ए मान्छे ! कुनैदिन धेरै पीडाले हिमाल छटपटियो भने के होला ! रिसले चूर भएर उत्तेजनाका साथ हिमालले धैर्यताको बाँध टुटाएको दिन के होला ? त्यति राम्रो हँसिलो चेहरा कालाम्य भयो भने के होला ?

                                                  ===                        

‘बिहान उठ्ने बितिक्कै हिमाल देख्न पाइयोस्’

गीतकार कालीप्रसाद रिजालका सुन्दर शब्द । तर विडम्बना अहिले यो अवसर दिनानुदिन घट्दो क्रममा छ । अर्थात् हिमाल संकटमा छ । हिमाल सुन्दर छ त शान्त छ । शान्त छ त विवेकी छ । सेतो छ त चम्किन्छ । चमकसँगै मुस्कुराउँछ । अटल छ त स्वाभिमानी छ । अनि अग्लो छ त सुरक्षा कवच बनेर उभिएको छ । हिमालको पवित्रतामा शंका गर्ने ठाउँ पनि छैन । यसको वैभवता भनिसाध्य पनि छैन । शीतल छ त काखमा हामीलाई राख्छ । ममतामयी छ त पग्लन्छ जल बनेर । अनि त्यही जलको सिँचनले हाम्रा अनाज फल्छन् खेतबारीमा । खुशीको आँसु बहाउँदै पग्लिँदा त हिमनदी बन्छन् । अनि तिनै नदीहरूबाट विद्युत उत्पादन हुन्छ । टुकी विस्थापित भएको पनि हिमालले गर्दा हो । 

उसलाई जति हेरेपनि टट्याउँन्नन् हाम्रा आँखा । सुन्दरताको पर्याय हिमाल घामको लालीसँगै मुस्कुराउँछ । मान्छेका गतिविधि टन्नै निहाल्छ हिमाल । आफ्ना वरिपरिका परिवेश मज्जैले हेर्छ हिमाल । आस्वाद्य मानेर कहिले । अनि दिक्क र निराश भएर कहिले । ऊ मान्छेका प्रगतिमा खुसाउँछ । मान्छेका दु:खमा दुःखी बन्छ । मान्छेको व्यस्तता देखेको छ उसले । समय अनुसार चल्नपर्छ भन्नेपनि बुझेको छ उसले । सबै सबै सन्दर्भहरूसँग परिचित छ । सबै सबैका क्रियाकलापहरू निहालेको छ । मान्छेका स्वार्थी प्रवृद्धि उसलाई मन पर्दैन । अनैतिक  र नैतिक मान्छेका भेद खोट्याउन पनि जान्दछ । 

ऊ प्रायः उत्तेजनामा आएको मलाई थाहा छैन । जति सुन्दर छ उति धेरै सौम्य । धेरै धैर्यधारक छ । ऊ मान्छेप्रति कहिल्यै दुष्मनी राख्दैन । सहनशील छ त मान्छेका ऊप्रतिका सबै किसिमका हर्कतहरू चुपचाप सहिदिन्छ । उसलाई थाहा छ, उसका छातीमा मान्छेले बियरका रित्ता क्यान र पोलिथिनका झोला लगायत प्रदूषणका कारक सामाग्रीहरू फालेको । यति मात्र होइन अक्सिजनका सिलिण्डर फाल्ने डम्पिङ साइट पनि बनेको छ उसको छाती । अनावश्यक फोहोरले उसका गाला पोतिएको राम्रै थाहा छ । उसको त्यो वैभवता र सुन्दरतामा दाग पारेको पनि चुपचाप सहेको छ । चिथरेको,कोपरेको त कत्ति हो कत्ति । तर पनि मान्छेका हरेक हर्कत सहेरै बस्छ हिमाल । उफ् ! मान्छेको छिचरो स्वभाव । के गरोस् हिमाल बिचरा । माया गर्छ प्राणीजगतलाई । झन् हामी मान्छेलाई त धेरै नै गर्छ माया । तर ऊप्रति हरहमेसा हामी मान्छे कृतघ्न बनिदिन्छौँ । 

समयका हरप्रहरमा मान्छेको साक्षी हो हिमाल । बिचरा हिमाल हामीमाथि कति माया वर्षाउँछ । तर हामी भने उसको संरक्षणको ख्याल गर्दैनौँ । कति नरमाइलो मानेको होला उसले हाम्रो व्यवहारमा ? कति चित्त दुखाएको होला हाम्रो स्वभावमा ? हामी हिमाललेझैँ एकटकले हेरिरहन सक्छौँ ? हिमाल जस्तै एकै ठाउँमा स्थिर भएर बस्न सक्छौँ ? कति टट्टाएको होला कान । कति बिझाएको होला आँखा, हाम्रा कर्कशपूर्ण गतिविधिले । हाम्रा स्वार्थका भोक तृप्तिको लालसाले । हाम्रै गोलार्धमा छ हिमाल । हाम्रै समीपमा छ अनादिकालदेखि । मूर्तिवत खडा । द्वन्द्वमै छ तर अघोषित । कुँडिएको छ तर मनमनै । भावविभोर भएर बसेको छ । सुक्सुकाउँछ कहिलेकाहीँ । हामी मान्छे उसको मनोविज्ञान बुझ्दैनौँ । या त बुझेर पनि हेपिबस्छौँ । ऊ कदापि हाम्रो दुष्मन होइन । तर हाम्रै गलत व्यवहार र आनीबानीका कारणले उसको अस्तित्व संकटमा छ । उसले संकेत गर्छ बेला बेला मानिसको चरित्र सुधार्न । तर हामी मान्छे पेलाहा प्रवृत्तिका । हेपाहा प्रवृत्तिका कहाँ मतलब । उसको चिन्ताको कसलाई बाल । 

कवि कालिदासले भनेको –हिमाल पृथ्वीको मेरुदण्ड हो रे । हामी मान्छे हौँ । धेरै विवेकशील र चेतनशील छौँ क्यार । त्यही भएर त मौका छोपी छोपी स्वार्थसिद्ध गर्न लागिहाल्छौँ । अरुको सुख सुविस्ताको छु मतलब । अरुले भनेको सुन्ने धैर्यता नै कहाँ । यसैले हाम्रो स्वभावसँग चिरपरिचित हिमाल किंकर्तव्यविमूढ छ । बिचरा हिमाल मान्छेकै प्रदूषणको शिकार बनेर खल्वाट भैसकेको छ । उसका आपादमस्तकमा मान्छेका क्रूर अप्राकृतिक गतिविधि हुने गरेकाले उसको मुस्कानमा कालो धब्बा देखिन थालिसकेको छ । कहिलेकाहीँ करुण स्वरमा गुहार माग्छ । तर मान्छे हामी किन सुन्थेउँ उसको गुहार । अनुभवजन्य परिवेशमा ठिंग उभिनु हिमालको दिनचर्या नै हो । वानिरा गिरीले भनेजस्तो –

खण्ड–खण्डमा भाँचिएको मान्छे

टुक्रा–टुक्रामा धुज्जिएको मान्छे 

क्रय–विक्रयमा बेचिएको मान्छे 

यस्तै मान्छे त हौँ हामी । अनि हिमालको चिन्ता किन गर्ने ! तर हिमाल गम्भीर भएको मैले पाएको छु । हिमाल धेरै दु:खी बनेको मैले बुझेको छु । हिमाल पटक पटक दु:खका आँसु बहाउँछ । पगालेर आफ्नै हृदय हिमनदीमा बहाउँछ । उसलाई साह्रै साह्रै मर्का परेको छ । यसैले आजकाल हिमाल अधीर छ । ती निर्जीवतुल्य आँखाले बताइरहेछन् । साँच्चै हिमालको मन रोएको छ । उसको चमकधमक घटेको छ । मान्छेका यावत व्यवहार देखेर –हो भन्या हिमाल निराश छ । हिमालको मनमा मिहिन कुराहरू सल्बलाइरहेको मैले पाएको छु । कस्तो अध्याँरो हुँदै गएको त्यो सफेद चाँदीको घेरा ! 

ए मान्छे ! कुनैदिन धेरै पीडाले हिमाल छटपटियो भने के होला ! रिसले चूर भएर उत्तेजनाका साथ हिमालले धैर्यताको बाँध टुटाएको दिन के होला ? त्यति राम्रो हँसिलो चेहरा कालाम्य भयो भने के होला ? त्यसैले अलिकति भए नि सरम त मानौँ हामी विवेकशील मान्छे । हिमालले वीभत्स मुहार पार्यो भने ? ए मान्छे ! किन तिमी अर्काको विषयमा दोष मात्रै उधिन्छौ ? कम्तीमा औदार्य बन्ने प्रयास त गर । ए मनुवा हो, जति गरे पनि तिमी जितेन्द्रिय बन्न सक्दैनौ क्यारे । कवासको स्वेत सिरकभित्र रमाइरहेको हिमाललाई बिच्काउने धृष्टता नगरे हुन्न ? हिमालको आँखामा घोर नैराश्यता छायो भने ! उसको शान्त मन खल्बलायो धेरै भने ! उसको आत्माभिमानको धरातलको जग बेजोडले हल्लियो भने ! मान्छेका गतिविधिले उसमा वितृष्णा जगायो भने ! थेगिन्छ तिम्रो जीवन ? जोगिन्छ बस्ती ? चल्छ सृष्टि ?

ए दुईजिब्रे मान्छे । एक पटक ऐनामा हेर त तिम्रो मुहार । के कसरी प्रतिबिम्बित भएर देखिनेछ । तिम्रो कुरुप मन र स्वार्थप्रेरित तन भएको मुखाकृति कस्तो देखिनेछ । हे मान्छे, तिम्रो त्यो उन्मादपूर्ण दिमाग के के ले भरिएको छ । तिम्रो त्यो कलुषित मनमा स्वार्थले किन घर गरिरहेको छ ? तिम्रो त्यो पसिनामा किन स्वार्थको नमिठो गन्ध आइरहेछ । तिमीले खोजेको सृष्टिको सिलसिला तुहाउन । मान्छेको अस्तित्वलाई दु:खद अवस्थामा पुर्याउन या अस्तित्व नामेट बनाउन । किन दिग्भ्रमित छौ तिमी । कस्तो दुर्बोध बनेको तिमी । कस्तो तिम्रो दृष्टिदोष । यस्तो दुःसाध्य काममा किन उद्यत तिमी । किन धीर हुन सक्दैनौ । हिमालको कञ्चन रंग आज किन धूमिल पार्दैछौ । थोरै पनि संवेदनशील हुनुपर्दैन ? कस्तो निर्मम हृदय तिम्रो । नचलाऊ हिमाल । निर्निमेष हेरिरहोस् । अटल रहिबसोस् । हिमाली क्रन्दनको सीमापार भयो भने ………..?

 जलवायु परिवर्तनको मुख्य दोषी को ? मान्छे । त्यो हिमालको मु्स्कान बदल्दिने मुख्य कारण पनि यही हो । हाम्रा आफ्नै क्रियाकलाप दोषी देखिए । वायुमण्डल प्रदुषित भो । जलवायु परिवर्तनमा हरितगृह ग्याँसको उत्सर्जन गरेर सुखी हुने लालसा पालेको मान्छे । अनि पृथ्वीको तापक्रम क्रमशः बढ्यो । विकसित देशले गरेको गल्तीको सजाय आज हामी पाउँदैछौँ । यसको मतलब हाम्रो हिमालले पाइरहेछ सजाय । भोलीको हाम्रो सुख खोज्ने क्रममा समेत हिमालले दु:ख पाइरहेछ । हिमाल भन्नु नै दृढताको अर्को नाम हो । उज्यालोको पर्यायवाची उज्यालो भावमा सधैँ मुस्कुराउँछ । 

हाम्रो आफ्नै पहिचान हो हिमाल । पर्वतारोहणसँग पनि त सम्बन्धित छ यो । भरिया र गाइडका आर्थिक उपार्जनको श्रोत बनेको हिमाल आरोहण पनि त जोडिएको छ यहाँ । विभिन्न देशका पर्यटकहरूको रोजाइको गन्तव्य पनि त हो हिमाल । विदेशी मुद्रा आर्जनको मुख्य श्रोत भन्न पनि मिल्छ । विश्वका चौध अग्ला हिमालमध्ये हाम्रै देशमा नौवटा छन् । तर हामी नेपाली मनुवालाई यतातिर सोच्ने फुर्सदै मिलेन । या मतलबै भएन । अति गर्नु अतिचार नगर्नु भन्नेकुराको विपरित व्यवहार छ प्रकृतिप्रति आजको मान्छेको । प्रकृतिका वैरीहरूको नजरबाट हिमाललाई जोगाउन जरुरी भैसकेको छ ।

जीवन हुन हिमाल चाहिन्छ । यसैभित्र छ मौलिकता । यसैमा छ प्राकृतिक सौन्दर्यता । यसैमा छ विदेशी तान्ने सामर्थ्य पनि । पूर्वीय दर्शन वा भनौँ धार्मिक महिमामा समेत चर्चा छ– भगवान शिवपार्वतीको वासस्थान हो हिमाल । हिमाल रमेको हेर्न ग्लोबल वार्मिङ् घट्नुपर्छ । मान्छेको चेत खुल्नुपर्छ । हिमालको छाती सफा राख्नुपर्छ । मन सफा भए, तन सफा भए, सबैकुरा सफा हुने हो । हे मान्छे ! तिमी रुद्री लगाऊ या विष्णुपुराण, कुरान पढ या गीता बाइबल । मस्तिष्क सफा भएन भने तिम्रो जपतपको अर्थ हुँदैन । असमन्जसमा पर्नु परेन मान्छे । हामी सुध्रिनु पर्यो । हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्यो । यो तीतोसत्य स्वीकार्नु पर्यो । अनि व्यवहारमा उतार्नुपर्यो । मान्छेले आफ्नो इज्जत राख्न जान्नुपर्यो । हामी मान्छेले पहिले जीवन बुझ्नुपर्यो । हाम्रो जीवनको अस्तित्व प्रकृतिको संरक्षणसँग जोडिएको छ भन्ने मान्नुपर्यो । भ्रममा किन पर्ने । प्रकृतिलाई स्वच्छ र सफा र सुन्दर रहन पाउने उसको अधिकारमा न्याय गर्नुपर्यो ।