बोधविक्रम अधिकारीले “दन्त्य कथा” शीर्षकमा थुप्रै कथासंग्रह गरेर प्रकाशित गरेका छन् । पुरानो शिक्षाको पाठ्यक्रममा यी कथा पढ्नु पर्दथ्यो । मैले मनयोगका साथ यी कथाहरू पढेको छु । त्यसमध्येको एउटा कथा हो: “सत्तलसिंह राजाको कथा ” । सम्भवतः वर्तमान प्रधानमन्त्री कार्कीले पनि पुरानै शिक्षा प्रणालीमा पढेकी हुनुपर्छ । उनले कथाको मर्म र महिमा नबुझेको भए पनि अवश्य यो कथा पढेको होलिन्, तर अब भने उनले यो कथाको रूप र सारलाई बुझ्न आवश्यक छ । राजनीतिका खेलाडीहरूले पनि यो कथाको मर्म बुझ्न त्यत्तिकै आवश्यक छ ।
कथा लामो भए पनि यहाँ संक्षेपमा त्यसको सार सुनाउँछु । एकादेशमा सत्तलसिंह नाम गरेका राजा थिए । एक दिन राजा हात्ती, घोडा र फौजको लावालस्कर लिएर जंगलमा शिकार खेल्न गए तर जंगलमा अचानक राजा हराए । फौजले अनेक खोजी गर्दा पनि राजा नभेटिएपछि फौज निराश भएर दरबार फर्कियो । जंगलबाट कतै निस्केर आउँदा राजाले बाटाको संकेत पाउन् भनेर एउटा संकेत सन्देश यस्तो लेखेर रूखमा टाँसिदिएः
सुरो छौ त सत्तलससिंह राजा हामीतिर आऊ
काँतर छौ त सत्तलसिंह लोहासुरको बाटो जाऊ ।
यो सन्देश पहिले त्यहाँ वस्तु चराउने गोठालाले देखेछन् र ती उरन्ठेउला गोठालाले त्यो सन्देशलाई उल्टो बनाएर त्यही ठाउँमा टाँसिदिन्छन् यसरी :
सुरो छौ त सत्तलससिंह राजा लोहासुरको बाटो जाऊ
काँतर छौ त सत्तलसिंह राजा हामीतिर आऊ ।
बाटो खोज्ने क्रममा राजा, गोठालाले उल्टाएर टाँसेको सन्देश भएको ठाउँमा आइपुगे । सन्देश पढे । राजा हुनुको दम्भ, घमण्ड र महत्वाकांक्षाले सुरो हुनलाई पहिलो सन्देश अनुसार लोहासुरको बाटो रोजे ।
त्यो घनघोर जंगलमा लोहासुर नामको डरलाग्दो राक्षस बस्दथ्यो । असङ्ख्य जनावर, रूख बिरुवा, पहाड उसको एकै दिनको खान्की थियो । कथा अनुसार चालिस मन फलामको चिउरा बिहानको नास्तामा खान्थ्यो । अर्थात् त्यो बाटो जानु राजाको लागि मृत्यु सिवाय केही थिएन तर राजा हुनुको महत्वाकांक्षा दम्भ घमण्ड पालेका सत्तलसिंह त्यही बाटो तिर लागे । जाँदा जाँदा एक महिला पात्रको सहयोगमा लोहासुरलाई मार्ने मृत्यु सूत्र पाए । त्यही सूत्रको सहयोगमा लोहासुरको बध गरेर दरबार फर्किए । लोहासुरलाई मारेकोमा उनको बढाँइ भयो । सत्तलसिंह सम्राट घोषित भए । कथाको सारसंक्षेप यति नै हो ।
सत्तलसिंह राजा वंश परम्परा अनुसार राजा भएका थिए, तर यतिखेर सुशीला कार्की नियतिले सत्तलसिंह राजाको कथा जस्तो भूमिकामा प्रधानमन्त्री भएकी छिन् । राजा जंगलमा हराएका थिए । गोठालाको उल्टो सन्देश पढेर हिँडे पनि उनले काम फत्ते गरे । कार्की गफै गरेको भरमा जेन्जी आन्दोलनको जगमा प्रधानमन्त्री भइन् । पूर्व प्रधानन्यायाधीशले पाउने सवारी, सुरक्षा लिएर आन्दोलनमा सुशीला अनुहार देखाएकी पात्र मात्र हुन् तर सत्तलसिंह झैँ उनी पनि संक्रमणकालीन राजनीतिको घनघोर जंगलमा आइपुगेकी छिन् । सत्तलससिंह राजा झैँ उनलाई पनि महत्वाकांक्षाले यहाँ ल्याएको हो । अब उनको अगाडि पनि लोहासुरको बाटो तय गर्नुबाहेक अर्को विकल्प छैन ।
भदौ २३–२४ मा भएको नरसंहार, विध्वंस, भ्रष्टाचार, कुशासन लोहासुररूपी समस्या उनका आँखा अगाडि छन् । नरसंहार र विध्वंसको छानबिन गर्ने आयोगको ताल हेर्दा यिनका खुट्टी लुला भइसकेका छन् । लोहासुरको पहिलो लञ्च त यही हुन बेर छैन ।
भ्रष्टाचारका अनेकन लोहासुररूपी पात्र अनगिन्ति छन् । यतिमात्र हैन जग्गाजमिन ( गिरीबन्धु, टिकापुर, बालुवाटार, लिचिबारी, बाल मन्दिर लगायत असंख्य ), वाइड बोडी, यति, ओम्नी, सुरक्षण मुद्रण, टेरामक्स, भूटानी शरणार्थी, भिजिट भिसा, सुन तस्करी, सहकारी घोटाला सहित कैयौँ काण्डमा लन्च डिनर गर्ने नेतागण लोहासुरको रूपमा छन् । चालिस मन फलामको च्युरा नास्ता गर्ने लोहासुरभन्दा यी भ्रष्टाचारी कोही मानेमा कम हैनन् ।
सबैभन्दा महत्त्वपूर्ण त निर्वाचन हो । यो निर्वाचनमा पनि यिनै लोहासुरको फौजलाई लिएर हिँड्नुपर्ने बाध्यता छ । भर्खरै सिमरा घटना हेर्दा लोहासुरले फँडा उठाउन थालेको महसुस हुन्छ । दोस्रो नेपाल प्रिमियर लिग खेलमा भएको जस्तो सट्टेबाजी राजनीतिको रंगशालामा पनि हुने देखिन्छ । संसद पुनर्स्थापना लगायतको म्याच फिक्सिङ् हुन्न भन्ने ठाउँ देखिन्न । चुनाव हुन सक्तैन भन्ने भाष्य निर्माण गरेर म्याच फिक्सिङ् हुनसक्छ । राजनीति सट्टा बजार देखिँदै आएको सत्य हो ।
संसद पुनर्स्थापना भए त्यो पश्चगमन हो । निर्वाचन सम्पन्न भए त्यसले दिने यथास्थिति नै हो तर पनि यो यथास्थिति “नहुनु मामाभन्दा कानो मामा जाती” मुलुकको धरातलीय यथार्थ हो ।
यस्तो परिदृश्यमा कार्कीको दरबारीया फौज टिठलाग्दो छ । एकाधलाई छोडेर मन्त्रीहरू उनका असली आठपहरीया जस्ता नै छैनन् । तिनीहरू के गर्न मन्त्री भएका हुन् ? कसरी बम्पर लटरी लाग्यो ? सम्भवत: तिनैलाई थाहा नहोला । या थाहा भएपनि राजनीतिको घनघोर जंगलबाट सफलतापूर्वक योजना सम्पन्न गर्ने कुरा तिनका कदकाँटीले देखाउँदैन । राष्ट्रिय राजनीतिलाई बुझ्ने, भू–राजनीतिक सन्तुलन कायम गर्न सक्ने क्षमता सर्वथा अभाव देखिन्छ । तिनको बडी लेंग्वेज हेर्दा ती एकबारको जुनीमा मन्त्री भए बस् ! चुनाव भएन भने लोहासुरको डिनर यहाँ आएर हुनेछ ।
जेन्जीका नाममा असली पेडा बेच्नेहरू बाहिरै छन् तर आफैँमा विभाजित छन् । यिनले लोहासुर प्रवृत्तिलाई बध गरी योजना सम्पन्न गर्ने बहीखाता बाहिर ल्याएका छैनन् वा त्यस्तो बहीखाता नै छैन । यदि लोहासुरको बध गर्न सत्तलसिंह राजा सफल नभएको भए उनको इहलिला समाप्त हुन्थ्यो । दिशानिर्देश गर्ने कथा बन्दैनथ्यो । आज यो कथा कहनु पनि पर्दैनथ्यो, तर यी ’रानी महोदया’ सत्तलसिंह राजाको जस्तो भूमिका गरिरहेकी छन् छैनन् ? केही थाहा छैन । यिनका मन्त्रीहरू निर्वाचन केन्द्रित कार्यक्रमभन्दा कुहिरोमा हराएको जस्तो अन्यत्रै व्यस्त देखिन्छन् । कार्कीको जोडबल निर्वाचनतर्फकै कार्यक्रम गरिरहेको भए सघाउनु ठीकै हुन्छ । नगरेको भए त यिनी लोहासुरको सिधै कोपभाजनमा पर्ने निश्चित छ । त्यसपछि कुनै बोधविक्रमले एउटा विरही कथा लेख्नेछन् “सत्तली मैया महारानीको दुखान्त ” शीर्षकमा ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 










