आकाङ्क्ष र अन्तर्द्वन्द्वको उरुङमा बाँचेको म आज एकाएक खुशी भएको छु । खुशी हुनुका खास कारण पनि छैनन्, तैपनि खुशी छु । खास कारणले आनन्द वा मनोरञ्जनले खुशी भएको होइन, त्यत्तिकै खुशी छु । मानिस कुन्नि किन हो कहिलेकाहीँ त्यत्तिकै पनि खुशी हँदो रेहछ ।

निन्द्रा खुलेदेखि आनन्दको अनुभूति छ । मन उदात्त छ । वरपरका वटवृक्षहरू पनि लहलह देखिएका छन्, मानौँ आकासँगको जुवारीमा छन् । मनमा आनन्द भएपछि वट–विरुवा, लहरा–गमला सबै उदात्त–उज्याला लहलह देखिएका छन् । मनलाई देखाउने ऐना चेहरा, चेहरामा देखिने मन । त्यसैले भनिएको होला मानिसको मन जस्तो छ, चेहरा उस्तै देखिन्छ । मनलाई भने ससाना संवेगका स्ट्रोक (झोक्का) ले खुलस्त पार्दो रहेछ । संवेगको एउटा स्ट्रोकले अर्को स्ट्रोक बनाउँदो रहेछ । फेरि त्यस्तै अर्को हुँदाहुँदै मनभरि खुशीका तरङ्ग फैलिएपछि चेहरा पनि कञ्चन, उज्यालो देखिने नै भयो ।

ससाना खुशीका लहरले तरङ्गित मनको तलाउ स्वचालित खुशीका सिर्जनामा अघि बढ्छ । आकाश निलाम्मे छैन, निलाम्य हुनु आकाशको सौम्यता तर निलाम्मे नभैकन आकाश सुन्दर छ । नीला मैदानमा बादलका मिले नमिलेका ढिस्काहरू सेता प्यूरीका पहाड बनेर ठडिएका छन्, ठूलासाना, थेग्लाथेग्ली प्यूरीका पहाड कालिगढीका सपाट सुन्दर चित्र झैँ चहकदार छन् । कुन्नि हिजोअस्ति बादल मडारिएको सम्झिने मनले बादलका थेग्ला–थेग्ली, झोलिएका–तेर्सिएका सेता चक्लालाई प्यूरीको पहाड सम्झिएको छ । प्यूरी पहाडमा उषाको किरणले चाँदीको चम्कना रिङ्गै लगाएको छ । चराचुरुङ्गीका चिरिबिरीले मनलाई झङ्कृत गराएको  छ । आकाशसँग मितेरी लगाउन फूलचोकीहरूले उपत्यका रिङ्गै घेरेका पहाडहरू, पहाडका बीचबीचका ससाना थली र उज्याला संरचनाहरू खुशीका अवयव, रङ्रोगन, भाव–विभाव, रूप प्रतिरूपमा छन् । प्रकृति आफैँमा नाद, लय, रङरूप, शब्दङ्गीतको समुच्चा हो । मनलाई खुशी बनाउने प्रकृति रहेछ । प्रकृतिमा खुशी देख्ने मन रहेछ । मन बिझाउँदा प्रकृति भयङ्कर बन्यो, मन गम्भीर हुँदा प्रकृति सौम्यशक्तिमा देखियो, मनमा खुशीका तरङ्गहरू लहरिँदा प्रकृति त्यही लयमा चञ्चलिएको छ ।

घरको दैलोमा माग्न आउने भिक्षुले आज सोइलामा खेल्यो । सधैँ आलाप–विलापमा माग्नेस्वर सुन्ने दैलोले आज बौद्धदर्शनको सोइलामा सुन्यो, ओम् मणिपद्येको मन्त्र सुन्यो । बाल्यकालको स्मृति एकाएक ताजा भएर आउँछ, रातापहेँला जामाधारी सोइलामे भिक्षुले सोइलामा खेल्दा घर–टोल नै झङ्कृत हुन्थ्यो, पवित्र भए झैँ लाग्थ्यो । पभत्र हजुरबुवाको गीता र दुर्गा शप्तसती पाठ, आँगनमा लामा भिक्षुको सोइलामा ! सोइलामा र शप्तसतीको प्रतिस्पर्धा होइन, परिपूरकता छ । भिक्षुलाई जति दिए पनि भो, नदिए पनि भो । दिएर कसलाई पो पुग्छ र ? लिनेभन्दा दिने खुशी हुने परिस्थितिले दिनेहरू आफैँ खुशी हुन्छन् । दिने त एक पाउ जति चामल र पाँच रुपैँया पैसा न हो ।

सोइलामे धूनले बाल्यकालमा ओराल्यो । तिमाल, डाँडापारिदेखिका लामा भिक्षुहरूले वर्षमा एकाध पटक सोइलामाले आँगन घन्काउँदा हामी दाजुभाइ वरिपरि बसेर मग्न हुन्थ्यौं । गौतम बुद्ध त कहाँ गए, उनका दूतले आँगन घन्काउदा कति मज्जा ! त्यो बाल्यकाल ससाना खुशीहरूको स्वर्ग । साथीले पिपलमेट दिँदा पनि मन फुरुङ्ग हुने, आफूले पुष्टकारी बाड्न पाउँदा त दानपरिमिता नै हाँसिल गरेजस्तो फुरुङ्ग । हाजिरी जवाफ र कविता प्रतियोतिामा जितेर पच्चीस पैसाको कापी र दश पैसाको सीसाकलम पुरस्कार पाउँदा पाठशालाभरिको उम्दा आफैँ बनेर तिमालडाँडाको उचाइ छुन्थेँ । घर पुग्दा आमाले स्यावास भन्दाको खुशी, त्यो खुशी, अर्को खुशी, खुशीले थपेका लहरे खुशीहरू ! रहरमाथि रहर थपिएर उद्दाम रहरले उर्लिएको मनले ल्याएका खुशीहरू । श्रीपञ्चमीको सरस्वती पूजाको खुशी त अक्षरले उतार्न के सकोस् । खर्कन डाँडामा सरस्वती माया दृष्टाको श्लोक घन्केर पूजा गर्दा विद्या र बुद्धि मेरै पाठशालामा झरेजस्तो, अहिलेका हावर्ड र प्रिन्स्टनले के भेट्थे । बाल्यकाल भनेको ससाना खुशीको तिमाल हो, सगरमाथा हो । अनि आज सोइलामा आफ्नै आँगनमा देख्दा किन खुशी नहुनु !

भोक पनि लागेको छैन । बार्दलीमा बसेर मनमोहक आकाश क्यानभासका प्यूरी पहाडचित्रमा डुब्दै छु । दैलोमा साइकल अड्याएर हकरले म भएतिर पत्रिका हुत्यायो, दुई हातले झ्याप्प समातेँ । यसले सानोमा बल खेल्दाको आनन्दको स्ट्रोक दियो । खर्क डाँडामा एक बजेको छुट्टीमा यसैगरी बल पास गर्ने खेल खेल्थ्यौँ । कुन्नि कसले त्यो भकुण्डो खेलको नाम गेम राखिदिएछन् । आखिर नाम बुझ्नका लागि न हो । भनौँ, हामी गेम खेल्थ्यौँ । गेम खेल्दा टाढाबाट पास गरेको भुकुण्डो उफ्री उफ्री झ्याप्प समाउथ्यौं । हामीले भकुण्डो होइन, खुशी समातेका हुन्थ्यौं । अहिले झ्याप्प पत्रिका समातेको होइन, त्यो समातेको खुशी हो । पत्रिकाको शनिवारे खण्डमा मेरै पुस्तकको चर्चा छ । अर्को फेरि सानो खुशी थपियो । धेरै साना खुशीको गदगदले लगातार खुशी आमन्त्रण गर्दैछ । गोलार्द्धको पल्लो कुनामा रहेका बच्चाले दृश्य कुराकानी गर्यो । ऊ पनि आज कति खुशी छ । पोहोर स्काइडाइभको साहसमा यसैगरी रमाएर खुशी साझा गरेथ्यो । आज आकाशमा विमान उडाएर ल्याण्ड गरेको खुशी साझा गर्यो । वृत्ति र सिकाइका शुरुवाती सफलताले यसैगरी साना खुशीको खात थप्छ । खुशीले तानेको अर्को खुशी । खुशीका ससाना इट्टाको खातले जीवन नै खुशी हुने न हो ।

खुशी हुन निश्छल मन चाहिने रहेछ । प्रकृति जस्तै स्वाभाविक पन चाहिने रहेछ । निस्काम भावना चाहिने रहेछ । स्वतन्त्रताको बयेलीमा सलल… बग्ने बहाव चाहिने रहेछ । खुशी हुने स्वभाव चाहिने रहेछ । एकाग्रता चाहिने रहेछ । कल्पनाको सागरमा पौडिने स्वच्छन्दता चाहने रहेछ । त्यसैले त ओशोले भनेका छन् पशुतह (प्राकृतिक तह?) मा ओर्लेर आनन्द अनुभव गर्न सकेपछि पूर्ण आनन्दमा पुग्छ । यो चरम सुख पनि हो, चरम आनन्द पनि हो । सहजै मानिस चरम आनन्दमा पुग्न सक्दैन । उनी बुद्धको साधना र जोर्वाको कर्ममा प्राकृतिक तहको खुशीमा पुगे र खुशीमा उथलपुथल भए ।

के सधैँ प्राकृतिक तहको खुशी सम्भव छ ? मानिस आफ्नै सपनाको उत्पादन हो । सपना देख्नेहरू नै परपरको क्षितिज छुने आकाङ्क्षा राख्दछन् । अफसोच, आकाङ्क्षा र भयले मानिस प्राकृतिक तहको खुशी र आनन्दमा पुग्न सक्दैन । मानिस आफ्नै खुशीको आफै बाधक हो । ऊ जीवन साथीमाथि वर्चस्व गर्छ, वासनाको वर्चस्व, त्यसपछि अरु वर्चस्व । पतिले पत्नीलाई एकाधिकारमा नराखेको भए आकाङ्क्षा, भय र सन्देहका प्राथमिक तहका बारहरू भत्किने थिए । एकाधिकारले संरक्षणको माग गर्यो । मायाको माग गर्यो । अब नैसर्गिक निजत्व र स्वतन्त्रतामाथि सीमाबार लगायो । सन्तान जन्मेपछि पालन, पोषण, संरक्षण र शक्तिको फन्दामा पर्न थाल्यो । अब ऊ प्रकृतिबाट पर पुग्छ । भनिएला, सन्तान, परिवार, यौन, शक्ति सबै प्रकृतिका विषय हुन् । तर परिवार नामको शक्तिशाली सामाजिक संस्था, त्यसले सिर्जना गर्ने दायित्व र क्रमशः थपिने समाज, शासन र त्यसभित्रका रीति–औपचरिकताले मानिस प्रकृतिबाट पर पुग्छ । अकाङ्क्षा राख्छ, सकी नसकी अभिष्टका पहाड चढ्छ, असजिलोमा हेलिन्छ, अन्तर्द्वन्द्वमा पर्छ, चक्रव्यूहमा फस्छ । प्राप्तिले पनि प्रतिरोध जन्माउँछ । प्रतिस्पर्धा र उछनापछिन शुरु हुन्छ । तृष्णा र लालसाका अनगिन्ती असरेल्तीमा मानिस नैसर्गिक स्वतन्त्रता र प्राकृतिक खुशीबाट धकेलिन्छ । समाजको तगारो, शासनको विधान, परिवारका कर्तव्य अनि अनेकन औपचारिकतामा मानिस साँघुरिन्छ । ऊ जड होइन, चेतनामा साँघुरिन्छ । खुशीमा साँघुरिन्छ, आनन्दमा साँघुरिन्छ । खुशी भनेको फैलनु हो, स्वतन्त्रता र प्रकृतिपन हो । आफैँभित्रको खुशीलाई थुनेर मानिस खुशीको खोजी गर्छ  । तथ्य बोल्न नसकिने कथाको भ्रम बोल्न थाल्छ । खुशी यसैगरी लखेटिने त हो नि ।

सामाजिक मानिस आकाङ्क्षा र उम्मेद राख्छ । आकाङ्क्षा मानिसको शक्ति हो, उत्साहका साथै त्रास र सन्देहको बीउ पनि हो । आकाङ्क्षको मानिस विचारमा स्वतन्त्र हुँदैन, व्यवहारमा स्वतन्त्र हुँदैन । ज्ञानका सीमाहरू छन् । ज्ञानका सीमामा रहेर स्वतन्त्रता र खुशीको यात्रा गर्न सकिँदैन । सीमाहीन स्वतन्त्रताका लागि प्रेम गर्छ, प्रेमले स्वतन्त्रता दिनुपर्नेमा समाज, विवेक र चेतनाका तहहरूले यसलाई पछिल्तिर ङ्याँक्छ । जटिलता र सीमाबन्धनको यात्रामा ससाना खुशीमा मानिस रड्ड पर्छ । आजको मेरो रड्डपन जटिलतासँगको जीवन, सङ्घर्षको यात्राको पुलकित स्ट्रोक हो । भोगाइको स्मृतिले, त्यसका पृष्ठभूमिका सपनाले मलाई रोमाञ्चित बनायो । यी ससाना खुशीको मसिना झोक्काहरू सधैँ प्रस्तुत गर्न कहाँ सकिन्छ र ? न मन उघार्न शब्द मान्छ न शब्द मनसम्म संवेगित हुन्छ ।

साना खुशीका तहमा फर्केर फेरि रामोञ्चित भएँ । आशाको त्यान्द्रो समाएर फेरि रोमाञ्चित भएँ । प्राप्तिलाई न प्रतिरोध गर्नु हुन्छ न उपेक्षा भनेर खुशी भएँ । हो, मानिस आफैँमा रोमाञ्चित हुनुपर्छ । कसैले बत्ती बालेर आफैँलाई खोजेको छैन । कसैले बुझेर माया गरेको छैन । कतिहरू भएनन् होला । म भएकोमा, म आफू भएकोमा कृतज्ञ छु । सोच्न सकेकामा, हेर्न सकेकामा, बुझ्न सकेकामा, सङ्घर्ष गर्न सकेकामा, स्वाद लिन सकेकामा, सिर्जना सकेकामा म आफैँमा खुशी छु । आफैँप्रति प्रश्न उठाउन, आफैँ विवेचित हुन मानिसबाहेक अरु को सक्छ ? आफैँमा सपना रोप्न, आफ्ना सपनाका तानामा डुबुल्की मार्न सकेकामा खुशी छु । प्रेममा खुशी छु, प्रश्नमा खुशी छु, प्रशंसामा खुशी छु, कथामा खुशी छु, प्रकृतिका दृश्यको आस्वादमा खुशी छु । साथित्व र सहयोगमा खुशी छु । अरुलाई प्रोत्साहन गर्न पाउँदा खुशी छु । दिनमा जति पाउँदा कहाँ खुशी मिल्छ र ? प्रोत्साहन शब्दमा साहस दिनु हो । अन्तरशक्ति उत्पादन गर्ने शब्दबाट स्रष्टालाई प्रोत्साहन गर्न पाउँदा खुशी छु । वृत्तिवरणका लागि सीप र शब्दबाट साहस भर्दा, आचरणका सिद्धान्त र सूत्र बताउदा खुशी छु । सङ्घर्ष असजिलो क्षणहरू स्मृतिको मीठो स्वादमा पाउँदा खुशी छु । सपना सकिएकाहरू धेरै त स्मृतिमा रमाउँछन् । सामर्थ्य पनि रित्तिन थालेपछि स्मृतिको स्वाद निकै मीठो हुन्छ । म भने अझै सपना र सङ्घर्षको स्वादमा छु । मेरा लागि खुशीका यी ससाना पोयाले आफ्नै अन्तरशक्ति पनि बढेको छ । खुशी त आत्मीक उर्जा र स्वयमेव शक्ति हो । ‘अप्पो दीपो भव‘ ।