समयको नियमित र समान गति नै लय हो । कुनै पनि रचनामा निहित त्यो लयलाई दर्शाउनका लागि कुनै न कुनै क्रियाको आवश्यकता पर्छ । त्यस क्रममा लयलाई काल (समय) तथा कृयाले नियन्त्रित गर्दा तालको जन्म हुन पुग्यो, र तालसँगै लयको विशिष्ट रूप बन्यो ।
===
विश्वमा साहित्य वा काव्य लेखनको आरम्भ पद्यात्मक रचनाबाटै भएको हो । प्राचीन ऐतिहासिक ग्रन्थहरू यसका साक्षी छन् । पूर्वीय साहित्यको आदिग्रन्थ ऋग्वेदका ऋचाहरू हुन् वा होमरका इलियड, अडिसी जस्ता पाश्चात्य साहित्यिक ग्रन्थहरू हुन्, ती सबै पद्यमा नै लेखिएका छन् । पद्यकाव्यकै रूप हुन् गीत र गजल पनि । गीत र गजलको मूलमा पद्यको आधार पनि लय नै हो । त्यही लयबाट नै विभिन्न छन्दहरू सृजना भएका हुन् । लय नहुँदो हो त छन्दको आवश्यकता पर्ने नै थिएन । लयलाई क्रियात्मक रूपमा बुझाउनका लागि नै छन्दको निर्माण भएको हो । वैदिक कालमै पनि ‘गायत्री’ ‘आर्या’ ‘त्रिष्टुप’ ‘जगती’जस्ता अनेकौँ कठीन छन्दहरूको निर्माण भइसकेको थियो भने कालान्तरमा पिङ्गल लगायतका विद्वानहरूले लयका आधारमा सयौँ किसिमका संस्कृत छन्दहरूको निर्माण गरे । आज पद्य वा गेय काव्यविधाका लागि ती छन्दहरू प्रयोग हुँदै आइरहेका छन् । त्यसरी नै पिङ्गलको छन्दशास्त्रमा जस्तै फारसी छन्दविधान (अरूज विज्ञान) मा विभिन्न बहरहरूका माध्यमबाट लयलाई दर्शाइएको पाइन्छ ।
माथि नै भनियो, गीत वा गजलको मूलमै सङ्गीत निहित हुन्छ । सङ्गीत भन्नेबित्तिकै त्यहाँ लय हुने नै भयो ।
लय के हो त ?
समयको नियमित र समान गति नै लय हो । कुनै पनि रचनामा निहित त्यो लयलाई दर्शाउनका लागि कुनै न कुनै क्रियाको आवश्यकता पर्छ । त्यस क्रममा लयलाई काल (समय) तथा कृयाले नियन्त्रित गर्दा तालको जन्म हुन पुग्यो, र तालसँगै लयको विशिष्ट रूप बन्यो । त्यो विशिष्ट रूप नै अमुक छन्द वा अमुक बहर बन्यो । यसरी हेर्दा लय र तालका बीच अन्योन्याश्रित सम्बन्ध रहेको देखियो । काव्य/शायरीमा निहित लय-तालका रूप र ढाँचाका आधारमा ती अमुक लयहरूलाई परिभाषित गर्ने क्रममा नै विभिन्न छन्द/बहरको निर्माण हुन पुगेको हो भन्ने कुरा यसबाट पुष्टि हुन्छ ।
छन्दका पनि २ भेद छन्, काव्य छन्द र सङ्गीत छन्द । वाचन र तरन्नुम गायनका लागि काव्य छन्द र रचनामा सङ्गीत भरेर गायन प्रस्तुत गर्ने पक्ष सङ्गीत छन्दभित्र पर्छ । लघुगुरु अक्षरको विन्यासबाट काव्य छन्दको रचना गरिन्छ । लघुगुरु अक्षरहरूलाई मात्राका रूपमा गणना गरिनुका साथै यति गतिको समेत पालना गरिएको हुन्छ तर सङ्गीत छन्दमा अक्षरको ह्रस्व दीर्घ रूप स्थिर हुँदैन । लय र तालभित्रै बाँधिएर गायनशैली अनुरूप ह्रस्वलाई दीर्घ र दीर्घलाई ह्रस्व रूपमा गाउन बजाउन पनि सकिन्छ । तथापि शास्त्रीय गीत (पद्य रचना) तथा शास्त्रीय छन्द/बहरमा रचिने गजललाई तरन्नुम वाचन गर्दा र सङ्गाीतबद्ध गरेर गायन प्रस्तुत गर्दा अपवाद बाहेक यथासम्भव लघुगुरु अनुरूप उच्चारण हुने गरी प्रस्तुत गर्ने गरिएको पाइन्छ ।
यसरी हेर्दा गीतको अपेक्षा गजलजस्तो गेय रचनाको सम्बन्ध पहिले छन्द/ताल/मात्रासँग निकट सम्बन्ध रहने भयो । र त्यसपछि रागसँग ।
सङ्गीतमा रागको सम्बन्ध शास्त्रीयतासँग हुन्छ ।
राग के हो त ?
मानवको चित्तलाई रञ्जकता प्रदान गर्ने ध्वनिहरूको त्यो रचनालाई राग भनिन्छ, जो स्वर र वर्णले युक्त (विभूषित) हुन्छ ।
योऽसौ ध्वनिविशेषस्तु स्वरवर्णविभूषित:
रञ्जको जनचित्तानाम् स राग: कथ्यते बुधै : ।
-(सङ्गीतज्ञ मतङ्ग, ईशाको चौथो शताब्दी)
विभिन्न रागहरू सुनाउने विभिन्न समय र ऋतुहरू निर्धारण गरिएका हुन्छन् । प्रातःकालदेखि मध्यरातसम्म गाइने/बजाइने अलग अलग रागहरू छन् । कुनै राग करुण भावमा बढी उपयुक्त हुने खालका हुन्छन् त कुनै वीर भावमा उपयुक्त हुने खालका । राग पनि कुनै चन्चल प्रकृतिका र कुनै गम्भीर प्रकृतिका हुन्छन् । सोही अनुसार सङ्गीतकारहरूले लेख्य गीतको शब्दका भावअनुरूप विविध भावका रागहरूमा यथासम्भव मिल्ने गरी सङ्गीत गरिएको पाइए पनि गजलमा भने गैर मुसलसल (अलग अलग भावमा) पनि शेरहरू लेखिने भएकाले गजललाई भावअनुरूपको रागमा ढाल्न निकै कठीन हुन्छ । गर्नै नसकिने त हैन, तर त्यसरी बनेका सङ्गीतहरू बढी बनावटी जस्तो हुने भएकाले त्यस्ता गैर मुसलसल भावका गजलका शब्दहरूलाई मिश्रित शास्त्रीय राग वा स्वनिर्मित रागभित्र सङ्गीतबद्ध गर्नु उपयुक्त हुन्छ ।
सङ्गीतमा गजल गायनलाई उप शास्त्रीय वा र अर्ध शास्त्रीय विधाका रूपमा राखिएको र सोही अनुरूप गजललाई प्रस्तुत गर्ने गरिएको देखिन्छ । शास्त्रीय गायनको शीर्ष स्थानमा ध्रुपद गायन रहेको छ । ध्रुपद र धमारभन्दा तल खयाल गायन, खयाल गायनभन्दा तल ठुमरी, दादरा, चैतीजस्ता रचना र त्यसभन्दा तल गजलगायन पर्छ । गजलभन्दा तल सुगम वा भाव संगीत, लोक संगीत, चित्रपट संगीत तथा आधुनिक गीत–भजन आदि पर्छन् ।
सयौँ बहर वा छन्दमध्ये सरल र लोकप्रिय बहरमा प्रायः गजल रचना गरिँदै आएजस्तै हजारौँ सयौँ तालमध्ये सरल, सहज र सुन्दा कर्णप्रिय लाग्ने तालहरूमा नै गजललाई सङ्गीतबद्ध गरिएको देखिन्छ । शास्त्रीय सङ्गीतका लागि सयौँ तालहरू निर्माण भए पनि गजल गायनमा विशेषगरी दादरा, रूपक, कहरवा (गजल ठेका) खेमटा ताल बढी प्रयोग हुने गरेको देखिन्छ भने झपताल र दीपचन्दी ताल पनि गजलमा प्रयोग गरिएको पाइन्छ ।
उपशास्त्रीय विधा भएकाले गजललाई कुनै न कुनै शास्त्रीय रागमा वा शास्त्रीय रागमा आधारित रहेर सङ्गीतबद्ध गरेर गाउँदा गजलले पूर्णता प्राप्त गर्छ । कुशल गायकले जुनसुकै शास्त्रीय रागमा गजल गाउन सक्छन् । तथापि भूपाली, यमन, मालकौश, भैरवी, भीमपलासी, ललित, दरबारीजस्ता अत्यधिक लोकप्रिय तथा प्रचलित शास्त्रीय रागमा आधारित गजलहरू नै प्रायः गाइएको देखिन्छ ।
गीतमा जस्तो स्वतन्त्र लयमा गजल नलेखेर कुनै न कुनै शास्त्रीय छन्द, बहर वा निश्चित लयमा बाँधिएरै लेखिने विधा गजल भएकाले गजलमा रागसँगै लय/तालको अझै घनिष्ठ सम्बन्ध रहेको देखिन्छ । तसर्थ गजलमा निहित लयसँग गजलका शेरहरूको विशेष सम्बन्ध रहने भएकाले गजलगो/शायरले ‘तहत’वाचन वा ‘तरन्नुम’ गायन प्रस्तुत गर्दा शब्दको भाव र शेरको लय (यति-गति समेत) को पालना गरेर गजल प्रस्तुत गर्नु आवश्यक हुन्छ । यसरी प्रस्तुत गरेमात्र श्रोताले गजलको स्वाद लिएर पूर्ण सन्तुष्टि प्राप्त गर्न सक्नेछन् । अस्तु !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 




