दोस्तावेस्की भन्थे,  “मान्छे जतिसुकै मूर्ख  र आडम्बरले उन्मक्त किन नहोस् , उसका अनुयायी हुन्छन् ।” विश्व इतिहासका खरानीमा तिनका अवशेष भेटिन्छन् । हाम्रै इतिहासमा पनि भेटिन्छन् । अझ सिक्न इतिहासको भग्नावशेष कोर्तनु पर्दैन । वर्तमान हेरे पुग्छ, वर्तमानमै भेटिन्छन् !

एक जना श्रवणकुमार छन् जो बिहान बेलुका आफ्ना बाको झुठ र आडम्बरलाई फेसबुकभरि उचाल्छन् ! बाले रातलाई दिन भन्दा यी श्रवणकुमार भाडाको घाम आकाशमा टाँग्न पछि पर्दैनन् ! यहाँ अनेक किसिमका श्रवणकुमारहरू  छन् । असलमा यो युगको प्रत्येक व्यक्ति पछिल्लो युगको झुठ र आडम्बरलाई आफ्नो काँधमा बोकेर तीर्थ गइरहेको श्रवणकुमार हो ।

जीवन असलमा आफूले बाँच्ने हो, आफ्ना सपनाका भारी आफैँ बोक्ने हो न कि बा पुस्ताका सपनालाई बोकेर तीर्थ जाने हो ! यसमा बा पुस्ताको गल्ती त छ, तर त्यस गल्तीको पछि कारण पनि छ । आफूलाई हजुरबा पुस्ताले गरेको ट्रमा डम्प, बा पुस्ता नाति-नातिनामाथि गर्दै छन् ।

म यस्तो श्रवणकुमार हुँ जसको काम तपाईंका कुरा सुन्नु हो । सुनेर तपाईंका इच्छा, आकाङ्क्षा , प्यासन, हबी, राजनीतिक आस्था सब बुझ्नु हो । तपाईंका साथीहरू  चिन्नु हो, आदर्श बुझ्नु हो ! तपाईंको हिरोलाई पछ्याउनु हो अनि इन्टरनेटभरि तपाईंलाई जे मनपर्छ त्यही देखाउनु हो । तपाईंले घृणा गर्ने कुरा मैले पनि उत्तिकै घृणा गर्नु हो । दुनियाँ बिर्साउनु हो । स्क्रिनमै अल्झाउनु हो । आलस्यमा उतार्नु हो । किबोर्ड वारियर बनाउनु हो, र मलाई केही मान्छेहरू एल्गोरिदमका नामले पनि चिन्दछन् !

अब कुरा गरौँ बुद्धिजीविहरूको । यी प्राणी अलग किसिमका श्रवणकुमार हुन् ! यी कथित पढेलेखेका विश्व बुझेका श्रवणकुमारहरू आफ्नो क्षेत्रको वा आफ्नो क्षेत्र बाहिरको सब कुरा जानेका हुन्छन् वा जानेको जस्तै गर्छन् तर यति जान्दा पनि, यति देख्दा पनि यी सत्यका लागि उभिन सक्दैनन् !  सायद बुद्धिजीवि बिकाउ प्रवृत्तिका छन् । स्टाटसलाई नमस्कार गर्दा गर्दै ढाड लच्काएर झुकाउ प्रवृत्तिका छन् । यी आफू बाहेक अरुका बारे सोच्दैनन् ! हिजो संसार गलत देख्ने यिनीहरूलाई सत्ताले कलरमा समातेर कुनै कुर्चीमा फालिदिनु मात्र पर्छ त्यसको भोलिपल्ट संसार सुध्रिन्छ । यिनको जिब्रो चल्न छाड्छन् । ओठमा फेभिकल टाँसिन्छन् । सके मेरो सामाजिक सञ्जाल ह्याक भएको भन्ने पोस्ट आउन सक्छन् ।

हामी सब एटेन्सन खोज्छौँ  फरक फरक तरिकाले ।

एउटा साथीले एकदिन अनायस भन्यो, राजनीति गरिरहेको नेता र राजनीति र देशका नेतालाई गाली गरिरहेको ममा खासै अन्तर छैन । म एकछिन चकित पर्छु । उसले यो कुन सन्दर्भमा भन्न खोजिरहेको हो खासै मेसो पाउँदिन र एक जोडा जिज्ञासु आँखा उसतर्फ तेर्साउँछु ।

राजनीति गरेका नेताहरूमा असीमित एक्लोपन छ जो उनीहरू स्वीकार गर्न चाहँदैनन् । त्यो एक्लोपनालाई कसरी ठीक पार्ने ? त्यो थाह छैन अनि थेरापी जान छाडेर उनीहरू राजनीति गर्छन् । केही अटेन्सन पाउँछन् । भाषण गर्छन् । केही ताली पाउँछन् र त्यसैमा रमाउन थाल्छन् । त्यसरी नै घाम उदाउँछ, अस्ताउँछ, दिनहरू सकिन्छन्  तर एक्लोपन बाँकी नै रहन्छ । कारण जीवित नै रहन्छन् । एउटाले भन्थे धेरै जसो राजनीति एक्ला पुरुषहरूको आत्मलाप सिवाय केही होइन र तिनै एक्ला पुरुषहरूले आफ्नो काँधमा बोकेको एक्लोपनको असह्य भारीको बोझ सहन देश विवश हुन्छ, जनता बाध्य हुन्छन् ।

मलाई कहिलेकसो अल्छी लाग्दा एउटा साथीलाई चिया खान बोलाउँछु । कारण, म बेरोजगार छु र मसँग समय काट्न  प्रशस्त समय छ ! चिया नास्ताको पैसा ऊ आफैँ तिर्छ , ऊ जागिरे छ । त्यो जागिर जुन उसलाई पटक्कै मन पर्दैन । खुशी नहुने भए किन छाड्दैनस् जागिर भन्दा ऊ भन्छ,  “खुशी त म जीवनमा पनि छैन !”

यस उत्तरमा म केही प्रतिप्रश्न गर्दिनँ ।

केही समय भयो उसले शार्त्र र कामु पढ्न थालेको,  त्यसैले ऊ कहिले अस्तित्ववादी बन्छ त कहिले विसङ्गतिवादी बन्छ  र धेरै जसो शून्यवादी ! म पिउन थाल्छु फ्रिको चिया र सुन्न थाल्छु उसका कुरा ।

मलाई यी मान्छेहरू,  जो सन्तानमा आफ्नो खुशी र अधुरा सपनाको प्राप्ति देख्छन् तिनलाई देख्दा सधैँ लाग्यो कि म यस्तो बन्न सक्दिनँ । वास्तवमा म त्यस्तो बन्न चाहन्न । छोराछोरी जन्मिएर अनेक दुःख पाउँछन् , अनेक दुःख दिन्छन् ।  जीवन खुशीको ओर्ग्याज्मबाट शुरु हुन्छ तर त्यसपछि दुःख बाहेक केही छैन ।

एउटा मीमको सम्झना आउँछ जीवन संसारको पहिलो सेक्सुअल्ली ट्यान्समिटेड डिजिज हो । पहिले प्रजनन् केवल जैविक प्रक्रिया थियो । सामाजिक मूल्य मान्यताको विकास भएको थिएन तर समय बिस्तारै फेरियो । प्रजनन् केवल प्रजनन् रहेन । यसमा सामाजिक मूल्य मान्यता र उपभोक्तावाद र बजारको यसरी प्रभाव घुस्यो कि आज एउटा बच्चा नजन्मिँदा आईभियफ् सेन्टरको मालिक खुशी हुन्छ, त्यसैगरी एउटा बच्चा जन्मिँदा उसकी आमाभन्दा अब मेन्टेश्वरी स्कुलको साहु बढी खुशी हुने बेला आएको छ ।

यो विशाल ब्राह्माणमा मच्छर र मान्छेमा कुनै भेद छैन । मच्छर जस्तै मान्छे पनि जन्मन्छ, कराउँछ, टोक्छ , जन्माउँछ, मर्छ र हराउँछ ।

जब जब मलाई कोई केटाकेटी थमाउँछन् म बाहिर बाहिर त कस्तो क्युट भन्छु तर भित्र मलाई जन्म र जीवन क्युट लाग्दैन । यो बच्चा जसलाई मान्छेहरू क्युट भनिरहेछन्, उसलाई थाह छैन उसले कति दुःख दिने छ र कति दुःख पाउने छ । उसले कति जी हजुरी गर्नेछ । देख्दै रिस उठ्ने मान्छेलाई हजुर कति महान् भन्ने छ । यदि बाँकी रहेछन् भनेपनि आफ्ना पूरा आदर्श बेच्ने छ ।

सौन्दर्य त्यो हो जहाँ बिस्तारै वा एक्कासी मानव सभ्यता हराएर जाओस् । हामी सोच्छौँ हामी प्रकृतिका सौन्दर्यपूर्ण सिर्जना हौँ, तर छौँ सबैभन्दा कुरूप । उदाहरण, कहिल्यै फुर्सद मिल्दा तपाईं ट्रेकिङ जानुभएको छ भने बाटोभरि खसेका पात हुन्छन् । सुकेका रूख हुन्छन् । उबडखाबड पहाड हुन्छन् ।  ती हेर्दा कहिल्यै कुरूप लाग्दैनन् । प्रकृतिको आभा आफ्ना अधुरोपनमा, टुक्रिएको रूपमा, अस्पष्टतामा अझ प्रदीप्त हुन्छ तर त्यही सुकेका पातहरू  माथि कसैले वाइवाइको खोस्टो फालेको होस् परैबाट कुरुप देखिन्छ । त्यो के को कुरूपता हो ? पुँजीवादको ? क्रक्स लगाएर डोकाभरि सामान बोकुनुपर्ने विवशता र श्रम शोषणको ? पृथ्वी दोहनको ? कृत्रिमताको ? या सामन्य सिभिक सेन्स नहुने व्यवहारको ?

उसका कुरा सुन्दा लाग्छ ऊ यस्तो श्रवणकुमार हो, जसले सिसिफसको आत्मा बोकेको छ र त्यस आत्माले घिसारिरहेको छ अस्तित्वको भारी । हाम्रोमा प्रचलित भनाइ छ ‘कुरा सुन्नु बुढाको’ तर मान्छे बुढा भए भन्दैमा तिनका कुरा सुन्नुपर्छ भन्ने छैन । उमेरले मानिसलाई बुद्धिजिवि र ज्ञानी बनाउँछ भन्नु भ्रम मात्र हो । हामी उमेरले बूढा, मूर्ख, आफू बाहेक अरुका कुरा नसुन्ने, आफू बाहेक अरु केही जान्दैनन् भन्ठान्ने नार्सिसिस्ट बूढाहरूको कुरा सुनेरै आजित भैसक्यौँ । यसै सन्दर्भमा भारतीय लेखक प्रसाईंका केही शब्द सापट लिन चाहेँ;

त्यो बेला भीष्मले आफ्ना पिताजीलाई रोमान्सको भूत चढ्यो भन्दैमा आफूले आफ्नो मानवसिद्ध जैविक अधिकार तिलाञ्जली दिएर आजीवन ब्रह्मचारी बसे । त्यो बेला भिष्माले भन्न सकेनन्, ‘पिताजी तपाईं लबमा पर्नुस्, पटक पटक पर्नुस्, प्रेम यसै पनि जीवनको फेज फेजमा आउँछ । तपाईं लबमा पर्नका लागि म आफ्नो १०/१० ब्याडीको खोजी बन्द गर्न सक्दिनँ । जीवनभर तीखा वाणहरू मात्र कति चलाउने कहिले कसो म पनि त कसैका तीखा नजरका गहिराइमा डुब्न पाऊँ ! महसूस गरुँ प्रेमको अनुभूति जहाँ भेटिन्छन् रे ईश्वर प्राप्त हुन्छ रे मोक्ष । ‘

भीष्मले यति भन्न सकेनन् र त्यहीँ रोपियो महाभारतको पहिलो बिज ।

हामीले सुन्ने कथा श्रवणकुमारका कथा हुन् । जहाँ एक सन्तान आफ्ना बूढा बा-आमालाई बोकेर तीर्थ जान्छ ! पूर्वमा यस्ता कथाको खुब रोम्यान्टिसाइज हुन्छ । त्यसैले यताका छोराहरू आफ्ना जवान काँधमा बोकेर आफ्ना बाजेबराजुलाई धेरै किसिमका तीर्थ लैजान्छन् ! कहिले राष्ट्रपतिको तीर्थ ! पटक पटक प्रधानमन्त्रीको तीर्थ र मन्त्रीको तीर्थ ! बाजे बराजुहरूलाई यो पद तीर्थ जान कति रहर लाग्ने रैछ ! सायद जीवनको मोक्ष त्यतै पो छ कि ? सायद चारधाम कुर्चीका चार खुट्टामै भेटिन्छन् कि ?

हामी भविष्य खोजिरहेका छौँ ! तर यसरी वर्तमानलाई कुल्चेर ? आखिर भविष्यको पार्दुभाव पनि त वर्तमानकै जगमा टेकेर हुने हो ?  अनि वर्तमान नै यस्तो भए भविष्य कस्तो होला  ! हो कालो निशामै सुन्दर उषाको बीज रोपिन्छ,  तर त्यो भविष्य कसका लागि ? आफ्ना लागि कि अरु कसैका लागि ?  र आजका सन्ततिले पछिल्लो पुस्ताका गल्तीका निम्ति कति मूल्य चुकाउन पर्ने हो ? त्यो पुस्ता जसले आफ्नो गल्ती स्वीकार्न चाहन्न । त्यो पुस्ता जुन आफ्नै आत्मरति र आडम्बरलाई अझै पनि  अद्वितीय, अपरिमय र अगम्य मानिरहेछ ! एउटा शासक जसका हात रगतले पोतिएका छन् ! एउटा सत्ता जो गोलि बर्साउन जान्दछ, जिम्मेवारी बोक्न जान्दैन ! अँह भन्न सक्दैन गल्ती भयो, ‘आइ एम सरी !’

एउटा देश, एउटा पुस्ता, एउटा वर्तमान ढालेर ! एउटा आजलाई निभाएर कस्तो भोलिको सिर्जना हुने हो !

एक आडम्बरले उन्मक्त हजुरबालाई हाम्रो बा पुस्ताले नमस्कार गर्दा गर्दै ढाड यसरी बङ्गायो, किन सत्यको लागि ठिङ्ग उभिनै सकेन ! त्यही शक्तिको बलमा सरकारले देशका नातिनातिनाको छातीमा गोली बर्सायो ! एकलव्यका कथा सुनेर हुर्केका हजुरबाहरू चाहन्छन् आजका नातिनातिना तिनका औंला काटून्  तर औँला काट्ने युगलाई कृष्णले कुरुक्षेत्रमै बगाएर लगे ! यो औँला ठडाउने युग हो ! प्रश्न गर्ने युग हो ! बा पुस्ताले गर्न नसक्ने काम नाति पुस्ताले गर्ने युग हो !

आखिर १४ वर्षहरू, १२ वर्षहरू, १५ सालहरूले १.५ दिनका अघि हात उठाउनै पऱ्यो । आखिर सत्ताका बार्दलीहरू, हिल्टनहरू, पेरिसडाँडाहरूको अन्तिम गन्तव्य खरानी रहेछ ।

रिमालले भने जस्तै:

एक जुगमा एक दिन, एकचोटि आउँछ ।

उलटपुलट, उथलपुथल हेरफेर ल्याउँछ !

 तर अझै धेरै कुरा बाँकी छन् ! हामीले आफूलाई सुधार्न बाँकी छ । अब हामी नमस्कार त गरौँ तर साथ साथै प्रश्न पनि गरौँ । मानव भएर आदर्शवान् हुनु सम्भव नहोला तर अनैतिक त नबनौँ । बिहानहरू आशा देखाउँछन् तर अब आउने दिनमा अन्धकार सिवाय केही छैन । सजिलो पक्कै छैन तर यो खरानीको जगबाट फिनिक्स उडोस् । त्यसका निम्ति पनि छोराहरूले बाहरूको आडम्बरलाई थामिदिने काँध हटाउनु पर्छ ।

श्रवणकुमार आज सुन्दा सुन्दा गलेको छ । सुनेका कुरा मान्दा मान्दा थाकेको छ । मानौँ उसको स्वअस्तित्व छैन । आफ्नो वैयक्तिक विचार, सिद्धान्त, मूल्य मान्यता छैनन् ।  पूर्खाका मान्याताको बादलमुनि निसासिएको छ, र अब शायद मान्य छैन उसलाई त्यस्तो बाध्यता । त्यसैले आज बिहानै श्रवणकुमार उठ्यो । पशुपति गयो, एक पटक बागमतीमा आफूलाई डुबायो र स्वयम् आफ्नो न्वारन गरिदियो र खोज्यो एउटा नवजीवन !

अब श्रवणकुमारले  सुन्न छाडिदियो । श्रवणकुमार अब श्रवणकुमार रहेन, सोधकुमार भयो । मान्छेहरू उसलाई सोधकुमार पनि भन्छन् । उसलाई सोधकुमार भनेर बोलाउँदा पनि उसलाई खासै आपत्ति चाहिँ छैन ।

(हरिशंकर प्रसाईंको निबन्ध ‘कन्धे श्रवणकुमार के’ मा आधारित)