तिम्रो सत्ताको कदर गर्न पाउँदा सधैं नै आनन्द र खुसीको अनुभूति मिल्छ मलाई । आफ्नो सत्ता जति प्यारो हो मलाई, उति नै प्यारो लाग्छ त्यसमाथिको तिम्रो प्रेमिल हस्तक्षेपको दावी । मेरो आफ्नै स्वीकृतिको अनुशासन हौ तिमी मलाई । आफ्नो लेखनमा पारख भर्न तिमीबाटै त हो म सधैं पे्ररित हुने, अभिप्रेरित हुने ! म लेखक, तिमी मेरो पाठक ! सिक्काका दुई पाटाजस्तै हौं हामी । एकबाट अर्काे कहिल्यै नछुट्टिने छुट्टिन नसक्ने आत्मीय रागको नातो हौ हामी । अन्योन्याश्रित सम्बन्धको एक अजम्बरी कहानी हौं हामी ।
म बुझ्दिनँ, इतिहासभरी पाठकलाई किन द्वितीयक महत्वको तत्व ठानियो होला ? लेखकको सत्ताका अगाडि पाठक सत्ता सधैं किन गौण महत्वको कुरा जँचियो होला ? लेखक सर्वेसर्वा हो, पाठक उसको अनुगामी मात्र हो भन्ने एकपक्षीय मान्यता इतिहासभरी कसरी जमेर बस्न सक्यो होला ?
प्रश्न गर्न मन छ मलाई , इतिहाससँग प्रश्न गर्न मन छ– के विनापाठक कुनै लेखक हावामा त्यत्तिकै एक्लै उभिन सक्छ ? केवल लेखिदिएको भरमा मात्र के कुनै एउटा लेखक आफ्नो जीवनमा साच्चै नै लेखक दरिन सक्छ ? विनापाठक के कोही एउटा लेखकको नाम इतिहासको पानामा आफैँ दिन सम्भव हुन्छ ? लेखकले पुस्तक लेख्नु मात्र महत्वपूर्ण कुरा होइन, त्यसमा पाठकको आँखा पर्नु पनि उत्तिकै महत्वपूर्ण कुरा हो । सबैले जानेकै कुरा हो– कुनै न कुनै एउटा पाठकले सुरुमा टर्च नदेखाइकन कुनै पनि लेखकको नाम जादुजस्तो गरी आफसे आफ प्रचारको प्रकाशमा आउन सक्तैन । भानुभक्तलाई मोतीराम भट्टले नदेखेको भए, उनको नामलाई मोतीरामले नछोइदिएको भए, नछामिदिएको भए के भनुभक्त आफैँ नै नेपाली कवितामा ‘आदि कवि’ भएर उभिन आउँन सक्थे र ? उनले लेखेको रामायण नेपालीे महाकाव्यको इतिहासको पहिलो डोब भनेर पहिचान गर्न सम्भव हुन्थ्यो र ? उनका समयका अरू पनि जति स्रष्टाहरूको नाम इतिहासमा दर्ज भएको छ, त्यो सबै पाठककौ कारण सम्भव हुन सकेको हो । अनुमान गर्न सकिन्छ– त्यही समयका कयौं अरू सर्जकहरूको नाम पाठकका आँखामा पर्न छुटेका कारण इतिहासको गर्तमा त्यत्तिकै दबिएर गए होलान् । कल्पना मात्रै गर्दा पनि यो मन त्यसै त्यसै भावुक भएर आउँछ । कठै ती गुमनाम सर्जकहरू ! पाठकको दृष्टिस्पर्श नपाएका कारण तिनका कयौं सिर्जनाहरू चल्न–चल्मलाउन नपाइकनै त्यत्तिकै अँध्यारोमा बिलाएर गए होलान् ! पाठकको आँखाबाट छेलिएर नाम बन्न नसकेका ती तमाम गुमनाम लेखकहरूप्रति, तिनका सिर्जनाहरूप्रति यो मन त्यसै त्यसै करुणाभावले चुलिएर आउँछ ।
कुनै पनि भाषाको साहित्यको श्रीवृद्धिका लागि सहकर्मी सहधर्मीजस्तै गरी लेखक र पाठक दुवै सत्ता सधैं नै सँगसँगै खटिइरहेका हुन्छन् । साहित्यमा नयाँ आभा भर्न र नयाँ उचाइ थप्न लेखक र पाठक दुवैले आ–आफ्नो कुनाबाट उत्तिकै महत्वपूर्ण ढंगले योगदान पुर्याइरहेका हुन्छन् । लेखकहरू लेखिदिन्छन् , पाठकहरू पढिदिन्छन् । बुझिदिन्छन्, बुझाइदिन्छन् । पाठ (रचना/कृति) मा पाठकहरू अर्थका अनेक सम्भावनाहरू आविष्कार गरिदिन्छन् । लेखकले लेखिदिने मात्र हो , त्यसलाई कतिसम्म गहिरो गरी सुन्ने, सुमसुमाउने, बुझ्ने–बुझाउने, फिजाउँने–फैलाउने तमाम काम पाठकहरू गरिदिन्छन् । यस्तोमा लेखक र पाठकलाई एउटा बढी महत्वको र अर्को कम महत्वको भनी विभेद गरेर आँक्नुको कुनै औचित्य रहन्छ र ? मेरो सानो बुद्धिले ठम्याएको कुरा त बस् यत्ति मात्र हो– लेखक र पाठक वास्तवमै एक–अर्काका परिपूरक हुन् । एउटाको उपस्थिति अर्थपूर्ण साबित हुनका लागि अर्कोको उपस्थिति अपरिहार्य हुने हुनाले लेखक र पाठक दुवै एक–अर्काका परिपोषक हुन् । एकभन्दा अर्को न कम, न बढी दुवै नै बराबरी शक्तिका प्रभाव हुन् । साहित्यको उन्नति र गरिमाका लागि लेखक र पाठक दुवै नै बराबरी महत्वका आवश्यकता हुन् ।
मैले यहाँ यसरी साहित्यमा पाठक पनि लेखक जत्तिकै महत्वको शक्ति हो भनी तर्क गर्न अघिसरेको देख्ता पुरानो ढर्राको सोच पालिबसेका कतिपय सर्जकहरूलाई चित्त नबुझ्न पनि सक्छ । तर त्यसमा मलाई कुनै आश्चर्य मान्नु छैन । थाहा छ, ‘पाठक दोस्रो आवश्यकताको कुरा हाे’ भन्ने पुरानो मान्यताको प्रभाव अझै निमिट्यान्न भइसकेको छैन हाम्रो साहित्यिकवृत्तमा । लेखकहरूमा विषयचयनको हकमा नविनताप्रति जति आकर्षण देखिए पनि , सिर्जनामा नयाँ नयाँ दर्शन र चिन्तनको उभार जति नै उच्चतामा आइसकेको भए तापनि, नयाँ समयको नयाँ सोचका साथ साहित्य लेखनमा हाम्रा कलमहरू जति नै अभ्यस्त हुँदै गएका देख्न पाइए तापनि हामीकहाँ लेखक–पाठक शक्तिसम्बन्धको बारेकोे पुरातन बुझाइ अझै पूरै मक्किसकेको छैन, त्यसको धङ्धङी अझै बाँकी नै छ । ‘पाठकबिना लेखक एक्लै पनि उभिन सक्छ आफ्नो कलमको बलमा, तर लेखकले नलेखिदिने हो भने पाठकले के पढ्छ ?’ भनेर कुर्लन बेरै नलगाउने लेखकहरू पनि अझै यदाकदा भेटिन्छन् यहाँ । तर मलाई लाग्छ त्यस्तो कुर्लाइ साच्चिकैको शक्तिको स्वर होइन तिनको, बरू ‘हात्तिको देखाउने दाँत’ भने झैं व्यर्थको अहँ प्रदर्शनको अभिमान मात्र हो त्यो ।
सर्वविदितै छ, जो कोही लेखकमा पनि (यदि ऊ असली लेखक हो भने) लेखिसकेपछि आफ्नो रचना धेरै भन्दा धेरै संख्यामा पाठकहरूले पढिदिउन्, गम्भरी पठन गरिदिउन् र प्रतिक्रियाहरू जाहेर गरिदिउन् भन्ने अन्तर्चाहना स्वभावतः हुन्छ नै । नत्र कसरी परख्नु उसले आफैँ आफ्नो कलमको बललाई ? कसरी न्याय गर्न सक्नु उसले आफ्नो लेखकीय धर्मलाई ? थाहा छ नि सबैलाई , लेख्नु भनेको केवल लेख्नु मात्र होइन, ‘राम्रो लेखुँ’ , ‘उत्कृष्ट साहित्यको सिर्जना गर्न सकुँ’ भन्ने मनको चाह पनि हो त्यो ! आफू राम्रो लेख्तै छु कि छुइनँ भन्ने कुरा विनापाठक प्रतिक्रिया लेखकले कसरी थाहा पाउनु ? आफ्नो कुरा आफैँ बक्बक् गर्दै हिँड्ने हो भने बेग्लै कुरा हो अथवा आत्मरतीमै रमाउँदै बस्न मनपराउने हो भने अलग्गको कुरा हो, नत्र कसरी ठम्याउन सक्छ लेखकले आफ्नो सिर्जनाको वास्तविक प्रभाव ? पाठकलाई नपत्याए कसरी अनुभूत गर्न पाउँछ उसले आफ्नो सिर्जनाको वास्तविक स्वाद ? आफूलाई पाठकहरूले कसरी पढिरहेका छन्, आफ्ना लेखनीलाईहरूबारे तिनको व्याख्या विश्लेषण के कस्तो रहेको छ , तिनले आफूलाई कुन स्तर र गुणको स्रष्टा ठहराइरहेका छन् भन्ने विषयमा चासो राख्न आवश्यक नठाने कसरी थाहा पाउनु उसले आफ्नो कलमको वास्तविक शक्ति या सीमाको कुरा ?
लेखक र पाठकबीचको सम्बन्धको महत्ताबारे कुरा उठाउँदै गर्दा यहाँ मलाई एउटा घटनाको सम्झाना भयो । कुरा अलि अघिको हो । स्रष्टा बलदेव मजगैयाँको ‘समय’ उपन्यास लोकार्पणको कार्यक्रम आयोजना गरिएको थियो बानेश्वरस्थित एउटा होटेलको सानो हलमा । स्रष्टा तथा समालोचकहरूको सघन उपस्थिति रहेको उक्त कार्यक्रममा दुई जना समालोचकलाई मुख्य वक्ताका रूपमा डायसमा आसिन गराइएको थियो । कार्यक्रम चलरिहेकै बखतमा नजिकै रहेका एकजना पाका उमेरका लेखकले मसित खुसुक्क भने –“समालोचना गर्नु त के गारो काम हो र हई ? यो किताब यति पृष्ठ लामो छ , यति परिच्छेदमा विभाजित छ, पात्रहरू यी यी नामका छन्, कथा यस प्रकारको छ भन्दिनु त हो नि समालोचना गर्नु भनेको ! मुख्य गारो काम त त्यो कृति लेख्नु पो हो त ? होइन त बहिनी ?”
समालोचना कर्मबारे तिनको त्यस्तो टिप्पणी सुनेर एकछिन त म छक्कै परेँ ।‘यिनी कुन समयको सोचमा बाँचिरहेका लेखक होलान्’ भन्ने जस्तो प्रश्न पनि मनमा उठ्यो । समालोचना कर्मबारे तिनको त्यस्तो बोधप्रति मलाई थोरै सहानुभूति जस्तो अनुभूति पनि भयो मनमा । ‘होइन त बहिनी ?’ भनेर अझ आफ्नो उक्त बुझाइप्रति मेरो पनि सही माग्ने चासो देखाएका थिएँ तिनले । त्यसमा ‘हो’ वा ‘होइन’ भनेर टाउको हल्लाइदिनु मात्र पक्कै पर्याप्त हुन्नथ्यो मैले । किनकि, व्याख्या गरेरै बुझ्नु बुझाउनुपर्ने विषय जोे उठाएका थिए तिनले । कार्यक्रम चलिरहेको बेलामा खुसुखुसु कुरा गर्नु उति शोभनीय नहुने भएकाले केवल खिस्स हासिदिएर तिनका कुरालाई त्यो बेला त्यत्तिकै टारिदिएँ मैले । अचम्म कुरा त के भने कार्यक्रम समाप्तिपश्चात् चियापान चलिरहेको बेला तिनै स्रष्टाले त्यहाँ आफ्नो पुस्तक केही समालोचकहरूलाई उपहार दिइरहेका देखियो । त्यस क्रममा मलाई पनि तिनले आफ्नो एउटा पुस्तक (कविताकृति)उपहार दिए । पुस्तकभित्र तिनको हस्ताक्षर माथि लेखिएको थियो ‘समीक्षार्थ !’
यसको मतलब स्वतः बुझिन्थ्यो– आफ्नो कृति समालोचकहरूले पढिदिउन् र त्यसबारे केही लेखिदिउन् भन्ने तिनी पनि अवश्य चाहन्छन् । यदि त्यसो हो भने अघि तिनले समालोचनाकर्म बारे किन त्यति हलुका टिप्पणी गरेका थिए होलान् ? एकछिन सोचमग्न भएँ म । लाग्यो – आफ्नो कृतिबारे कसैले पनि केही नलेखिदिएको कारण दुःखेको आफ्नो चित्तलाई सुमसुमाउने जुक्ति थियो शायद त्यो तिनको ।
लेखकहरू प्रायः स्वाभिमानी हुन्छन् । यो राम्रो कुरा हो । कतिपय लेखकहरू थोरै अभिमानीजस्ता पनि लाग्दछन् । यो पनि त्यस्तो विधि अपाच्य कुरा हो जस्तो लाग्दैन मलाई । तर जो लेखक हदभन्दा बढी अभिमानी दर्शिन्छ, आफू नै ‘पूर्ण हुँ’ ‘सम्पूर्ण हुँ’ सोची बस्छ त्यो पाराचाहिँ ‘सही होइन’ लाग्छ मलाई । सिर्जनाका माध्यमबाट मान्छेभित्रको मान्छेलाई ब्युँझाउँने गहन जिम्मेवारी बोकेको लेखक यदि स्वयंमा आत्मरतिले भरीएको छ वा अनावश्यक दम्भको अन्धतामा पुरिएको छ भने उसले कसरी सक्ला लेखकीय धर्मको पालना गर्न ? पाठकको संलग्नताविना आफ्नो सृजन कर्म अपुरो र अधुरो नै रहने छ भन्ने तथ्य बोध गर्न नसक्ने, बोध गर्न नजान्ने व्यक्ति सही मानेमा सफल लेखक बनेर समाजमा उभिन सक्तैन । मलाई लाग्छ– एउटा सफल लेखकले अवश्य बुझेको हुन्छ , बुझेकै हुनुपर्छ कि साहित्य भन्नु यथार्थमा लेखक र पाठकको सहकार्यको उत्पादन हो । उन्नत साहित्यको जन्म र विकासमा लेखक र पाठक दुवैको उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ ।
रचना प्रकाशनमा आउनुअघि त्यसको गर्भावस्थादेखि नै सुरु भैसकेको हुन्छ लेखक–पाठक सहकार्यको यात्रा । स्मरणीय छ, हरेक लेखकभित्र सर्जकचेत सँगसँगै पाठक चेत पनि मनको एउटा कुनामा सुसूप्त अवस्थामा अनिवार्यतः वास गरेको हुन्छ । अनुभूतिको तीव्र उद्वेलन एवं भावनाको उत्ताप उमडाव लेखकभित्रको सर्जकचेतको जागरणको अभिलक्षण हो भने आफ्नो भावलाई सकेसम्म सुन्दर र आकर्षक अनुहारमा कसरी अभिव्यक्ति दिउँ भन्ने ध्याउन्ना हुनु उसभित्रको पाठकचेत ब्युँझिएको सूचना हो । केही लेखुँ, केही पोखुँ भन्ने भाव मनमा स्फुरित भई एउटा लेखक जब कलम उठाउँछ, उसको सिर्जनामा पहिलो हरफदेखि नै पाठकचेत (पनि) सक्रिय हुन सुरु भैसकेको हुन्छ । लेखकभित्रको सर्जकचेत र पाठकचेतको सम्मीलन नै लेखनको ध्यानावस्था हो । त्यस्तो ध्यानमा बसेको बेला प्रायः लेखक बाहिरी दुनियाँसँग लगभग बेखबरको अवस्थामा हुन्छ । ऊ आफैँभित्रको पाठकसित मौन संवाद र अन्तरक्रिया गर्दै आफ्नो सिर्जनालाई सुन्दर आकार दिन अभिलिप्त भएर लागिरहेको हुन्छ । शब्दहरू जोड्दै जान्छ, हरफहरू थप्तै जान्छ । आफैँले लेखेको कुरा आफैँ छाँट्छ आफैँ काट्छ , घरि यता मिलाउँछ घरि उता मिलाउँछ । जसरी हुन्छ ऊ आफ्नो अभिव्यक्तिमा पारख भर्न प्रयत्न गर्छ, गरिरहन्छ । यस प्रक्रियाबाट जब सिर्जनाले एउटा आकार पाउँछ, सबैभन्दा पहिला लेखक आफैँ पाठक बन्छ आफ्नो उक्त नवजात सिर्जनाको । ऊ अद्योपान्त पढ्छ त्यो । जब उसलाई लाग्छ ‘यो ठीक भयो’ तब मात्र ऊ आँट गर्छ त्यसलाई छपाउन, त्यसलाई सार्वजनिक गर्न ।
सिर्जनाको सार्वजनिकीकरण लगत्तै त्यसको अर्थमा लेखकको अंकुश समाप्त हुन्छ र स्वतः सुरु हुन्छ पाठकको अधिपत्य । पाठक पाठ (रचना/कृति) मा अर्थ आविष्कारको खेती गर्दछ । यसलाई पाठको बुझाइ प्रक्रिया भनेर पनि बुझ्न सकिन्छ । यो नितान्ततः पाठकको क्षेत्र हो , लेखकको होइन । सिर्जनामा लेखकले के बुझाउन खोजेको हो त्यो महत्वको प्रश्न होइन आज , त्यसलाई पाठकले कसरी बुझ्छ त्यो मुख्य कुरा हो । पाठमा अर्थको ढुकढुकी सञ्चालन गर्ने मुख्य शक्ति हो पाठक । पाठकले जे बुझ्छ, जसरी बुझ्छ, जसरी अथ्र्याउछ त्यो नै हो त्यस पाठ (रचना/कृति) को साख , सार , प्रभाव , शक्ति वा सीमा । आजको युग पाठकको युग हो , पाठक सत्ताको युग हो । पाठकको तागतलाई कम आँक्ने लेखकलाई साहित्यमा टिक्न सजिलो छैन अब ।
अघिको सयम अर्कै थियोे । अघिको परिवेश अलि बेग्लै हो । पाठकहरू भक्तजस्ता लाग्थे, तिनका दृष्टिमा भगवानजस्तो भएर उभिएको हुन्थ्यो लेखक सधैं नै । उसको सिर्जनाको अर्थमा उसैको एकाधिकार चल्थ्यो । उसले बोलेको कुरा ब्रम्हवाक्य जस्तै मानिन्थ्यो, उसले अथ्र्याएको सत्य अकाट्य ठानिन्थ्यो । भनौं, लेखक सत्यको परिभाषा गथ्र्यो अघि, त्यसको अनुपालन गर्न पाठकहरू लालायित हुन्थे । मास्टर जस्तो बन्थ्यो आफ्नो सिर्जनाभित्र लेखक, पाठकहरू आज्ञाकारी विद्यार्थीजस्तो भएर उसलाई सुन्थे । बिनाछलफल उसकोे पाठलाई पाठकहरू शिरोपर गर्थे, गरिदिन्थे । सिर्जना वा कृतिमा लेखकले औंल्याएको अर्थ दुरुस्त पहिल्याउन सक्नु नै पठनको परीक्षामा पाठक उतीर्ण हुनसकेको ठहरिन्थ्यो । लेखकले अथ्र्याएको कोणबाट पाठलाई परख्न सक्ने पाठक अघि सम्बन्धित लेखकका आँखामा मात्र होइन, सिंगै साहित्यवृत्तमै बौद्धिक पाठक जचिन्थ्यो, गम्भरी पाठक भनेर चिनिन्थ्यो । तर पाठलाई त्यसरी बुझ्न नसक्ने पाठक भने अबौद्धिक पाठक ठानिन्थ्यो , सामान्यस्तरको पाठक मानिन्थ्यो । लेखकसित प्रत्यक्ष रूपमा भेटघाट गर्न पाउनु, उसैको मुखबाट उसको रचनाको अर्थ व्याख्या गरिएको सुन्न पाउनु पाठकहरूका लागि ठूलै कुरा पाए सरह महसुस हुन्थ्यो उतिबेला । त्यसो त जो कोही पाठकका लागि त्यस्तो अवसर सहजै पाउन सम्भव पनि हुन्नथ्यो । लेखक–पाठक अन्तरक्रियाको उति चलन नै थिएन साहित्यपरिवृत्तमा । तर आज समय पूरै फेरिएको छ, समय पूरै बदलिएको छ । पासा पलट भएको अवस्था हो आज ।
केन्द्रभञ्जनको युग हो आजको युग । यो युगमा किनारा कोही होइन , सबै केन्द्र हो । सबै मुख्य हो , महत्वपूर्ण हो । सबै शक्ति , सबै समुह उत्तिकै मान्य हो, उत्तिकै गन्य हो । पाठक दुई नम्बरको शक्ति र लेखक एक नम्बरको शक्ति होइन अब । साहित्य निर्माणको काममा पाठक पनि एक नम्बरको शक्ति हो भन्ने तथ्य पहिचानिएको समय हो आजको समय । बहुलवादी चिन्तनको स्वाद यही त हो ! बहुलतावाद नै आजको समयको मुख्य श्रृङ्गार हो, मुख्य सौन्दर्य हो । आजको साहित्यको (पनि) मुख्य पोषण हो यो चिन्तन र मुख्य प्राप्ति पनि यही नै हो । यो समयमा सबैले बुझेका छन्, बुझेकै हुनुपर्छ कि लेखक जति स्वतन्त्र हो आफ्नो सिर्जनामा, त्यसको पठनमा वा बुझाइमा पाठक पनि उस्तै स्वतन्त्र हो । पाठको ढुकढुकीलाई कतिसम्म सुन्ने, कतिसम्म फैलिएर–फैलाएर बुझ्ने–बुझाउने, कुन कुन कोणबाट त्यसभित्र छिर्ने, त्यसको गहिराइलाई कसरी परख्ने, त्यसको प्रभावलाई कसरी ग्रहण गर्ने यी आदि सबै कुरा पाठकको अधीनको वस्तु हो आज ।
पाठकहरू थरिथरिका हुन्छन् । थरिथरिको परिवेश, भुगोल र संस्कृतिमा बाँचिरहेका हुन्छन् । जीवन र जगतलाई बुझ्ने तिनका आआफ्नै चश्माहरू हुन्छन् । चश्मा जति फरक हुन्छ पाठ ( रचना/कृति) लाई बुझ्ने तरिका पनि त्यति नै फरक हुन्छ्, हुनसक्छ । एउटै पाठको पठनमा पनि पाठक प्रतिक्रिया थरिथरिका आइदिन सक्छन् । लेखकले के भन्न खोजेको हो भन्ने कुरा भन्दा पाठकले त्यसलाई कसरी बुझ्छ त्यो महत्वपूर्ण कुरा हुन्छ आज । एउटै रचनालाई यसरी अनेक अर्थमा पहिल्याइदिन पाउनु नयाँ समयमा पाठकको अधिकार विस्तारको अवस्था हो । ‘मेरो रचनाको अर्थ यो होइन’ भनेर लेखकले भन्न पाउँदैन । किनकि सार्वजनिक भए लगत्तै आफ्नो रचनाको अर्थमा उसको हक समाप्त भइसकेको हुन्छ । रोलाँ बार्टको ‘लेखकको मृत्यु’ अवधारण यही मर्मको अभिव्यञ्जना हो । उनैको प्रतिपादन, पाठक प्रतिक्रिया सिद्धान्त भन्छ– ‘पाठक सर्वोपरि हो । पाठ (रचना/कृति) भित्र अर्थ आविष्कारको हक नितान्ततः पाठकको क्षेत्र हो ।
स्मरणीय छ, विश्वसाहित्यको इतिहासमा यस अघि कुनै सिद्धान्तले पनि यो हदसम्मको उचाइमा उठेर पाठक सत्ताको वकालत गरेको भेटिन्न । यद्यपि साहित्यमा पाठकको उपस्थितिलाई अनावश्यक कहिल्यै ठानिएको होइन । जस्तो कि, पूर्वीय साहित्यशास्त्रमा आचार्य विश्वनाथले भनेका छन्– ‘कवि लेख्छ पण्डित त्यसको रसास्वादन गर्छ ।’ साहित्यमा पाठकको महत्व हुन्छ भन्ने स्वीकृतिको खुलासा हो यो उनको । उता पाश्चात्य साहित्यमा पनि सुरुदेखि नै प्रत्यक्ष परोक्ष रूपमा पाठकको महत्व इंगित गर्न कतै छुटेको पाइन्न । उदाहरणका लागि आइ.ए.रिचार्ड्सको मूल्य सिद्धान्तको कुरा गरौं । उक्त सिद्धान्तले भन्छ – सम्प्रेष्यता नै साहित्यको मूल्य हो । त्यसो भन्नु भनेको परोक्षतः पाठकलाई बोधगम्य हुने साहित्य सिर्जना गर्न लेखकहरूलाई आव्हान गर्नु हो । लेखनको बेला पाठकलाई पनि नबिर्सिन लेखकलाई सजग गराइएको हो भन्ने अर्थमा पनि बुझ्न सकिन्छ यसलाई । तर त्यति हुँदा हुँदै पनि त्यो समयमा साहित्यमा सधैं नै लेखकको उपस्थितिलाई र्नै केन्द्रिय महत्वको ठानिदै आएको हो । त्यस परिप्रेक्षमा सन् साठ्ठीको दशक यता आएर पाठक प्रतिक्रिया सिद्धान्तको उदय हुनुले परिस्थिति नितान्ततः फेरिएको हो । यस सिद्धान्तको प्रभावले लेखकपाठक शक्ति सम्बन्धको स्वरूपलाई नितान्त नयाँ परिवेशमा अवतरित गराइदिएको हो ।
कस्तै ठूलो प्रतिभाका लागि पनि लेख्नु ठूलो चुनौतीको काम हो आज । एकातिर उसको सिर्जनामा अर्थ उमार्ने हक पूरै पाठकको बसमा हुनु, अर्कोतिर पाठकहरूको ज्ञान र सुसूचितताको दायरामा व्यापक फैलावट आएको अवस्था हुनुले गर्दा साहित्यमा आफ्नो उपस्थिति सिद्ध गर्न पहिले पहिलेका लेखकहरूलाई जस्तो सजिलो छैन आजका लेखकलाई । यसको मतलब पहिले पहिलेचाहिँ जे–जसरी लेखिदिए पनि सजिलैसित समाजमा लेखक दरिन सकिन्थ्यो भन्न खोजिएको कदापि होइन । पाठकको चेतना र ज्ञानको दायरामा व्यापक फैलावट आएका कारण तिनको मन जित्नलाई अघिको समयमा जस्तो सजिलो छैन अबका लेखकलाई भन्न खोजिएको हो । विश्वव्यापीकारणको प्रभाव , सूचना र प्रविधिको क्षेत्रमा आएको व्यापक उभार र त्यसको पहुँचमा सहजताको अवस्था, शिक्षामा पहुँचको सहजता र विस्तार, सामाजिक सञ्जालको विगविगी यी आदि विभिन्न कारणले गर्दा समाजमा सामान्य मानिसहरू पनि धेरै विषयमा जानकारी राख्ने हैसियतका भएका छन् अहिले । भनिन्छ– ‘ज्ञान नै शक्ति हो ।’ ज्ञानमा सहज पहुँचका कारण मानिसहरू जुनसुकै विषयमा पनि दृष्टि दिन सक्ने भएका छन्, दृष्टि दिन तम्सने भएका छन् अचेल । यो कुराबाट साहित्यसमाज पनि अछुत रहेको छैन । साहित्यकाबारे, साहित्यिक रचनाहरूबारे जो कोही पाठक पनि आफ्ना दृष्टि तथा टिप्पणी व्यक्त गर्न अग्रसरता देखाउने भएका छन् हिजोआज । यद्यपि पठनको विज्ञता सबै पाठकहरूमा उही स्तरमा छ वा हुन्छ भन्ने कुरा चाहिँ पक्कै होइन ।
पाठकहरू विभिन्न क्याटोगरीका हुन्छन् । एकथरि पाठक त्यस्ता हुन्छन् जो हुनत साहित्यक्षेत्रमै संलग्न भइरहेका हुन्छन् तर तीक्ष्णताका दृष्टिले ती सामान्य स्तरका हुन्छन् । अर्काथरि त्यस्ता पाठकहरू जो पेसाले गैरसाहित्यिक क्षेत्रमा संलग्नता राख्छन् तर पनि तिनीहरू साहित्य पठनमा पनि उत्तिकै रुचि राख्तछन् र आफूले पढेको साहित्य वा साहित्यिक रचना वा कृतिहरूबारे प्रतिक्रिया वा टिप्पणी जाहेर गर्न (पनि) चासो देखाउँछन् । साहित्यमा अर्काथरि त्यस्ता पाठकहरू पनि हुन्छन् जो आफू स्वयं पुस्तकहरू रोज्न जान्दैनन् वा भ्याउँदैनन् तर बजारमा चलेको हल्लाका भरमा पुस्तक किन्छन् र ‘मैले पनि यो पुस्तक पढेको छु है’ भन्ने देखाउन रहर गर्छन् र पुस्तकका बारे बजारमा सुनिएकै लयमा प्रशंसाको पुल बाधिदिन्छन् । र, अर्काथरि पाठक चाहिँ त्यस्ता हुन्छन् जो मूलतः साहित्यको अध्ययन, अनुसन्धान र पठनमै निरन्तर रूपमा सक्रिय भइरहेका हुन्छन् र देश–दुनियाँका साहित्य र साहित्यिक अपडेड्सहरूलाई चासोका साथ हेरिरहेका हुन्छन् । यी थरिका पाठक कुनै पनि कृतिहरूबारे आफ्नो दृष्टिकोण व्यक्त गर्दा तर्कका साथ प्रस्तुत हुन्छन्, तर्कका साथ प्रस्तुत हुनसक्ने बौद्धिक क्षमता राख्तछन् र कुनै पनि स्रष्टाको कृतिबारे पाठकप्रतिक्रिया जाहेर गर्दा त्यसको राम्रो पक्षका साथसाथै कमजोरी पक्षका बारे पनि छर्लङ्ग पारिदिने काम गर्दछन् । यथार्थमा यी थरिका पाठकहरू नै साहित्यका असली पाठक हुन् ।
सर्वविदितै छ, अरू अरू विषयको पठन जस्तो सरल होइन साहित्यको पठन । सामान्य पठनले पूर्ण न्याय गर्न सकिन्न साहित्यलाई, साहित्यको गहिराईलाई , यसको महानतालाई , यसको विशिष्टतालाई । साहित्य त कला हो, दर्शन हो ! यावत् विकृति विसंगतिप्रतिको गहिरो चिन्तनमनन पनि हो साहित्य ! परिवर्तनको पोषण हो , सुसस्कृति निर्माणको अभीप्सा हो अनि मानवताको पुजा पनि हो साहित्य ! त्यसैले साहित्यको सौन्दर्य परख्न केवल सतही दृष्टि कदापि पर्याप्त हुन्न । पाठलाई समग्रमा बुझ्न , त्यसको अन्तर्यलाई छुन–छाम्न, गहिराइसम्मै डुबेर त्यसको चौतर्फी अर्थ परख्न जो कोही पाठकले सजिलै भ्याउन सक्ने कुरा हुन्न । एकसरो अर्थ त जसले पनि बुझ्न सक्ने कुरा भयो , तर पाठभित्र पत्र–पत्रमा चेपिएर रहेका हुन्छन् अर्थहरू, त्यहा“सम्म पुगेर पाठलाई परख्न सामान्य पठनले अवश्य नै पुग्दैन । त्यसका लागि पाठ र पाठकबीच गम्भरी अन्तरक्रियाको खाँचो पर्छ, गम्भरी पाठकको अग्रसरता अपरिहार्य हुन्छ । गम्भरी पाठक साहित्यको गम्भरी चिन्तक पनि हो र संगसंगै साहित्य पठनको सही मानक पनि हो । कुनै पनि गम्भरी लेखकका लागि आफ्नो लेखनमा गुणत्मकता अभविृद्धि गर्न गम्भरी पाठकको पठनप्रतिक्रिया सुन्नु , गुन्नु र मनन गर्नुले उसलाई सधैं सहयोग नै पुग्छ, त्यसबाट उसलाई कदापि हानी हुँदैन ।
हुन त स्रष्टाहरूका लागि सबैथरिका पाठकहरू महत्वपूर्ण हुन् । सबैथरिका पाठकको मन जितेर चर्चित हुन चाहनु, सबैथरिका पाठकले आफ्नो सिर्जनालाई मन पराइदिउन् , हाई हाई गरिदिउन् भन्ने इच्छा जो कोही स्रष्टामा पनि स्वभावतः हुन्छ नै । तर त्यसो भन्दैमा बजारमा उभरीएका सतही हल्लाहरूलाई पनि विना मन्थन सोझै पत्याइदिने हो भने कतिपय बेला त्यस्तो पत्यारले स्रष्टाको सिंगै साहित्यिक भविष्यमै नकारात्मक आँच पुग्नसक्ने सम्भावना रहन्छ । जस्तो कि, हामीकहाँ कतिपय लेखकहरू हल्काफुल्का पाठक प्रतिक्रियालाई महत्व दिँदै ‘बजारको माग नै यस्तै छ’ भनी चकलेटी साहित्य सिर्जनामै रमाइरहेका पनि नदेखिएको होइन । आफ्ना कृतिहरूको चर्चापरिचर्चा गराउन र रातारात आफ्नो नाम साहित्यको बजारमा फिजाउने महत्वाकांक्षाले उचालिएर कतिपय लेखकहरूले त्यस्तो बजारलाई उपयोग गर्ने धृष्टता गरेको पनि नदेखिएको होइन । त्यस्तै हल्काफुल्का प्रशंसाको आकर्षणमा जानेर वा नजानेर अभिमुख हुन पुग्दा कयौं सम्भावित सबल नयाँ कलमहरू उच्च साहित्य सिर्जनाको ध्यानमा बस्न छोडेर सतही साहित्यिक क्रियाकलापमै रमाइबस्न अभ्यस्त भैदिने हुन कि भन्ने खतरा पनि उस्तै छ । त्यस्तो प्रतिक्रियामा रमाउन अभ्यस्त भइदिँदा गहकिलो सिर्जना गर्न सक्ने तिनका सम्भावनामा खिया लाग्ने स्थिति हुनसक्छ । साहित्यमा देखिएका वा देखिने यस किसिमका कमजोरीहरूमा सुधार ल्याउनका लागि पनि गम्भरी पाठकको रचनात्मक खवरदारीले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ, गर्न सक्तछ भन्ने लाग्छ मलाई ।
यर्थार्थमा कुनै पनि भाषाको साहित्यको निर्माण र बढोत्तरी हुनुमा गम्भरी लेखक र गम्भरी पाठक दुवैको उत्तिकै योगदान रहेको हुन्छ । गहन सिर्जनामा लाग्नु जस्तै गारो काम हो गम्भरी पठनमा लाग्नु पनि । यी दुवै विधा उत्तिकै जिम्मेवारीपूर्ण कर्म हो । दुवै कर्मका लागि गहिरो साधनाको खाँचो पर्छ । लेख्नु जसरी एउटा ध्यान हो , त्यस्तै ध्यान हो गम्भरी पठन अर्थात् समालोचनाकर्म पनि । समालोचना आफैँमा एउटा सिर्जनात्मक कर्म हो । यद्यपि हामीकहाँ अझैसम्म पनि धेरैको बुझाइ छ– ‘समालोचना भनेको कठोर विधा हो ।’ तर यो कुरा सही होइन, योे गलत बुझाइ होे भन्छु म । स्रष्टाका कृतिहरू विश्लेषण गर्दा कमजोरी पक्षहरूलाई पनि गहिराइका साथ खोतलिदिनुपर्ने हुनाले समालोचना कर्म अलि छुच्चो–छुच्चो काम हो जस्तो चाहिँ अवश्य लाग्ला । तर यदि आलोचना गर्दा पनि विनम्रतालाई अवलम्बन गर्न नछुटाउने हो भने त्यहाँ छुच्याई देखिन्न , बरु लेखकलाई सुधारिन प्रेरित गर्नसक्ने समालोचना विधाको वास्तविक कला दर्शिन्छ । बौद्धिक कर्म अवश्य हो समालोचना तर कठोर विधा किमार्थ होइन यो । पाठको परख गर्नु भनेको त्यस्को गहिराइ, चौडाइ, फैलाइ सबैतिर छाम्न भ्याउनु त हो नै , साथसाथै सर्जकले नै देख्न भ्याउन नसकेको कोणसमेत उसको सिर्जनाभित्र खुलाइदिएर उसैलाई उसको पाठको पाठक बनाइदिन सक्ने सामथ्र्य देखाउनु पर्ने कर्ममा लागेको समालोचकले यदि कठोर शैलीलाई पच्छ्याउने हो ऊ कसरी सफल समालोचक बन्न सक्छ ? विनम्रताको गुण र सिर्जनशीलताको क्षमता असल समालोचकको खास पहिचान हो ।
पाठक सत्ता लेखकसत्ताभन्दा कत्ति पनि कम महत्वको सत्ता होइन, बरू यी दुवै एकअर्काकाको शक्तिमा पोषण पुर्याउने सच्चा सहधर्मी शक्ति हुन् भन्ने आफ्नो बुझाइलाई अभिव्यक्ति दिने आशयले लेखेको यो निबन्धलाई टुंग्याउनुअघि म आफैँले अघि बोलेको एउटा सन्दर्भ यहाँ उद्धृत गर्न चाहन्छु । झण्डै एकवर्ष अगाडि साहित्यकार गीता त्रिपाठीले एउटा पत्रिकाका लागि मसित अन्तर्वाता लिएकी थिइन् । सिर्जना र समालोचनाको अन्तरसम्बन्धबारे उनले सुरुमै मलाईे प्रश्न गरेकी थिइन् र उत्तरमा मैले भनेकी थिएँ–“यी दुवै विधा उत्तिकै दायित्वपूर्ण प्राज्ञिक कर्म अन्तर्गत पर्दछ । अध्ययन र साधना दुवै विधाको आधारभूत आवश्यकता हो । तुलनात्मक रूपमा साहित्य बढी भावनप्रधान हुन्छ भने समालोचना बुद्धि प्रधान हुन्छ, त्यो अलग कुरा हो, तर सिर्जनशीलताको माग र रचनात्मकताको खोजी यी दुवै विधामा रहन्छ ।”, मेरो उक्त भनाईप्रति उनले प्रतिप्रश्न गरेकी थिइन्– “तर समालोचनालाई त कठोर विधा मानिन्छ नि त ?”
उनको उक्त प्रश्नलाई मैल यसरी सम्बोधन गरेकी थिएँ–“यो केवल बुझाइगत त्रुटि हो । समालोचना तुलनात्मक रूपमा बढी बौद्धिकतासित सम्बन्धित हुन्छ, हुनुपर्छ त्यो अलग कुरा हो , तर त्यसको मतलब यो विधा कठोर हो, कठोरता नै यसको मुख्य पहिचान हो भनेर बुझ्नु सही होइन भन्ने लाग्छ मलाई । अवश्य नै ,साहित्यको गम्भरी पाठकको कोटीमा पर्दछ समालोचक । त्यसर्थ साहित्यिक रचनाहरू पढेर त्यसबारे आफ्नो कोण दर्शाउँनु उसको एउटा प्रमुख कार्यक्षेत्र हो नै, साथसाथै साहित्यका सिद्धान्तहरू निरूपण गर्नु तथा साहित्यका विभिन्न दर्शनहरूबारे दृष्टि खुलाउँनु पर्ने दायित्व पनि उसैको कर्म अन्तर्गत पर्दछ । यथार्थमा लेखक तथा आमपाठकका मनमा विचारको नयाँ भोक जगाइदिन सक्नु, विचारको नयाँ जगत् पहिल्याउन तर्फ तिनलाई हौस्याउँन सक्नु, विचारको नयाँ धारतिर अभिमुख हुन उत्प्रेरणा प्रदान गर्नु, गर्न सक्नु समालोचकको विशिष्ट क्षमताको प्रमाण हो । यस्तो क्षमताका लागि उसमा सिर्जनशील बौद्धिकता अपेक्षित हुन्छ, न कि बौद्धिक कठोरता । आफ्नो यो बुझाइमा म अडिग छु ।”
मेरो यो बुझाइ सही हो कि बेसही ? म आफैँ त कहाँ भन्न सक्छु र ? प्रिय पाठक, यो कुराको निक्र्योल गर्ने जिम्मा तिम्रो हो । किनकि म यहाँ लेखकको भूमिका छु । लेखकको काम लेख्नु (मात्र) हो , अथ्र्याउन अघिसर्नु कदापि होइन । थाहा छ, पाठकको सर्वोपरिताले पूरापूर मान पाएको समय हो यो । समयको सम्मान गर्नु एउटा लेखकको धर्म पनि हो र बुद्धिमानी पनि हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।