विज्ञान र प्रविधिको जमना । डा. विश्वनाथको रचना र शिशिर योगीको स्वरको गीतले भन्छ- यो देशमा म एउटा मानिस खोजी रहेछु। यो गीतले भनेको मानिसहरू अहिले आएर  फेला परेका छन् । अहिले देशका एक होइन् धेरै रत्नहरुको तीव्र खोजी र चर्चा हुन् थालेको छ । सायद सामाजिक संजालको सर्वसुलभता यसको रहश्यको उद्घाटन गर्ने तत्व हुन् सक्छ ।

विवेक बिन्द्राले कुलमान घिसिङ, अनुराधा कोइराला, उत्तम सन्जेल, सन्दुक रुइत र महावीर पुनको भिडियो बनाएर युट्युबबाट प्रशारण गरेका छन् जुन अत्यन्तै राम्रो, लोकप्रिय, प्रेरणादायी र सान्दर्भिक रह्यो । देश परिवर्तनको हस्तीको रुपको उनको व्याख्या वास्तविक छ । एक भारतीय नागरिकले यस्तो काम गरे तर हामी भने कस्तुरीले झै `बिना´ खोजिरहेका छौँ । योभन्दा दु:खको कुरा के हुन्छ ?

प्रकाश पाण्डे

लोडसेडिङ अन्त्य गरेका कुलमान घिसिङलाई अहिले विद्युतमान, प्रकाशवान, राष्ट्रज्योति आदि उपमाले चिनिन्छ ।छिसिक्क उनको विरोधमा बोल्यो भने सडक तातिहाल्छ, नतातोस् पनि किन ? जबकि उनले नेपालीहरुलाई अँध्यारोबाट उज्यालोतर्फ ल्याउने महान् काम गरे । त्यो कुनै माइकलालले गर्न सकेको थिएन् ।सबै खाइकलाल मात्र थिए । भौतिक रुपमा तमसोमा जोतिर्गमय (अँध्यारोबाट उज्यालोतर्फ) तिर कुलमान घिसिङले ल्याए भने समता स्कुल खोलेर भित्रि ज्ञानको उज्यालो शैक्षिक अभियान्ता उत्तम संजेलले समता स्कुलमार्फत् दिइरहेका छन् । अत्यन्तै न्यून शूल्कमा स्तरीय र गुणस्तरीय शिक्षा दिने असम्भव जस्तै लाग्ने महान् कार्य गरेर नेपाली गरिब जनताका छोराछोरीहरुलाई उनले उज्यालो बाटो देखाएका छन् ।

अहिले इण्डियाले नेपालको कालापानी क्षेत्रलाई आफ्नो नक्सामा राखेर नयाँ नक्सा सार्वजनिक गरेपछि तीव्र विरोध भइरहेको अवस्थामा होस् या सुस्ता या टनकपुरको होस् या देशभरकै सिमानाको बारे उनी जङ्गे पिलर झैँ उभिन्छन् ।अहिले सीमाविद् बुद्धिनारायण श्रेष्ठले सप्रमाण कालापानी क्षेत्र नेपाली भूमि हो भनेर दह्रो कुरा गरेका छन् । उनी जहिले पनि राष्ट्र रेखा कोर्ने, सीमा सुरक्षामा चिन्ता र चिन्तन गर्नमा व्यस्त हुन्छन् । उनलाई मेचीदेखि महाकाली र नेपालका प्रत्येक डाँडाकाँडाको प्रत्यक्ष ज्ञान छ । उनी भनिरहेका छ्न्, `निर्भीक रुपमा, कुटनीतिक कुरा गर । अङ्ग्रेजले छोड्दाको नक्सामा नेपाली भूभाग खोज र फिर्ता ल्याऊ ।´ यस्ता रत्नलाई हामीले चिन्न सकेका छैनौँ । यो अर्को दु:खको कुरा हो ।

अर्का नेपालाका रत्न हुन् नेत्रविशेषज्ञ डा. सन्दूक रुइत । लाखौं दृष्टिविहिनहरुलाई दृष्टि दिएर उनी दिव्यद्रष्टा भएका छन् । राष्ट्रचक्षु भएका छन् । नेपाललाई संसारमा गर्व गर्न लायक बनाएका छन् । आँखाको नानी प्रत्यारोपण र निकासी गरेर आफ्नो उमेर ढल्के पनि पर्वाह नगरी देश समृद्ध बनाउन मरिमेटेर लागि परेका छन् । चिकित्साशास्त्रतर्फको नोबेल प्राइज दिँदा फरक नपर्ने रत्न । हुन पनि उनी अमेरिकी नागरिक हुँदा हुन त नोवेल पुरस्कार पाइसक्थे । यसरी मानिसहरू खोजी गर्दा यस्तो लाग्छ, कसले भन्न सक्छ हामीकहाँ भ्रष्ट र कामचोर मात्र छन् ? तल्काल भ्रम छर्ने काम बन्द गरियोस् । हामीकहाँ हजारौं बहुमूल्य रत्नहरु छन् । जसको अब खोजी गरौँ ।

अर्का व्यक्तित्व हुन्, डा. गोविन्द के.सी. ।उनी प्राविधिकभन्दा बढी सामाजिक र शैक्षिक अभियान्ता हुन् भन्दा अतियुक्ति हुँदैन । शिक्षा तथा चिकित्सा शिक्षालाई गरिबको पहुँचसम्म पुर्‍याउन अहोरात्र खटिरहने सत्याग्रही, अनशनकारीको नामले चिनिएका उनी नेपालका अन्ना हजारे हुन् । एउटा गाउँको गरिब मेधावी विद्यार्थीले डाक्टर पढ्न पाओस् र गाउँमै स्तरीय स्वास्थ्य उपचार होस् भनेर सधैँ लागिपरिरहने केसी ज्यानको पनि पर्वाह नगरी खटिरहन्छ । उनी मेडिकल जगतका चम्किलो तारा मात्र होइन गरिबको मनका ढुक्ढुकी बनेका छन् । आशाका किरण हुन् उनी । स्वच्छ छवि, त्याग, निष्ठा र इमान्दारिताका धनी केसीलाई देशले चिन्नुपर्छ ।एक दिन अवश्य चिन्छ ।

आफूलाई सामाजिक कार्यकर्ता भन्न रुचाउने ग्रामीण भेगका वायरलेस पद्धति, टेलिमेडिसिन र शिक्षा विकासका संवाहक र उस्ताद हुन् महावीर पुन । म्यागासेसी पुरस्कारले उनलाई खोज्दै आयो ।अहिले त झन् उनले राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरेर नेपालको विज्ञान र प्रविधिको विकासमा ज्यान दिएर लागेका छन् । सरकारको  भन्दा ठूलो जिम्मेवारी लिएका छन् ।

यहाँ वैज्ञानिक उदय राज खनाल, इन्जिनियर कपिल पौडेल, कार्डियोलोजिस्ट डा. कुमुद धिताल, पहिलो नेपाली सेटलाइट मेकर अभास मास्के, शिक्षाविद् कोइराला, वाग्ले र माथेमा, अर्थविद स्वार्णिम वाग्लेजस्ता हस्तीहरु  छन् । यही अनुराधा कोइराला, पुष्पा बस्नेतहरुले आफूलाई त्यागेर मानवतामा सुम्पेका छन् । न्याय सम्पादनमा शुशीला कार्कीहरु पनि त नभएका होइनन् यहाँ । बत्तीको उज्यालो नहेरेर बत्तीमुनिको अँध्यारो मात्र हेर्ने हाम्रो बानीले गर्दा गलत निष्कर्ष निकाल्न खोज्दैछौँ । यथार्थ त्यस्तो होइन् । निराश हुनुपर्ने बेला यो होइन यो त उनीहरुको निष्ठा, त्याग, सेवा र सीपको अनुकरण र अनुसरण गर्नुपर्ने बेलाचाहिँ पक्कै हो ।

अर्को व्यक्तित्व हुन् वरिष्ठ श्रम अधिकृत प्रेम प्रसाद सन्जेल । गरिब शोषित र पीडित नेपालीका छोराछोरीलाई न्याय दिलाउने र बाटो देखाउने द्रष्टा हुन उनी । आफ्नो कर्मचारी प्रशासनलाई भ्रष्टाचार मुक्त बनाउन ज्यानको बाजी थापेर लागि परेका छन् । नेपाली श्रमजीवीहरुलाई न्याय दिलाएर देशको कर्मचारी प्रशासनको एउटा सानदार रोडमोडलको रुपमा उभिएका छन् । अत्यन्त अनुकरणीय व्यक्तित्व हुन् उनी । शुद्ध आचरण, कुशल नेतृत्व र सत्यपूर्ण निर्णय क्षमताले उनी संसारभर चर्चामा छन् ।

मदन राई कृषि प्रणालीको रुपान्तरणमा (अर्गानिक खेति) लागिपरिरहेका छन् । प्राकृतिक र वैज्ञानिक खेति गर्न प्रेरित गर्छन् । एकछिन चुप लागेर बस्तैनन् । देशका गहना हुन् । रासायनीकरणले निल्न लागेको बेला बचाउन लागिपरेका छन् । मरिमेटेका छन् । गाउँघरमा मदन राईहरु थुप्रो छन् । थुप्रै छन् उस्तादहरु । चर्चामात्र नभएको हो यति पनि इन्टरनेटले बल्लतल्ल ल्यायो । सलुट युट्युबलाई ।

संसारमा सबैभन्दा वैज्ञानिक पूर्वीय धर्म र दर्शनको जगमा छौँ, हामी । यो तपोभूमि तथा पवित्र योगभूमिमा विकासनन्दहरु जस्ता आध्यात्मिक गुरुहरु, जयप्रकाश अग्रवाल जस्ता विज्ञान र धर्मलाई जोड्ने मानवतावादी आध्यात्मिक प्रवचनकर्ताहरु थुप्रै छन् । तथापि `किन हामी यति धेरै नकारात्मक भयौँ ?´

विजयकुमार, दिलभूषण, राम, भूषण, टीकाराम र  रविहरु पनि त छन् यहाँ । सत्यतथ्य समाचारको लागि । जनतालाई जगाउनको लागि । रत्नको खोजी गर्नको लागि । मरिमेटेर लागिरहेछन् भरत जंगमहरु । मरिहत्ते गरिरहेछ्न् दिपेन्द्र कँडेल, देशकै लागि कराइरहेछन् थुप्रै ज्ञानेन्द्र शाही र प्रसाईँहरु ।

को कम छ यहाँ ? धुर्मुस सुन्तलीहरु बनाउछन् नयाँ एकीकृत मुसहर बस्तीहरु । र, कति हास्यास्पद छ यहाँ, त्यसैको उद्घाटन गर्छन् प्रचण्डहरु । हरे शिव !

रोगीका लागि भगवान जतिकै छन्- भगवान कोइरालाहरु । देशका अमूल्य रत्नहरु । गाउँ गाउँमा छन्- बिसेनगरचीहरु । खोजी गरौँ । रुन बन्द गरौँ । उल्टो कुरा बन्द गरौँ । बिग्रेका भत्केका कुराको चर्का स्वरहरु अन्त्य गरौँ । सराप्ने काम बन्द गरौँ । थियोडर रुजबेल्टले “आफू जहाँ छौँ त्यही रहेर पनि आफूसँग जे छ त्यसैबाट भए पनि कुनै न कुनै काम गर जुन तिमी गर्न सक्छौं ।” भन्नुभएको जस्तो चाहिँ तपाईँले गर्नै पर्छ । देशको चिन्ता छोडौँ ।आफ्नो चिन्तन गरौँ ।

वीपी, गणेशमान, पुष्पलाल, मदन भण्डारी, मनमोहनको जगमा उभिएका छौँ हामी । विशाल विरासत छ हाम्रो ।
अहिले राजनीतिमा पनि नभएका होइनन् रत्नहरु गीरी, रावल, थापा, शर्मा, मिश्र, भुसाल, सापकोटाहरु… ।

मिडियाले बाहिर ल्याउदैन तर हामी भने ल्याइरहन्छौँ । हेरेर अरुलाई कमजोर भन्दैछन् आफूलाई । तर हामी बलिया छौँ । हामी अब्बल छौँ । हामी रुपान्तरण हुदैछौँ । देश बद्लिदैछ ।खोज्नुपर्छ छन् यहाँ  देशको लागि मरिमेट्नेहरु…. अब छाप्नुपर्छ भरिनेगरी पत्रिकाका सारा पृष्ठहरु, टेलिभिजनका स्क्रीनहरु, अनलाइन न्यूजहरुमा यसरी नै लेख्नुपर्छ , बजाउनुपर्छ चौबीसै घण्टा रेडियोमा राष्ट्रमानहरु । दिनुपर्छ, सकारात्मक सन्देश ।