नयाँ वर्षको तेस्रो बिहान, सूर्योदयसँगै मैले  आँखा खोलेँ — तर स्क्रीनतिर होइन, आकाशतिर । किनभने, नयाँ वर्षको तेस्रो बिहान सूर्योदयकालमै उठेर मैले एउटा नयाँ नियम बनाएको छु— आँखा खोल्नासाथ स्क्रीन होइन, आकाश हेर्ने ।

नयाँ वर्षको दोस्रो दिन । हिजोझैं आज म सबेरै उठ्न सकिनँ । हिजो म सूर्योदयकाल (५:३०–६:३०) मै चराहरूको गीत सुन्न प्रात:कालीन लमकमा घरनेरैको चोटीमा पुगेको थिएँ । नैकापको एक मझौला किसिमको सामुदायिक वन क्षेत्रमा पुगेर चिलाउनेको रुखलाई गम्ल्याङ्ग अँगालो मारिरहँदा- सोही रुखमा बसेको ‘नाम थाहा नभएको चरी’ले मलाई ‘नयाँ वर्षको शुभकामना झल्लु’ भनेकी थिई ।

र, जवाफमा मैले सुसेलिदिएको थिएँ किनभने मसँग आत्मीयता प्रकट गर्नका लागि त्योभन्दा उच्चतम आवाज निकाल्ने क्षमता थिएन । उसले पनि मेरो नक्कल गरकी थिई ।  र, शुभकामना आदानप्रदान कार्यक्रम अलि बेर चलेको थियो । प्रेममा डुबेका पात्रहरूले बिना शब्द सुसेल्दछन् किनभने यो शब्दभन्दा अपार छ । सम्भवत: ‘सुसेल्दा आत्माले स्मरण गर्छ’ भन्ने पूरानो जनविश्वासले उत्प्रेरित भएका थियौँ । र, यसप्रकार अन्तत: म अज्ञात नामधारी, रुपवती सो चरीसँग पराजित भएर, आनन्दीदेव भएर मेरो गुड (घर) फर्किएको थिएँ ।

****

तर, आज मैले त्यसो गरिनँ । हिजोझैं आज म सबेरै उठ्न सकिनँ ।  ध्वनिको लहरमा आधारित – pitch, rhythm, repetition ट्वाक्क मिलेको सो चरीको गीत सुन्न घरनजिकै चोटी उक्लने जाँगर देखाइन ।

चाहेको भएँ उठ्ने थिएँ होला, तर उठिनँ । नयाँ वर्षका तमाम प्रतिज्ञाहरूमध्ये ‘बिहान सबेरै उठ्ने’ पनि एउटा प्रतिज्ञा थियो मेरो, तर त्यो पूरा भएन ।

नयाँ वर्षका अन्य केही प्रतिज्ञाहरू केही यस्ता थिए/छन्-

  • बिहान छिटो उठ्नेछु । सकेसम्म Alpha wave वा वेकफूल रिल्याक्सनमा रहेनेछु ।
  • सुत्ने चक्र (circadian rhythm) लाई सन्तुलनमा राख्नेछु किनभने म सन्तुलित हुँदै जानेछु ।
  • थेरापी, माइन्डफुलनेस, मिडिटेसन, र आफ्ना भावनालाई स्वीकार गर्ने अभ्यासहरू शुरु गर्नेछु।
  • कम लेख्ने र बढी पढ्नेछु । दिनमा अधिकतम ३० मिनेट मात्र रिल्स हेर्नेछु। डिजिटल डिटक्सतर्फ क्रमश: उन्मुख हुनेछु ।
  • प्लास्टिक कम प्रयोग गर्ने बानीलाई बढवा दिँदै जानेछु, स्थानीय उत्पादनको समर्थन गर्नेछु । सचेत र दिगो उपभोगकर्ता बन्नेछु।
  • खोलाखोल्सी र रुखसँग अँगालिने क्रम बढाउनेछु (हाइक गइरहेनछु) । किनभने शरीर नै मनको घर हो । मनलाई झुठा ट्रेन्ड र भ्रमित गर्ने कन्टेन्टबाट दूर लैजाने प्रयत्न गरिरहनेछु ।
  • म आफैंलाई स्वीकार गर्दैछु, तुलना गर्ने बानी छोड्नेछु ।
  • इमोशनल इन्टेलिजेन्स, नेतृत्व, सहकार्यजस्ता सीपहरूमा लगानी गर्नेछु ।
  • नयाँ वर्षमा नयाँ म होइन, पुरानै म । तर अब सचेत, सशक्त र सन्तुलित म । आदित्यादि ।

***

नयाँ वर्षका दिन गरिएका यी तमाम प्रतिज्ञामध्ये ‘बिहान छिटो उठ्ने’ नामक प्रतिज्ञा, आज मसँगै ओछ्यानमा निस्तेज पल्टिएको थियो । ‘नयाँ वर्ष प्रतिज्ञाहरूमध्येको पहिलो प्रतिज्ञा’ सेन्टीफ्ल्याँट भएको थियो ।

तर, यसमा मलाई उतिविधि दुःखसुख केही लागेन । किनभने प्रतिज्ञाहरू तोड्नका लागि गरिन्छ भन्ने उत्तरआधुनिक बौद्धिकताले मलाई पनि संक्रमण गरेकै छ । र, समकालीनतासँग संक्रमित हुनु नै जीवन हो । जीवनको सार हो । यसकारण, नयाँ वर्षको दोस्रो दिन सबेरै नउठेकोमा मलाई उतिविधि पीरचिन्ता रहेन । रहेको पनि छैन किनभने जीव-प्रकृतिको साझा आवश्यकता हो – सुत्नु । जीवनको करीब आधा हिस्सा नै त हो सुत्नु । यसलाई एक तिहाई (८ घण्टा) मा  झार्नु किन पर्यो ? कसले घोषित गर्यो यो कानून ? बायोलोजिकल चक्र (Circadian Rhythm) नसुतेर यो विधि गनगन किन गर्ने ?

तर, कताकता आफूलाई ‘फेरि पनि ढाटेँ यार’ भन्ने चाहिँ महसूस भइरहेको छ ।

***

त, आज बिहान भएको के थियो भने,…।

(एकैछिन्, म हरेक बिहानको भन्छु पहिले ।)

स्वस्थ र स्वाभाविक जैविक प्रक्रियाअन्तर्गत हरेक बिहान उसको पुरुष जनेन्द्रिय उत्तेजित भएकै हुन्छ । आज पनि भएको थियो, हिजो/अस्ति पनि भएकै हो । र हिजोअस्तिका हिजोअस्तिहरूमा पनि ।

Testosterone बिहान उच्च हुँदा लिंगमा स्वाभाविक रूपमा रक्तसञ्चार बढ्छ, यो एउटा वयस्क उमेरको उमेरगत स्वभाव हो । यसकारण आजको बिहान पनि यसभन्दा पृथक् रह्यो होला भनेर ऊ मान्दैन तर, आज बिहान अलिकता फरक भने थियो ।

सम्भवत: उसको मस्तिष्क निन्द्राबाट ब्यूँझिन बाँकी नै थियो कि कुन्नि ? किनभने ‘म को हुँ ?” “मैले के गर्नुपर्छ ?” भन्ने दार्शनिक, अस्तित्ववादी सपना देखिरहेको थियो, ऊ । ठ्याक्कै भन्न गाह्रो छ तर, क्रश/पूर्व प्रेमिकाहरू सपनामा आएका थिए, जसले प्रथमत: यौन स्वप्न (erotic dreams) कै रूप लिएको थियो तर, हिजो गरेका केही प्रतिज्ञाहरूले वा हिजो उठेको समय आज भइसकेको मस्तिष्कले महसूस गरेकाले, यौन स्वप्न क्रमश: अस्तित्ववादी स्वप्नमा रुपान्तरित हुँदै थियो ।

बिहान ४–५ बजे देखिएको सपना साकार हुन्छ भन्ने मान्यताको सांस्कृतिक चिन्तनबाट ऊ पनि त पर थिएन। यसकारण, पूर्व प्रेमिका (नोस्टाल्जिया), क्रश (अधुरो मोह, अनकन्फेस्ड भावना) हरू ऊसँग भावनात्मक तवरमा आत्मीय बन्दै थिए । खुशी र उत्साहको अनुभूति गर्दै थियो । सायद शारीरिक रूपमा उत्तेजित र भावनात्मक रूपमा संवेदनशील दुवै एकैसाथ हुँदै थियो । उनीहरू अधिक ममता र स्नेह प्रदर्शित गर्न खोज्दै थिए ।… आपसी माया र दायित्वका भावना उत्पन्न पो हुँदै थिए कि ?

ठ्याक्कै तत्क्षण, मैधीबाट बुबाको फोन आयो । “कहाँ बाबु ?” भन्ने उनको प्रश्नमा उसले ‘निन्द्राको मातसहित लटपटिएको आवाजमा ‘हाँ, हुँ, हाजुरसाजुर’ केही गर्यो किनभने यसपछि उसको बुबाले अलि तिखो स्वरमा ‘गजुरी आइपुगें भन्छ होला भनेको त सुतिरहेको पो रैछ”, भनेको उसलाई याद छ । बाउको यो आवाजले उसको बिहानीपखको निन्द्रा स्वात्तै खुलाइदियो । अवचेतन मनको चलायमानतामा ‘ब्रेक’ लाग्यो ।  शारीरिकरूपमा उत्तेजित र भावनात्मक रूपमा संवेदनशील ऊ एकाएक मानसिक असमञ्जसमा पर्यो । केही समयका लागि रित्तो महसूस गर्यो, जसले उसलाई शारीरिक र मानसिक रूपमा थकित र भ्रमित तुल्याइदियो ।  मस्तिष्कलाई पुनः सक्रिय गर्न उसलाई केही समय लाग्यो ।

अघि बिहानै ६ बजे नै आइफोन अर्लामले ‘उठ केटा, तँ आज घर जानुछ’ त भनेको हो तर, उसले ‘जाने म हो, तलाईँ केको खसखस’ भनेर उसको कान बटारदिएको थियो । त्यसपछि, अर्लाम पनि ‘सुतिराख नाङ्गै’ भनेर आफ्नो सूरमा थन्कियो । त्यसपछि ऊ पुन: Dream Journal लेख्नु साटो, नाङ्गो शरीरलाई ब्ल्यांकेटले बेहरेर घुर्नतर्फ लागेको थियो तर, अब ऊ फ्याट्टै ब्युझिएको छ ।

नाङ्गै सुत्नुको अर्थ के हो भने, ऊ व्यक्तिगत रूपमा ‘निद्रा आरामको अवस्था हो र लुगासहित सुत्नु उसको लागि आराम होइन, हैरानी हो । ऊ शरीरमा लुगा बोकेर सकभर निदाउन सक्दैन (ठाउँविशेषले फरक पार्दछ तर उसको कम्फोर्ट जोनमा ऊ रातिकै समय नाङ्गै हुन्छ) ।

अर्को कुरा, उसलाई आफैं ब्यूँझिन ज्यादा रुचिकर लाग्दछ, त्यो भनेको  बायोलोजिकल चक्र (Circadian Rhythm) को कुरा हो । तर, उसलाई प्राकृतिक प्रकाश सन्तुलन गर्न आउँदैन । त्यो भनेको प्राकृतिक उज्यालो र अँध्यारोसँग लयबद्ध हुन सक्दैन । जसकारण उसको सपना र निद्राको तालमेल बिग्रिन पुगेको छ ।  निद्रा र जागृत अवस्था उसको नियन्त्रणमा छैन ।  निद्रा, खाने, ऊर्जा स्तर, र शारीरिक कार्यहरूलाई निश्चित समय अनुसार सन्चालन गर्न ऊ जान्दैन/भ्याउँदैन । उदाहरणका लागि, राति जब पिनोमेलाटिन हर्मोनको उत्पादनले उसको शरीरलाई निद्रामा पुर्याउँछ तर, ऊ आफ्नो भूतपूर्व प्रेमिकाका इस्टाग्राम स्क्रोल गरेर मास्टरबेसन गरिरहेको हुन्छ । वा जब बिहान सूर्यको प्रकाशसँग मेल खाने बेला कोर्टिसोल हर्मोनको उत्पादन बढ्छ, जसले शरीरलाई जागृत गराउँछ,  सो समयमा ऊ अनलाइन कनेक्टिविटीमा, जस्तै फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट आदि, व्यस्त हुन्छ। यसप्रकार ऊ उसको निद्रा चक्रमा स्वयं अवरोध सृजना गर्दछ र उसको बायोलोजिकल चक्रलाई असमञ्जसमा पार्दछ। फलत: उसको शरीरलाई प्राकृतिक रूपमा जागृत हुने समयसँग मेल नखाने बन्दैछ र ऊ प्राकृतिक रूपमा सक्रिय हुने सम्भावनाबाट पर हुत्तिदै छ।

यो सब हुनुमा यसबाहेक वा यसअन्तरगत रहेर तमाम कारणहरू छन्, जसबारे सरसर्ती विवेचन गर्न सकिन्छ । जस्तै:

पछिल्ला वर्षहरूदेखि डोम-स्क्रोलिङ (Doom-scrolling) भन्ने एक बानीको शिकार भएको छ । नकारात्मक समाचारहरू अनियन्त्रित रूपमा स्क्रोल गरिरहने यस बानीले विशेष गरी TikTok, Instagram Reels, YouTube Shorts तिर उसलाई धेर अल्मलाउन थालेको छ । ‘अर्को राम्रो आउनेछ’ भन्ने व्यवहारिक मनोविज्ञान (Behavioral Psychology) का कारण लामो समयसम्म रिल्सजस्ता छोटो भिडियोहरू सेवन गर्नु दैनिकी/रातैकी बन्न पुगेको छ । यस्तोमा सर्वांग नाङ्गो भएर सुत्दा पनि बिहान अप्ठ्यारो-अप्ठ्यारोसँग निन्द्रा खुल्न थालेको छ । सिधा भनौँ न, बिहानको ७:३० बज्नुअगाडि ब्यूँझिनु दुर्लभ हुन थालेको छ ।

छोरो डिजिटल लतको चंगुलमा फसेका उसको बाउलाई थाहा छैन । यसैले उनले ७ बजे आसपास छोरा (अर्थात म) गजुरी आइपुगइसकेको अड्कलबाजी मार्नु उति अनौठो कुरा भएन । छोरो एक्लै-एक्लै बसेर, लामो समयसम्म रिल्सजस्ता छोटो भिडियोहरू- कहिले तनावमा, कहिले उदासीवश, कहिले अकेलोपनसहित वा कहिले कामप्रतिको चिढचिढोपनलाई ‘छु:मन्तर’ गर्न हेरिरहेको बाउलाई थाहा हुने कुरा पनि भएन ।

तर, उनको छोरालाई (अर्थात् मलाई), आफू डिजिटल दुनियाँको लती भइसकेको बाहेक अर्को एउटा कुरा पनि थाहा छ, त्यो हो- दीर्घकालीन रूपमा यो अस्वस्थ व्यवहार हो ।  तात्कालिक सन्तुष्टिको चाहना (Instant Gratification) ठीक कुरा होइन । ‘डिजिटल डोपामिन एडिक्शन’ त्याग्नुमै उसको भलो छ । नत्र, यसले मस्तिष्क थकाइरहने, सुत्ने बानी बिथोलिरहने, समय व्यवस्थापनमा कमजोरी ल्याइरहने, र मानसिक सन्तुलनमा असर पुर्याईरहने पक्कापक्की छ ।

तर, ऊ  ‘सिर्जनशील, टेक-सेभी र इनोभेटिभ जेन जी पुस्ता’को प्रतिनिधित्व गर्दै के भन्न भ्याइहाल्छ भने, “मसँग डिजिटल डिसिप्लिन प्लान छ क्या, कुल यार ब्रो ।” वा अझ त्यतिले नपुगे ऊ पनि भन्दिइहाल्छ- “स्याटिस् नहान न साथी, हामी राति सक्रिय हुने मानिसहरू (Night owls) हौँ क्या । हाम्रो प्राकृतिक समयतालिका (biological clock) मा चेन्ज आइसक्यो क्या दोस्त । मुख्य कुरा हो कुन समयमा उठ्ने होइन क्या, निद्रा पूर्ण भयो कि भएन भन्ने हो क्या । ल ब्रो । बिहानको ६ बजेछ कि ब्रो, म सुत्छु ल । है त ।”

हो, उसले भनेको सही हो । बिहान ढिलो उठ्नु सर्वाङ्ग दोष होइन, जीवनशैलीको एउटा विकल्प हो । तर यसलाई अनुशासन, नियमितता, र सन्तुलनसाथ अपनाउनु पर्छ । तर, यो कुरो ‘यी कुरा’ लेखिरहेको मनुस्सेले हम्मेसी होस् गर्न भ्याउँदैन । यसैले त भनेको, यो कूल ब्रोले, सामाजिक सञ्जाल रमाइलोको लागि मात्रै हैन, आत्म-नियन्त्रणको अभ्यास गर्ने थलो पनि हो भनेर बुझ्नै बाँकी छ। ‘नो मोबाइल जोन’ वा ‘अफलाइन समय’ पनि सम्भव छ भनेर त उसले लगभग भुलिसकेकै छ ।  इन्टरनेट र स्मार्टफोन औजार नभएर, यी उपकरणहरू उसको जीवनका अनिवार्य अङ्ग बनिसकेका छन् ।

अब यहाँसम्म आइपुग्दा समय- भूतकाल, वर्तमान वा भविष्य मात्रै सीमित रहेन, त्यसमा अफलाइन वर्तमान र अनलाइन वर्तमान पनि थपिएको छ । प्राकृतिक अनुभवहरू घुमन्ते, पूर्वी ब्लुज वा सृजना सिज्जुको भागमा परेको छ, बाँकीहरू अनलाइन प्लेटफर्ममा घण्टौं समय बिताउनुमै रमाइरहेका छन् । ‘अनलाइन कल्चर’ले आफ्ना भावना र अनुभवहरूलाई अधिक सचेत रूपमा महसूस गर्ने मौकाले दिँदैन । यो उसले बुझेको छैन, यसैले ऊ ‘अफलाइन बस्नु’ कसैलाई नचाहिएको राजा ल्याउने ‘दुर्गा प्रसाईं’ बन्नु हो भन्ने धारणा राख्दछ । यसैले त, अफलाइन हुँदा आफूलाई असहज र आउटडेटेड महसूस गर्छ ऊ । उसको अनुसार, अफलाइन जीवन एउटा सस्तो र बेकारको विकल्प हो ।

फेरि, ऊ त्यो ‘गोठालो ब्रो’ पनि हो, जो आजभन्दा १० वर्ष अगाडिसम्म मैधी, उखुबारीका केउरीनी, राम्चे, ठाडापाखा, बासबोटे, पारिवडा, कोलेतर्फ गाउँभरका बाख्रा लिएर यसै कुद्न सक्थ्यो । हरेक रुख चढ्न भ्याउँथ्यो । पातको पिपरी बजाएर ‘बोकापाठी मातेको’ हेरेर लाज मान्ने गर्दथ्यो । अझ, ऊ नोकिया १६१० मोडेलमा अन्जु पन्त सुनेर हुर्किएको पनि हो । वा भनौँ, पल्लो गाउँमा घन्किएको दोहोरीको अस्पष्ट लय र भाका सुनेर, हुँदै नभएको प्रेमिकालाई सम्झिएर, आफैँसँग आफैँ लजाएर सुसेली हालिहिँड्ने केटो पनि हो ।

तर, शहर पस्नासाथ्- निकै छिटो ऊ मोबाइल रेडियसन, रिल्स, सिरिज, गेमिङको लतमा पुग्यो । झ्वाम्मै हामफ्याल्यो भनौँ न । यसैले त, प्राकृतिक परिवेश, बाल्यकाल, वा कृषि जीवन उसको सर्वप्रिय नोस्टाल्जिक भावना हो तर, ऊ आजभोलि कार्यालय, दौडधुप, भागाभाग, डिजिटल अनुभव आधारित सपनाहरू देख्न अभिशप्त छ किनभने ‘सपना निजी मानसिकता पनि हो ।’ र उसको निजि मानसिकता यतिसम्म ध्वस्त छ कि ऊ भन्न मात्रै सक्दैन तर, ऊ भावनात्मक रूपमा अनुपस्थित (emotionally unavailable) हुने सँगारमा पुगिसक्यो । रिल्स वा पोनको लतले शरीरको प्राकृतिक यौन प्रणालीमा अनियमितता आइसकेको छ भनेर उसलाई बोध हुन मात्रै बाँकी छ ।

यो साँचो हो कि, ऊ डिजिटल प्रवास (जन्मजात होइन कि जन्मिएको ८/१० वर्षपछि गएकाले) का कारण बडो लथालिङ्ग (डिजिटल इर्ष्याबाट ग्रसित) हुँदैछ । जेन जी (Gen Z) को लागि digital जन्मजात हो, तर ३०–३५ का मान्छेहरू “डिजिटल प्रवास”मा गएका हुन् भनिन्छ तर, ऊ उमेरले जेन जी (१९९७ देखि २०१२ बीच जन्मिएका) भए तापनि ऊ अलि उमेरभएपछि ‘डिजिटल प्रवास’मा गएको हो । यसैले ऊ ‘टेक्नोलोजी ट्रान्जिसन जनरेशन’को प्रतिनिधि पात्र हो, जो रेडियो, टेलिभिजन, पत्रिका,म्यागाजिनबाट इन्टरनेट, स्मार्टफोन र एआईसम्म आइपुगेको छ र, सबै कुरा जान्न खोज्दा रातभर जाग्राम छ र बिहानभर सुतिरहेको छ । उसको डिजिटल जीवनशैलीमाथि तपाईँलाई कठै भन्न मन छ ? छ भने भनिदिनुस् ।

मलाई भन्न मन छ, ‘ब्रो यार । कठै ।’

***

, आज नयाँ वर्षको तेस्रो दिन !

नयाँ वर्षको तेस्रो बिहान, सूर्योदयसँगै मैले  आँखा खोलेँ — तर स्क्रीनतिर होइन, आकाशतिर । किनभने, नयाँ वर्षको तेस्रो बिहान सूर्योदयकालमै उठेर मैले एउटा नयाँ नियम बनाएको छु— आँखा खोल्नासाथ स्क्रीन होइन, आकाश हेर्ने ।

आजबाट यो डिजिटल डिसिप्लिन अभ्यासमा छ । र, अहिले म धादिङवेशीको थोपल खोलामा उदाइरहेको सुनौलो घामसहितको आकाशमा टक्क टाँसिएको छु— जहाँ म केवल आकाश होइन, आफ्नो भित्रको अनुहार पनि देखिरहेको छु । त्यो अनुहार, जसलाई न त फिल्टर चाहन्छ, न त ‘swipe up’।

किनभने अब मलाई थाहा छ— जीवन अनुभूत गर्ने वस्तु हो, स्क्रोल गर्ने वस्तु होइन ।

अस्तु !