सौन्दर्य कहाँ छ ?

अस्ति साथीलाई लिएर गाउँ गएको उसले भन्यो, “यस्तो ठाउँ छोडेर के शहरमा बस्छौ, यार ?”

उसले भन्यो, “बिहानको चिसो बतास, आँगनभरि पोखिएको घाम, र खेतबारीका हरिया छोडेर भिडभाड, कोलाहल र कङ्क्रिटको जङ्गलभित्र किन गुम्सिएको छौ ?”

गाउँलाई प्रायः सभ्यता र संस्कृतिको मूलस्थानका रूपमा चित्रण गरिन्छ । गाउँ हाम्रो जरासँग गहिरो रूपले सम्बन्धित मानिन्छ । धेरैलाई लाग्छ, गाउँमा जीवन बिताउनु शहरको तुलनामा निकै अर्थपूर्ण हुन्छ । यसले सांस्कृतिक विरासतको संरक्षण गर्छ । एउटा चोखोपनासँग साक्षात्कार गराउँछ । भन्छन्: शहरको तीव्र विस्तारले यस्ता धरोहरलाई क्षीण गरिरहेको छ र त्यो फर्काउन ग्रामीण जीवनमा बाँच्नुपर्छ । परम्परागत बिम्बमा शहर कङ्क्रिटको जङ्गल हो, प्राकृतिक सौन्दर्यलाई विनाश गर्ने, पारिस्थितिक प्रणालीलाई अस्तव्यस्त पार्ने र संसाधनको अन्धाधुन्ध उपभोग गर्ने । अनि, गाउँलाई चाहिँ शुद्धता, सौन्दर्य, र पारिस्थितिक स्थायित्वको अन्तिम गढका रूपमा आदर्शकृत गरिएको छ ।

न्यानोको खोजी

उसको प्रश्नले मनमा अचम्मको तरङ्ग ल्यायो । के शहर साँच्चै मेरो रोजाइ थियो,  कि समयले मलाई त्यहाँ धकेलिदियो ? मान्छेहरू गाउँ छोडेर शहर पस्ने निर्णय आफूले लिएको सोच्छन्, तर त्यो निर्णयको मूलमा हाम्रै आदिम स्वभाव लुकेको हुन्छ । हामी सहजता, सुरक्षा र सम्भावनातिर तानिन्छौँ ।

जनावरहरू स्वाभाविक रूपमा स्रोतको खोजीमा यात्रा गर्छन् । चरा न्यानोका लागि दक्षिणतर्फ उड्छ । जनावरका बथान पानीका स्रोत पछ्याउँछन् । शिकारी शिकार पाइने भूमि खोज्छ । यी बसाइसराइलाई प्राकृतिक प्रवृत्ति मानिन्छ, तर जब मानिस रोजगार, सुरक्षा र अवसरको खोजीमा शहरतर्फ सर्छन् तब यसलाई कृत्रिम वा अव्यवस्थित क्रियाकलाप मानिन्छ । किन यो विरोधाभास ?, मानिसको शहरतर्फको बसाइसराइ कुनै पनि जनावरको यात्रा जत्तिकै प्राकृतिक छ । यो बाँच्न र राम्रो परिस्थितिको खोजीमा गरिने एक प्रतिक्रिया मात्र हो ।

बसाइसराइ जीवनको सार्वभौमिक विशेषता हो, यो अनुकूलनको आवश्यकताले प्रेरित हुन्छ । पहिले, मानिस नदीनाला वा उर्वर उपत्यकाको छेउमा बसोबास गर्थे, त्यसले बिस्तारै शहरको रूप लियो । आजको शहरी बसाइसराइ यही प्रक्रियाको निरन्तरता हो, विचलन होइन।

 सौन्दर्यको मूल्य

धेरैको धारणा छ कि ग्रामीण सौन्दर्य अक्षुण्ण नै राखिनुपर्दछ, यसलाई आफ्नै निष्कलङ्क स्वरूपमा रमाउन दिनुपर्छ । तर, गाउँकाले स्वास्थ्य, शिक्षा, र यातायात जस्ता आधारभूत सुविधासमेत सीमित पाउँछन् । बाँकी संसारले विकासको लाभ उठाइरहेको बेला गाउँलाई केवल सौन्दर्यको प्रतीकका रूपमा हेरेर, ‘तिमी यस्तै नै राम्रो छौ’ भन्नु गम्भीर अन्याय हुनेछ । प्रकृति संरक्षणको सबै दायित्व गाउँको मात्र किन हुने ? यदि शहरले वातावरण बिगार्छ भने त्यसको सुधार पनि शहरले नै गर्नपर्छ, गाउँले होइन । एउटाले गरेको बिगार अर्कोले सुधार्ने अपेक्षा गर्नु न्यायसङ्गत हुँदैन । उसको आर्थिक समृद्धि र प्रकृति संरक्षण बीचको द्वन्द्वमा हामीलाई उसको सौन्दर्य मन पर्‍यो भनेर ऊ यथास्थितिमै बसोस् भन्नु अनुचित हुन्छ । उसले आफ्नै कल्याणको मूल्यमा हाम्रा लागि ग्रामीण सौन्दर्यलाई संरक्षित राख्ने अपेक्षा गर्नु अन्याय हुनेछ ।

प्रकृति र मानव निर्मित संरचनाको विभाजन: एक विरोधाभास

यदि चराको गुँड, धमिराको गुँड वा समुन्द्री मुगाको जलीय शहर प्रकृतिको अङ्ग मानिन्छ भने मानव शहर किन कृत्रिम मानिन्छ ? मौरी र चराका घर प्रकृतिको जैविक र पर्यावरणीय आवश्यकताको रूपमा मानिन्छ- आश्रय, सुरक्षा, र खानपानका लागि । तर त्यस्तै समान उद्देश्य पूरा गर्ने मानव आवासलाई अक्सर कृत्रिम र वातावरणप्रति असंवेदनशील मानिन्छन् । यो विरोधाभासले एउटा महत्त्वपूर्ण प्रश्न खडा गर्छ: जब मानवबस्तीहरू पनि जैविक आवश्यकता पूरा गर्न बनेका हुन् भने उनीहरूलाई अप्राकृतिक किन मानिन्छ ? हरेक प्रजातिले आफ्नो वातावरणलाई आफ्नो जीवनशैली अनुसार परिमार्जन गर्छ, यसका लागि उसले प्रकृतिको मौलिक स्वरूपमा हस्तक्षेप पनि गर्छ, यो स्वाभाविक हो । तर यस्तो मानव इतरको हस्तक्षेपलाई प्राकृतिक मानिन्छ तर मानवद्वारा निर्मित सडक, गगनचुम्बी घरहरूलाई कृत्रिम मानिन्छ, प्रकृतिको मौलिक सौन्दर्यमा हस्तक्षेप मानिन्छ । यसको निर्माणमा प्रयोग गरिने सामग्रीहरू – पत्थर, काठ, माटो, धातु –  पनि त प्रकृतिबाटै प्राप्त गरिन्छ, धमिराले प्रकृतिबाट नै माटो लिएर घर बनाए जस्तै । दुवै प्रकृतिले उपलब्ध गराएका समान प्रयोग गरेर नै बनेका हुन भने एउटा प्राकृतिक र अर्को अप्राकृतिक ? एउटाले सौन्दर्य दिने अर्कोले नदिने ? विरोधाभास !

के जङ्गलमा उम्रेको रूखको आन्तरिक मूल्य बढी शहरमा उम्रेको रूखको कम हुन्छ ?

शहरी वातावरणलाई अक्सर वन-विनाशका लागि दोषी ठहराइन्छ, तथापि शहरहरू पनि आफ्नै तरिकाले प्रकृतिलाई पोषण गर्छन् । शहरको पार्क र त्यसका रूखले पनि वातावरणलाई ठन्डा गर्छ, कार्बन सोस्छ, प्रदूषण कम गर्छ र आवास प्रदान गर्छ, ग्रामीण रुखले जस्तै । शहरका रुखहरू कम माटो र बढी मानवीय हस्तक्षेपका बीच काम गर्छन्, मानवहितका लागि गाउँका रुखले भन्दा कडा मेहनत गर्छन्, जसले तिनको योगदानलाई झनै महत्त्वपूर्ण बनाउँछ । शहरका रुखको यो मौन बलिदान हो ।

कृषि र शहरीकरण बीचको दोहोरो मानक

गाउँ राम्रो हुन्छ किन भने त्यहाँ कृषि गरेर खाइन्छ । हामीलाई धानका पहेँला फाँटहरू मन पर्छ, तर प्रकृतिको मौलिक सौन्दर्यलाई सबैभन्दा व्यापक रूपान्तरण कृषिले नै गरेको छ । यसले सम्पूर्ण महाद्वीपहरूको स्वरूप बदलिदिएको छः घना जङ्गलहरू फडानी गरियो, नदीहरूको प्रवाह मोडियो, पहाडलाई सम्म्याइयो, माटोको बनावट परिवर्तन गरियो । पारिस्थितकी तन्त्रलाई मानव आवश्यकता अनुसार ढालेर स्वार्थसिद्धि गरियो। यस प्रक्रियाले जैविक विविधता घटायो, गैर-मूल प्रजातिहरूलाई स्थापित गर्‍यो, भूमिलाई क्षति पुर्‍यायो, र केवल मानवलाई उपयोगी लाग्ने वनस्पतिहरूलाई मात्र बाँच्न दियो— अन्यलाई निर्ममतापूर्वक उखेलेर फालियो । कृषिले प्रकृतिमा गहिरो हस्तक्षेप गर्दै उथलपुथल नै मच्चायो । तर यसलाई अपरिहार्य आवश्यकता मान्छौँ । तोरी फुलेका पहेँला फाँटहरूमा सौन्दर्य देख्छौँ,  अनि सौन्दर्य विनाशको दोष चाहिँ शहरीकरणलाई दिन्छौँ । यो दोहोरो सौन्दर्यबोध किन ? यदि कृषि प्रकृतिसँग सहअस्तित्वमा रहन सक्छ भने, शहरीकरण किन सक्दैन ?

मरुभूमि र शहर: कुन प्राकृतिक?

यसको कठोरताको बाबजुद, मरुभूमिलाई  प्राकृतिक मानिन्छ भने एउटा कङ्क्रिटको भूदृश्य किन अप्राकृतिक मानिन्छ ?  सहारा रेगिस्तान विशाल, गर्मी र आवासको रूपमा अनुपयुक्त छ तर पनि यसलाई प्राकृतिक नै मानिन्छ, पारिस्थितकी तन्त्रको रूपमा स्वीकार गरिन्छ । एउटा शहर, जो मरुभूमि जस्तो कठोर छैन, अप्राकृतिक मानिन्छ । किन ?

शहर—सदा प्राकृतिक ?

एउटा गाउँ विस्तार हुँदै शहरमा रूपान्तरित हुन्छ । बढ्दै जाँदा कुन बिन्दुमा पुगेर यो “अप्राकृतिक” हुन थाल्छ ? त्यस्तो कुनै सीमारेखा छैन जहाँबाट मानव बस्तीहरू स्वाभाविक रूपमा हानिकारक हुन थाल्छन् ।  गाउँदेखि शहरसम्मको यात्रा निरन्तर विकास प्रक्रियाको एउटा अङ्ग मात्र हो । प्राचीन शहरहरू हजारौँ वर्षदेखि जीवित छन्, लोप भएका छैनन् । यसले देखाउँछ कि शहरीकरण विनाशको सूचक होइन; बरु, यो टिकाउ र अनवरत रहने प्रक्रिया हो ।

 कुनै शहर जङ्गल जस्तै फ्नो अस्तित्व फैँ कायम राख्न सक्छ भने, त्यसलाई अझै पनि अप्राकृतिक मान्नुपर्छ ?

यदि एउटा शहर आफ्नो हावा आफैँ सफा गर्न सक्छ, आफ्नो फोहर पुनर्चक्रण गर्न सक्छ, र आफ्नो ऊर्जा आफैँ उत्पादन गर्न सक्छ, तब के ऊ अझै पनि पर्यावरणीय समस्या हो ? शहरहरूलाई प्रदूषण, फोहर, र अत्यधिक संसाधन उपभोगका लागि आलोचना गरिन्छ । तर यदि उनीहरू स्व-पारिस्थितकी तन्त्र बन्न सक्छन् भने के अझै पनि  यो पर्यावरणीय समस्या हो ?

आधुनिक शहरहरू हरित प्रौद्योगिकी प्रयोग गर्दैछन् । सौर्य ऊर्जा, जल पुनर्चक्रण, कार्बन न्यूनीकरण, र शून्य-फोहरका अवधारणाहरूले गर्दा शहर आफैँले आफ्नो पारिस्थितिक प्रणाली निर्माण गरेको छ र यसैमा जीवित छ ऊ ।

मौलिक प्रकृतिको चाहना, मीठो स्वैरकल्पना मात्र

यदि मानिसलाई वर्षा मन पर्ने भए छाना बनाउँदैनथे; घाम मन पर्ने भए चौतारीमा रूख रोप्दैनथे; हावा मन पर्ने भए झ्याल बन्द गर्दैनथे; पहाड मन पर्ने भए सम्म्याएर खेती गर्दैनथे; नदी मन पर्ने भए पुल बनाउँदैनथे; नीरवता मन पर्ने भए सङ्गीत सिर्जना गर्दैनथे; रात मन पर्ने भए दियो बाल्दैनथे; जङ्गल मन पर्ने भए भगवान् राम १४ वर्षपछि अयोध्या फर्कदैनथे । ‘प्रकृतिलाई जस्ताको तस्तै मन पराउँछु’ भन्ने धारणा एउटा मीठो स्वैरकल्पना मात्र हो । मौलिक प्रकृति नाङ्गो हुन्छ, यसले लुगा खोज्छ ।  मौलिक प्रकृति अपरिष्कृत हुन्छ, यसलाई परिष्कृत गर्न आवश्यक हुन्छ । यसको मौलिक स्वरूपलाई सबैले आफ्नो सुविधाका लागि परिष्कार गर्छन् । यिनै परिष्कारहरूको संयोजनले आधुनिकताको रूप लिएको छ, शहर बनेको छ ।

सौन्दर्यको नयाँ स्वाद

हामी भन्छौँ, तथाकथित सौन्दर्य प्रतियोगिताले महिलाको मूल्य उनको बुद्धि, क्षमता, चरित्र वा उपलब्धि जस्ता आन्तरिक सौन्दर्यमा होइन, उनको शरीर र रूपमा मात्र हुन्छ भन्ने भाष्य निर्माण गर्छ । ठीक त्यसरी नै, हामी गाउँलाई पनि बाहिरी सौन्दर्यबाट मात्र हेर्छौँ— हरियाली, खेतबारी, पहाडी बस्तीहरू र ढुङ्गे धारा । तर यदि हामीले ‘आन्तरिक सौन्दर्य’लाई साँच्चै मान्यता दिन्छौँ भने, गाउँको सौन्दर्य हेर्दा पनि त्यहाँ लुकेको भयानक यथार्थ— श्रमको असमानता, अवसरको अभाव, वर्गीय विभाजन, भूमिको अन्यायपूर्ण स्वामित्व र सामाजिक शक्ति-सन्तुलनको क्रूर लडाइँलाई पनि हेरिनुपर्छ ।

सौन्दर्यलाई केवल शुद्ध र कुमारी दृश्यहरूसँग मात्र जोडिन्छ— लहरे डाँडा, फैलिएका वन, बगेको नदी र शान्त गाउँलाई नै सौन्दर्यको पराकाष्ठा मानिन्छ । तर यो दृष्टिकोणले शहरी परिवेशमा रहेको जटिल तर भव्य आकर्षणलाई उपेक्षा गर्छ । सौन्दर्य प्रकृति निर्मित कुरामा मात्र हुँदैन, मानव निर्मितमा पनि हुन्छ । एउटा हिमालमा सौन्दर्य त हुन्छ नै तर हिमालको पेन्टिङमा पनि त्यति नै सौन्दर्य हुन्छ । बगरमा लडेको ढुङ्गामा भन्दा त्यसबाट निस्केको मूर्तिमा सौन्दर्य हुन्छ ।

खानाको ‘स्वाद’ समाज निर्मित हो, त्यस्तै सौन्दर्यको अनुभूति पनि । हाम्रा अनुभव, आवश्यकता र वातावरणले हाम्रो सौन्दर्यको अवधारणा र परिभाषा बनाउँछ । सौन्दर्यको अनुभूति इतिहास, भूगोल, सामाजिक चेतना र सामूहिक अनुभवद्वारा निर्मित एक गहिरो सांस्कृतिक ‘स्वाद’ हो ।

गगनचुम्बी भवनको गर्व, त्यसको बल्कोनीबाट देखिने सदा दौडिरहेको, कहिल्यै ननिदाउने विशाल र जीवन्त दृश्य, त्यो व्यस्त सडकको लय, धमनी जस्तै नीलो नियोन लाइट, फूलैफूलको बगैँचाको बीचबाट बगेको सफा नदीको सङ्गीत, अनि त्यो बगैँचामा खेल्दै गरेका बच्चाहरूको हाँसो — यी सबै सौन्दर्यका फरक अभिव्यक्ति हुन् । उदाउँदो सूर्यको किरणमा चम्किने काँचका भवनहरू, एउटै चोकमा मिसिएका विविध संस्कृतिहरू— यी सबैमा गहिरो सौन्दर्य लुकेको छ । शहरको सुन्दरता यसमा बसोबास गर्नेहरूको विविधतामा निहित छ – उनीहरूले नै शहरको अनौठो चरित्र निर्माण गरेका हुन्छन् ।

गल्लीहरू  जीवनका नशा हुन्, जसले शहरलाई जीवित र चलायमान बनाउँछन् । पुराना बजारका ती रङ्गीचङ्गी पसलमा भीड छ,  त्यहाँ गुन्जिने हाँसो, गफगाफ तथा मोलतोलको आवाजले जीवनको सङ्गीत सिर्जना गर्छ। त्यही गल्लीको भित्तामा कोरिएको रङ्गिन चित्र र अलिकति मेटिइसकेको पुरानो विज्ञापनले विगतका धूमिल दिनहरू सम्झाइदिन्छ। यी गल्लीका प्रत्येक मोडमा रहस्य र रोमाञ्चकता लुकेको हुन्छ।  त्यहाँ घन्किने पूजा र उत्सवको धुनमा श्रद्धाको कथा सुनिन्छ। त्यहाँ हिँड्दा आउने अगरबत्तीको पिरो धुवाँले यादका पुराना पर्दाहरू हल्का उघार्छ। त्यसले पुरानो मन्दिर, पैसा लिएर आशिक दिने  पुजारी र साँझपख बालिएको दियोको बास्ना र केशमा पसेको धूपको बास्ना सम्झना गराउँछ। यो जीवन्तता पुस्तौँपुस्तादेखिको निरन्तरता हो। शहरका गल्ली, चोक र भित्री कुनाका रङ्ग, उत्साह र भावनामा यस्ता जीवन्त सौन्दर्य भेटिन्छन्।

सौन्दर्य त्यो जीर्ण पुलमा पाइन्छ जुनले नदी पारका दुई अनजान बस्तीलाई जोड्छ। जब ती दुई बस्तीका एक जोडी युवक-युवती पुलमा उभिएर नदीतर्फ टोलाउँदै भन्छन्— ‘बस्ती पो अनजान हो, हामी हैनौँ !’— त्यस क्षणमा त्यो सौन्दर्य अझ गहिरो र जीवन्त बन्छ । यो सौन्दर्य त्यो पुलको छेउमा ठिङ्ग उभिएको त्यो बूढो रूखको चाउरी परेको छालामा पनि पाइन्छ, जो सताब्दीयौँदेखि शहरका परिवर्तनका साक्षी बनेको छ । उसका ती चाउरीका रेसाहरूमा लेखिएको समयको कथा हामी पढ्छौँ ।

शहरी सौन्दर्य सङ्ग्रहालय, थिएटर र सडक-नाटक जस्ता सांस्कृतिक विरासतमा जीवित छ । यो पर्व, परेड र फागु जस्ता सामूहिक उत्सवहरूको बहुलापनमा मात्तिन्छ । यो त्यो रेस्टुराँको बास्नामा छ, जहाँ संसार भरका स्वादहरू एकैसाथ पस्किइन्छ । त्यो सानो चिया पसलमा पनि छ, जहाँ मानिसहरू थकाइ मार्छन् र गफ गर्छन् ।

शहरको व्यस्त बजारमा एउटा भव्य मूर्ति छ, त्यही मूर्तिको छेउमा उभिएर युवा-युवतीहरू सेल्फी लिइरहेका छन् । रातको समयमा शहरको सिनेमा हलको अगाडिको उज्यालोमा उभिएको भीड छ, बाहिर ठूलो रङ्गिन पोस्टर टाँगिएको छ, त्यहाँबाट निस्किएको हाँसो र कुराकानीको गुञ्जन टाढासम्म सुनिन्छ । अग्लो फ्लाइओभरको मुनि घर फर्कने गाडीको लाम लागेको छ, त्यसको छेउमा उभिएर एउटा बाइक चालक सूर्यास्त हेर्दैछ । सडकको किनारमा रङ्गीचङ्गी फूलको सानो बगैँचा छ र त्यहाँ बेन्चमा बसेर गफ गरिरहेका वृद्ध जोडी छन्, उनीहरूको अनुहारमा सन्तोष देखिन्छ । शहरको पुरानो भागमा सानो पुस्तकालय छ, पुराना किताबहरूको बास्ना फैलिएको छ, पुस्तकालयको कुनामा बसेका एक जना वृद्ध झ्यालबाट बाहिर हेर्छन्, भीडलाई हस्याङ्ग-फस्याङ्ग गर्दै हिँडिरहेको देख्छन्, हल्का मुस्काउँछन् र आफूलाई फेरी किताबमै हराउँछन् । यस्ता सौन्दर्य शहरी संरचना र मानवीय भावनाको संयोजनमा देखिन्छ ।

जङ्गलमा रुखका पातला हाँगाबाट छानिएर आएका घामका किरणमा जत्तिकै शहरको साँघुरो गल्लीको पुरानो घरको कापबाट छिरेको किरणमा खेल्दै गरेको धुलोको कणमा पनि सौन्दर्य हुन्छ । शहरको बीचबाट बगेको नदीमा पर्ने घरको छायामा मात्र हैन, रातमा त्यो घरको बत्तीको छायालाई सुताउन आफ्नो काखमा लिएर हल्का हल्लाउने नदीमा पनि सौन्दर्य हुन्छ ।

स्वाद जस्तै सौन्दर्यको अवधारणा पनि समाजले नै निर्माण गर्दै जाने हो । त्यसैले नयाँ समाजले सौन्दर्यको नयाँ परिभाषा आत्मसात् गर्नुपर्छ । आफूभित्र रहेको सौन्दर्यबोधकर्तालाई शहरमा पनि सौन्दर्य हुन्छ भन्ने बुझ्न सिकाऔँ, उसलाई नयाँ स्वाद पनि लिन सिकाऔँ ।