
एकछिनपछि म कस्तो निर्णय गर्दैछु थाहा छैन । एकछिनपछि म कस्तो समय बाँच्छु पनि थाहा छैन । अहँ, मलाई केही थाहा छैन र कहिल्यै थाहा हुने छैन । सम्भवतः म आफ्नो वशमा कहिल्यै बाँचेको छैन । यसो भनिरहँदा निश्चय तपाईंलाई आश्चर्य लागेको हुनपर्छ तर म यसमा कुनै आश्चर्य मान्दिनँ ।
‘मानिस आफ्नो विवेकमा बाँच्ने एक निर्बन्ध प्राणी हो’ यस भनाइसँग यतिका वर्षहरू बाँचेर आइसक्दा पनि म सहमत हुन सकेको छैन । भोलि गएर सहमत हुन सक्छु सक्दिनँ त्यो पनि अहिल्यै भन्न सक्दिनँ । तर के कुरामा म सहमत छु भने मानिस विवेकपूर्ण तरिकाले बाँच्न भने अवश्य सक्छ । त्यस्तै विवेक प्रयोग नगरी पनि बाँच्न सक्छ । देख्छु कति जीवनहरू विचारविहीन बाँचिरहेका छन् । त्यस्ता मानिसहरू बाँच्नकै लागि मात्र बाँच्ने गर्छन् । तर कोही मानिस यस्ता पनि हुनेगर्छन् कि तिनीहरू आफ्नो सिद्धान्तमा बाँच्न सक्नुलाई सफल जीवन देख्छन् । अनेक असफलता र कष्ट भोग्दा पनि जीवन सार्थक भएको देख्छन् । तिनीहरू कठिनतासँग, अभावसँग, चुनौतीसँग केही पर्वाह राख्दैनन्, धिक्कार्दैनन् । बरु स्वीकार्नुमा अर्थपूर्ण जीवन देख्छन् । वीपी कोइराला मलाई त्यस्तै मानिस लाग्छ । अनि मलाई मेरो बुवा पनि त्यस्तै मानिस लाग्छ ।
मानिस कदापि स्वतन्त्र छैन त मैले भनेँ । तर ऊ किन स्वतन्त्र छैन ? तपाईंसँग अवश्य प्रश्न हुनुपर्छ। होइन त ? पर्खनूस् म यसको उत्तर दिनेछु तर एउटा शर्त छ । आफ्नो धारणामार्फत तपाईंलाई विश्वस्त गर्न सक्नुपर्छको दायित्व चाहिँ म लिने छैन । किनकि म भन्दिनँ तपाईं मेरो विचारसँग सहमत हुनोस् ।
तपाईं किन अरूको विचारसँग सहमत हुनु पर्यो ? तपाईंका आफ्नै भोगाइ र अनुभूतिहरू छन् । आफ्नै अनुकूलता र प्रतिकूलताहरू छन् । यिनै कुराले तपाईंको विचार निर्माण हुनेगर्छ, सत्य तयार हुनेगर्छ । त्यसो हो भने प्रत्येक व्यक्तिको दृष्टिकोण कसरी उही हुनसक्छ ? सत्य कसरी एउटै हुनसक्छ ? अहँ सक्दैन । त्यसो हुँदा मानिस आफ्नो सिद्धान्त बनाउन निस्फिक्री छ ।
अचेल म एउटा अभ्यासमा छु । त्यो धावा कहिल्यै नगर्ने अभ्यासमा छु । त्यसो हुँदा मलाई निकै सहज भएको छ कि ! म उसलाई विश्वस्त नगर्न स्वतन्त्र छु अर्थात् उसलाई आफ्नो भनाइले प्रभावित गर्न सक्नुपर्छ भन्ने मान्यताबाट मुक्त छु ।
मानिसले अद्भुतको आविष्कार गर्न लागेको छ । विज्ञानको उत्कर्षमा छ । उसलाई लाग्छ सबथोक गर्न म समर्थ छु । तर मलाई लाग्दैन ऊ सबथोक गर्न समर्थ छ । यदि ऊ साँच्ची नै सबथोक गर्न समर्थ छ भने प्रथमतः उसले समयलाई नियन्त्रण गर्न सक्नुपर्छ । के ऊ समयलाई आफ्नो अधीन गर्न सक्छ ? यदि सक्दैन भने ऊ कसरी निर्बन्ध हुन सक्छ ?
आज आएर म यस्तो निष्कर्षमा छु— उसले गरेका हरेक कर्म अनि उसका निर्णयहरू वास्तवमा उसका होइनन् । समयका हुन् । मानिसका सम्पूर्ण कर्महरू समयका आविष्कार हुन् । त्यसो हुँदा समयको दायित्व लिएर म दुःखी हुन चाहन्नँ । निराश हुन चाहन्नँ । व्यर्थको बोझ लिन चाहन्नँ ।
यसै प्रसङ्गमा मैले एउटा अतीत सम्झिएँ । त्यस दिनको कुरा हो म एक वैचारिक विमर्शमा थिएँ । मलाई थाहा छ अहिले फेरि उही कुरा पुनरावृत्ति हुने निश्चित छ । तर पनि म त्यो कुरा सम्झिन चाहन्छु । मलाई कतिपय साथीहरू भन्ने गर्छन्— मेरो दृष्टिकोण भाग्यवादको निकट छ रे ! परन्तु मलाई आफू भाग्यवादी भएको लाग्दैन । शायद मैले उनीहरूलाई आफ्नो धारणा बुझाउन सकिनँ । म पुनः उनीहरूलाई बुझाउने प्रयासमा भन्छु — तिमीलाई लाग्छ मानिस एउटा यस्तो प्राणी हो कि ऊ स्वतन्त्र भई बाँच्न सक्छ । आफ्नो छनोटमा बाँच्न सक्छ । आफ्नो अनुकूलता सिर्जना गरेर बाँच्न सक्छ । परन्तु मलाई त्यसो लाग्दैन । उसले ठहर्याए जस्तो ऊ कत्ति पनि स्वतन्त्र स्थितिमा छैन ।
मैले यसो भनिरहँदा फेरि पनि तपाईंलाई लाग्नेछ — म भाग्यवादमै अल्झिरहेको छु । होइन कदापि होइन । आफूले इच्छ्याएको भन्दा भिन्न परिस्थितिको अनुभूति गर्नु किमार्थ भाग्यवादी हुनु होइन । बरु नियति भनौँ या परिस्थितिलाई स्वीकार्नु हो । आफ्नो वशमा नभएको जीवन बारे कुरा गरिरहँदा तपाईं भन्नुहुनेछ— म कर्ममा विश्वास गर्छु, आफूले चाहेको लक्ष्य भेट्टाउन समर्थ छु । परन्तु नियतिसँग किञ्चित मञ्जुर हुन सक्दिनँ । हो यहीँनेर मेरो प्रश्न छ— आफूले चाहेको जीवन तपाईंले कति बाँच्नु भयो ? अनि नचाहेको कति बाँच्नु भयो ?
सबै मान्छेले सुख खोजिरहेको हुन्छ, प्रतिष्ठा चाहिरहेको हुन्छ । यश कीर्ति निर्माणको लागि धपेडी गरिरहेको हुन्छ । अरू भन्दा बेग्लै अस्तित्व बनाउन खोजिरहेको हुन्छ । जेहोस्, ऊ एउटा नमूना जीवन बाँच्ने अपेक्षामा हुन्छ । तर किन उसको अपेक्षा खेर जानेगर्छ ? यसरी मानिसले चाहेको भन्दा नचाहेको जीवन ज्यादा बाँच्नु परेको छ भने मानिस खै कसरी स्वतन्त्र हुन सक्यो भन्नु ? उसले एउटा योजना गरिरहेको हुन्छ । तर वास्तविकता अर्कै हुनेगर्छ प्रायः ।
यस जगत्मा कति धेरै मानिसहरू अकल्पनीय पीडामा छन्, कष्टमा छन् । दुखेसोमा छन् । के आखिर उनीहरूले चाहेको त्यही थियो ? थिएन भने किन आफूले भने जस्तो जीवन बाँच्छु भनेर पनि बाँच्न पाइरहेका छैनन् ? आखिर जीवन त उनीहरूकै हातमा थियो नि ! तर नभए जस्तो किन हुनेगर्छ ? आफूले छनोट गरे अनुसारको जीवन भोग्न नपाउनु नै अन्ततः ऊ स्वतन्त्र नहुनु हो ।
उसो भए अब एउटा अनुरोध मान्नूस् कि ! आफूले नचाहेको भनौँ या योजना नगरेको जीवनलाई स्वीकार्नूस् तपाईं ‘तपाईं’को वशमा हुनुहुन्न । तपाईं निर्बन्ध हुनुहुन्न । यस कुरालाईं तपाईं आत्मसात् गर्नुस् या नगर्नुस् त्यो तपाईंको इच्छा । यस कुरामा तपाईं फुक्का हुनुहुन्छ । तर सत्य भने त्यही रहनेछ अर्थात् आकस्मिकता अर्थात् नियति अर्थात् आफूले नसोचेको परिस्थिति अर्थात् संयोग अर्थात् … !
यसबीचमा माथिको अभिव्यक्तिसँगै पुनः अर्को भनाइ जोड्न मन लाग्यो । त्यो के भने— नियति भन्ने बित्तिकै हामी दुःख भोग्नुपर्दाको अवस्थालाई बुझ्ने गर्छौं । तब नियतिलाई धिक्कार्न थाल्छौँ । तर कुरा त्यसो होइन । सुखमा पनि नियति हुनेगर्छ । नियति भनेको एउटा संयोग हो । आकस्मिक तवरले घट्ने परिस्थिति हो । त्यो सुखको या दुःखको जस्तो पनि हुन सक्छ । तर हाम्रो बुझाइ कति विरोधाभासी छ भने नि बडो दुःख लाग्दो छ । हामी आकस्मिकता भनौँ या नियतिका सन्दर्भमा बोल्दा भाग्यवादीको आरोप लगाउने गर्छौं । आफूले चयन गरेको योजना असफल हुँदा फेरि आफैँ नियति सराप्न थाल्छौँ । तथापि अरूले सुन्ने गरी त्यसको नाम लिन डराउँछौँ । भाग्यवादको आरोप लाग्ला भन्ने भयले । अरूले आफूलाई दुर्बल देख्ला भन्ने त्रासले ।
त्यसरी अरूले कमजोर नदेखून् भनेर एक विद्वान् सधैँ नियतिको विरोधमा लाग्थे । एक दिन उनीसँग ठूलै छलफल भयो । उनी भौतिकवादको अत्यन्तै समर्थक र अध्यात्मवादको घोर विरोधी थिए । परन्तु उनको समर्थन र विरोधमा मलाई केही आपत्ति थिएन । उनी आफूले इच्छा राख्न सक्नुपर्छ— सम्पूर्ण पूरा हुनेछ भन्ने अभिप्रायका थिए । मैले उनको भनाइ र उनको जीवनमा कुनै तालमेल पाइनँ । उनी राज खानदानको मान्छे, अभाव नभोगेको मान्छे । यति हुँदाहुँदै पनि उनको जीवन चाहिँ बडो कारुणिक थियो । सन्तापले भरिएको उनको पछिल्लो जीवन, विरही जीवनलाई लिएर मैले प्रश्न गरेँ— कृपया ! अहिले तपाईंले बाँचिरहेको परिस्थिति के आफूले चाहनुभएको थियो ? यदि तपाईंले चाहेकै जीवन बाँच्नु भएको छ भने ठीक छ । होइन भने के भन्न चाहनुहुन्छ ? यसको उत्तर उनीबाट आउन सकेन । बरु संयोगलाई स्वीकार्न तयार भए ।
फेरि पनि उनलाई अर्को प्रश्न थियो— यसरी आफूले सोचेभन्दा भिन्न परिस्थिति या त आफूले नरुचाएको परिस्थिति सामना गर्न तयार हुनुमा के कर्म रहँदैन ? त्यस अवस्थामा पनि कर्म त रहन्छ नै । कर्म जीवनमा कहीँ पनि छुट्न सक्दैन । त्यसो त जन्मसँगै शुरु हुने कर्म छुटाएर कहाँ छुट्छ र ? त्यो घटिरहन्छ । उसो भए भाग्यवाद भनौँ या नियतिवादमा विश्वास गर्नेहरू कर्मलाई उपेक्षा गर्छन् किन भनिन्छ ? भाग्यवादी हुनु भनेको कर्मविहीन अवस्था हो किन भनिन्छ ?
भाग्यवादी हुनु भनेको ‘भाग्यले सब थोक आफैँ निर्माण गर्छ भनी कर्मविहीन स्थितिमा रहनु हो’ भन्ने गलत बुझाइलाई आजका हामीले सच्याउन जरुरी छ । वास्तवमा भाग्यवाद भनेको आकस्मिकताको अस्तित्वलाई स्वीकार्नु हो । जीवन आफूले चाहेभन्दा धेरै भिन्न छ भन्ने सत्यलाई मनन गर्नु हो । अझ यसो भनौँ जीवनमा जस्तो परिस्थिति घट्छ त्यसलाई सहज स्वीकार्ने— दृष्टि तयार गर्नु हो । हामी आफ्नो इच्छाले मात्र सञ्चालित छैनौँ भन्ने रहस्यलाई स्वीकार्नु हो । सम्भवतः भोलि हामी जस्तो जीवन बाँच्दैछौँ आकस्मिकताले त्यस्तै संयोगहरू घटाउँदै जानेछ भन्ने बुझाइ राख्नु हो ।
वर्तमान समयको मान्छे बडो शुष्क हुँदै गएको छ । ऊ निराश हुँदैछ । उसलाई नित्य लाग्छ —आफूले इच्छ्याएका सपनाहरूले मूर्तता पाउनु पर्छ । यही मनोविज्ञानले ऊ निर्देशित छ । अन्ततः आफ्नो आकाङ्क्षाले सार्थक मोड नलिँदा ऊ निराश हुन थाल्छ । यस्तो बेला कम्तीमा उसलाई ‘नियतिको पाठ पढाइएको भए’ ऊ त्यसरी उदासिने थिएन । अभिलाषा राखेको सबै कुरा पूरा नुहन सक्छ भन्ने ज्ञानले उसलाई आत्मसंयमको शक्ति मिल्ने थियो । विवशतालाई स्वीकार्न सक्ने थियो । तब ऊ कस्तै परिस्थितिसँग पनि हार्ने थिएन ।
दुःखको कुरा हाम्रोमा हारको पाठ कहिल्यै सिकाइएन । पराजितको मूल्य कहिल्यै चिनाइएन । सधैँ जीतको पाठ मात्र पढाइयो । त्यसैले हार्नेबित्तिक्कै हामी जीवन समाप्तिको धारणा राख्ने गर्छौं अर्थात् जीवन बर्बाद भएको अनुभूति गर्न थाल्छौँ । तब हारले हामीलाई उठ्नै नसक्ने गरी थचारिदिन्छ । तब हारले पुनः आशावादी नहुने गरी उदास पारिदिन्छ । हो, त्यसैले पनि हामीलाई नियतिवाद पढ्न खाँचो छ ।
जीवनलाई अझ सङ्घर्षशील बनाउनु छ भने, जीवनसँग नहार्नु छ भने, जीवनसँग गुनासो नगर्नुछ भने, जीवनलाई अझ सुन्दर बनाउनु छ भने— हो, हामीले नियतिको पाठ बुझ्नै पर्ने हुन्छ । पुनः पुनःको पराजयसँग अविचलित हुनुछ भने हो हामीले आकस्मिकतालाई स्वीकार्नै पर्छ । हो, तपाईंले नरुचाएको भाग्यवादलाई एकचोटि स्मरण गर्नैपर्छ । तब तपाईंलाई दुनियाँको कुनै पनि शक्तिले हराउन सक्ने छैन । तपाईं हरदम भिडिरहन सक्नु हुनेछ— मनमा एउटा आस्था लिएर । विश्वास गर्नूस् तपाईंलाई तपाईंको आस्थाले कदापि ढल्न दिँदैन । ढल्न सिकाउँदैन ।
आकस्मिकता अर्थात् संयोग भनौँ या नियति जे भनौँ जब यस कुरालाई स्वीकार्ने हामीसँग ज्ञान हुन्छ—हो अनि मात्र हामीले समय बुझ्न सक्ने छौँ । समयको अस्तित्वलाई जान्न सक्ने छौँ । मानिसले सोच्ने, उसले गर्ने यावत थोक उसलाई आफ्नो लागे पनि यथार्थमा त्यो उसको होइन—त्यो त समयको गति हो भन्ने बोधमा पुग्ने छौँ । हरेक कर्महरू समयको प्रवाहमा—समयले घटाएका केवल घटनाहरू हुन् भन्ने सत्यमा पुग्ने छौँ ।
एउटा बिरुवालाई मलजल गर्न, अनुकूलित वातावरण सिर्जना गर्न तपाईं मज्जाले सक्नु हुन्छ । तथापि त्यसलाई हुर्काउन भने तपाईं सक्नुहुन्न । के तपाईंले फूल रोप्ने बित्तिकै फुलाउन सक्नु भएको छ ? यदि रोप्ने बित्तिकै फुलाउन त सक्नु हुन्न भने सोच्नूस् त्यो बिरुवा तपाईंले हुर्काएको होइन । तपाईंको इच्छाले त्यो हुर्किएको होइन ।
हामीलाई यहाँ हर थोक आफैँले घटाएको लाग्छ । तर हामीले घटाएको भने होइन । समयको गतिदेखि बाहिर यहाँ कुनै पनि कुरा घट्न सम्भव छैन । हाम्रो जीवन पनि सम्भव छैन । परन्तु यसलाई हामी स्वीकारौँ नस्वीकारौँ त्यो अलग कुरा हो । जब कि नस्वीकारे पनि सत्य उही नै रहनेछ । त्यो घटिरहने छ । हाम्रो अस्वीकृतिले रोकिने छैन । यो सृष्टि यो जगत् त्यसैले गतिशील छ ।
मलाई हरेक कुरा एउटा संयोग लाग्छ । स्वयं जीवन पनि संयोग प्राप्त एक उपहार लाग्छ । धन्य हो म मानिस भएर जन्मिन पाएछु । म अन्य प्राणीको कोखमा जन्मिन पनि त सक्थेँ । तर किन मान्छे हुन पाएँ ? यसको उत्तर कसैसँग छैन । बाँदर भन्दा हामी दुई प्रतिशतले मात्र भिन्न छौँ रे वैज्ञानिक मुकेश चालिसेका अनुसार । भनेपछि मैले दुई प्रतिशत कम मानिस भएर जन्मिनु परेन अर्थात् मैले बाँदर हुनुपरेन अर्थात् मैले गैरमानव हुनु परेन ।
केही वर्ष अघिसम्म मलाई लाग्थ्यो म बाँचिरहेको छु । तर होइन रहेछ । अचेले मैले थाहा पाएँ अर्थात् म अनुभव गर्दैछु म बाँचेको होइन रहेछु । केवल समय बाँचेको रहेछ । म त समयको गतिशीलतामा केवल बाँचेको अनुभव गर्ने रहेछु । मानौँ एकछिन समय ठप्प होस् अनि के हुन्छ ? यस प्रश्नको उत्तरमा बोध गरेँ कि जीवन आफैँमा कहिल्यै गतिशील हुँदो रहेनछ । हरेक क्षणको हाम्रो बचाइ संयोगले अर्थात् समयले निर्धारण गर्ने रहेछ । यतिखेर म यस निष्कर्षमा छु कि—संयोगै संयोगमा एकदिन संयोगको पनि अन्त्य हुनेछ । तब हाम्रो जीवन पनि टुङ्गिने छ ।
आफूले गरेको कुनै पनि कर्मको प्रतिफल म समयलाई सुम्पिने गर्छु । सफलता तथा प्राप्तिप्रति म थोरै पनि जिम्मेवार रहँदिनँ । किनकि त्यो मेरो अधीनमा छैन परिणाम जस्तो आउन पनि सक्छ । त्यसो हुँदा हरेक उपलब्धिमा—समयलाई म कृतज्ञता दिने गर्छु । अनि विफलताको अपजस पनि समयलाई नै दिएर—पराजयबाट छुटकारा लिने प्रयास गर्छु अर्थात् यस्तै हुनु थियो र भयो तब म के गरूँ ! यसरी नियतिवादलाई स्वीकार्दा मानिसको आधा भन्दा बढी दुःख आफैँ हटेर जाँदो रहेछ । तब मानिस दुःख मुक्त हुँदो रहेछ । दुःखमा पनि दुःख नलाग्दो रहेछ । अझ भनौँ दुःख र सुखको भेद पनि नहुँदो रहेछ । यही बोधले मलाई केही हदसम्म सुख र दुःख, प्राप्ति र अप्राप्ति, हार र जीतको प्रभावबाट माथि उठाएको अनुभूत गर्छु । शायद यसकारण पनि हुन सक्छ म धेरै कम विचलित हुनेगर्छु, जति विचलित हुनुपर्ने थियो ।
संयोगको विषयमा मैले यति धेरै पृष्ठभूमि बनाउनुको एउटा कारण छ । मलाई केही निमेष अघिसम्म थाहा थिएन—म दुई दिनपछि यात्रामा जाँदैछु भनेर । यसरी थाहै नभई अचानक अचानक जब घटना घटिरहन्छ भने यही हो संयोग, यही हो आकस्मिकता, यही हो नियति । यसको समग्रतालाई नै अन्त्यमा भाग्यवाद भन्ने गरिन्छ । जुन आफूले चाहेर नचाहेर स्वतः घट्छ या घट्ने परिवेश निर्माण हुन्छ । यसरी घट्ने आकस्मिकता कहिल्यै पनि मानिसको वशमा नहुँदो रहेछ । हो यही कारण म भाग्यवादमा विश्वास लिनेगर्छु । मानिसहरू भन्ने गर्छन् तब मलाई उदेकले छोप्छ । उनीहरूको धारणा छ—आध्यात्मिक मान्छेहरू भाग्यवादसँग विश्वस्त हुने गर्छन् । भाग्यवादमा विश्वास गर्नेहरू निष्क्रिय हुनेगर्छन् । त्यसो भए खै कहाँ म निष्क्रिय भएको छु ?
उनीहरूलाई मेरो प्रश्न छ—के तिमी समयदेखि माथि छौँ ? के तिमी समयलाई आफ्नो नियन्त्रणमा राख्न सक्छौँ ? के तिमी आकस्मिकता घटाउन सक्छौँ ? यदि सक्छौँ भने ठीक छ, सक्दैनौँ भने तिमीले त्यसलाई नस्वीकारे पनि आखिर तिमी समयकै अधीनमा छौँ । यसरी समयको शक्तिलाई, समयको अस्तित्वलाई बुझ्नु नै भाग्यवाद हो मेरो यही बुझाइ छ ।
केही दिनदेखि मनमा एउटा धपेडी छ—गरिरहेको काम छिटो टुङ्ग्याउने धपेडी छ । त्यही टुङ्ग्याउने आतुरीमा फुर्सद लिएको छैन । जगत्मा के कस्तो घटना हुँदैछ ? चासो दिएको छैन । सन्ध्या हुँदै साँझ टरिसकेको छ । होइन रात नै परिसकेको छ ।
भान्साको समय हुन लाग्दैछ । त्यस्तैमा मित्र लक्ष्मण वियोगीको फोन आउँछ । केही वर्ष यता हामी मित्रतामा छौँ । मसँग एउटा ठूलो कमजोरी छ । म हम्मेसि मित्रता कामय गर्ने स्वभावको छैन । त्यति छिट्टै निकट भइहाल्ने बानीको छैन । त्यसो हुँदा मैले चिनेका प्रायः मानिसहरू ती एकदम नजिक हुँदैनन् र टाढा पनि रहँदैनन् । ठीक्कको दुरीमा हुने गर्छन् ।
हामी एउटै घाम पानी खेलेर हुर्किएका मानिस । त्यसैले हुनसक्छ हाम्रो साथित्वले छोटो अवधिमै निकटता पायो । मैले यसो भनिरहँदा तपाईंले साम्प्रदायिक आक्षेप लगाउन सक्नुहुन्छ । तर कुरा त्यसो होइन । एउटै हावा पानीले निर्माण भएको—वस्तुमा धेरै कुरा समता भेटिँदो रहेछ । मान्छेलाई पनि त्यसले धेरै प्रभाव गर्दो रहेछ । लगभग केही समान स्वभावहरू त्यसले पैदा गर्दो रहेछ । भाषा, धर्म, संस्कृति, रहनसहन तथा जीवन पद्धति उस्तैउस्तै भएका मानिसको—मनोविज्ञान धेरै किसिमले दुरुस्तै हुन खोज्दो रहेछ । यस कारण मानिसमा साम्प्रदायिक भावना सिर्जना हुँदो रहेछ ।
थोरै पनि पृष्ठभूमि नराखी, केही हतार जस्तो, केही विलम्ब भए जस्तो भावमा वियोगीले फोन गर्दा मेरो मन झस्याङ्ङ हुँदै थियो । ‘मैले तपाईंलाई एउटा कुराको लागि फोन गरेको’ उनले यसो भन्दै गर्दा मनमा अचानक धेरै–धेरै भावहरू खेल्न थाल्छन् । त्यस्तो के कुरा होला ? कतै अशुभ समाचार पो सुनाउँदै छन् कि ! मलाई केही निमेष पनि धैर्य गर्न कठिन हुन्छ । उनको फोनले कस्तो सन्देश ल्याएको छ ? म एक क्षण पनि नरोकिएर स्पष्ट हुन चाहन्छु । उनले के भन्न लागेका छन् ? अबेर नगरी बताऊन् । छिटो छिटो चलेको श्वासको गति रोक्दै भन्छु, ‘के हो त्यस्तो कुरा ? भन म सुन्दैछु ।’
अब म विश्वस्त छु । प्रतिकूल सन्देशको लागि उनको कल आएको होइन रहेछ । उनको स्वरमा कुनै अनिष्ट भावको आशय नरहेको थाहा पाउँछु । ‘हाम्रो ऊर्जा खबर टीम केही दिनको लागि फिल्ड वर्कमा जाँदैछ’ उनी भन्छन्, ‘नुवाकोट र रसुवा जिल्लाका विभिन्न ठाउँ हुँदै तिब्बतको सिमाना जोडिएको रसुवागढीसम्म पुग्ने योजना छ । तपाईंको फुर्सद छ भने हिँड्नूस् जाऊँ नयाँ ठाउँ देखिन्छ ।’
मित्रको प्रस्तावमा केहीबेर म चुपचाप छु । एक्कासि निर्णय लिन सक्दिनँ । एउटा सीमित ठाउँदेखि बाह्य संसारसँग घुलमिल नभएको मानिस—म । टाढाको यात्रा कस्तो हुन्छ ? के हुन्छ ? सुविधा असुविधा केकसो हुने हो ? मैले कसरी हुन्छ भनूँ ? अनि हुँदैन पनि कसरी भनूँ मित्रको प्रस्तावलाई ?
एउटा पत्रकार ऊ कति चलाख हुन्छ । उसले मनको कुरा कसरी जान्दछ ? वियोगीले मेरो अभिप्राय बुझेछन् क्यार ! यात्रामा त्यस्तो कठिनाइ नहुने बताउँदै, मलाई निसन्देह गर्न उनी थप केही कुरा बोल्छन्, ‘हाम्रो यात्रा सबै गाडीको हुनेछ । पैदल हिँड्ने योजना यसपालि परेको छैन । तपाईं प्रकृतिसँग धेरै रमाउने हुँदा मैले यसरी सम्झिएको हुँ । तपाईं पर्यावरण साहित्य पनि केही लेख्ने गर्नुहुन्छ । त्यसको लागि धेरै विषयवस्तु तपाईंलाई मिल्ने छ । त्यहाँ पुग्दा वास्तवमा जीवन केहो थाहा पाउनु हुनेछ । जीवनभर उपयोगी हुने शिक्षा प्राप्त हुनेछ । हितको साथी हुँदा, एउटा शुभेच्छुक मित्रको नाताले उक्त अफर गरेको हुँ । सबैलाई यस्तो अफर कहाँ गरिन्छ र ? आत्मीय हुनाले यसरी सम्झिएको हुँ ।’
वियोगीको पछिल्लो भनाइप्रति म विशेष कृतज्ञ हुन्छु । प्रकृतिसँग निकट हुन पाइन्छ भन्ने प्रसङ्गले सम्मोहित हुन्छु । विकट, दुर्गम ठाउँहरू पुग्ने मसँग पहिल्यैदेखिको इच्छा छ । ती दूरदराजका मानिससँग नजिक हुने, बोल्ने, उनीहरूको जीवन शैली देख्ने, सुन्ने रहरले म लोभिन्छु । मलाई तिनीहरूको मनोविज्ञान बुझेर त्यस विषयमा केही लेख्ने अभिलाषा छ । नियात्रा लेख्ने आकाङ्क्षा छ । मलाई नयाँ नयाँ ठाउँ देख्न मन छ । म नित्य नौलो कुराको खोजीमा छु ।
मैले उनको प्रस्तावलाई कृतज्ञता साथ स्वीकारेँ । उनीप्रतिको विश्वासले निसन्देह स्वीकारेँ । उनको ठाउँमा अरू कसैको प्रस्ताव हुन्थ्यो भने शायद मञ्जुर हुने थिइनँ पनि । आजभोलि कहाँ यसरी विश्वास गरिहाल्ने समय छ र ? उनी एक असल मित्र हुन तथापि अझ उनलाई म एक अभिभावकीय दृष्टिको— विश्वासले हेर्नेगर्छु ।
ऊर्जा खबरको टीमसँग म परिचित छैन । कसैलाई चिन्दिनँ । म उनकै विश्वासले केही दिनको यात्री हुने कल्पना—गरेर रमाउन थाल्छु । ‘सवारी चालक सहित नौ जनाको टीममा एउटी बहिनी पनि छिन् । उनी भएपछि तपाईंलाई केही असुविधा पर्दैन ।’ सुरक्षापूर्ण यात्रा हुने विश्वास दिन वियोगी पुनः अर्को जानकारी थप्छन्, ‘राति रुम साझा गरेर बस्नको लागि उनी असल साथी हुनेछिन् ।’
विश्वास सबैभन्दा ठूलो कुरा हो । यदि विश्वास डगमगाउँदैन भने महिला साथी हुनु नहुनुलाई—म प्राथमिकता दिँदिनँ । पुरुष मित्रसँग यात्रा गर्न त्यस्तो असहज नै के हुन्छ र ? अरूले के भन्छन्, कसो भन्छन्को सन्देह मलाई लाग्दैन । आफू इमानदार भएपछि अरूले हेर्ने दृष्टिकोण जस्तो भए पनि केही फरक पर्दैन । अरूको दृष्टिकोणप्रति मलाई वास्ता हुँदैन । म आफ्नै दृढतामा बाँच्न सक्छु भने—दोस्रो व्यक्तिको दृष्टिमा कस्तो देखिन्छु भन्ने प्रश्न नै किन ? त्यसकारण हुन सक्छ म बडो निस्फिक्री स्वभावको छु । स्वतन्त्र मनको छु । आफूलाई उः पर सगरबिटमा पुगेको—पक्षीको अनुभूति गर्छु ।
कुनै पनि आलेखमा आफ्नो प्रसङ्ग आउँदा— थोरै पनि म आफूलाई छिपाउन मन गर्दिनँ । त्यसरी आफैंप्रति बेइमानी हुन मन लाग्दैन । आफूलाई ढाँट्न मन पर्दैन । थोरै ढाँटेँ भने पनि चित्त बुझ्दैन । त्यसैले मेरो आलेख लामो हुनेगर्छ—सम्पूर्ण कुरा बताउन लाग्दा ।
वियोगीले फोन राखिसकेपछि म एउटा द्वन्द्वमा पर्छु । तत्काल निर्णय दिएर मैले ठीक गरेँ गरिनँ आफैँलाई प्रश्न गर्छु ? उनीप्रतिको विश्वासले गर्दा—मैले आफ्नो थोरै पनि वजन राखिनँ । थोरै पनि आफूलाई धैर्य नगरी सहर्ष मञ्जुर गरेँ । निर्बोध बालकको जस्तो मेरो मनोभावलाई उनले कसरी बुझे कुन्नि ? कतै मलाई सस्तो स्वभावको मान्छे त ठानेन् ? वजनदार स्वभाव नभएको मान्छे भनेर त बुझेनन् ? म त उनीप्रतिको विश्वासले किञ्चित संशयी नभएको हुँ । किञ्चित आफ्नो वजन नराखेको हुँ । उनको प्रस्तावमा—मञ्जुर हुन किञ्चित विलम्ब नगरेको हुँ । परन्तु उनले मेरो विश्वासलाई कसरी बुझे कुन्नि ? मप्रतिको धारणा कस्तो बनाए कुन्नि ?
बुधबार बेलुकी फोन भएपछि वियोगीसँग पुनः अर्को संवाद भएन । बीचमा अब दुई दिन बाँकी छ । शनिबार बिहानै यात्रा शुरु हुनेछ । साढे ‘छ’मा घरबाट निस्किसक्नु पर्छ उनले त्यही दिन समय जानकारी गराएका छन् ।
मैले आफूलाई मानसिक रूपमा तयार हुन—पुनः पुनः मस्तिष्कमा सूचना दिएँ । शुक्रबार बेलुकी बुवा आमालाई आफू चीनको बोर्डरसम्म पुग्ने यात्रा सुनाएँ । शुरुमा उहाँहरू केही सन्देही हुनु भयो । कोसँग जाने ? कुन प्रयोजनमा जाने ? कहिले जाने ? कहिले फर्किने ? जस्ता प्रश्नको मैले ठीक ठीक उत्तर दिएँ ।
बुवा आमाको दृष्टिमा म कहिल्यै बेइमानी भएको छैन । अविश्वासी भएको छैन । मप्रति उहाँहरूले सन्देह गरेको मलाई सम्झना छैन । म सधैँ इमानदार छु उहाँहरूको बुझाइमा । अहिले बताएको यात्राबारे पनि उहाँहरूलाई केही सन्देह छैन । किनकि मेरो निर्णय नाजायज हुँदैन, म नाजायज निर्णय गर्दिनँ भन्ने उहाँहरूलाई निश्चित छ । यस बखत उहाँहरूको सन्देह मप्रति होइन—समयप्रति, परिस्थितिप्रति र उत्ताउलो जमानाप्रति रहेको छ ।
बुवा आमालाई विश्वस्त पार्न वियोगी हाम्रै लमजुङका मान्छे हुन् । कलेज पढ्दादेखिका पुरना साथी हुन् भनेर झुट बोलिदिन्छु । तर उनी लमजुङका भने होइनन् । उनी पूरै एक स्याङ्जाली हुन् । एउटा लोक गीत छ नि ! झापाली र स्याङ्जालीलाई लिएर रचिएको । मैले एकचोटि पुनः त्यही गीत गुन्गुनाएँ—स्याङ्जालीलाई नभन जाली … !
आफ्नो गाउँ ठाउँको भनेपछि मानिसलाई यति धेरै विश्वास हुँदो रहेछ । नचिनेर पनि नजिकको—आत्मीय हुँदो रहेछ—आफ्नै गाउँ ठाउँको भनेपछि । मेरो झुटले बुवाआमा आश्वस्त हुनुभयो । आजका दिनसम्म मसँग त्यस्तो कुनै स्मृति छैन । मेरो इच्छामा बुवाआमाले कहिल्यै बाधा गर्नु भएको मलाई थाहा छैन । गाली दिनु भएको पनि थाहा छैन । परन्तत्रताको अनुभव पनि मसँग छैन । मलाई आफू एउटा पक्षी जस्तै लाग्छ ।
म हुर्किएको वातावरणले मलाई थोरै पनि अन्याय र दमन नसहने स्वभाव निर्माण गरिदिएको छ । कुनै पनि स्वार्थका लागि नझुक्ने निर्भीक हुन्, स्वाभिमानी हुन् सिकाएको छ । त्यसो भएर होला म थोरै पनि अन्याय सहन सक्दिनँ । खुम्चिएर रहन सक्दिनँ । आफूलाई मन परेन भने ठाडै विरोध गर्न किञ्चित धक मान्दिनँ । म विभेद स्वीकार्न जान्दिनँ । ‘म छोरी हुँ’ भन्ने अनुभूत नगरी हुर्किएको भएर होला—मलाई सबै समान लाग्छ । म विभेद गर्दिनँ र विभेद सहदिनँ पनि ।
म अहिले यात्राको तयारीमा छु । हिजो बेलुकी केही खबर छोडेँ दिदीहरूलाई अनि बाबुलाई— आफू रसुवागढी जान लागेको बारे । त्यस बाहेक आफू कहाँ जाँदैछु कसैलाई थाहा दिइनँ । मलाई यसरी थाहा नदिई नदिई जीवन बाँच्न बडो मज्जा लाग्छ । म कहाँ छु ? के गर्दैछु ? कसैले थाहा नपाओस् ।
बेलुकी नौ बजे नै गहिरो निद्राको आह्वान गरेर सुतेको थिएँ । ब्यूँझँदा ठ्याक्कै चार बजेको रहेछ । आज वाकिङ गर्न पाइएन । नुहाएर फ्रेस भएँ । अब चार दिनको लागि मोबाइलबाट म पूरै टाढा रहनेछु । यति कुरा सम्झिँदा मात्रै पनि बडो आनन्द लाग्छ । हतार हतार केही मेसेजहरू सिन गरेँ । अमेरिकादेखि साहित्यकार भारती (गौतम) दिदीको मेसेज आएको छ । मणिपुरदेखि पनि केही मेसेज आएको छ । घनश्याम (कोइराला) दाजुलाई पनि रिप्लाई दिएँ । गोविन्द सरलाई यात्राको शुभकामना दिएँ । उहाँ आज चितवन जाँदै हुनुहुन्छ ।
मलाई खासै विलम्ब भएको छैन । मसँग अझै केही समय बाँकी छ । साढे ‘छ’मा रेडी भइसक्नु पर्ने समयको निर्देशनमा—आफूलाई ठीकठाक गर्दैछु । प्रस्थानको लागि त्यही समयको प्रतीक्षामा छु । त्यसै बेला वियोगीको मेसेज आउँछ । म अझै केहीबेर रोकिनु पर्ने भयो । उनले भनेका छन् ‘मैले फोन गरेपछि मात्र निस्किनु होला । गाडी आउन केही समय लाग्ला जस्तो छ ।’
सात बज्न धेरै मिनेट बाँकी छैन । वियोगीको फोन आउँछ । म निस्कन्छु बालाजु पुग्न । गाडीले मलाई त्यहीँ पर्खिरहेको हुनेछ ।
साइतको बेला अकस्मात मलाई एउटा खुशी मिल्छ । एउटा सुन्दर संयोग घट्छ । मैले सोचेको थिइनँ यस्तो पनि होला ! कति छिट्टै पशुपतिनाथको पूजा गरेर आन्टी आइसक्नु भएछ । सासा पार्टीप्यालेसको गल्लीमा—उहाँसँग भेट हुन्छ । हामी सधैँ बिहान साढे चारमा प्रायः भेट हुने गर्छौं । म वाकिङमा निस्किँदा उहाँ पशुपति जान लाग्नु भएको हुन्छ । धेरैजसो हामी यहीँनेर जम्काभेट हुने गर्छौं । वास्तवमा उहाँ को हुनुहुन्छ म चिन्दिनँ । उहाँको परिचय मलाई थाहा छैन । परन्तु उहाँको बोलीबाट—उहाँ यहीँको स्थानीय बासिन्दा भएको म थाहा पाउँछु । अनि नित्य मन्दिर जाने बानीले उहाँ नेवारी समुदायको महिला—भएको पनि थाहा पाउँछु । मेरो बुझाइमा पर्वतेहरू बिहानको रातिमै यसरी मन्दिर जाने इच्छा गर्दैनन् अर्थात् जाँगर राख्दैनन् । नेवारी समुदायकी यी आन्टी सबेरै मन्दिर किन जान्छिन् र पर्वते महिलाहरू किन जाँदैनन् भन्ने प्रसङ्गमा— समाजशास्त्रको एउटा गहन विषय हुनसक्छ । यतातिर अहिले केही बोल्न लाग्यो भने मेरो यात्रा छुट्न सक्छ ।
आपसमा परिचय थाहा नपाएर पनि—हामीबीच आफन्तको आभास हुन थालेछ । नित्य भेट भइरहँदा हामी आफन्त लाग्ने भएछौँ । उज्यालोमा मैले उहाँको अनुहार कहिल्यै देखेको थिइनँ । उहाँ मेरी आमा भन्दा निकै पाको हुनुहुँदो रहेछ । हिजो अस्ति सखारै भेटिने मान्छे आज ढिलो भेटिँदा उहाँलाई केही आश्चर्य जस्तो लाग्छ । पछाडि ल्याप्टप ब्याग भिरेर अगाडि ठूलो हेन्ड ब्याग झुण्ड्याएको देख्दा—म कहीँ टाढा जाँदैछु भन्ने उहाँलाई निश्चित हुन्छ । ‘कहाँ जाने हो ?’ नसोधेरै पनि उहाँको भाव भङ्गीमा यस्तो प्रश्न रहेको थाहा पाउँछु र भनिदिन्छु—आन्टी ! यात्रामा जान लागेको ?
‘टाढैको यात्रा नानी ?’ उहाँको प्रश्नमा उत्तर दिने शब्द मलाई फ्याट्टै आएन । लौन … ! मैले त आफू जाने गन्तव्य नै भुलिसकेछु । होइन के भयो मलाई ? किन यसरी भुलिरहेको छु ? । मैले पुनः गन्तव्य सम्झिन लागेँ । केहीबेर अकमकाएपछि बल्ल जवाफ दिन सक्छु—रसुवा जान लागेको आन्टी ।
मलाई लागेको थिएन यस शहरका बासिन्दाहरू यति सहदृदयी हुन्छन् । यति थाहा पाउँदा आफू बसेको शहर मलाई निकै आत्मीय लाग्यो । आफ्नै गाउँ लाग्यो । मैले अपेक्षा नराखी आन्टीले आशीर्वाद सहित चन्दनको टीका लगाएर फूल प्रसाद दिनु भयो । प्रसन्न स्वरमा यात्राको शुभकामना दिँदै फर्की फर्की हात पनि हल्लाउनु भयो ।
साइतको प्रहर ! अपेक्षा नै नगरिएको क्षण ! एउटी आमाबाट प्राप्त हुने आशीर्वाद लिएर म अगाडि बढ्छु । विश्वस्त छु यो दुर्लभ आकस्मिकताले निश्चय केही अर्थ राखेको हुनुपर्छ ।
शनिबारको बिहान शहर सुनसान छ । सडकमा सवारीको चाप कम्ती छ । गाडी चढ्ने ठाउँमा पुग्न मलाई अझै दुई चार मिनेट लाग्नेछ । मलाई पर्खिरहेको खबर लिएर पुनः वियोगीको फोन आउँछ । मेरो डेगिलो पदचापको गति अरू बढी लम्बिन लाग्छ ।
क्रमशः



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

