सामाजिक सञ्जालमा जब उहाँको अनुहार देख्छु तब केही लेख्न मन लाग्छ । लेख्न बस्छु पनि तर उहाँको त्यही अनुहारले, “तँ यो अनुहारका बारेमा लेख्न सक्तैनस्, नलेख्” भन्छ । अनि लेख्तिनँ ।

फेरि एक दुई दिनपछि उही अनुहार देख्छु र लेख्न मन लाग्छ । त्यो मैले देखेको अनुहार महिला प्राध्यापकको हो । अनुहार डढेको छ । यसरी डढेको छ कि अनुहारको आधा भागमा उपचारपछि पनि सेता धब्बाहरू देखिन्छन्, त्यहाँ छाला नपलाइसकेकाले होला अथवा बोसोका सेता दाग देखिएको होला । अनुहारको पूर्ण रूपले नडढेको छाला भने सामान्यभन्दा कालो छ । समग्रमा भन्दा झट्ट कसैले त्यो अनुहार हेर्यो भने डराउँछ । बच्चाबच्ची त कहालिन पनि सक्छन् । यति हुँदाहुँदै पनि उहाँ जीवित हुनुहुन्छ, हामी माझ बोल्नुहुन्छ । यही विद्रुप अनुहारलाई मैले रौद्र सौन्दर्य भनेको हो । यो कहालीलाग्दो अनुहार उहाँले गत भदौको तथाकथित जेन्जी आन्दोलनको क्रममा पाएको उपहार हो । उहाँ बाँच्नुभयो र यही सौन्दर्य हो । परिभाषाको अन्त्यमा यही भन्छु कि कहालीलाग्दो अनुहारभित्र बाँचेको त्यो सुन्दर जीवनलाई मैले रौद्रसौन्दर्य नामकरण गरेको हो ।

यी रौद्रसौन्दर्यका उदाहरण अनगिन्ती छन् । सशरीर पनि छन् र अशरीर पनि छन् । जसको मृत्यु भयो ती परिवारका प्रत्येक जीवित सदस्यका अनुहारमा एउटा कहालीलाग्दो रौद्ररूप छ भलै उहाँहरूको अनुहार डढेर बिग्रिएको भने छैन । मन डढेर कालो भएको छ र त्यो कालो मन प्रस्टिने अनुहार मलिन छ, एकोहोरो छ, कोदेखि हो थाहा छैन तर डराएको छ । अशरीर रौद्र सौन्दर्य व्यक्तिका मनमा मात्र होइन संस्थामा पनि छ । गीतकारले उत्तिकै गीत रचेका होइनन् नि- आमा ! म त खरानीबाट उठेर आएँ … भनेर । हो यहाँ पनि खरानीबाट उठेर आएको शरीर मात्र हो, बर्दी मात्र हो । संस्थाको संयुक्त मन भने अझै उठेको छैन । रौद्रसौन्दर्यको अर्को पाटोमा बाइपास गरिएका मृत्युहरू पनि छन् । त्यो आन्दोलनमा जेन्जी उमेर समूहको मात्र मृत्यु भएको थिएन । अरूको पनि भएको थियो । आगामी चुनावसम्म ती मृत विद्यार्थीहरूलाई सम्झिनेले पनि स्वार्थका लागि सम्झिने छन् तर विद्यार्थी उमेर पार भएका व्यक्तिको मृत्यु चुनावअघि नै बिर्सिसकेका छन् ।

अहिले देश चुनावमय भएको छ । उम्मेदवारहरू घर दैलामा आएका छन् तर मलाई मतदान गर्न मन छैन । सरकारले चुनावमा खटाउन सकिने वा नसकिने भन्ने गुगल फारम भर्न लगाएको थियो अस्ति । मैले नसकिने भनेर भरेँ । अब, मतदानमा मन किन मर्‍यो भन्नेतर्फ लाग्छु एकछिन । चुनाव भनेको चुन्नका लागि हो । दुई वा त्योभन्दा बढीबाट आफूलाई मनपर्ने एक छान्नु हो । अहिलेको चुनाव जेन्जी आन्दोलनका कारण भएको हो तर त्यो आन्दोलनको उद्देश्य चुनाव थिएन । विनाउद्देश्यको चुनावमा मतदान गर्न जान मलाई जाँगर लागेको छैन ।

यही विनाउद्देश्यको चुनाव लड्न भनेर अहिले घर दैलो आउने उम्मेदवारहरूलाई मैले अर्धमसाने उम्मेदवार भनेको हो किनकि भूत, प्रेत, मसानहरू पनि रुद्रकै अंसियार हुन् । अंसियार यसर्थमा पनि हुन् कि यिनीहरूलाई त झन् रुद्रले के गराउन लगाएका हुन् र किन लगाएका हुन् भन्ने पनि थाहा हुँदैन । थाहा हुने भए यी उम्मेदवारहरूले जेन्जी आन्दोलनको भयावह स्थिति आउन दिने नै थिएनन् । नहुनु पहिले नै भइसकेपछि फलानाले गर्दा यस्तो भएको हो भन्न त उम्मेदवार नै हुनुपर्दैन । बेफ्वाँकका मसानहरू !

दललाई विश्वास नगरेर, कोही स्वतन्त्र नै भए पनि अवश्य राम्रा होलान् भनेर पूर्ण सकारात्मक दृष्टिले हेर्दै जाँदा एकजना दार्शनिक उम्मेदवार देखिए चुनावी मैदानमा । दार्शनिक, वैज्ञानिक हुनु राम्रो कुरा हो तर उनले पनि के चाहिँ सिकाए भने मान्छे चाहे गुन्डा होस्, चाहे हत्यारा होस् वा चाहे दार्शनिक नै किन नहोस् उसले राजनीतिमा प्रवेश नगरी नेपालमा केही पनि गर्न सक्दैन । यो शिक्षा पनि गतिलो चाहिँ होइन मेरालागि ।

चुनावको अर्को पक्ष पनि चुन्नुमा नै सम्बन्धित छ । व्यक्ति चुन्नु र दल चुन्नुको विकल्प भएन यसपटक पनि । अर्को पनि विकल्प चाहिन्छ चुन्नलाई । त्यो हो, व्यवस्था । पहिलाका चुनावमा पनि मैले दल र व्यक्ति चुनेको हो । यसबाट मैले सोचेको कुरा देशले देखेन । अब फेरि पनि यिनै र यस्तैलाई चुन्नु भनेको म निराश हुनु नै हो । राजतन्त्र र गणतन्त्रमा एउटा चुन्न दिए पो चुन्न जानु ! धर्म निरपेक्ष र सापेक्षमा चुन्न दिए पो चुन्न जानु ! प्रदेश खारेज गर्ने वा कायम राख्ने भन्ने कुरामा चुन्न दिए पो चुन्न जानु ! शाकाहारीलाई माछा, खसी, कुखुरा, राँगाको विकल्प दिएर चुन्न लगाएपछि कुन चुन्नु ?

यहाँसम्म प्राय: नराम्रो मात्र लेखियो । लेख बढाउने हो भने पनि त्यस्तै हुने छाँटकाँट देखियो । आफ्नाहरूले नराम्रो सोच्छन् त्यसैले यो लेखको अन्त्य अब एक दुईवटा राम्रा वाक्य लेखेर गर्दैछु । सत्र हजार पनि नमरून् । पचहत्तर वा सय जना पनि नमरून् । देशमा अनुशासित एकताको मियो बनोस् । मियाको चारैतर्फ नैतिकवान् सभाहरूको गठन होस् । चुनाव नहोस् । अर्धमसानहरू दैलाछेउ देखा नपरून् । भ्रष्टाचारका कारण रौद्र सौन्दर्य पुन: देख्नु नपरोस् । श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून् !