
एउटा सानो रचना पूरा भयो । मानौं, एउटा सन्तान पैदा भयो । प्रकाशित भयो, पाठक रम्यो, लेखक पनि रमायो । कसैले मन पराएन भने पनि आफ्नो रचना आफूलाई प्यारो लाग्छ । अरूले असुन्दर या विकलाङ्ग भनेर तिरस्कार गरेको सन्तानको झनै माया लागे झैं ।
एउटा भडास थियो मनमा जो अक्षरमा पोखियो । भित्र कलुष थियो जुन पखालियो, मनै हलुङ्गो भयो । हृदयको कचरा सफा भयो, मुक्तिको अनुभव भयो । मनमा असीम प्रसन्नता या दर्द थियो जो बाँडियो । एउटा कसैले नअह्राएको काम सम्पन्न गरे जस्तो । एउटा अनियोजित योजनाको लक्ष्य हासिल गरे जस्तो । अनि एउटा अनाहूत पाहुना साँझपख टुप्लुक्क प्रकट भए जस्तो । लेखन कर्म लेखक र पाठकमाझको सङ्ग्राम रहेछ । पाठकले पूरै पढ्यो भने लेखक विजयी भयो । पाठकमा पढ्ने भोक जागेन, जिज्ञासा लागेन र तरङ्गित एवं मर्माहत भएन भने लेखकको पराभव भयो ।
लेखक सदैव स्वतन्त्रतालाई प्रेम गर्दछ । ऊ सभ्यताका सबै नियमहरूको पलना गर्ने लकिरको फकिर होइन । लेखक समाजको अनन्य विद्रोही हो । ऊ निडर र चोथाले हुन्छ । कोठाभित्र बसेरै क्रान्ति ल्याउने क्षमता राख्छ लेखक । ऊ लापर्वाह हुन्छ, बेफिक्री ।
महाकवि लक्ष्मीप्रसाद देवकोटालाई पहिलो पल्ट भेट्न जाँदाको दृश्यबारे शङ्कर लामिछाने लेख्छन्, ‘जीवनमा पहिलोचोटि देवकोटाजीसित परिचय पाउने उत्साहमा मेरो मन धकमक गरिरहेको थियो । ‘सुन्दरीजल’ र ‘शाकुन्तल’ महाकाव्य लेख्ने कविको साक्षात् दर्शन । भर्याङको हरेक खुड्किला पहाड चढे झैं लागेपछि २-२ वटा गरेर म उफ्रेर एक्कासी कोठामा पुगें । देखें, कालो कम्बलले गुटुमुटु भएर एउटा मैलो फोहोर ओछ्यानमा पल्टेर घोप्टिई देब्रे हातले चिउँडो अड्याएर उच्च स्वरमा कोही एकाग्र चित्त भई पढिरहेछ । एक मन त लगत्तै फर्कूँ जस्तो लाग्यो, सायद वहाँ त्यो महाकवि होइन होला भन्ठानेर । के छ अनुहारमा ? कालो फुस्रो मुख छ । कपालका रौं आफूखुशी दश दिशा दौडिरहेछन् । कम्बलबाट निस्केका हातमा झ्याप्झ्याप्ती रौं, कालो फुस्रो हात, मसी-मसी लागेको । यस्तो मानिस पनि महाकवि ! कोठामा चारैतिर हेरें। आँधी र हुरी भर्खरै नाचेर गए झैं हरेक दिशामा कागज छन् । सायदै कुनै किताब सद्दे होला । मसी नघोप्टिएको सुकुलको कुना नराम्रो देखिन्थ्यो ।’
लेखक अर्काको चियोचर्चो गर्नमा खप्पिस हुन्छ । झ्यालबाट देखे-सुनेका कुराको बिस्कुन सुकाउँछ । सबैका ‘बा’ हुन्छन्, तर आफ्नै मात्र ‘बा’ भए जस्तो अभिनय गर्छ । ‘मेरा बा’ लेखेर बा हुनेनहुने सबैलाई रुवाउँछ । शब्दको करामतले एउटा शोकाकुल कवि राष्ट्रकवि बनिदिन्छ । अक्षररूपी आँशुमा पोखिएका शब्दहरू अविनाशी ‘अक्षर’ बनेर अमर हुन्छन् । लेखक आफैँ रोगी हो, अनि आफैँ वैद्य पनि । ऊ आफैँ झगडा गर्छ र आफैँ वकिल बनिदिन्छ । लेखक आफैँ चोर्दछ र आफैँ पुलिस बनेर पक्राउ गर्छ । उसले वनमा गाई चराउने गोठालाको कामोत्तेजना लेखिदिन्छ । ऊ आफ्नी काल्पनिक राधाको खोजीमा कृष्ण कन्हैयाले झैं कलमको बाँसुरी बजाउँछ । लेखक हुँदै नभएको प्रेमको प्रेमलहरी गाइदिन्छ । लेखकको दुनियाँमा सर्पले गीत गाउँछ । चितुवाले बाछोलाई दूध चुसाउँछ । ढुङ्गो नौनी झैँ नरम हुन्छ । चराले महाकाव्य लेख्छ । वानर पहाड बोकेर उड्छ । भालूले डाक्टरी गर्छ र छेपाराले मास्टरी । लेखकको एकादेशमा गङ्गा नदी युवती बनेर प्रकट हुन्छे । मेघप्रेमीको हुलाकी बनेर जान्छ दूर देशतिर ।
लेखक एउटा त्यान्द्रोमा झुण्डिएर लेख्न शुरु गर्छ । शुरु गर्न कठीन र बिट मार्न झनै मुस्किल । एक आदत, एक नशा, एक खुमारी जो दैनन्दिनको कर्तव्य बनिदिन्छ । आधा रातमा केही फुर्यो कि जुरुक्क उठिहाल्यो । के मजा लागेको त्यो ? उदेक गर्छ लेखक । देवकोटाको शब्दमा ऊ ‘शब्दलाई देख्दछ, दृश्यलाई सुन्दछ, बास्नालाई स्वाद लिन्छ र आकाशभन्दा पातला कुरालाई छुन्छ ।’ कठोर शासन र निर्मम समाजले कोमल लेखकलाई चिन्दैन । चेतनाको ज्योति बाल्ने सुकरातलाई निरङ्कुश शासनले हेमलक पिलाउँछ । द्रवित महाकविलाई निष्ठुर ‘बुज्रुक’ले बहुलायो भनेर राँची पठाउँछ । बाहिर बाहिर वाहवाही कमाए पनि घरका जहानलाई सताउने ‘निकम्मा’ प्राणी हो लेखक । एक पागलपन, एक लहड जो चुरोटको ठूटोले औंला पोलेको चाल पाउन्न । लेखकले भात सेलाएको थाहा पाउन्न । बिहानीमा भाले बासेको मेसो पाउन्न । केही उपति गर्दैन ऊ । परन्तु उसका खातिर रात पनि छोटो र दिन पनि । कहिल्यै फुर्सदमा नहुने जीव हो लेखक ।
लेखक चार्ल्स डिकेन्स बनेर अमानवीय श्रममा लगाइएका बालबालिकाको आँशु पुछिदिन्छ । पुसको ठण्डीमा हातमा कोदोको बासी रोटी समातेको अर्धनग्न दरिद्र केटोलाई चौराहामा उभ्याइदिन्छ ऊ । ऊ चेखब बनेर अकिञ्चन, किन्तु बहादुर ठिटोको परिचय पस्किदिन्छ । दोस्तोवस्की बनेर अपराध गर्ने मानिसको मनस्थिति उकेलिदिन्छ । ऊ देवकोटा बनेर मुनाको मदनलाई बाटैमा बिचल्लीमा पार्छ । ऊ पर्ल एस बक बनेर विश्व असुन्दरी ओ लानलाई विश्व सुन्दरीमा परिणत गरिदिन्छ । खतरनाक जीव हो लेखक ।
पूर्ववैदिक ऋषिहरूले लेखेनन् । उनीहरूको काम सुनेको कुरा घोक्नु र घोकाउनु मात्र थियो । त्यसैले त वेदलाई श्रुति भनियो । बडो कष्टकर हुँदो हो त्यो घोकन्ते वन्यजीवन । महात्मा बुद्ध आजीवन बोलिरहे, तर लेखेनन् । उनका उद्गारहरूलाई उनको निर्वाणपछि मात्र भिक्षुहरूले संस्मरणका आधारमा लिपिबद्ध गरिदिए । सुकरात बोलिरहे, तर लेखेनन् । उनका अनमोल वचनहरूलाई प्लेटोले लेखिदिए । कालीदास कालजयी महाकाव्य लेखेर महाकवि बने । वाल्मीकि र व्यासले नलेखिदिएको भए पौराणिक साहित्यको भण्डार रित्तो हुने थियो । वाणभट्ट, भारवी, भर्तृहरि र अश्वघोष आदिले नलेखिदिएको भए संस्कृत साहित्य कङ्गाल हुन्थ्यो । अरस्तुले नलेखेको भए आज राजनीति र विज्ञानले शब्दको अनिकाल बेहोर्नुपर्ने थियो । भर्जिल, गेटे, मिल्टन र शेक्सपियर जस्ता महाकविहरूको अभावमा युरोपको साहित्य रित्तो हुन्थ्यो । भोल्टेयर, रुसो, हेगल, नित्से, कार्लमार्क्स, चार्ल्स डिकेन्स एवं जेएस. मिल जस्ता चिन्तक र दार्शनिक नजन्मेको भए आजको युगले हिँड्ने बाटो भेट्टाउन कठीन हुने थियो । लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, मोतीराम, माधवप्रसाद घिमिरे, बीपी, लेखनाथ, ध्रुवचन्द्र, पारिजात, गोपालप्रसाद रिमाल र शङ्कर लामिछानेहरूले नलेखेरै जीवन गुजारेको भए नेपाली साहित्यको संसार ताराविहीन आकाश झैँ नीरस हुने थियो ।
संसारको कुनै पनि लेखकले कसैबाट अनुरोध भएर लेख्न शुरु गरेको होइन । शुरुशुरुमा सबै ‘लेख्दै लाज मान्दै’को अवस्थामा हुन्छन् । सन्तान जन्माउन रहर पालेकी तर पेट बढेको देखाउन लाज मान्ने युवती जस्तै हो ‘नवागन्तुक लेखक’ । सबैलाई पहिलो रचना प्रकाशित हुँदा लज्जामिश्रित खुशी लाग्छ । लेख्दै जाँदा सिपालुहरूको ‘डिमाण्ड’ बढ्दै जान्छ । कोही किन लेख्न उत्सुक हुन्छ ? शोखले, शोकले, ईर्ष्याले, आजीविकाका लागि, आग्रहले, स्वान्तसुखायको भावनाले र लोककल्याणका खातिर पनि लेखिन्छ । कतिलाई किन लेख्छु भन्ने पनि पत्तो नै हुँदैन । हिन्दुस्तानका प्रख्यात लेखक अज्ञेय भन्दछन्, ‘म लेख्छु, किनकि म जान्न चाहन्छु कि म किन लेख्छु ?’
लेखकले काल्पनिक पात्रको माध्यमबाट वास्तविक संसारको दर्शन गराउँछ । कसैले नामका खातिर लेख्छ र कसैले दामका खातिर । लेखेरै अमर हुने धेरै छन् । लेखेरै दाम र नाम दुबै कमाउने पनि प्रशस्त छन् । कोही न नाम कमाउछन् र न त दाम नै । परन्तु यो नशाबाट मुक्त हुन असमर्थ उनीहरू लेखिरहन्छन् । न नाम, न दाम, न ‘चार्म’, बबुरो सधैँ गुमनाम ! परन्तु लेखिरहन्छ, लेखिरहन्छ । संसारमा नदेखिइकनै चिनिने पात्र हो लेखक । लेखकको व्यक्तित्व उसको लेखनले झल्काउँछ । सच्चा लेखन एक जीवनशैली हो, व्यवसाय होइन । प्रत्येक मनुष्यमा एउटा लेखक लुकेर बसेको हुन्छ । किन्तु आफूभित्रको लेखकत्वलाई फेला पार्ने सामर्थ्य थोरैमा मात्र हुन्छ ।
अन्त्यमा, प्रसिद्ध अमेरिकी कवि रोबर्ट फ्रस्ट भन्छन्, ‘जुन लेख लेख्ने सिलसिलामा लेखक स्वयं रोएको छैन, त्यो लेख पढेर पाठक पनि रुँदैन । जुन लेख लेखेर लेखक आफैँ आश्चर्यचकित भएको छैन, त्यो लेख पढेर पाठक पनि आश्चर्यचकित हुँदैन ।’



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

