चिन्तनको कुहिरोमा हराएको विवेक
मानव चेतनाको विकासमा विचारको स्पष्टता आधारभूत तत्त्व हो । विचार केवल मस्तिष्कको गतिविधि होइन, यो अस्तित्वको दिशा दिने चित्तको अवस्था हो, जसले मानिसलाई आत्मबोध, नैतिक विवेक, मूल्यबोध र सामाजिक जिम्मेवारीको अनुभूति गराउँछ । जब विचार प्रष्ट हुन्छ, तब जीवनलाई उद्देश्य, सम्बन्धलाई संवेदनशीलता र कर्मलाई अर्थ प्राप्त हुन्छ । तर विचार अस्पष्ट हुँदा मानिस भावनात्मक अस्थिरतामा फस्छ, जहाँ क्षणिक भावनाहरू, भ्रम र इगोले तर्क र विवेकलाई विस्थापित गर्छन् । यसरी चेतना कुहिरोमा हराउँदा व्यक्तिको निर्णय क्षणिक प्रतिक्रियामा आधारित हुन थाल्छ ।
विचारहीन अवस्थामा मानिसको आत्मचिन्तन क्षीण हुन्छ, जसको परिणामस्वरूप उसले आफ्ना कार्यहरूलाई विवेकसम्मत तवरले हेर्न सक्दैन । कर्म, सम्बन्ध र अस्तित्वबीचको अन्तरसम्बन्ध उसले महसूस गर्न सक्दैन । परिणामस्वरूप, ऊ सामाजिक जीवनमा दिशाहीन, नैतिक निर्णयमा दुर्बल र आत्मबोधमा असमर्थ देखिन्छ । यस्तो स्थिति केवल व्यक्तिगत ह्रास होइन, सामाजिक र सांस्कृतिक संकटको सूचक पनि हो । त्यसैले मानिसको जीवनमा सोचको स्पष्टता र गहिराइ अत्यन्त आवश्यक छ— नत्र, ऊ केवल बाँच्ने प्रक्रियामा सीमित रहन्छ, जिउने कलाबाट वञ्चित हुन्छ ।
यस्तो अवस्थामा व्यक्ति निर्णयहीनताको गर्तमा फस्छ । ऊ न त अघिल्लो बाटो त्याग्न सक्छ, न नयाँ दिशा अँगाल्न सक्छ । यो मानसिक दोधार उसलाई आत्मशंकाको चक्रमा फसाउँछ, जहाँबाट निस्कन सजिलो हुँदैन । फलस्वरूप, ऊ नशा, गफ, झगडा, समूहको प्रशंसा, वा झूटो आत्मतुष्टिको शरण लिन्छ । भट्टीतिर लाग्नु शारीरिक लत होइन, एक प्रकारको विचारहीनताको पराजय हो— जहाँ मानिस आफैँबाट भाग्न खोज्छ, किनभने ऊ आफैँप्रति उत्तरदायी हुन सकेको हुँदैन । यस्तो पलायन चेतनाको क्षय र जीवनको दिशाहीनताको दारुण सङ्केत हो ।
कुरा नमिले पनि निरन्तर गफ गर्ने बानी विचारहीनताको मनोरञ्जनात्मक मुखौटो हो । यस्तो संवाद संवादजस्तो देखिए पनि त्यो अर्थहीन ध्वनिको श्रृंखला मात्र हुन्छ । जब मानिससँग स्पष्ट दृष्टिकोण, तथ्य र तर्क हुँदैन, तब उसले खाली शब्दहरूको भीड खडा गरेर आफूलाई “सक्रिय” देखाउने प्रयत्न गर्छ । यस्ता गफहरूमा विषयको गहिरो विवेचना हुँदैन, केवल सस्तो हाँसो र समर्थनको अपेक्षा हुन्छ । वास्तवमा, यथार्थको आँखा जुधाउन नसक्नेहरू नै यस्ता गफमा रमाउँछन्, किनकि त्यसले उनीहरूलाई विचार गर्नुपर्ने जिम्मेवारीबाट उन्मुक्ति दिन्छ ।
त्यस्तै, सानातिना विषयलाई बढाइचढाइ गरेर झगडाको रूप दिने प्रवृत्ति पनि मानसिक अस्थिरताको संकेत हो । यहाँ विषय गौण हुन्छ, अहंकार प्रधान हुन्छ । विचार नभएपछि संवादको उद्देश्य समाधान होइन, वर्चस्व देखाउनुपर्छ भन्ने मानसिकता हाबी हुन्छ । साना कुराबाट उत्पन्न ठूला झगडाहरू वास्तवमा गहिरो आन्तरिक रिक्तताको प्रतिफल हुन्, जसमा मानिसले आफ्नै अस्तित्व प्रमाणित गर्ने असफल प्रयास गर्छ । यस्तो झगडा केवल सतही द्वन्द्व होइन, एक प्रकारको चेतनहीनता हो— जहाँ आत्मबोधको अभावले हिंस्रक वा द्वन्द्वात्मक व्यवहारलाई रोज्छ ।
सिग्मण्ड फ्रायडको मनोविश्लेषण सिद्धान्तले मानिसको मानसिक संरचनालाई इड (आई.डी.), इगो र सुपरइगोका रूपले व्याख्या गर्छ, जहाँ इडले लालसा र तात्कालिक सन्तुष्टिको खोजी गर्छ, इगोले यथार्थको आधारमा निर्णय लिन्छ, र सुपरइगोले नैतिक मूल्यहरूको पहरेदारी गर्छ । विचार अस्पष्ट हुँदा इगो कमजोर र अनियन्त्रित हुन्छ, जसले इडको वासनात्मक आग्रहहरूलाई थाम्न सक्दैन । यस्तो अवस्थामा मानिस आत्मकेन्द्रित, स्वार्थी र गैर-जिम्मेवार व्यवहारतर्फ आकर्षित हुन्छ । सुपरइगोको चेतना नहुँदा मानिस केवल “चाहनामा” बाँच्छ, “कर्तव्य” बिर्सन्छ । विचारहीन अवस्था, यसर्थ, मानसिक संरचनाको असन्तुलन हो जसले व्यक्ति र समाजलाई हानि पुर्याउँछ ।
त्यही मानसिक असन्तुलनको परिणतिअरूप ‘तेरो–मेरो’को विवाद उत्पन्न हुन्छ । विचारहीन मानिसका लागि सम्बन्धहरू आत्मीयताको होइन, स्वामित्वको विषय बन्छन् । उसले प्रेम, स्नेह वा सहयोगभन्दा बढी अधिकारको भाषा बोल्छ । यस्तो मनोवृत्तिमा ‘हाम्रो’ भन्ने सामूहिक चेतना विकसित हुन सक्दैन, किनभने त्यो ‘मेरो’को सीमाभित्र कैद हुन्छ । जब परिवार, समाज वा मित्रता पनि स्वार्थको औजार बन्न थाल्छन्, तब समर्पणभन्दा प्रतिस्पर्धा, विश्वासभन्दा नियन्त्रण बलियो हुन्छ । यसले अन्ततः सम्बन्धहरूलाई खाडलमा परिणत गर्छ, जहाँ एकता होइन, टकरावको बीउ उम्रन्छ।
विचारहीन मानिसहरू आत्मनिर्भर हुने क्षमताबाट वञ्चित हुन्छन्, जसले गर्दा उनीहरू अरूको सहयोग गर्न असमर्थ हुन्छन् । उनीहरू सिर्जनात्मक प्रयासहरूभन्दा पनि सम्पत्तिमा आश्रित हुन्छन्— भौतिक साधनलाई जीवनको केन्द्र बनाउँछन्, तर आत्मविश्वास र आत्मबोधको विकास गर्न सक्दैनन् । यस्तो मानसिकता परजीवी प्रवृत्तिको हो, जहाँ जीवन आफ्नै खुट्टामा उभिन सक्दैन, अरूको छायामा अडिन्छ । विचारको कमीले उनीहरूलाई सहकार्य होइन, आश्रय खोज्न बाध्य बनाउँछ, जसले समष्टिगत विकासको सन्दर्भमा गम्भीर अवरोध खडा गर्छ ।
यिनै मानिसहरू जब समय र ऊर्जाको सही सदुपयोग गर्न सक्दैनन्, तब जीवनको अमूल्य क्षणहरू निरर्थक क्रियाकलापमा खेर जान्छ । उनीहरू जीवनलाई उद्देश्यपूर्ण यात्राका रूपमा होइन, केवल घटनाहरूको शृङ्खला वा एकदिनको पुनरावृत्तिका रूपमा हेर्छन् । विचारविहीनता उनीहरूलाई दीर्घकालीन लक्ष्य निर्माण गर्नबाट रोक्छ, र तिनको ऊर्जा तात्कालिक मनोरञ्जन, प्रदर्शन वा स्वाङमा खर्च हुन्छ । यसले न त व्यक्तिगत विकास सम्भव हुन्छ, न त सामाजिक योगदान । यस्तो अवस्थाले जीवनको सार र सम्भावनालाई बिर्साउने खतरनाक स्थितिमा पुर्याउँछ ।
विचारविहीनता व्यक्ति स्वयंप्रशंसाको बन्दी बन्ने प्रक्रियाको थालनी हो । जब मानिससँग स्पष्ट विचार, आलोचनात्मक चेत, र आत्मचिन्तनको सामर्थ्य हुँदैन, तब ऊ आफ्ना कमजोरीलाई स्वीकार्न सक्दैन । त्यसैले ऊ आफ्नो प्रशंसा मात्र गर्ने समूहहरू निर्माण गर्छ, जहाँ ‘हाँ’ भन्नेहरूको संख्या बढी हुन्छ, तर यथार्थ बोल्नेहरूको उपस्थिति न्यून हुन्छ । यस्ता समूहहरू संवाद र विचार आदानप्रदानको प्लेटफर्म हुँदैनन्, बरु आत्मतुष्टिको बन्द कोठा बन्न पुग्छन् । यहाँ सत्यभन्दा बढी भावनात्मक सुरक्षा, आत्मरति र अवास्तविक महत्त्वाकांक्षाको पूर्ति प्रधान हुन्छ ।
यिनै प्रशंसा–प्रधान घेरोहरू जब भत्किन्छन्, वा साथ छाड्छन्, तब विचारहीन व्यक्ति गहिरो निराशामा जान्छ । उसको आत्मबल समूहको समर्थनमा आधारित हुन्छ, व्यक्तिगत आत्मबोधमा होइन । जसको कारण, जब ऊ त्यो समूहबाट टाढा हुन्छ, उसले आफ्नै अस्तित्वलाई संकटग्रस्त ठान्छ । त्यसबेला ऊ विकल्प खोज्नभन्दा पनि हार स्वीकृत गर्न अग्रसर हुन्छ— धारे हात लगाउँछ, दोष अरूलाई लगाउँछ, र स्वयंको जिम्मेवारीबाट भाग्छ । यसरी समूहको अनुपस्थितिले उसको विचारहीनताको नग्न यथार्थलाई उजागर गर्छ, जहाँ न स्वाभिमान बाँकी रहन्छ, न जिजीविषा ।
जीवनको अन्तिम मोडमा पुगेर लिइने हठात् दुस्साहसी निर्णयहरू वास्तवमा विचारहीनताको चरम बिन्दु हो । जब व्यक्तिले जीवनका विविध अवसर, चुनौती र सम्बन्धहरूको मूल्यांकन नगरी निर्णय गर्छ, तब त्यसका परिणामहरू केवल आत्मघाती मात्र होइनन्, अरूका लागि पनि विनाशकारी हुन सक्छन् । यस्तो निर्णय न त विवेकले निर्देशित हुन्छ, न त दीर्घकालीन अनुभवले सन्तुलित बनाउँछ । अन्त्यतिर आइपुगेर लिइने यस्ता कदमहरू पछुतोको मूल स्रोत बन्छन् । जीवनभर गुमाएको छायाँ अन्त्यतिर देखिन थाल्दा ऊ डर, द्वन्द्व र असमर्थताको चपेटामा पर्छ, जसले उसलाई आत्मघातीकै बाटोमा धकेल्छ ।
अझ गम्भीर कुरा त के हो भने, यस्तो व्यक्ति जीवनको अन्तिम क्षणमा समेत परिवर्तनको सम्भावनालाई स्वीकार्न सक्दैन । मृत्युको साक्षात्कार– जुन चेतनको सबैभन्दा तीव्र क्षण हुन सक्छ – त्यही बेलामा पनि ऊ रूपान्तरण होइन, जङ्गिएको सोचमा अडिन खोज्छ । ऊ नयाँ चेतना होइन, पुरानो जडतालाई अङ्गाल्न खोज्छ । यसले देखाउँछ कि विचारको अस्पष्टता केवल बौद्धिक दुर्बलता मात्र होइन, आत्मिक शैथिल्य हो– जहाँ परिवर्तनलाई खतरा मानिन्छ र मृत्युलाई मुक्तिदाता ठानिन्छ । यस्तो अवस्थाले जीवनलाई केवल संख्यात्मक आयुमा सीमित बनाउँछ, गुणात्मक अनुभूति र रूपान्तरणको सम्भावनाबाट वञ्चित राख्छ ।
मृत्युपछि ठूलो भीडले लास पोलोस् वा गाडोस् भन्ने चाहना आत्मकेन्द्रित मानसिकताको पराकाष्ठा हो । यस्ता चाहनाहरूले जीवनका अन्तिम क्षणमा समेत सार्थक सम्बन्धभन्दा बाह्य प्रदर्शनलाई प्रमुखता दिन्छ । यो चाहना वास्तवमा विचारहीन जीवनशैलीको विस्तार हो, जसले आफ्नो अस्तित्वलाई केवल अरूको आँखाबाट देख्ने बानी बसाल्छ । जीवित रहँदा जो आफन्तसँग आत्मीयता गाँस्न चुके, उसले मृत्युमा औपचारिक भीड खोज्नु अनौठो होइन । त्यो भीड आफन्तको श्रद्धा होइन, नाटकको दर्शक मात्र हुन्छ, जहाँ मृतकको आत्माभन्दा बढी उसको सामाजिक हैसियतको अन्तिम प्रदर्शन देखिन्छ ।
त्यही आत्मप्रदर्शनको मानसिकता ‘१३ दिनको शोकलाई पाँच वर्ष लम्ब्याउने’ योजनामा प्रकट हुन्छ । इच्छापत्र लेखेर मृत्युलाई एक व्यक्तिगत इभेन्टमा रूपान्तरण गर्ने प्रयासले देखाउँछ कि विचारविहीन व्यक्ति जीवनभर अभिनय गर्छ, र अन्त्यमा त्यो अभिनयकै निरन्तरताको चाहना गर्छ । यहाँ संवेदना छैन, केवल औपचारिकता छ; आत्मचिन्तन छैन, केवल सामाजिक स्वीकार्यता प्राप्त गर्ने व्यग्रता छ । यस्ता मानसिकता व्यक्ति होइन, पात्र जन्माउँछ – जसको मृत्यु पनि एउटा कथा, दृश्य वा अन्तिम दृश्य बन्न पुग्छ, जीवनको निष्कर्ष होइन ।
मृत्युपछि आफ्ना निकटहरू वरिपरि रहने आश्वासन दिने प्रवृत्तिले मानव मनको गहिरो डरलाई उजागर गर्छ— एकान्तको भय। यस्तो मनोवृत्तिमा मृत्यु स्वाभाविक प्रक्रिया होइन, नियन्त्रण गर्नुपर्ने अवस्थाजस्तो देखिन्छ । यो प्रवृत्ति केवल भावनात्मक असुरक्षाको परिणाम होइन, विचारहीनताको सूचक हो, जहाँ मृत्युलाई पनि नियतिको स्वीकृति होइन, एक सामाजिक ‘इभेन्ट’ बनाइन्छ । मृत्युप्रति यति बढी भय र भ्रम तब हुन्छ, जब जीवन नै स्पष्ट उद्देश्यविहीन र असंलग्न रहन्छ । यस्तो मानिस आत्मचिन्तन होइन, सामाजिक आश्वासनको भरमा अस्तित्वको पुष्टि खोज्न बाध्य हुन्छ ।
विचारको अस्पष्टता केवल व्यक्तिगत कमजोरी वा मानसिक कमजोरी मात्र नभई गहिरो सामाजिक, नैतिक र अस्तित्वगत संकटको सूचक हो भन्ने कुरा यथार्थ छ । यसले व्यक्तिको जीवनलाई मात्र होइन, समाजका सम्बन्धहरूलाई पनि कमजोर बनाउँछ । जब विचार स्पष्ट र विवेकी हुन्छ, तब निर्णयहरू सोचविचार गरेर गरिन्छ, सम्बन्धहरू माया र संवेदनशीलताबाट भरिन्छन्, र जीवनलाई अर्थपूर्ण बनाउने उद्देश्य स्थापित हुन्छ । यसरी स्पष्ट सोचले मान्छेलाई मात्र होइन, पूरै समाजलाई स्थायित्व र प्रगतिको बाटोमा डोर्याउँछ ।
तर जब विचार धुमिल हुन्छ, मानिस सतही भोग र बाह्य प्रदर्शनमा रमाउने हुन्छ । गहिरो आत्मचिन्तन र विवेकी समीक्षा बिना नाटकीयता र भीडको समर्थनमा आफ्नो अस्तित्वको मर्म बुझ्न नसक्ने अवस्था जन्मिन्छ । यस्तो समाजमा साँच्चिकै जिउने कला लोप हुन्छ र केवल बाँच्छ भन्ने अवस्था आउँछ । त्यसैले आजको युगमा सोच्ने, विश्लेषण गर्ने र आत्मसमीक्षा गर्ने क्षमता विकास गर्नु सबैभन्दा महत्त्वपूर्ण जीवनकला हो, जसले हामीलाई सजीव र सशक्त बनाउँछ ।
(लेखक सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ ।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० पुष २०८२, बुधबार 




