बेलुका खानापछि यसो डुल्न निस्कने मेरो पुरानो बानी हो । हिजो पनि गएको थिएँ, सडकमा कति धेरै फोहर वस्तु फालिएका रहेछन्, अचम्म नै परेँ । सडक केवल हिँड्ने बाटो मात्र होइन, अनगिन्ती कथाहरूको सङ्ग्रह पनि रहेछ । प्रत्येक फालिएको वस्तु, कुना-कुनामा छरिएका सामान र बेवारिसे चीजहरूले कसैको जीवनको कुनै टुक्रो बोकेको हुन्छ । कहिलेकाहीँ, ती सामानहरू हाम्रा वरपर हुँदाहुँदै पनि हामी तिनको कथा सुन्न सक्दैनौं । फोहरको थुप्रोमा पुरिएको आशा, भाँचिएका चीजहरूमा टुटेको सम्बन्ध र धुलोमा लटपटिएर छोपिएका सपनाहरूको कथा सडक आफैँले बोकेको हुन्छ ।

देखेँ, सडक-पेटीको बीचमा नै बियरको बिर्को फालिएको थियो । सोचेँ, त्यो बियर कसैले सुखमा पिएको होला कि दुःखमा ? उसको दुःख गयो कि गएन ? भोलिपल्ट बिहान उठ्दा पनि उसलाई हिजोकै कुराले झ्यास्स तातो लपेटा हान्यो कि हानेन ? वा उसलाई थाह छ, यसले दुःखलाई सधैँका लागि हटाउने हैन, ऊ त केवल त्यो सुखको क्षण यसले अलि भए पनि लामो बनाओस् भन्ने चाहन्छ !

सडकको कुनामा एउटा खाली प्लास्टिकको गिलास फ्याँकिएको थियो । यो कुनै साथीभाइको रमाइलो जमघटको साक्षी थियो होला । त्यहाँ कस्तो उन्मुक्त हाँसो र गफले रात बित्यो होला। वा कसैले एक्लै बसेर आफ्नो दुःख पिउँदै यो गिलास रित्यायो र फ्याँक्यो । यो कुनै सस्तो पसलको चिया पिउने गिलास थियो कि, जहाँ राजनीति, विद्रोह, नैतिकता, व्यापार र सपनाको कुरा हुन्छ, तर पैसा उधारोमा राखिन्छ ।

सडकको कुनामा एउटा पुरानो, फाटेको पर्स फ्याँकिएको थियो । कसैको मिहिनेतले कमाएको पैसाले भरिएको थियो, तर चोरले पैसा झिकेर पर्स फ्याँकिदियो कि ? यसमा कसको फोटो थियो होला; आमा-बुबा, प्रेयसी वा वर्षौँ भेट्न नपाएको आफ्नो सानो बच्चोको जुन हेरेर प्रत्येक बेलुका ऊ भावुक हुन्थ्यो ? वा  त्यसमा जागिर दिन्छु भन्नेहरूको भिजिटिङ कार्ड पो थियो कि जतन र कत्रो आशाले राखेको ! कसैले यो पर्सले धेरै कमाउन सकेन भनेर अलच्छिन मानेर फ्याँकिदिएको पो हो कि ? वा कुनै छोराले आफ्नो पहिलो कमाइबाट आमालाई सारी किन्न जाँदै थियो तर बीचमै चोरियो ।

एक टुक्रा कागज कच्याक कुचुक्क पारेर  फालिएको थियो । सोचेँ, शायद केटाले लेखेको प्रेम पत्र केटीले अस्वीकार गरेर रीसले मिचेर फालेकी होलिन् । तिनीहरूको प्रेमको अन्त्य भयो कि वा भोलिपल्ट फेरि त्यही सडकमा भेटे । यस्तरी कि हिजो त्यो अस्थायी आवेग मात्र थियो,  केही भएकै थिएन ! कौतूहल जागेर त्यो टुक्रालाई भुइँमै अरूले थाह नपाइने गरी यसो लुकेर खुट्टाले खोलेँ । सिधा पारेर पढ्ने कोशिश गरेँ । लेखिएको कुरा धमिलो भइसकेको रहेछ । त्यो त केवल किनमेलको सूची मात्र पनि हुन सक्छ, कसैको जीवनको दैनिकी । बाँचिराख्ने प्रयासको एउटा प्रतिनिधि ।

त्यहाँ परिवार नियोजनको साधन पनि फालिएको थियो, प्रयोग भइसकेको । म सोचाइमा परेँ, त्यसले घरबार बनायो कि बिगार्‍यो ? त्यो प्रेमको एउटा सुरक्षित अभिव्यक्ति थियो कि आवेगको नतिजा ? के त्यो भविष्यको योजनाबद्ध सुनिश्चितताको प्रतीक थियो ?

छेउमा मास्क पनि फालिएको थियो । त्यो देखेर मन झसङ्ग भयो । एक भयानक सोच मनमा आयो । कसैले फोहर भएर नयाँ मास्क लगाउनका लागि मात्र फेरेको होला कि अथवा अब उसलाई कहिल्यै आवश्यक नहुने भएर फालिएको होला ? कस्तो सिरिङ्ग भयो !

एउटा पुरानो ५ रुपैयाँको नोट फालिएको थियो । महँगी धेरै नै बढेछ । ५ को नोटको पनि मूल्य सकिएछ । त्यसैले हेलामा परेछ । कसैले पनि उठाएनन् । त्यसमा अबीर दलिएको थियो, कुनै बच्चीले मामाघरबाट टीकामा पाएको दक्षिणा थियो कि ! हराएर घरमा कत्रो कोलाहल भएको होला । उनको बाबाले के के दिएर फकाउँदै होलान् । वा कसैले आफ्ना ग्रहदशा अरूमा सरोस् भनेर मन्छाएर त्यहाँ राखेको नोट पो हो कि ? यतिले भए पनि त्यो दुःखीलाई अब मेरा पनि सुखका दिन आउँछन् भनेर मन केही हलुङ्गो भएको होला ।

तुना चुँडिएको एउटा चप्पल देखेँ । प्रेमी, हाकिम, मालिक वा कसैको रीसको झोँकमा पिएर चुर भएको मान्छेले त्यो रिस आफ्नै चप्पलमाथि पोखेको होला। चप्पलको तुना चुँडाउँदाको आवाजले उसलाई कति आनन्द दिएको थियो होला । मानौँ, दुश्मनको गालामा थप्पड हान्दाको आवाज । वा कसैले त्यो चप्पल घिस्साउनुसम्म घिस्साएर, चप्पलले पनि अब थप साथ दिन सक्दिनँ भनेर साथ छोडेको पो हो कि ! चप्पलले म अब स्वतन्त्र भएँ भनेको उद्घोष पो हो कि — ‘टुटेको छु तर स्वतन्त्र छु !’

नजिकै एउटा प्लास्टिकको झोला फालिएको थियो । कसैले दिनभरिको मिहिनेतले कमाएको पीठो त्यही झोलामा बोकेर ल्याएको होला । उसका बच्चाहरू एक छाक मज्जाले खान पाएर कति खुशी भए होलान् । साथै, एक थुप्रो तरकारी केलाएको फोहर पनि फालिएको थियो । थुप्रो सानो थियो । सोचेँ, यस्तो महँगीको कहरमा पनि कसैले एक छाक भए पनि मीठो खान पाएछ, धन्य !

त्यहाँ एउटा पटकाको खोल फालिएको थियो । त्यो पट्का होइन बाबुले छोराको लागि किनिदिएको खुशी थियो। त्यो पड्कदा बाबुले त्यता हेरेन होला, छोराको मुखमा त्यो पटकाको उज्यालो हेरेको होला।

नजिकै स्यानिटरी प्याड पनि फालिएको थियो । कुनै किशोरीले सङ्कोचले कसैले नदेख्ने गरी लुकाएर फालेकी होलिन् । आफ्नो स्वतन्त्रता बन्धकमा राखेर हेला, उपेक्षा, विरक्ति, उदासीन र लज्जा मिश्रित त्यो ४ दिन उनले कसरी बिताइन् होला ? कुनाको छायामा फ्यालिएको एउटा स्यानिटरी प्याड समाजकै एउटा कहालीलाग्दो भयानक कथाको सङ्केत थियो ।

नजिकै चकलेटको खोल भेटियो । यो कुनै खुशियालीमा बाँडिएको थियो होला वा बच्चालाई आमाबाबुले कुनै राम्रो काम गरे बापतस्याबास भनेर दिएका थिए । वा हजुरआमाले सबैबाट लुकाएर खुसुक्क नातिलाई ‘अरुलाई नभन्नू’ भनेर दिएको पैसाले किनिएको थियो । अथवा बच्चाले आमाबुबाको पैसा लुसुक्क झिकेर लुकेर खाएको थियो । चोरी चोरी लुकेर खाँदा कति आनन्द आएको होला त्यो बच्चोलाई ! उसलाई त्यसो गर्नु चोरी हो भन्ने पनि थाह छैन होला, अबोध।

नजिकै चाउचाउको खोल फ्याँकिएको थियो । कसैले दिनभरको थकानपछि ‘पकाउने साहस पनि छैन’ भनेर यही अल्छी खाना उमालेको पो थियो कि ? कि कुनै विद्यार्थीले भोलीका लागि खर्च जोगाउन यो सस्तो नुडल्स रोजेको थियो, उता गाउँमा बाबालाई अलिकति भए पनि राहत हुन्छ भनेर ! वा युवतीले पिरो खाने रहरले किनेकी थिइन् ।

सडकमा बालुवाको सानो थुप्रो देखेँ । सोचेँ, कसैले पवित्र नदीको बालुवा घुसले बनाउने महलमा खन्याएर आडम्बर देखाउँदै छ वा दुःखले कमाएको पैसा एउटा सानो बसेरा बनाउन खर्च गरेर गर्व गर्दै छ । अथवा कसैले पुर्खाले बनाएको घरको चुहिएको छानाको बल्ल बल्ल मर्मत गर्न सकेर सास फेर्दै छ । के यो घमन्डको पराकाष्ठा थियो, कि एउटा साधारण सन्तोष ?

अलि पर मरेको कुकुर फालिएको थियो । झन्डै कुहिसकेको, दुर्गन्ध फ्याँक्दै थियो । यसले आफ्नो मालिकलाई कति साथ दियो होला तर त्यसको बदलामा मालिकबाट एउटा सद्गति पनि पाएनछ । हैन होला ! मान्छे यति धेरै कृतघ्न त हुन सक्दैन, बरु गल्लीमा नै खानाको खोजीमा भौँतारिएर हिँड्दा कुनै गाडीले किचिदियो होला । खान नपाएर भोकले पीडादायी मृत्यु पायो वा व्यर्थको ग्याङ फाइटमा आफ्नो ज्यान फाल्यो कि? यसले कहिल्यै आफ्नै लागि कुनै छुट्टै नाम पाउन सकेन, भुस्याहा !

एउटा चुरोटको ठुटो फुटपाथमा कसैले फालेको थियो । के त्यो कसैको चिन्ताबाट मुक्त हुने प्रयास थियो ?  अथवा कसैले आफैँलाई दिएको ‘यो अन्तिम हो’ भन्ने वचन, जुन भोलिपल्ट फेरि तोडिन्छ ? वा यो कुनै किशोरको सामान्य कौतूहल थियो कि समाजको अनुशासन र नैतिकताप्रति पहिलो विद्रोह थियो, जुन उसले लुकाएर चुरोट खाएर प्रदर्शन गर्‍यो । अथवा कुनै कविले, कुनै एक शब्दको खोजीमा लगातार खाएको चुरोट मध्ये एउटाको ठुटो हो त्यो । सोचेँ, कविले कविता लेख्दा शब्दको खोजीमा कति चुरोट खाए होलान् ! तीमध्ये कुनै एकले त खोजिएको शब्द दिएको नै थियो होला । ती सफल र असफल चुरोटका ठुटाहरू एकै ठाउँ फुटपाथमा भेट हुँदा, सफलले असफल समक्ष कति घमन्ड गर्थ्यो होला । तर अन्ततः नगरपालिकाको ट्रकले दुवैलाई सडकबाट उठाएर एउटै फोहरमा डम्प गर्दा, सफल ठुटोले के सोच्दो हो ?

एउटा पुरानो कापी नालीमा अड्किएको थियो । के त्यो कुनै बालकको थियो जसले कहिल्यै विद्यालय पूरा गर्न सकेन ? वा कुनै कविले आफूले लेखेको पाण्डुलिपि कतैबाट नछापिएर निराश भएको झोँक र वितृष्णामा फ्याँकिदिएका हुन् ?

बाटोको किनारमा चस्माको भाँच्चिएको फ्रेम फ्यालिएको थियो । यो कसैको आँखा नै थियो । एक्लो वृद्धले विदेशमा भएका आफ्ना सन्तानले पठाएका खबर पढ्न त्यसलाई प्रयोग गर्थे होलान् । यसले कति कथाहरू देख्यो होला तर अब यो यहाँ एक्लै छ, परित्यक्त ! साँच्चै, ती बूढा बाको नयाँ चस्मा छोराबुहारीले किनिदिइसके होलान् कि  अझै फुर्सदकै खोजीमा होलान् !

सडकको छेउमा एउटा माला छरिएको थियो— ओइलाइसकेका फूलहरू, चुँडिएको धागो, छरपस्ट !  यो कुनै विवाहको उल्लासमय क्षणको साक्षी थियो कि कुनै प्रियजनको बिदाइको मौन चिह्न ? सायद यो मन्दिरमा श्रद्धाले चढाइएको प्रसाद थियो जहाँ भक्तले आफ्ना प्रार्थनाहरू गाँसेका थिए । तर ओइलाएर फालेका फूलहरूमध्ये कुन सुखको र कुन दुःखको फूल भनेर कसरी थाहा पाउने होला ?

हावाले उडाएर ल्याएको एउटा फाटेको बसको टिकट कुनै ढुङ्गामुनि अड्किएको थियो । हावाले फिरफिराउँदा अलिकति आवाज निकाल्दै थियो, कतै उड्न खोजे जस्तो । उन्मुक्ति खोजे जस्तो । यो टिकट कसको थियो ? के कुनै गाउँलेले शहरको सपना बोकेर किनेको थियो, तर यहाँ आएर उसको आशा चकनाचुर भयो ? कि कुनै विद्यार्थीको थियो, जो हरेक दिन कलेज जान यो बस चढ्थ्यो, तर अब उसको पढाइ अधुरै रह्यो ? सायद यो कुनै प्रेमीको थियो, जो आफ्नो प्रेयसीलाई भेट्न उत्साहित थियो, तर अब यो टिकट मात्र बाँकी छ— उसको प्रेमको मूक साक्षीको रूपमा । हुन सक्छ, सधैँ बस चढ्ने कुनै यात्रीले आफ्नै गाडी किन्यो, अब उसलाई यस्तो टिकटको आवश्यकता नै परेन।

बाटोको कुनामा एउटा कानको झुम्का टल्किरहेको थियो— एक्लो, बेवारिसे । अर्को कता छ ? थाहा भएन। के यो कुनै युवतीको सौन्दर्यको हिस्सा थियो जुन हतारमा खस्यो कि कुनै आमाले आफ्नी छोरीलाई दिएको उपहार थियो जुन अब सडकको धुलोमा हराएको एउटा अधुरो कथा मात्र बन्न पुगेको छ ? सायद यो कुनै प्रेमको निशानी थियो जसलाई कसैले मायाले किनिदिएको थियो ।

धुलोमा एउटा सानो प्लास्टिकको खेलौना कार लटपटिएको थियो— एउटा पाङ्ग्रा हराएको, रङ खुइलिएको । यो कुनै बालकको सपनाको हिस्सा थियो जसले यसलाई आफ्नो सानो संसारमा दौडाउँथ्यो । आफूलाई साँच्चिकै चालक ठानेर गौरवान्वित हुन्थ्यो ! सायद यो भाइ-बहिनीको झगडामा फुट्यो ! हुनसक्छ,  उसको बाबाले त्योभन्दा अझ ठूलो कार किनिदिए । वा त्यो बालक ठूलो भइसक्यो, अनि उसकी आमाले “आफ्नै कार किनेस् ?” भनेर फ्याँकिदिइन् ।

एउटा पुरानो औँठी धुलोमा दबिएको थियो। कसैले धोका खाएर यो फ्याँकेको थियो कि कहिल्यै नटुङ्गिने वाचा, सँगै जिउने-बाँच्ने कसम, सबै अर्थहीन भएपछि ? वा कसैको औँलाबाट यो बिस्तारै थाह नपाउने गरी खसेको थियो । उसले अहिलेसम्म पनि कतै खोजिरहेको होला ? घरमा काम गर्ने केटीले नगरेको कामको दोष बोकेकी होलिन् र आफ्नो फुटेको कर्मलाई स्वीकारेर चुपचाप बसेकी होलिन् । उसले गर्न सक्ने विद्रोह भनेकै मौन बस्नु हो ।

एउटा च्यातिएको सानो कपडाको टुक्रा बाटोको रेलिङको तारमा अल्झिएको थियो । हुलदङ्गामा कोही भाग्दा यहाँ अड्किएको हो कि ?  वा घरमा बच्चो हेर्दिने कोही नहुँदा बच्चा नै लिएर आमा काममा गएकी थिइन्,  सानो बच्चा हिँड्दाहिँड्दा थाक्यो र आमाको बुई चढ्ने ढिपीमा आमाको हात समातेर तान्दै गर्दा कपडा यसमा अड्किएर च्यातियो । आमाको गरीबीमाथि फेरि अर्को पीडा थपिदाँ उसले कति गाली खायो होला ? अथवा लामो गफपछि भर्खरै छुट्टिएका कुनै प्रेमीप्रेमिकाको अप्रत्याशित र आश्चर्यजनक फेरि-भेटको यो साक्षी थियो । रेलिङमा अडेस लगाएर फेरि त्यति नै लामो गफिँदा उनको सल यहाँ अड्कियो र च्यात्तियो, तर  उनलाई पत्तै भएन।

—–

सडकमा फोहर हैन कथा फालिएका रहेछन् !

सडकमा फ्याँकिएका कथाहरू वस्तु थिएनन्— अधुरो सपना, बिर्सिएको सम्झना र टुटेका भावना थिए । यी हाम्रो समाजमा लुकेको मानवीयताको खोजी हो जसले हाम्रो समाजको उपभोग, उपेक्षा र सम्बन्धहरूको जटिलतालाई प्रकट गर्छ । हरेक फ्याँकिएको वस्तुले एउटा कथा बोकेको हुन्छ; यसले कसैको आशा, दुःख, प्रेम वा सपनालाई प्रतिबिम्बित गर्छ। यी केवल फोहर होइनन्, बरु हाम्रो जीवनको ऐना हुन्, जसले हाम्रो वरपरको संसार प्रतिको हाम्रो दृष्टिकोणलाई पुनर्विचार गर्न हामीलाई बाध्य बनाउँछ। सडकमा छरिएका यी कथाहरूले हामीलाई गहिरो सन्देश दिन्छन्: हामीले फ्याँकेका चीजहरूमा पनि जीवनको अंश लुकेको हुन्छ र तिनलाई सुन्ने प्रयास गर्दा हामी आफ्नो जीवनलाई अझ संवेदनशील र अर्थपूर्ण बनाउन सक्छौं। यी फ्याँकिएका कथाहरूले हामीलाई हाम्रो सम्बन्धको मूल्यको याद दिलाउँछन्।