संसारको सबैभन्दा निर्मल र पवित्र भावना माया हो । सन्तानलाई गरिने आमाको मायाको तुलना छैन । मायाको अन्त्य हुँदा आमाको हृदयलाई सम्हाल्ने ताकत प्रकृतिमा छैन । ममताले जन्माउने साहस पनि अमूल्य छ । अमूल्य साहस प्रदर्शन गर्ने देशभक्त सन्तान श्रद्धेय छन् । जिन्दावाद !
आमाको आँशुमा सङ्घर्षको कथा हुन्छ । बाबुको पसिनामा आशाको शिखर हुन्छ । आमाले नखाई भोक टार्न सक्छिन् । पानीबिना प्यास तृप्त पार्न सक्छिन् । उनी भोक र प्यासलाई जितेर सन्तानलाई पढाउने, लेखाउने र हँसाउने सपना देखिरहिन् । बाबु हात र ख्ट्टामा ठेला उठाएर सन्तानका मस्तिष्क र पाखुरामा ज्ञान र सीप थपिदिन्छन् । आफ्ना सन्तानको हाँसो खुलेको र बोली फुटेको दिन आमाबाबुको खुशीको क्षितिज फराकिन्छ । तर आफ्नै अगाडि सन्तानले आँशुसँगै रगत पोखेको दिन कसरी सह्य हुन्छ ? बाबुको पसिना केवल श्रम होइन, पसिनामा सपना सिञ्चित हुन्छ । खेतबारीमा जोत्न पोखिने पसिनाले सन्तानको भविष्यको बिउको अङ्कुरण गर्छ । त्यस बिउमा किरा लाग्दा आमाबाको मन कसरी थामिन्छ ? शिकारी रोस सन्तानको छातीमा रोपिई रगतले सडकमा खोलो जन्माउँदा नौ महीनाको पीडा आमाको मनमा कसरी मडारिन्छ ? के त्यसमा सुनामी वेग हुन्न ? मेरा सन्तानमा यही घात भयो र म विवश छु । मैले सन्तान देशलाई दिँदा तिमी हारेको नसम्झ । म आमा हुँ, हारेकी छैन । मैले तिमीलाई पनि हार्न सिकाएकी छैन । तिम्रा बाका पाखुरामा अझै भक्ति ऊर्जा सक्रिय नै छ । बगेको रगतसँग जोस माग, घाइते मुटुसँग होस् माग, तिमी घाइते पाइलाले सयौँ कोस हिँड्न सक्छौ, हिँड । जेन्जी तिमी घायल छैनौ, म मेरो मुटु तिमीलाई पैँचो दिन्छु किनकि म तिमीलाई जन्माउने बहादुर स्वतन्त्रता हुँ ।
जीवनमा सफलताको मूलमा आमाबाबाको त्याग हुन्छ । तिम्री आमाले दिनभर साहुकहाँ काम गरेर थाकेको शरीर लिई घर आउँदा तिमीलाई पढ्न सिकाएर सुतेकी छिन् । बाबाले गैरीटारे मुखियालाई सपना सापट दिएर तिमीलाई स्कुलको आँगनमा पुर्याएका छन् । त्यही त्यागले तिम्रा हात उठेका हुन् । हात नकमाऊ, सोचमा आँधी नआओस् । सोचको गाम्भीर्यले भविष्य सुखी बनाउने छ । तिमी बढ, तिम्रो योजनाको सीमासम्म बढ र सीमापारिको खुशी मलाई पनि बाँडेर आशाको घडा भर । तिमीलाई साथ दिने साथी छन्, वास दिने छाती छन् । तिमी बेसहारा छैनौ, म तिमीलाई मस्तिष्कको एक कुना खाली गरिदिन्छु ।
तिमीलाई थाहा छ, पल्लाघरे आमा बिहान सबेरै उठेर कति काम गर्थिन् ? बेलुकी अरूको घरमा काम गरेर उनकी छोरीलाई हातमा के दिन्थिन् ? हो त्यही पढेर छोरी जीवनोपयोगी उपाधि लिइन् । उनले उपाधि लिएका दिन आमाका आँशुका थोपा भुइँमा झर्न नदिई छोरीले यो सफलता मेरी आमाको हो भनेको तिमीले बिर्सेकी छैनौ नि छोरी ? आज सडकले तिम्रो नाम लिएर पाएको सफलता अतिको विरोध गर्न सिकाउने मिम्री आमाको पनि सफलता हो । यो पहिलो सफलता हो । बढ, दोस्रो सफलता तिमी आफैँ लेऊ र तिम्री छोरीलाई पनि पहिलो पाठ सिकाऊ । म तिमीलाई जीवनभर पढिनसक्ने जीवनशास्त्र उपहार दिन्छु ।
छोरा ! मजदुर माल्दाइलाई भुलेका छैनौ नि ? उनले मजदुरी गरेर छोरो पढाए । छोरो गरिखान सक्ने भएपछि उनले भनेका थिए, मेरो पसिनाले छोरालाई उज्यालो दियो । बुझ, आमाबाबुको आँशु र पसिनाको मूल्य संसारका कुनै धनदौलतसँग तुलना हुँदैन । मैले तिमीलाई डाक्टर, इन्जिनियर बनाउन सकिनँ तर प्रताडनाको प्रतिकार गर्न त पक्कै सिकाएँ । तिमी बरु ढल, अन्यायसँग कहिल्यै नडराऊ । तिमी चट्टान फुटाएर सुत्केरीलाई अस्पताल पुर्याउने बाटो बनाइदेऊ । सम्माननीय सवारीलाई भरियाको पीडा बोक्ने डोली बनाइदेऊ । म तिमीलाई लड्न चट्टान फुटाउने औजार दिन्छु ।
वस्तुको मूल्य थाहा पाउन चेतना खुल्नुपर्छ । कसैले आफ्ना आमाबाबु गुमाएपछि उनीहरूको मूल्य बुझ्छन् । जिन्दगीभर आमाको आँशु देखेर पनि वास्ता नगर्ने छोराछोरी, आमाको अन्त्यपछि आँशु सम्झेर भक्कानिन्छन् । संसारका सबै महल, सम्पत्ति, सम्पर्कले पनि त्यो खालीपन भर्न सक्दैन । बाबुआमाले सन्तानको मूल्य त सन्तान जन्मेकै दिन बुझेको हुन्छन् । तिमी हाम्रो र देशको सम्पदा हौ भन्ने कुन बाबुआमालाई थाहा छैन र ? सम्पदा नासियो भने सभ्यता नाङ्गिन्छ । तिमीले सभ्यता बचाउनुपर्छ, बनाउनुपर्छ । तिमीले नयाँ बिहान सिर्जना गर्नुपर्छ । तिम्रा हातमा अवसर छ, तिम्रा सोचमा नवीनता छ । तिमीले पढेका छौ नि मकैको बिउ प्राप्त गर्न बोट मर्नुपर्छ । म त केवल बोट हुँ, कहिले गवारो लाग्यो, कहिले किरा लागेर ढोड कुहियो । अस्वस्थ ढोड त पशुलाई पनि खुवाउनु हुन्न । तिमी त शुद्ध बिउ हौ, वर्णसङ्कर नबन । वर्णसङ्कर त हेर्दा मात्र राम्रो हुन्छ, स्वाद, गुण र दीर्घता केही हुन्न । तिमीले त दीर्घबाहु बन्नु छ । जीवनको साँचो प्रेरणा सम्पत्ति वा उपाधिबाट प्राप्त हुँदैन । आमाबाबुको आँशु र पसिनाबाट आउँछ । देशको माग र तिम्रो अग्रगामी सोचबाट आउँछ । उसका बाआको बिस्तारा र तिम्रो डफल्लो चिन्न सक्नुपर्छ । तिमीले उसको खुशी र तिम्रो आँशुको तुलना गर्न सक्नुपर्छ । तिमी मखमली शेजको कल्पना नगर, आमाबाको सपना र तिम्रो भविष्यको जिम्मेवारी तिमीले नै लिनुपर्छ । उसले त हाम्रो न्यानो खोसेर उसको जाडो भगाएको हो । बुझ, हुरीले पहाडको फेदी र शिरलाई एकै चोटी हिर्काउँछ । अग्दा रुख हुरीमा भाँचिन्छन् । तिमीले बाढीले दूबो बगाएको कहिल्यै देखेका छौँ । तिमी हरियो दूबो बन, बस् पुगिहाल्छ, गलामा सजिने छौ । सन्तान गुमाउने आमाको आँशु दुर्बलताको सङ्केत होइन, त्यसमा अपार प्रेम मिसिएको हुन्छ । बाबुको पसिना साधारण पानी होइन, त्यसमा देशको भविष्यको बिउ हुर्किएको हुन्छ । तिम्रो सपना केवल व्यक्तिगत चाहना होइन, यो बेथितिका विरुद्ध जीवनसङ्घर्षको प्रतिफल हो । तिमी विधि पढ, बदल वा सिर्जना गर । एक्लो बन तर बढिरहू । जेन्जी, म तिमीलाई परिवर्तनको परिभाषा भएको विश्वकोश दिन्छु ।
तिमी साहसी छौ । साथी गुमायौ तर सत्य छाडेनौ । तिमीले दान दिउको भिक्षामा रजाइँ गर्ने तिनका सन्तान तिम्रा साथी बन्न सक्दैनन् । साथी बन्न समान हैसियत नै काफी हुन्छ । हैसियत बढाउन मलाई कसैले दमन गर्छ भने मैले तिनको हैसियत परिवर्तन गर्नुपर्छ भन्ने बुझ । संसार युवाको हातमा हुन्छ । युवामा वायवेग हुन्छ । तिमीमा वायुवेगी साहस छ । साहस बटुल र एकीकरण गर । हामी खाली भइसकेका छौँ, खाली र शून्य मात्र देख्छौँ । तिमी खालीमा भरिएको भाग खोजेर विस्तार गर । शून्यको मोल खोज । खरानी विनाश मात्र होइन, भ्रष्टताको खरानीमा कल्पवृक्ष रोपेर तिमी हामीलाई हरियाली दिन सक्छौ । पाखा र कान्लाभरि विकास फलाएर तिमी हामीलाई आवाज दिन सक्छौ । हजुरबाको पुरानो टोपी शिरमा लाएर तिमी आफ्नो गाउँको बाटो आफैँ बनाउन सक्छौ । पारिघरेसँग इँटा नमागी तिमी माटाको डल्लाको सुन्दर घर आफैँ बनाउन सक्छौ । तिमी आजैदेखि देशमा सौन्दर्य भर । म तिमीलाई मेरो शृङ्गार दिन्छु । तिम्रो पाइलो नौलो छ, तिमी कतै नहेरी सिँढी चढ । तिमीमा अमार साहस छ, प्रत्येक श्वासमा विश्वास भर ।
तिमी साहसी छौ । साहस अनमोल हुन्छ । अनमोल साहसलाई जिन्दावाद !!!



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३१ जेष्ठ २०८३, आईतवार 










