मिचाहाहरूले कसलाई पो नपिरोलेको होला र ? झन् हामी बहुदलीय लोकतान्त्रिक देशमा बस्नेहरूले त यस बारेमा महाभारत नै लेख्न सक्छौं । केही समय अघिको त कुरा थियो । चुनावको बिजुली आकाशमा चम्कँदै थियो । वर्षौंदेखि ‘ठेकी’ पार्टीलाई विरोध गरिआएको ‘मदानी’ पार्टीको नेता बमबहादुर बस्नेत हिजो राति धमाकाका साथमा धुपौरे, चम्चे आदि सबैलाई लिएर ‘ठेकी’ पार्टीमा सामेल भएछ ।

यति मात्र कहाँ हो र ? नयाँ स्थानमा मञ्च जमाएर उल्टै ‘मदानी’ पार्टीको खोइलो उतार्नलाई प्रतिक्रिया र समालोचनाका बम वर्षाउन लाग्यो । यत्रा वर्ष दिलोज्यान लगाएर खटिरहेका ‘मदानी’ पार्टीका आजीवन सदस्यहरू उछिट्टिएर पाखा लागे । भविष्यमा राम्रा दिन आउलान् भनेर नपर्खिएर भयो ? पैसा र प्रभाव खटाएर यस्ता खालका इकोसिस्टमको निर्माण हाम्रा संस्था, सङ्गठन, समितिहरूमा पनि चलिरहेको छ । यसै किसिमका घटनाका बारेमा चर्चा-परिचर्चा कतै कुनै अखबारले पक्कै पनि गर्छ होला या गरिरहेकै होला । तर मानवेतर जगतका बारेमा कसले सोचिदिने ? तिनीहरू कस्ता प्रकारका मिचाहा प्रजातिले थिचिएका-मिचिएका छन् ? आज यस बारेमा केही कुरा गरौँ न ।

तर त्यसको अगावै हाम्रो सुन्दर पृथ्वीबाट मिचाहाहरूद्वारा अकाल मृत्यु भएका जीवहरूका नाउँमा दुई पलको मौनता धारण गरी यतिबेला मिचिइरहेका या यातना भोगिरहेकाहरू प्रति समवेदना प्रकट गर्दै यो आलेख यिनीहरूलाई नै समर्पण गर्दछु ।

० ० ० ०

वनस्पतिका मिचाहा प्रजातिहरू

के तपाईंलाई कुनै नयाँ ठाउँ गएका बेलामा त्यहाँ देखिएका सुन्दर फुलहरू या आकर्षक फलहरू ल्याएर आफ्नो ठाउँमा रोप्न मन लाग्दैन र ? पक्कै लाग्छ होला । लाग्नु स्वाभाविक कुरा हो । यसो गरेर तपाईंले आफ्नो बगैंचामा एक नयाँ प्रजाति थप्नुहुनेछ अर्थात् जैविक विविधता बढाउनु हुनेछ । तर एकछिन पर्खनुहोस् है । कतै यो नयाँ प्रजातिले तपाईंको क्षेत्रमा आएपछि बिगार त गर्ने होइन ? यो एक गम्भीर र सोचनीय कुरा हो ।

यस्तो नसोचेकाले गर्दा नै हाम्रो पर्यावरण यति बेला विनष्ट हुँदैछ । यस बारेमा एउटा रोचक कथा छ । १९ औं शताब्दीमा कुनै एकजना ब्रिटिशलाई कतैको पोखरीमा जलकुम्भी फुलेको दृश्य रमणीय लागेछ । उनले आदरका साथ त्यसलाई भारतमा ल्याएर आफ्ना बगैंचामा रोपेछन् । दक्षिण अमेरिकाको यो रैथाने उद्भिद यहाँ आएर लहलहाउन लाग्यो । बगैंचाबाट यो कसोकसो गरेर नदी-तालमा फाल हानेछ अनि त्यहाँ आफ्नो ‘प्रभाव’ विस्तार गर्न लाग्यो । हुँदाहुँदै यसले यति बेला पर्यावरणमा सन्त्रास मच्चाएको छ । यो पानीको सतहमा गलैँचासरी फैलिन थाल्यो । फलस्वरूप पानीभित्र अक्सिजन घट्न गयो जसले गर्दा माछालगायत जलचर प्राणीको आयु घटाइदियो, जैविक विविधता ह्रास पार्‍यो, आफू सड्दै गएर पानी प्रदूषित पार्‍यो, जलप्रवाहमा अवरोध सृष्टि गर्नुका साथै लामखुट्टेको प्रजनन स्थल बनायो, माछापालन र पर्यटनमा धेरै क्षति पुर्‍यायो ।

वन फन्दाको (ल्यान्टेना क्यामेरा) फैलावटको पनि अर्को एक रोचक कथा छ । मध्य र दक्षिण अमेरिकाको रैथाने यस फूललाई भारतमा बेलायती उपनिवेशवादीहरूले सन् १८०७ मा सजावटी बोटको रूपमा ल्याए । चौरङ्गी आकर्षक फूलहरूले गर्दा पहिलो पटक यसलाई कलकत्ताको रयल बोटानिकल गार्डेनमा बडा आदरका साथ ल्याइएको थियो । तर यति बेला मिचाहा बनी देशैभर फैलिएर पर्यावरणलाई व्यापक क्षति गरिरहेको छ । वन फन्दाले स्थानीय बोटबिरुवाहरूसँग प्रतिस्पर्धा गरी तिनीहरूलाई विस्थापित गर्छ, जसले गर्दा स्थानीय वनस्पति र प्राणीहरूको वासस्थान नष्ट हुन्छ ।

भारतको बाघ संरक्षण क्षेत्रको लगभग चालीस प्रतिशत यो प्रजातिको आक्रमणबाट प्रभावित भएको छ । यसले वनको प्राकृतिक पुनर्जननलाई अवरुद्ध गर्छ र माटोको उर्वरता घटाउँछ । यो बोटको पात र फल विषाक्त हुन्छ, गाईवस्तु र अन्य जनावरहरूले खाँदा कहिलेकाहीं मृत्युसमेत हुन्छ । असम जस्तो बाढी आइरहने स्थानमा यस्तो दुर्घटनाले व्यापकता पाएको हुन्छ किनभने त्यतिबेला जीवजन्तुले खाने प्राकृतिक खाद्य उपलब्ध हुँदैन । यस्ता प्रकारले कुनैबेला ‘सजावटी चमत्कार’को रूपमा बेहुलीलाई जसरी आदर गरेर देशमा भित्र्याइएको उद्भिदले यति बेला पर्यावरणसँग सौतेनी आमाले जस्तो व्यवहार गर्न थालेको छ ।

खोर्सानीको बोट जत्रै, सेतो आकर्षक फूलले लोभ्याउने पार्थेनियम (काँग्रेस घाँस वा अकाल घाँस) ले सन् १९५० को दशकमा अमेरिकाबाट आयात गरिएको गहुँमा मिसिएर भारतमा सुटुक्क प्रवेश गर्‍यो । यति बेला यो अत्यन्त आक्रामक झार बनेर जताततै फैलिएको छ । यसको बीउ, हावा, पानी र मानव गतिविधिहरूद्वारा फैलिएर सडक-किनारा, रेल्वे ट्र्याक, बाँझो जमीन र कृषि क्षेत्र आदिमा उपनिवेश नै बनाइसकेको छ । आज यो भारतमा लगभग ३५ मिलियन हेक्टर क्षेत्रमा आक्रमण गरेर देशको सबैभन्दा आक्रामक प्रजातिहरूमध्ये एक बनेको छ । यसले मानव शरीरमा डर्माटाइटिस, छाला रातो हुने, चिलाउने, आँखा रातो हुने र अन्य एलर्जीजन्य समस्याहरू भित्र्याउँछ । यसको परागले श्वासप्रश्वासका रोगहरू निम्त्याउँछ । यति मात्र कहाँ हो र ? यसले सम्पूर्ण पारिस्थितिकी तन्त्रलाई बिथोलेर र जैविक विविधता घटाएर माटोको गुणात्मक परिवर्तन गर्दै गहिरो पर्यावरणीय प्रभाव पारेको छ ।

म सानो छँदा शरीरमा चोटपटक लागेर रक्तक्षरण भएको बेलामा आमाले तत्काल कतैबाट जङ्गली रूखका कलिला पाँत चुँडिल्याएर त्यसको रसले ब्यान्डेज लगाइदिनुहुन्थ्यो । अलिक दिनमै म स्वास्थ्य हुन्थें । त्यो बोटप्रति मनमनै आभार व्यक्त गर्दथें । यति बेला थाहा लाग्यो छिमेकी आत्मबोध भएको त्यो तीते झार (तीतेपाती/वनमारा) नामक उद्भिद त अमेरिकी पो रहेछ ! सन् १८४० छेक एक आलङ्कारिक बोटका रूपमा कलकत्ताको वनस्पति उद्यानमार्फत भारतमा भित्रिएको यस उद्भिदले यति बेला मिचाहा प्रजातिको रूपमा त्रास मच्चाएको छ । किनकि यसको वृद्धि छिटो हुन्छ, बीउ उत्पादन धेरै मात्रामा हुन्छ र अन्य बोटबिरुवालाई रोक्ने रसायन उत्सर्जन गर्छ । यसले जैविक विविधता घटाउँछ, इकोसिस्टमलाई बिगार्छ, र माटोको गुणस्तर परिवर्तन गर्छ । यो मिचाहाले मरेपछि पनि सुख दिने रहेनछ ! सुकेपछि ज्वलनशील हुन्छ, जसले आगलागीको सम्भावना बढाउँछ जुन चाहिं इकोसिस्टम र मानव निवासका लागि विपत्तिको कारण बनेको छ । आज वनमाराले भारतको प्राकृतिक क्षेत्रहरूको लगभग ७२ प्रतिशत भाग आक्रमण गरेको अनुमान गरिएको छ जबकि जलवायु परिवर्तनले यसको फैलावटलाई सहज बनाउँदैछ ।

दक्षिण अमेरिकाको ‘लज्जावती’लाई १९ औँ शताब्दीमा सजावटी बोटको रूपमा भारतमा ल्याइयो । साना गुलाबी आकर्षक फूल तथा छुँदा बन्द हुने पातहरूका विशेषताले यो बोट भित्रिएर बगैंचालाई रमाइलो बनायो । तर यसले बार फाल हानेर घाँसे मैदान र खेतबारीमा पुग्यो अनि मिचाहा बन्यो । यसको काँडाले पशुहरूलाई चोट पुर्‍याउने गर्छ जसले गर्दा किसानहरूलाई चिन्तित बनाएको छ ।

शिरीषको फूल जस्तै पात भएको, सुनाखरीसरी लत्रिने सेतो फूल सिउरेको तर काँडेदार होचो गाछ ‘बेलायती किङकर’ (मेक्सिकोको मूल निवासी, प्रोसोपिस जुलिफ्लोरा) लाई सन् १८७० को दशकमा बेलायती वनविद्हरूले राजस्थान र गुजरातमा मरुभूमीकरण रोक्न र इन्धनको स्रोत प्रदान गर्न ल्याए । यो ‘चमत्कारी रूख’लाई खडेरी सहन सक्ने बोटको रूपमा प्रचार गरियो । तर यति बेला यो मिचाहा बनी व्यापक रूपमा फैलिरहेको छ । भारतको राजधानी दिल्लीमा देखिने हरियालीको प्रायः ८० प्रतिशत ठाउँ यसले छाएको छ । यसले पानीको लागि माटोमा गहिरोसम्म जराहरू फैलाउँछ, जसले रैथाने बोटबिरुवाहरूलाई विस्थापित गर्छ र चरन क्षेत्रहरू घटाउँछ । शुरूमा पर्यावरणीय उद्धारक मानिएको यो बोट यति बेला सामाजिक र पर्यावरणीय आपदा बनेको छ । बाघको वासस्थानमा यसले शिकारको उपलब्धता घटाएर मानव-वन्यजन्तु द्वन्द्व बढाएको छ ।

मध्य र दक्षिण अमेरिकाको लहरे बनमारा (माइकेनिया माइक्रान्था) दोस्रो विश्वयुद्धको समयमा भारत र नेपालमा प्रवेश गर्‍यो । सन् १९४० को दशकमा असममा सैन्य हवाई मैदानलाई छलावरण गर्न र चिया बगानमा माटोको कटान रोक्न ‘कभरक्रप’को रूपमा यसलाई ल्याइएको थियो । नेपालमा हाल २० भन्दा बढी तराई जिल्लाहरूमा यो फैलिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र कोशी टप्पु वन्यजन्तु आरक्ष जस्ता संरक्षित क्षेत्रहरूमा लहरे बनमाराको प्रभाव गम्भीर छ । यो राष्ट्रिय निकुञ्जको २० प्रतिशतभन्दा बढी क्षेत्रमा फैलिएर जैविक विविधतामा ठूलो क्षति पुर्‍याएको छ, स्थानीय बोटबिरुवाको प्रजाति सङ्ख्यालाई ३५ प्रतिशत सम्म घटाएको छ । यसले खेतबारी र चरन क्षेत्रमा फैलिएर उत्पादन घटाउँदै व्यवस्थापन खर्च बढाएको छ । यसले चारा र दाउराको उपलब्धतामा कमी ल्याएर ग्रामीण समुदायको जीविकोपार्जनमा नकारात्मक प्रभाव पारेको छ ।

भारतमा कम्तीमा पनि १ सय ७३ वटा मिचाहा वनस्पति प्रजातिहरू पहिचान गरिएका छन् । केही अध्ययनअनुसार देशका ६६ प्रतिशत प्राकृतिक क्षेत्र मिचाहा वनस्पतिहरूबाट प्रभावित छन् ।

यहाँ प्रश्न आउँछ- के वनस्पति मात्र मिचाहा प्रजातिका हुन्छन् ? त्यसो होइन । जनावरहरू पनि मिचाहा प्रजातिका हुन सक्छन् । यिनीहरूका पनि आआफ्नै रोचक कथा छन् । अब प्रश्न आउँछ, मिचाहा प्रजाति भनेको के हो ?

मिचाहा प्रजातिहरू अन्यत्रबाट प्रवेश गरेका जीवहरू हुन् जसले भित्र छिरेपछि रैथाने प्रजातिहरूमाथि थिचोमिचो गर्छन् अर्थात् उनीहरूलाई विस्थापित गर्छन्, वासस्थान बिगार्छन् वा रोग फैलाउँछन् । यिनीहरूले जैविक विविधता, खाद्य शृङ्खला, कृषि, मानव स्वास्थ्य र अर्थतन्त्रलाई पनि हानि पुर्‍योउँछन् । तर सबै आयातित प्रजाति नै मिचाहा हुँदैनन् । नत्र भने हाम्रा खेतमा चीन-समुद्भव धान, बारीमा बोलिभियाको आलु, बगैंचामा दक्षिण अमेरिकाको सयपत्री फूल, खोरमा बेलायतको जर्सी गाई कहाँ पाउँथ्यौं होला र ? यी प्रजातिहरूलाई मानिसले जानी-नजानीकनै नौलो स्थानमा प्रवेश गराएका हुन्छन् ।

० ० ० ०

जनावरका मिचाहा प्रजाति

रक्तबीज जस्ता भए भ्यागुता :

२०औं शताब्दीको शुरूमा अस्ट्रेलियाको उखु उद्योगले गोब्रे कीरा जस्ता ‘ब्याक्ड केन बिटल’ले गर्दा ठूलो सङ्कटको सामना गर्नुपर्‍यो । यो समस्याको समाधानका लागि प्युर्टो रिकोबाट १ सय १ वटा ‘उखु-भ्यागुता’लाई जैविक नियन्त्रकका रूपमा प्रयोग गरियो । दुर्भाग्यवश: उखु-भ्यागुताहरू दुई फीटभन्दा माथि उफ्रन सक्दैनथे, जबकि बिटलहरू उखुको माथिल्लो डाँठमा बस्ने गर्थे । फलस्वरूप, भ्यागुताहरूले बिटलको सट्टा अन्य कीराहरू, स्थानीय भ्यागुताहरू, चराका अन्डा र पाल्तु जनावरको खाना खान थाले । तर शरीरमा भयानक विष रहेकाले गर्दा यिनलाई कुनै जनावरले पनि खान सक्दैनथे । सन् २०११ सम्ममा यिनको जनसङ्ख्या २ सय मिलियनभन्दा बढी भएको अनुमान गरियो । जनसङ्ख्या वृद्धिले अस्ट्रेलियाको जैविक विविधतामा ठूलो क्षति पुऱ्यायो । उखु-भ्यागुताको जनसङ्ख्या नियन्त्रण गर्न वैज्ञानिकहरूले ‘माइक्सोमा भाइरस’को प्रयोग गर्ने विचार गरे । तर भाइरस नियन्त्रण असफल भयो । वैज्ञानिकले हार मानेर भ्यागुताहरू भविष्यमा आफैले आफैलाई खाएर विनष्ट हुनेछन् भन्ने आशा गरेर हात पखाल्नुबाहेक अरू उपाय रहेन । यो कथाले जैविक नियन्त्रणको जोखिम र वातावरणीय प्रभावको पूर्व-मूल्याङ्कनको महत्त्वलाई उजागर गर्छ ।

अजित खरायो :

खरायोले अस्ट्रेलियामा मिचाहा प्रजातिको रूपमा आत्मप्रकाश गरेको एक आकर्षक तर विनाशकारी कथा छ । सन् १८५९ मा लन्डनबासी थोमस अस्टिनले २४ ओटा खरायो सिकारका लागि अस्ट्रेलियामा ल्याए । त्यहाँ अनुकूल हावापानी, प्रशस्त खानाको प्रभाव र प्राकृतिक सिकारीको अभावमा यिनीहरू तीव्र गतिमा फैलिए । सन् १९२० को दशकमा, खरायोको जनसङ्ख्या १० अर्ब अनुमान गरिएको थियो । यसले प्राकृतिक चरन क्षेत्रलाई नष्ट गर्‍यो, माटोको कटान बढायो,  पानीको गुणस्तर घटायो, कृषि र जैविक विविधतालाई असर गर्‍यो, पारिस्थितिकी तन्त्रलाई ध्वस्त बनायो । खरायोहरूलाई अस्ट्रेलियामा प्रजाति हानिको सबैभन्दा ठूलो कारक मानिन्छ, जसले ३०० भन्दा बढी स्थानीय वनस्पति र जीवजन्तुहरूलाई सङ्कटमा पुर्यायो । यसको नामनिसान मेट्न जमीन र आकाश मार्गबाट विषादी प्रयोग गरियो भने यिनीहरूको निवास दुलोलाई नष्ट पार्न विस्फोटको र बुलडोजरको सहारा लिइयो । त्यतिले नभएर प्राणघातक भाइरसको प्रयोग गरियो । सन् १८८७ मा, न्यू साउथ वेल्स सरकारले खरायो उन्मुलनको प्रभावकारी सुझाव दिनेलाई पाउंड २५,००० (अहिलेको मूल्य ४४.११ करोड भारु !) पुरस्कारको प्रस्ताव गर्‍यो । तर दुःखको कुरो खरायो अजेय नै भइरह्यो !

न्याउरी मुसो र सर्पको कथा

सन् १८७२ मा बेलायती औपनिवेशिक अधिकारीहरूले जमैकामा उखु बालीमा क्षति पुर्याउने मुसाहरूलाई नियन्त्रण गर्न नौ वटा भारतीय न्याउरी भारतबाट लगे । तीव्र प्रजनन (वर्षमा छ पटक, प्रत्येकमा ५–१० सन्तान) र अनुकूलन क्षमताले तिनीहरू बिस्तारै जमैका र अन्य क्यारिबियन टापुहरू, जस्तै क्युबा र पोर्टो रिकोमा समेत फैलिंदै गए । यसरी नै कुनै एक समयमा भारतीय न्याउरीले जमैकाको स्थानीय सर्प जनसङ्ख्या र समग्र पारिस्थितिकी तन्त्रमा गम्भीर प्रभाव पार्न लाग्यो । सर्पहरूको ह्रासले जैविक विविधतामा ठुलो क्षति पुर्यायो । यो घटनाले गैर- स्थानीय प्रजातिहरूलाई गहिरो पर्यावरणीय मूल्याङ्कन बिना परिचय गराउनु जोखिमपूर्ण हुनेछ भन्ने कुराबाट सचेत गराउँछ ।

श्याम सागरमा कम्ब जेलिफिसको प्रवेश:  

सन् १९८० को दशकको शुरूवातमा एउटा ‘कम्ब जेलिफिस’ श्याम सागरमा कता-कताबाट प्रवेश गरेछ । नयाँ वातावरणमा यसले आदर्श बासस्थान पायो, जहाँ यसका प्राकृतिक शत्रुहरू कम थिए र खाद्य स्रोतहरू प्रशस्त थिए । यसले जे पायो त्यही खान्थ्यो । समुद्रका प्राणीहरू यसले एकाएक घिच्दै गयो । जेलीफिस अलैङ्गिक प्राणी हुनाले यसको वंश वृद्धि निर्विरोध हुँदै गयो । परिणामस्वरूप, जनसङ्ख्या विस्फोटका रूपमा बढ्यो । कुनै एउटा समयमा श्याम समुद्रमा जेलीफिस बाहेक केही प्राणी रहेनन् । यसले गर्दा समुद्री खाद्य शृङ्खलामा सङ्कट आयो, पारिस्थितिक प्रणालीमा जटिलता थप्यो । अन्त्यमा खानको लागि केही नरहेर एकअर्कालाई खाएर यिनीहरू विलोप भए । यो घटनाले दुई वटा स्पष्ट सन्देश दिन्छ- एक, कहिले कहिले कुनै एउटा क्षेत्रको पारिस्थितिकीलाई बिथोल्न एउटै मिचाहा जीव नै यथेष्ट हुनसक्छ; दुई, कुनै क्षेत्रमा नयाँ प्रजाति जोडिएर कालक्रममा त्यहाँ रहेका सबै पशु-प्राणीको विनाश गरी ऊ आफै विलोप भएर सारा क्षेत्रलाई नै प्रजाति-शून्य बनाउन सक्छ ।

सङ्ख्यामा थोर भए पनि मिचाहा जनावर प्रजाति (१ सय ५७)ले मिचाहा वनस्पति प्रजाति  (१ सय ७३)ले भन्दा हाम्रो वातावरणलाई धेरै असर पारेका छन् । मिचाहा जनावरहरूले गरेको आर्थिक क्षति मिचाहा बोटबिरुवाले गरेको तुलनामा १,००० गुणा बढी छ ! विगत छ दशकमा यी प्रजातिहरूले १०.६२ ट्रिलियन भारुको आर्थिक नोक्सान पुर्‍याएका छन् । यस कुराले मलाई सोचको कस्तो भुमरीमा खँदेरिदिन्छ भने तपाईंका हातमा यदि कसैले छुट्टै १०.६२ ट्रिलियन भारु राखिदिन्थ्यो भने तपाईंले पर्यावरणका लागि कति राम्राराम्रा काम गर्न सक्नुहुन्थ्यो होला !

महाभारतमा वर्णन गरिएका महानायक, नायक र खलनायकका आआफ्नै कथा-उपकथा जस्तै यी मिचाहा प्रजातिका पनि आफ्नै रोचक कहानी छन् । यस बारेमा माथिल्लो भागमा कतिपयको मात्र कुरा गरियो ।  पृथ्वीको कुन चाहिं देश आजसम्म यी मिचाहा प्रजातिद्वारा ग्रसित भएको छैन ? तर मलाई के लाग्छ भने यिनीहरूको भोगाइ चाहिं लुतो जस्तो हो । प्रारम्भमा थाहा पाइँदैन या त चिलाइको मजा लिइन्छ तर पछि बिस्तारै जति बेला सारा शरीर परपर्‍याउन थाल्छ त्यति बेला मात्र ‘यो ठीक भएनछ’ भनेर अनुभव हुन्छ ।

यसै सिलसिलामा एक रोचक कुराको याद आयो । सन् २००२ मा क्रिकेट म्याच जित्छु भनेर निर्धक्क गएका भारतीय खेलाडीले न्युजिल्यान्ड पस्नै पाएनन्, विमानस्थल मै अड्किनुपऱ्यो । त्यति मात्र कहाँ हो र ?  हरभजन सिंह र वीरेन्द्र सहवागलाई जुत्तामा गोबर टाँसिएकाले गर्दा जैवसुरक्षा नियम उल्लङ्घन गरेको अपराधमा प्राधिकरणले १०० डलर गरी जरिवाना गरायो । तर केही गहिरिएर हेर्दा यसको कारण पत्यार लाग्दो छ । दूग्धजन्य पदार्थ, मासु तथा ऊन उत्पादन गर्दै न्युजिल्यान्डको पशुपालन क्षेत्रले रोजगारी र वैदेशिक व्यापारमा ठूलो योगदान पुर्याएको छ । यो क्षेत्र देशको व्यापारमुखी अर्थतन्त्रको मुख्य धाराको रूपमा प्रखर भएर देशको कुल आयको प्राय : १४-१५ प्रतिशत सहयोग गरेको छ । यस्तो परिस्थितिमा न्युजिल्यान्डले आफ्ना पशुहरूलाई निरोगी राख्न गोबरका माध्यमले खोरेत जस्ता घातक रोगदेखि सदा सतर्क रहनै पर्छ (हामी एक ठाउँबाट अर्को ठाउँमा जाँदा हाम्रा जुत्ता/चप्पल आदिमा गोबर/हिलो टाँसिएको होला भनी कतिको सतर्क हुन्छौं त ?) । यसले के कुरालाई पनि अर्थ्याउँछ भने मिचाहा प्रजाति रोगाणुसमेत हुन सक्छन् । हामीले कोभिड-१९लाई कहिल्यै बिर्सन सक्छौं त ? पाल्तु कुखुरालाई हुने ‘बर्ड फ्लु’ ले बेलाबेला हामीलाई झस्काउनु मात्र होइन जोगीले मध्यराती फेरि लगाए जसरी सतर्क गराइरहन्छ ।

अर्को एउटा ध्यान दिनुपर्ने कुरा । मिचाहा जनावर प्रजातिहरू एक्लै कहाँ आउँछन् र ? बाहिर, भित्र सबैतिर ढुसी, जीवाणु, विषाणु आदि बोकेर ल्याउन सक्छन् । सन् २०२३ मा नेपालका प्रधानमन्त्री प्रचण्ड भारत भ्रमण गरेका बेलामा प्रधानमन्त्री मोदीले प्रचण्डलाई १३ माउ भैँसी उपहार दिने कुराको चर्चाले सोशल र प्रिन्ट मिडियामा व्यापकता छाएको थियो । तर पछि भैंसी नेपालमा भित्रिंदा यसका आङमा कति किर्ना, झिँगा, ढुसी, जीवाणु, विषाणु आदि टाँसिएर आए होलान् या त आन्द्रा-भुँडीमा कति रोगाणुहरू भित्रिएहोलान् यस बारेमा कतै चर्चा गरेको सुनिएन । यी जनावरहरू क्वारेन्टाइनमार्फत् नेपालमा प्रवेश गरिएको कुरामा पनि प्रिन्ट र सोशल मिडियाहरू मौन भए । यी भैंसीका खुरमा कतिका गोबर टाँसिएर आए केही लेखाजोखा भयो त ? (नेपाल न्युजिल्यान्ड कहिले पो हुन्थ्यो र ?)

प्रिय पाठक ! यो आलेख पढिसकेपछि कुनै पनि ठाउँबाट नयाँ किसिमका बोटबिरुवा/जीवहरू ल्याउनुअघि केही पलका लागि भए पनि पक्कै सोच्नुहुन्छ होला, ‘हाम्रो स्थानमा गएर यसले कतै अनिष्ट त गर्ने होइन ? हाम्रो वातावरण बिग्रने त होइन ?’ तपाईंको मस्तिष्कले यस कर्मको परिणामका बारेमा सोचेर निश्चय नापतौल गर्ला जबकि त्यति  बेलासम्म मनको अनुभूतिलाई विश्राम शिविरमा थान्को राख्नुहोला । तपाईंलाई यो पृथ्वीको सबैभन्दा मिचाहा प्रजाति को होला जस्तो लाग्छ ? कतै दुई खुट्टे नै त होइन ?

गुवाहाटी, भारत