
म प्रत्येक साँझ लेख्न बस्छु । गोधूलि गन्तव्यमा गम खाँदै अनुभूतिको यात्रामा पदचाप चाल्नु अजम्बरी गीत जस्तै हुन्छ । सुनिरहूँ लाग्ने, सुनेर कहिल्यै कान नटट्टाउने श्रुति मधुर, कुनै कर्णप्रिय दृश्य–संसार जस्तै । त्यही गीति झङ्कारमा डुबेर संगीतका तरङ्गहरूमा डुबिरहूँ जस्तै लाग्छ ।
मिर्मिरे बिहानको कलिलो समय पनि मेरो निबन्ध सिर्जनाको ऊर्जाशील समय हो । त्यसबेला चराहरूको निर्दोष गुञ्जन सुन्दै फूलका बासनाले स्पर्श गर्छ । अँध्यारो पर्दा हटेर उज्यालोले अँगाल्न आउँदै गर्दा मेरो चेतना सिर्जनाका वेग मार्दै मलाई जगाइरहेको हुन्छ । त्यही जागरणको सन्देशले मलाई बिउँझाउँदै लेख्न नसकिरहेको अधुरो निबन्ध पूरा गर्न प्रेरित गर्न थाल्छ ।
धर्तीमा घामका सुनौला किरणहरूले प्रवेश पाउने छाँटकाँट हुँदै गर्दा रातभरिका शीत चाँदी जस्तै टल्किन थाल्छन् । हिमालमा सुनको रङ पोखिन थाल्छ । मेरो लेखकीय तयारीले पाइतो सार्ने शुभसाइत जुराउँछ । त्यसबेला म एकैछिन अघि देखेको अधुरा सपनाका टुक्राटाक्री झल्याकझुलुक सम्झिन्छु । ती न फेरि कहिल्यै देखिन्छन्, न त ती कहिल्यै विपना बनेर आउँछन् । मात्र देखिन्छन्, बिउँझेपछि बिर्सिन्छन् । ती कतैकहीँ कदापि पनि कहिल्यै पूरा हुँदैनन् । मेरा अधुरा, अपूरा निबन्ध जस्तै ।
यिनै र यस्तै परिवेशमा एउटा निबन्ध लेख्ने धोको लिएर कुर्सीमा बस्छु । उकुसमुकुस मनभित्रका उरुङखात भावनाका भेलहरू अक्षरमा अवतरण हुन तछाडमछाड गर्छन् । म तिनलाई शब्द–सौन्दर्यको आयाममा प्रवेश गराउन उद्दत हुन्छु । मैले लेख्न नसकेको एउटा अधुरो मेरो निबन्ध पूरा गर्ने ध्याउन्नमा म घोत्लिन थाल्छु ।
सफा कागजजस्तै सेतो मनको पानामा म शब्दहरू कोर्न थाल्छु– तर केही बेरमै म झस्किन्छु । एकथरि चुपचाप भावनाहरूले आक्रमण गर्छन् । ती भावनाहरू तिनलाई शब्दमा ढाल्न म सधैं असफल हुन्छु ।
त्यसैले आज पनि म लेख्न नसकेको मेरो अधुरो निबन्धसँगै बसिरहेको छु । ऊ मेरो आफ्नै छायाजस्तै सधैं साथमा सधैं अधुरो छ । म यही अधुरो सपना पूरा गरी मीठो विपना बाँच्ने उपक्रममा लागिरहेको छु ।
मैले लेख्न चाहेको निबन्ध कुनै विशेष विषयको पाटो होइन । त्यो कुनै सामाजिक विमर्श पनि होइन । त्यो त मेरा भित्री अनुभवहरूको एक चित्र हो– रङ र रेखाभन्दा धेरै मौनताले बनेको चित्र । त्यो निबन्धमा म मेरा विगतका टुक्रा ‘कोलाज चित्र’ को रूपमा टाँस्न चाहन्थेँ ।
त्यहाँ आमाको वात्सल्यको न्यानो थियो । बाबुको अनुशासनमा लुकेको माया थियो । बालापनको उज्यालोमा हराएका सपनाहरू थिए । यिनलाई मैले कथामा कसरी बाँधूँ ? ती त एक झलक सम्झिनासाथ आँखा रसाउने यादहरू हुन्, जसले कलम नै भारी बनाइदिन्छ ।
अझ अधुरो निबन्धको एउटा भाग त्यो हो जहाँ म मेरो प्रेमको कथा लेख्न चाहन्थेँ– तर मैले लेख्न लेखिनँ । म डराएँ, कतै शब्दहरूले उसको अनुहार बिगारिदिने त होइन ? उसको हाँसोलाई शाब्दिक जालभित्र कैद गर्दा त्यो स्वतन्त्रताभित्रको स्वतन्त्रता हराउने त होइन ? त्यसैले त्यो प्रेम पनि अधुरो रह्यो– न लेखिएको, न बिर्सिएको कुनै पुरानो डायरीको अस्पस्ट किरिङमिरिङ अक्षरहरूका पानाजस्तै । रङ खुइलिएर नचिनिने भइसकेका अटोग्राफका तस्बिरहरू जस्तै ।
त्यस अधुरो निबन्धमा म ती ठाउँहरू पनि वर्णन गर्न चाहन्छु । त्यहाँ मैले आफूलाई कतिपटक हावासरि पाइला उफार्दै हिँडाएँ । कति ठाउँमा पाइला सार्न भारीको बोझ जस्तै कठिनाइ पनि झेलें । मुस्किल हुँदा यात्रालाई नै आधा बाटोबाटै फर्काउने सोच पनि बनाएँ । मेरो धैर्य र मेरो आत्मबल, आत्मविश्वासले मलाई उकालोमा सजिलै हिँडायो । बस्दै, बिसाउँदै साहस बटुलेर आशाको आँखा तिखार्दै हिँडिरहें ।
अफसोस म फर्किँदा केही छुटाएर आएको थिएँ– मुगु करानभेगका पहाडहरू, लुम्बिनीको शान्त मौनता, राराको नीलो ताल र आकाश, धनगढीका थारुबस्तीमा बिताएको रमाइलो साँझ । इलामको चियाबारी र झापाको भक्का, जनकपुरको तातो वाफले हिरिक्क भएको प्राण–पखेरु ! लोमान्थाङको बिहान खुशीले स्वतः चिच्याएको आवाज मात्रै होइन चाँदनी–दोधारा र टनकपुरका नेपाली मनहरूको पीडा पनि महसूस भइरह्यो ।
यी सबै ठाउँले मलाई शब्दसँगै गहिरो अनुभूति दिएका छन् । तिनको व्याख्या गर्न म सक्दिनँ । तिनको पीडाजन्य पाटोसँगै रोमाञ्चक पक्षलाई तोड्नुको सर्वाधिक खुशीको उत्सवमा सामेल हुनु हो । यस्तो अवसर सम्भवतः एउटा सुन्दर जीवनजस्तै लाग्छ । रङहरूको इन्द्रेणी मिलनमा सुन्दरताको पुष्प–पराग सम्प्रेषण गरिरहेको जस्तै, मलाई त्यस्तै आभास हुन्छ ।
परन्तु केही गर्दा पनि मैले मनले सोचेजस्तो शब्द–माधुर्यले कलात्मक र मौलिक शिल्पकौशल झल्किने निबन्ध लेख्न सक्दिनँ । अनि फेरि कलम रोकिन्छ– मेरो निबन्ध फेरि अधुरो बन्न पुग्छ । जीवनका अनुभूतिहरू घोलेर अक्षरको श्रीगणेश गर्न खोज्दा पूर्णविराम लाग्छ । हैरानीका अनेकौं कैरनहरूमा म थाक्दै जान्छु । थकाइले हातखुट्टा हलचल गर्न नसक्ने हुँदा समेत मेरो तन्नेरी सपना जस्तै कुनै दिन विपना हुने प्रतीक्षामा रहिरहन्छ ।
हठात् त्यतिबेला म आफैंसँग रिसाउँदै जङ्गिन थाल्छु । तनावले उग्र हुँदै अधुरो निबन्धको चिर्कटोमाथि चिन्तन गर्न लाग्छु । लेख्ने विषयका बग्रेली विषय र विम्ब भएर पनि । फुर्सदिला समयका अनेकौं लामा–लामा स्वतन्त्र दिनहरू भएर पनि । तर म निर्बन्ध निबन्ध लेख्न नसकेर टिठलाग्दो मेरो निम्सरो ज्यान हेर्दै धैर्यधारण गर्न थाल्छु । सोच्छु र सम्झाउँछु आफैंलाई । विराट प्रकृतिको काखमा छु । शायद स्वप्निल दृश्यहरूले मेरा शब्दहरू व्यक्त हुन नसकिरहेझैं लाग्छ । मैले पूरा गर्न नसकिरहेको मेरो अधुरो निबन्ध !
यसरी मैले लेख्न नसकेको निबन्धले मलाई हर रात घच्घच्याउँछ । ऊ मेरो अभिव्यक्तिको प्रतीक्षा गर्दै बसेको आत्मा हो । उसले मलाई केही लेखिदिँदैन, बाँच्नुको पललाई गिज्याइरहे झैँ लाग्छ । बाँचिएका ती भावनाहरू कुनै दिन जब आफैंले कलम समात्ने सामर्थ्य राख्ने छन्– शब्दहरू त्यो अधुरो निबन्धको सम्पूर्ण रूप बन्ने छन् ।
अहिलेका लागि, यो निबन्ध त्यही अधुरो खाका हो । यहाँ मेरो मौनता नै सबैभन्दा ठूलो अभिव्यक्ति हो । म आज पनि त्यो अधुरो पानाको छेउमा घोत्लिएर बसेको छु । शब्दहरू छान्दै, अक्षरहरू केलाउँदै, आफूलाई खोज्दै, अनि लेख्न नसकेको त्यो निबन्धलाई आफैंभित्र बाँच्दै ।
म लेख्न थाल्छु– तर लेख्न सक्दिनँ । म धेरै पटक कलम उठाउँछु । तर शब्दहरू चुप लाग्छन् । चुपचापको चञ्चलता पनि विचित्रकै लाग्छ । चिर्थोने, सताउने, तर्साउने, असन्तुष्ट पार्दै अनायासै शब्दहरू पनि नचिनेजस्तो गरी मुन्टो फर्काएर कुइनेटो काटेको देख्छु ।
अन्ततः मायागरी नजिकैको आफन्त ठानी राखेको प्रिय मान्छे पनि पर–पर झन् पर हुँदै जाँदा मन कटक्क दुख्नु स्वाभाविक भए जस्तै, त्यस्तै लाग्छ मलाई मेरा यी दिनहरू । त्यसलाई च्याप्प समातेर म आफूलाई धाराप्रवाह शब्दहरूमा अविच्छिन्न पोखिरहन किन सक्दिनँ ?! अचम्म लाग्छ शब्दहरू किन पराइ हुँदै गइरहेका ? भावनाहरू किन प्रस्फुटित हुन अपठ्यारो मानिरहेका ??
पुनः प्रयास गर्छु । अलिअलि लेख्छु, केरकार गर्छु, फेरि मेट्छु । कहिले लाग्छ, यो अधुरो निबन्धका लागि म अझै आफैं अधुरो छु । जति लेख्दा पनि, जस्तो भावना पोख्दा पनि मेरो चित्त बुझ्दैन । लेखनबाट मलाई सन्तुष्टि मिल्दैन । मैले लेख्न नसकेको मेरो अधुरो निबन्धले मलाई हैरान पारिरहन्छ । म बेचैन छटपटीले लेखनको गहिरो सागरमा डुब्न थाल्छु ।
यो कुनै साधारण निबन्ध होइन । यो मभित्रको उकुसमुकुस आवाज हो । मैले आफैँले आफैँसँग गर्ने दीर्घ तर मौन संवाद हो । त्यो संवाद जुन सधैं शुरु त हुन्छ तर कहिल्यै अन्त्य र पूर्ण हुँदैन । त्यो म हुन नसकेको म, भन्न नसकेको कुरा, बुझे पनि लेख्न नसकेको अनुभूति हो ।
कति रात बिते, यो निबन्धको एक वाक्यलाई हेर्दै । कति बिहान उज्यालो भयो, दिन ढल्कियो – यसैलाई फेरि सुधार्ने अभिलाषामा । तर अझै म यहाँ छु । यसै निबन्धको बीच कतै अल्झिएको छु ।
निबन्ध लेख्ने नाममा म आफूलाई नै धेरै पटक लेखिरहेछु । लाग्छ, यो अधुरोपन नै यसको पूर्णता हो । किनकि लेखिएपछि सायद यसको सार सबै समाप्त हुन्छ । यो निबन्ध नलेखिएको इतिहासको एउटा कालखण्डको दस्ताबेज हुन सक्छ । पूरा हुन नपाएको कसमजस्तै । यति भइकन यसले मलाई सधैं सिर्जनात्मक बेचैनीमा राख्छ ।
कुनै दिन म फेरि कलम उठाउँला – शायद त्यो दिन म आफू पूरा भएको महसूस गरूँला । तर आज, यो अधुरो निबन्ध नै म हुँ । मेरो यो अपूरो स्वरूप र अधूरो प्रस्तुति पनि आफ्नै ढंगमा मेरा लागि अद्वितीय लाग्छ । मैले लेख्न नसकेको एउटा अधुरो निबन्ध जस्तै ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

