हरेक बिहान सडकमाथि उज्यालो पोखिनुअघि, अग्लाअग्ला घरका छानामाथिबाट घामले चियाउनुअघि, बुद्धचोक नजिकको एउटा घरबाट एक वृद्ध शिरमा ढाका टोपी ढल्काउँदै फुटपाथमा आइपुग्छन् । उनी घरबाहिर निस्कँदा वरपरका रूखहरूबाट चराचुरुङ्गीले चिरबिराउन थालेका हुँदैनन् । छिमेकीहरू आआफ्ना दैनिकीमा निस्किसकेका हुँदैनन् ।
सडकछेउ हिँड्दा हिँड्दै उनी मुख्य सडकलाई छोड्दै वी.पी. स्वास्थ्यविज्ञान प्रतिष्ठानको डेन्टल विभागको मेनगेट जाने बाटोमा ओरालो लाग्छन् । यस सडकको दायाँबायाँ थुप्रै औषधी पसलहरू, क्याफे–रेस्टुराँ र होटलहरू छन् । यी क्याफे र होटलहरू सफा र शान्त छन् । यिनको मुख्य ग्राहक भनेकै वी.पी. अस्पतालमा कार्यरत डाक्टर, नर्स र कर्मचारी हुन्छन् या वी.पी.मा डाक्टरी पढिरहेका एम.बी.बी.एस. र एम.डी.का विद्यार्थी ।
डेन्टल अस्पतालको गेट पुगेपछि वी.पी. स्वास्थ्यविज्ञान प्रतिष्ठानको विशाल क्षेत्र शुरू हुन्छ । रूखैरूखको बीचमा भव्य भवनहरू लहरै उभिएका देखिन्छन् । यी बूढा मान्छे अस्पतालको पर्खालबाहिर बाटैबाटो वी.पी.को मुख्य गेटतिर अगाडि बढ्छन् । त्यहाँ एक ठाउँमा सडकछेउ भव्य पार्क पनि बनाइएको छ, जहाँ उनकै उमेरका वृद्धवृद्धा बेन्चमाथि बसेर बिहानीको स्वच्छ हावा लामोलामो सासले आफूभित्र लिँदै बाहिर छोडिरहेका हुन्छन् । कोही कसरत गरिरहेका हुन्छन् । त्यहाँ सधैँ उस्तैउस्तै अनुहारहरू देखिन्छन्, जो दैनिक वाक गर्दै यहाँसम्म आइपुगेका हुन्छन् ।
यी वृद्ध प्रत्येक बिहान यही रूटिनको पालना गर्छन् । समयले ढाडलाई अलिकति कुप्रो पारिदिएको छ उनको । दुई आँखा केही धमिलिएका छन् । ठूलो टाउको, गोरो अनुहार र ठूलै दारपातको ज्यान छ । यही ज्यानले त उनलाई ब्रिटिश लाहुरे बनाएको थियो । वि.सं. २०२० मा २० वर्षे लक्का जवान आँखाभरि लाहुरे सपना बोकेर खोटाङ, रातमाटेबाट पाँच दिन लगाएर धरान झरेको थियो । भाग्यले उनलाई पहिलो कोशिशमै लाहुरे बनाएर विदेशी भूमिमा लखेटेको थियो । १५ वर्ष ब्रिटिश सेनामा सेवा गरे । अवकाशपछि ११ वर्ष ब्रुनाईमा सेक्युरिेटी गार्डको काम गरे । उनी अझै केही वर्ष ब्रुनईमा काम गर्न चाहन्थे । उनीसँग उमेर, बलबैँस दुवै छँदैथियो । तर परिवारमा कहिल्यै नसोचिएको दुःखको पहाड खस्यो । त्यसपछि अचानक जागिर छोडेर नेपाल आउनुपर्ने भयो ।
हरेक बिहान यी पेन्सनर लाहुरे एउटै रूटमा प्रातः भ्रमण गर्छन् । एक्लै यसरी नै आफ्नो टोलको एक चक्कर लगाउँछन् । बाटोमा पर्ने मन्दिर र गुम्बाहरूको अगाडि उभिएर दुई हात जोड्दै एकक्षण मौन उभिन्छन् र घुम्दै बुद्धचोकस्थित वाबु (चिण्डो) को ठूलो मूर्ति ठडिएको चौबाटोमा आइपुग्छन् । त्यहाँबाट दाहिने मोडिएर लगभग बीस मिटर अगाडि एउटा दुईतले घरको गेटमा रोकिन्छन् ।
पुरानोजस्तो देखिने यो घर, घरमात्रै होइन, उनका दिवङ्गत छोराको सम्झनामा निर्माण गरिदिएको पुस्तकालयको भवन हो । जसको दोस्रो तलामा सडकबाट देखिने गरी लस्करै मूर्तिहरू राखिएका छन् । घरमा ढोकासमेत छैन, बरू फलामको ग्रिल लगाइएको गेट छ । त्यहाँबाट भित्र हेर्दा पुस्तकको महल देखिन्छ ।
यही दुईतले घरको गेटबाहिर बिहानै हकरहरूले ताजा खबरपत्रिकाहरू छोडेर जान्छन् । दैनिक पत्रिकाहरू कुनै गेटबाहिर त कुनै फलामे ग्रिलको दुलोबाट गेटभित्र छिराइदिएका हुन्छन्, जो भुइँमा लडिरहेका हुन्छन् । केही साप्ताहिक र मासिक पत्रिकाका बन्डल ग्रिलमा झुन्ड्याइछाडेका हुन्छन् । बूढा मान्छे खल्तीबाट चाबी झिकेर गेट खोल्छन् । गेट खोलेर भित्र पस्दापस्दै अगाडिको भित्तामाथि ठूल्ठूला अक्षरले लेखेको देखिन्छः
स्व. विमल गुरुङ स्मृति पुस्तकालय
धरान–१८, स्था. वि.सं. २०४८
यी बूढा मान्छे गेट खोलेपछि चारतिर छरिएका पत्रपत्रिका सम्हालेर गेट नजिकैको टेबुलमाथि राखिदिन्छन् । टेबुलबाट पुराना दैनिक पत्रपत्रिका उठाएर कुनामा थन्क्याउँछन् । कोठाभित्र थुप्रै टेबुल र कुर्सीहरू छन् । चारैतिर आलमारी र र्याकमा किताबहरू राखिएका छन् । यी पेन्सनर बूढा बत्ती बालेर कोठालाई उज्यालो पार्छन् । किताबहरूमा लागेको धुलो टकटक्याउँछन् । किताबहरू च्यातिएलान् वा धमिराले बस्ने घर बनाउँलान् भनेर नियमित सरसफाइमा जुट्छन् । टेबुलहरूमाथि असरल्ल पत्रपत्रिका र किताबलाई एकएक गरी मिलाएर आलमारी र तख्तामा राख्छन् । यो उनको नियमित दैनिकी हो ।
पुस्तकालयमा अर्को एउटा कोठा पनि छ । यसलाई कोठाभन्दा पनि हल भन्न मिल्छ । भित्री हलको भित्ताको आडमा ठूलठूला आलमारी उभ्याइएका छन् । हलको बीचमा टेबुल र कुर्सीहरू लस्करै राखिएका छन् । टेबुलभरि आगन्तुकले पढेर छाडेका पुस्तक र पत्रपत्रिका हुन्छन् । यस दुईतले घरको पछाडिपट्टि खुला ठाउँ छ । सानो फूलबारी र शौचालय बनाइएका छन् ।
आठ दशकको उकालो लागेका यी बूढा मान्छेको दैनिकी किताबहरूको बीचमा बितिरहेको छ । केही वर्षअघि जीवनसङ्गिनीले अलबिदा गरेपछि किताबहरूको साथ झनै दरिलो भएको छ । किताबका बीचमा रमाउनु उनको दैनिकी भएको छ । घरमा भन्दा पनि पुस्तकालयमा दिनैभरि आफैँसित संवाद गर्छन् र बाँच्नुको अर्थ खोज्छन् । नयाँ पुराना किताबहरूका च्यातिएका र नच्यातिएका पानाका सुगन्धमा रमाउँछन् । पुस्तकका पानाहरू पल्टिँदा सिर्जित आवाजमा छोरा विमलको उपस्थितिको आभास पाउन् ।
साँवा अक्षर नपढी लाहुर लागेका पूर्णबहादुरले उतै पल्टनघरमा केही लेख्न, पढ्न गर्न जानेका हुन् । आज आएर उनलाई किताबका पानामा कुँदिएका शब्दहरूको संसारमा दैनिकी गुजार्दै गर्दा उःबेला लेखपढ गर्न सिकेर असल काम गरिएछ भन्ने महसूस गर्छन् । कुनैकुनै पुस्तक पल्टाउँछन् र केही पढ्छन् । मन परेका शब्द उच्चारण गर्छन् । किनकिन आफ्नै आवाज श्रुतिमधुर लाग्छ । यसरी किताबमाझ उनको जीवनमा सुमधुर सङ्गीत गुन्जिरहेको छ ।
सधैँ शान्त वातावरणमा रहन्छ पुस्तकालय । कहिलेकाहीँ रेडियो बजाएर पुस्तकालयको लय भङ्ग गर्दिन्छन्, पूर्णबहादुर । तर रेडियोको भोल्युम एकदमै सानो बनाउँछन् । रेडियोमा समाचार, गीत र विज्ञापन पालैसित बजिरहन्छन् । केही पनि नछुटाईकन सुन्छन् । यसरी बूढा मान्छे आफ्नै दुनियामा हराउँछन् । वरिपरिका टेबुल, कुर्सी र पुस्तकहरू सब मौनमौन छन् । किताबहरूले भरिएका आलमारी/र्याकहरू पनि ध्यानमग्न लाग्छन् । जब यथार्थमा फर्कन्छन् उनी, त्यहाँ भएका सम्पूर्ण चिजहरू चलमलाउन थाल्छन् । संवाद गर्न थाल्छन् ।
उनी किताबको असाध्यै ख्याल राख्छन् । पुस्तकालयका कोठाचोटा पुगेर मायाले पुस्तक सुमसुम्याउँछन् । पुस्तकमा लागेका धुलो पुछेर फेरि जतनले राख्छन् । छरपस्ट किताबलाई होसियारीपूर्वक आलमारीमा राखिदिन्छन् र मौन वार्तालाप गर्छन्, आलमारीमा थुनिएका किताबबीच । बाहिर सडकमा फैलिएको होहल्लादेखि टाढा यी किताबले भने आफूमा समेटिएका ज्ञान एकअर्कासित चुपचाप बाँडिरहेका छन् । साँच्चै ज्ञानले परिपूर्ण कुनै तपस्यामा लीन साधुजस्ता लाग्छन् यी ठेलीका ठेली किताबहरू । यी पङ्क्तिबद्ध आलमारीमा राखिएका नयाँपुराना पुस्तकहरू आफ्ना पानामा केही रहस्य लुकाएर बाँचिरहेका लाग्छन् । हरेक दिन यी बूढा मान्छे हेरिरहन्छन् पुस्तकका क्रियाकलापहरू ।
बिहानको समयमा पुस्तकालयमा खासै पाठक आउँदैनन् । पुस्तकालयमा चारैतिर एउटा गहिरो मौनता व्याप्त रहन्छ । ठीक यतिबेलै यी किताबले भरिएका आलमारी तथा र्याकमाझ बूढा मान्छे एक्लै हुन्छन् । पुस्तकालयको पछाडिको खुला ग्रिलबाट चिसो हावा कोठाभित्र पस्छ । यी बूढा मान्छे किताब र पत्रपत्रिकालाई आआफ्नो ठाउँमा मिलाएर राखिसकेपछि फिल्टरमा पानी भर्छन् । फिल्टरको सफा पानी प्लास्टिकका खाली बोतलमा भरेर टेबुलमाथि राखिदिन्छन् । यसरी बिहानको एक राउन्ड रूटिन भ्याउँछन् ।
(कवि विमल गुरुङको भर्खरै प्रकाशित जीवनीबाट लिइएको एक अध्याय हो ।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२४ मंसिर २०८२, बुधबार 









