आदरणीय प्रकाशक महोदय,
मेरो कवितासंग्रह छाप्ने काम पूरा भएको जानकारी दिनु भएकोमा धन्यवाद ! हाम्रो सम्झौता अनुसार किताब छाप्ने काम मात्र छ महिना ढिलो भएछ । तपाईंको प्रकाशनगृह प्रतिको मेरो विश्वसनीयता गत वर्षको तुलनामा पचास प्रतिशतले बढेको छ । यस पाली पनि तपाईंले “नेपाली समय” लाई राम्रैसँग पछ्याउन सफल हुनुभएको छ । यस सफलताको लागि एक अँगालो धन्यवाद टक्र्याउँछु । आशा छ कविताहरू सम्झौता अनुसारकै कागजमा पानामा छापिएका छन् । कामचोर ठेकेदारले बनाएका साउने सडकहरूको दुर्दशा मेरो किताबले बेहोर्नु पर्दैन । छ महिना अघिको हाम्रो भेटमा तपाईंले जुन प्रकारले आफ्नो इमानदारिता र व्यावसायिकताको एक कोष लामो फेहरिस्त सुनाउनु भएको थियो, त्यसबाट म विश्वस्त भएको छु । किताब निस्किएसँगै सम्झौता अनुसार विमोचनको पनि तयारी गर्नु होला ।
म चाहन्छु मेरो किताबको विमोचनको खबरले डाँडो खोलो थर्कियोस् । वाहवाहीको आवाज दुनियाँमा गुन्जियोस् । च्याउ सरी डटकमहरूमा विमोचनको समाचार सजियोस् । म एक स्थापित साहित्यकार हुँ भन्ने तपाईंलाई हेक्का नै होला । कतिले मलाई महाकाव्यकार भन्छन् भने भर्चुअल सञ्जालको दुनियाँमा त म बिछट्ट विद्वत् शिरोमणि नै हुँ । मेरो काव्यिक विरासत सुहाउने समारोहको आयोजना होस् भन्ने मेरो आग्रह रहेको छ ।
मेरो कृति बारे बोल्ने वक्ताहरू राजनैतिक दलका नेता हुन अनिवार्य छ । अरू पुरस्कृत किताबहरू जस्तै यो किताब पनि मैले विशेष मेहनत गरेर लेखेको छु । कम्तीमा चार वटा उर्वर वर्षहरू यस किताबमा मैले खर्चेको छु । अरू ऐरे गैरे समालोचक वा समीक्षकहरूले मेरा कविताभित्रको रहस्य खुट्याउन सक्दैनन् । तिनीहरूको अध्ययन पुग्दैन । तिनीहरूको सोचाइ र बौद्धिकता पुग्दैन । मेरा कविताको बारेमा रिट्ठो नबिराई बोल्न सक्ने भनेकै नेताहरूले हो ।
कार्यक्रममा नेता छान्दा विशेष ध्यान दिनु होला । चानचुने नेताले मेरो किताबको बारेमा बोल्ने ल्याकत राख्दैनन् । उनीहरूको योग्यता पुग्दैन । काव्यकै बारेमा बोल्नु पर्ने भएकोले प्रमुख राजनैतिक दलका उच्च पदस्थ नेताहरूलाई बोलाउनु होला । वहाँहरूले देश विकास गर्ने तारिकाका बारेमा बोलेर सयौँ काव्य रचिसक्नु भएको छ ।
वक्ता छान्दा कम्तीमा एक पटक मन्त्री भइसकेका वा हुने सम्भावना भएका नेताहरूको सूचीबाट वाककलामा निपुण मान्छेहरू छान्नु होला । प्रधानमन्त्री हुने सम्भावना बोकेका नेता भए सुनमा सुगन्ध नै हुने थियो । नेता छान्दा झिनामसिना पार्टीका होइन, हाल सत्ता सिन वा भविष्यमा सत्तामा पुग्न सक्ने पार्टीका नेताहरू मात्र छान्नु होला । आलोचनाबाट बच्न एक–दुई जना चाहिँ काव्यिक व्यक्तिहरूलाई पनि वक्ता बनाए हुन्छ तर हाम्रो मुख्य जोड नेतामा हुनु अत्यन्तै आवश्यक छ ।
नेतालाई वक्ता बनाउनु भनेको सम्पर्क स्थापित गर्नु पनि हो । तपाईंलाई सम्पर्कको महत्त्व थाहै छ । कुकुरको कुकुरसँगको सम्पर्कले कुकुरको बच्चा पप्पी जन्मिन्छ । हात्तीको हात्तीसँगको सम्पर्कले छावा जन्मिन्छ । बाघको बाघसँगको सम्पर्कले डमरु जन्मिन्छ । तर मान्छेको नेतासँगको सम्पर्कले एउटा कुरा मात्र जन्मिँदैन । राष्ट्रिय स्तरको पुरस्कार जन्मिन सक्छ । उच्च सरकारी पद जन्मिन सक्छ । सांसद पद नै जन्मिन सक्छ । यो सम्पर्कले असीमित फाइदाका सम्भावनाहरू जन्माउन सक्छ, जसले मेरो मात्र होइन तपाईंको पनि मालामाल हुन सक्छ ।
राष्ट्रिय स्तरका पुरस्कारहरू धमाधम घोषणा भइरहेका छन् । यस बेलामा सत्तासीन पार्टीका नेतालाई नै प्राथमिकतामा राख्दा राम्रो हुन्छ । उहाँहरूलाई मञ्चमा विशेष फूलको गुच्छाले स्वागत गर्ने व्यवस्था पनि गर्नु होला । नेताहरूलाई ठूला–ठूला माला मन पर्छ । त्यसैले सकेसम्म धेरै किलोका गह्रुँगा मालाहरूको चाँजो गर्नु होला । भविष्य भनेको कसले देखेको छ र! मेरै किताबले पो पुरस्कार फुस्काइहाल्ने हो कि! मैले पुरस्कार जित्नु भनेको तपाईंको व्यापार बढ्नु हो । भोलि मलाई नै माधव घिमिरेजीको उत्तराधिकारी घोषणा गर्न सक्छन् । महाराष्ट्रकविको उपाधि मेरै पोल्टामा पर्न सक्छ । मैले भनी राख्नै पर्दैन । तपाईं जस्तो कारोबारी मान्छेलाई यस्ता कुरा मलाई भन्दा बढी थाहा छ । त्यसैले तीन पाथी चिल्लो दलेर भए पनि सत्तासीन दलको उच्च तहको नेतालाई बोलाउन नबिर्सनु होला ।
नेता–वक्ता प्रतिको मेरो आसक्ति तपाईंलाई अनौठो लाग्न सक्छ । तपाईंले इतिहास कत्तिको पढ्नुभएको छ ? हामीले हाम्रा अग्रजहरूबाट प्रेरणा लिने हो । तपाईंले रोमन कवि Virgil को बारेमा सुन्नु भएको छ ? उनी तत्कालीन सम्राट् अगस्टसका दाहिने हात थिए रे । भनिन्छ, भर्जिलको The Aeneid एउटा महाकाव्य मात्र थिएन; तात्कालिक शासनको प्रचार गर्ने राजनीतिक दस्ताबेज पनि थियो । प्राचीन युगका होमर र दाँतेदेखि मध्य युगका कालिदास, अनि पुनर्जागरण युगका सेक्सपियर र भोल्तेयर सम्मले कुनै न कुनै रूपमा सत्ताको रापताप प्राप्त गरेको कुरा ‘गुगल पुराण’मा पढ्न पाइन्छ । नेपालको इतिहासको त के कुरा गर्नु पर्यो र ! सबै जगजाहेर छ । शक्तिको आड–भरोसा पाएर चम्किएका साहित्यकारहरूको इतिहास बलियो छ । त्यही बलियो इतिहासमा टेकेर मैले नेतालाई मेरो कार्यक्रममा वक्ता बनाउने निधो गरेको हुँ ।
फेरि तपाईंले जिकिर गर्नु होला: “साहित्यकारज्यू, हजुर त सुपरिचित हुनुहुन्छ । देश–विदेशमा मान्छेहरूले ससम्मान बोलाएर तपाईंको लागि कार्यक्रम आयोजना गर्छन् । संसारभर छाउनुभएको छ । फेरि पनि किन एउटा किताब विमोचनको लागि नेता नै चाहियो? कुनै राजनीतिक दलको नेता भन्दा तपाईंको सामाजिक प्रतिष्ठा कम छैन । तपाईंको परिचय भनेकै तपाईंका किताब हुन् ।”
हेर्नुस्, इतिहास जहिले पनि सत्ताको पक्षमा लेखिन्छ । इतिहास ठूलो समूहले लेख्ने होइन । तल बसेर जति नै मान्छेहरूले कराए पनि देखिने भनेको जो माथि छ, उसैलाई हो । जो माथि देखिन्छ, उसैको आवाज बढी सुनिन्छ । जसको आवाज ठूलो छ, उसैको कुरा बढी बिक्छ । शक्तिले आवाज ठूलो बनाउन ऊर्जा दिन्छ । यो प्रकृतिको नियम हो । त्यो नियमलाई बदल्ने म जस्तो बबुराको के ल्याकत छ र! त्यसैले इतिहास आफ्नो पक्षमा लेखाउनु छ भने सत्ताको शरणमा पर्नै पर्छ । त्यही भएर त युगौँदेखि कतिपय विद्वानहरूले साहित्यलाई शक्तिको उपासनाको माध्यम बनाए । त्यसैले नेतालाई काव्य विमोचन कार्यक्रममा वक्ता बनाउनु बुद्धिमानीपूर्ण कार्य हो । समयको माग हो । पिता–पुर्खाले बसालेको मलिलो संस्कारको निरन्तरता हो ।
कविता विमोचनमा नेता आउन मान्दैनन् कि भनेर चिन्ता लिनु पर्दैन । अचेल नेताहरू खाली–खाली छन् । बोल्ने ठाउँ नपाएर छटपटिएका छन् । अचेल भाषण सुन्ने मान्छे पाउन कहाँ सजिलो छ र ! धेरैजसो मान्छे काममा छन् । काम नहुने मान्छेहरू कि गुरु र गुरुआमाका प्रवचन सुन्न धाममा छन्, कि विदेश उड्ने लाममा छन् । नेताका भाषण भन्दा राम र कृष्णका कथामा मान्छे रमाउन थालेका छन् । सायद नेतामा भन्दा भगवानमा मान्छेलाई बढ्ता भरोसा हुन थालेछ क्यार । नेतालाई भोग्नु पर्छ, भगवानलाई भोग्नु पर्दैन । सायद मान्छे बाठा भए । विदेश उड्नुको आफ्नै फाइदा छ । गफाडी नेतालाई भोग्नु पर्दैन, तर फुर्सदमा मज्जाले गाली दिन पाइन्छ । हिजोआज नेताहरू एक्लिँदै गएका छन् । भाषण मार्ने अवसरहरूबाट वञ्चित हुँदै गएका छन् । त्यस माथि जेन- जी पुस्ताको बोलवाला बढेको छ । अब जेन एक्स र जेन वाई पुस्ताका नेताको जुम्रा मारेर बस्ने दिन आउला जस्तो छ । यस अवस्थामा कविता विमोचन कार्यक्रममा उहाँहरू नआउने कुरै हुन्न ।
कार्यक्रम गर्दा हाम्रो मुख्य ध्यान अग्रस्थानमा बस्ने पाहुनामा हुनु अत्यन्तै आवश्यक छ । प्रमुख अतिथि, मुख्य अतिथि, विशेष अतिथि, अनि विशिष्ट अतिथिहरूलाई राख्ने कुर्सी विशेष खालका तयार गर्नु होला । अग्रस्थानमा बस्ने र दर्शकदीर्घामा बस्ने मान्छे बराबर हुँदैनन् । कार्यक्रममा अतिथि बोलाउँदा पनि विशेष ध्यान दिनु होला । अतिथिलाई आसन ग्रहण गराउने कार्य कार्यक्रमभरि नै चलिरहोस् । कुनै पनि अतिथिले आसन ग्रहण गराइएन भनेर गुनासो नगरुन् । कोही पनि अतिथि आसन ग्रहण नगराएको निहुँमा कार्यक्रममा टाउको देखाएर नभागुन् ।
म चाहन्छु, कोही पनि मसँग नरिसाउन् किनकि मर्दा मलामी चाहिन्छ भनेर म अहिलेदेखि चिन्तित छु र सबैलाई खुशी राख्न चाहन्छु । आलोचनाभन्दा प्रशंसाले हल गुन्जियोस् । किताबमा कमी–कमजोरी औंल्याउने मान्छे भनेका वर्ग–शत्रु हुन् । तिनीहरूबाट टाढा रहेकै बेस । कार्यक्रममा खाने कुराको व्यवस्था त्यति राम्रो चाहिन्न । दुई गेडा समोसा र सेलाएको गल्ली चिया भए पुगिहाल्छ । खाने र भलाकुसारी गर्ने कुरामा समय खेर नजाओस् । किताबको चर्चामा भन्दा आसन ग्रहण, भाषण र प्रशंसामा धेरै समय खर्च गर्नु होला । सम्झौता अनुसार चाँडै नै विमोचन समारोहको निम्तोको आशा गर्दछु ।
नारायण भट्टराई



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२६ कार्तिक २०८२, बुधबार 










