सारा ओर्न जेवेटको कथा ‘सेता बकुक्ला’मा एउटा प्रसङ्ग छ । ९ वर्षीय सिल्वियालाई बकुल्लाको कुर कहाँ छ, गुँड कहाँ छ, अड्डा कहाँ छ, सबै थाहा छ । ऊ सधैँ गाई चराउन जङ्गल जान्छे । त्यसैले, ऊ चराचुरुङ्गी र वन्यजन्तुको संसारलाई बुझ्छे ।

एकदिन एउटा शिकारी बकुल्ला खोज्दै आइपुग्छ । सिल्वियालाई तिनको कुर थाहा होला भन्ने आशयले उनको छेउ पुग्छ । साँझको कुरो, सिल्वियालाई भने गाईबस्तु लिएर घर जानको चटारो । शिकारी पनि पछिपछि जान्छ र घरैमा पुग्छ । वासै मागेर बस्छ । यसबीच उसले धेरैचोटि सिल्वियालाई कुर बकुल्लाको देखाइदेऊ भनेर अनुरेध गर्छ, तर ऊ बोल्दिन । उसले निकै आकर्षक पैसाको प्रलोभन पनि दिन्छ । तर अहँ, ऊ बोल्दै बोल्दिन । शिकारी बाध्य भएर फर्किन्छ ।

यसो सोच्छु— गाई दुहेर, टाढा शहरमा दूध बेचेर, कति पैसा आउँदो हो ? महिनाभरिको खर्च कटाएर कति बाँच्दो हो ?

सोच्छु — सिल्विया किन बोलिन ? जाबो चराकै कुर त हो । फेरि, उसले पालेका चरा हुन् र ? पैसा पनि टन्नै आउने । आफैँ गएर समाउनु पर्ने पनि होइन । केही समय त फोकटमै आउने थियो नि मोजमस्ती । शिकारीले दिन्छु भनेको जति पैसा कमाउन त सिल्वियालाई अलि ठूली पनि हुनुपर्छ, र धेरै काम पनि गर्नुपर्छ । तर उसले त्यसो गरिन ।

बालक र चराहरू — यस सम्बन्धमा कहिलेकाहीँ घोत्लिन्छु । मैले शहरमा धेरै चराविद्को नाम सुनेको छु । चरा अधिकारकर्मीको कुरा पनि सुनेको छु । ‘ओर्निथोलोजी’ भनिने, विज्ञानको एउटा हाँगै पनि हुँदो रहेछ, जसमा चराको अध्ययन गरिँदो रहेछ । सलिम अलीको ‘द बुक अफ इण्डियन बर्डस्’ त केटाकेटीमै पढेको । उदय अधिकारीसँगको मेरो वार्ता ‘फेसिङ ए लिटल भोल्क्यानो’ पढ्नेलाई थाहा छ । अरू अरू केके केके नभएको भए म बर्डवाचर बन्ने थिएँ भनेको छु ।

उता चराविद् हेमसागर बरालका कुरा पनि आइरहन्छन् । पूर्व–सैनिक तोरण सिंह, प्रिय कवि ईश्वर कँडेल तथा हेटौ+डाका युवा मित्र दृष्टान्त बिडारी आदिको चराप्रेमले मभित्र लोभ भर्छ, इर्ष्या भर्छ ।

फेरि आफ्नै विगततिर तानिन्छु । चरा मेरो जीवनको वरिपरि सर्वत्र थिए । चरैचरा । शहरबजारको लामो बसाइको बीचमा मेरो ग्राम्य–मस्तिष्कमा घुसपेठ गर्न आएको बजारु मानसिकताभित्र चराका लागि कुनै ठाउँ भएन । करीब दुई दशकको यस धुवाँवासपछि मन फेरि चराहरूको मायामा छटपटाउन थालेको छ । मेरो स्मृतिको ग्राम्य–जमीन पुनः दुख्न थालेको छ । किन, थाहा छैन ।

जमीन भनेको माटो मात्रै होइन शायद । माटो भए, माटो त जहाँ पनि हुन्छ, आफ्नो होस् वा अरू कसैको । जमीन शायद जीवनदृष्टि उभ्याउने एउटा आधार हो । जमीन भनेको आफ्नो खुशीको हिमाल उभ्याउने बेसक्याम्प पनि हो ।

एड्वार्ड रेल्फले थात्थलो (प्लेस) सँग जोडिनु र नजोडिनुका बारेमा एउटा पुस्तकै लेखेका छन्— ‘प्लेस एण्ड प्लेसलेसनेस’ । यसमा एउटा घतलाग्दो प्रसङ्ग के छ भने, मान्छेको जमीनसँगको जोडाइ अचेतन अवस्थामै विद्यमान् हुन्छ । यस्तो जोडाइ हम्मेसी अभिव्यक्त हुँदैन वा सतहमा आउँदैन । जीवनको सन्तुलनमा कुनै व्यवधान आयो, जमीन छोड्नुपर्यो, अन्यत्र सर्नुपर्यो, कसैले बलजफत खेदाउन खोज्यो, बाढी–पहिरो वा यस्तै कुनै प्रकोपका कारण बस्न योग्य भएन भने, त्यो अभिव्यक्त भएर आइदिन्छ । जमीनसँगको सम्बन्ध हल्लिएको बेला, वा इच्छाविपरीत जमीन छोड्नु परेको बेला मानिसहरू रुन्छन्, कराउँछन् । जोडाइ अति नै तीव्र छ भने, ज्यान दिन पनि तयार रहन्छन् । अन्य अवस्थामा, अन्य स्थानमा स्थानान्तरण गरिएका मानिसहरूमा शोक, वियोग, मानसिक चिन्ता आदि समस्या देखिन्छन् । यस कुरालाई माइक फ्राइडले १९६३ मा बोस्टोनको पश्चिमी किनारबाट बलजफ्ती अन्य कुनै स्थानमा सारिएका मान्छेहरूका बीच गरेको अनुसन्धानले पनि पुष्टि गर्दछ । फ्राइडले तिनमा धेरै प्रकारमा मानसिक विषाद, शोक, चिन्ता आदि भेट्टाएका थिए । उनले सोध्नै परेन अघिल्लो जमीनमा के थियो, जो पछिल्लोमा छैन ? के छ वा के छैन — यो बजारु प्रश्न हो । आत्माको प्रश्नावलीमा यस्तो ‘छ वा छैन’ को तर्कविलास अटाउँदैन शायद ।

जमीन, माटोसँग स्मृति र प्रेम पनि हो । त्यसबाट आइदिने सुरक्षाको आभास पनि हो । सुरक्षा र आनन्दको त्यो किल्ला निर्माण गर्न चरा, बोटबिरुवा, नदीनाला, पहाडपर्वत, सबै सबैको भूमिका हुन्छ । यस्तो ग्राम्यकिल्ला मान्छेको स्वाभाविक र आदिक किल्ला हो । त्यसैले हुनुपर्छ, मान्छे कुनै न कुनै बहानामा ग्राम्यपरिवेशमा पुगिरहेकै हुन्छ । कतै पर्यटनमा नाममा, कतै पिकनिकका नाममा, कतै ट्रेकिङ, हाइकिङ, राफ्टिङ त कतै पर्वातारोहणका नाममा । विलुप्त देखिएको कुनै स्वभावलाई पुनः प्रकट गर्नुलाई वैज्ञानिकहरू ‘एटाभिज्म’ भन्छन् ।

भारतीय कथाकार सद्दात हसन मन्टोको कथा ‘टोबा टकेसिंह’ भित्रको एउटा पात्र छ, जो भारतको हो, तर विभाजनपछि पाकिस्तानको भयो, पाकिस्तानपट्टि सारियो । यसबाट ऊ यति आहत हुन पुग्यो कि ऊ बहुलायो । पूरै कथा उसको पागलपन, र त्यसैबाट सिर्जत बर्बराहटकै हो ।

हाम्रा कथाकी सिल्वियाको ‘जमीन’ भनेको ‘वन्यजमीन’ हो । त्यहाँका बुट्यान, घाँसपात, वनवनेली, चराचुरुङ्गी, ढुङ्गामाटो… यो उनको संसारको हो । उनको यो संसारमा बजारको सास पसिहालेको छैन शायद । बजार पसेपछि पूजा कोठा पनि दोकान जस्तो देखिन्छ । यहाँ ‘के छैन ? को चिन्तन, र त्यस अभावको मागल–गायन वर्जित छ । यहाँ जे छ, त्यसैको उत्सव नै जीवनदर्शन हो, शायद ।

सिल्वियाको घर गाउँमा छ । जङ्गलको किनारतिर छ । धेरै घर छैनन् वरिपरि । कस्तो ठाउँ भने, त्यस्तोमा अचेल शहरवासीहरू ‘एकान्त’ खोज्न पुग्छन् । शान्त, एकान्त…केके भन्छन् । सिल्वियाको संसार शान्त होला, तर एकान्त हो जस्तो मलाई लाग्दैन ।

म आफैँतिर फर्कन्छु । केटाकेटी छँदाको मेरो गाउँमा कति नै घर थिए र ! तर, मेरो वरिपरि एउटा आवाद सृष्टि देखिन्थ्यो । तिनमा चरा अनिवार्य सदस्य थिए । म र मेरा केही साथीहरू जन्मजात चराविद् थियौँ । सुगा र कोटेराका बथान कहिले, कुन ऋतुमा आउँछन्, हामी थाहा पाउँथ्यौँ । धोवी चरा, चिबेचरा, काठफडुवा — हाम्रो बालसंसारका गफास्टका सजीव पात्र हुने गर्थे । रुप्पीका अण्डा हरिया । कोटेराका खैरा । सिमकुखुरा हातैमा आइपुग्थे, पारि पल्टने भिनाजुका भस्मेमा । समायौँ, छोड्यौँ । मारेको सम्झना छैन । घरमा ठूलो कुखुराको फारम भएर मासु अमन भएर होइन । खै किन, किन, थाहा छैन । तर, मारेनौँ ।

म अहिले पनि सम्झन्छु— माथि तपन बस्तीको ‘ग्लस्तान’ गुलेली बोकेर हिँड्थ्यो । नाम रहेछ ग्लेडस्टोन, तर हामीले ग्लस्तनै भनेर चलायौँ कामकुरो । मेरी जेठी दिदीले उसको सातो खाएको झलझली सम्झन्छु । पछि ऊ त्यो बाटो हिँड्नै छोड्यो । दिदीले किन कराई ग्लस्तानलाई ? मैले दिदीलाई सोधिनँ । मसँग खेल्ने चराहरू विविध खेल खेलिरहे आँगनमा, घरवरिपरि, बकाइना र अम्बकका रुखहुँदी । साँझ चराहरू आँगनमा नखेलेको दिन बिसन्चो जस्तो लाग्थ्यो ।

हाम्रो अवचेतनमै बसेको थियो यो चराप्रेम । सिल्वयालाई कथामा मात्रै भेटेको हुँ हुन त । तर, सिल्विया मेरो अवचेतनमा एउटा जीवित विम्ब बनेर बसेको पनि ठीक साँचो हो ।

चरै त हुन् । तर, चरा ‘चरै त’ होइनन् कि !

चरामा पनि भँगेरो त यति थेत्तरो हुन्छ नि, बिस्कुनबाट ‘हा…हा’ गरेर भगायो, आँखा झिमिक्क पार्न नपाउँदै फेरि छोप्न आइपुग्छन् । जति धपाए पनि, जति कराए पनि आँगनकै वास । विचित्रको चरो ।

किन किन, भँगोरो मलाई आफ्नै परिवारजनजस्तो लाग्छ । घरका जुन धुरीबाट मैले घरीघरी आकाश हेरेँ, घाम हेरेँ, त्यसै धुरीमा अनेकौँ छिमल हुर्कायो भँगेराले सन्तान । यसो हात छिराउँदै गुँडैमा पुर्याउन सक्थेँ औँलाहरू । कलिला, नाङ्गा, टिठलाग्दा बचेरा कति हो कतिपल्ट समातेको छु । यिनका अण्डाको आकार, प्रकार र रङको त म विशेषज्ञ नै हुँ भन्दा पनि हुन्छ । तर, अहँ, दिमागमा कहिल्यै आएन — यिनलाई घात गर्नुपर्छ । त्यो दिमाग, कुनै दर्शनका, राजनीति शास्त्रका वा बजारतन्त्रका पुस्तक पढेर धमिलो भइसकेको दिमाग थिएन । त्यो एक अबोध, गाउँले बालकको दिमाग थियो । भेटेजति हसुर्नुपर्छ भन्ने मात्रै बुझेको त्यस गाउँले बालकको दिमागमा चरालाई घात गर्नु हुँदैन भन्ने ज्ञान कहाँबाट आयो  ?

त्यो बेला ती चरा पनि शायद इन्द्रेणी नै सोच्थे, म पनि । उनीहरू बढेर कहाँ कहाँ पुगिसक्दा आकाशमा, र सोचिरहँदा इन्द्रेणी, म मान्छे यहाँ गुलेली सोचिरहेको छु ।

गाउँतिर भनेको सुन्थेँ — आँगनमा भँगेरा नाच्नु, घरआँगन आवाद हुनुको सङ्केत हो । जुन आँगनमा भँगेरा उफ्र्रंदैनन्, त्यस घरमा सन्तानसुख हुँदैन पनि भन्थे । यी किंवदन्दीको वैज्ञानिक पाटो थाहा छैन, तर एउटा गोप्य कुरा थाहा छ । मानौँ दुईवटा खरले छाएका घर छन् । एउटामा मान्छे बस्छन् । अलि पर उभिएको अर्को खाली छ, मान्छेले छोडेको । भँगेराले मान्छे बसेकै घरको धुरीमा गुँड बनाउँछ, बचेरा काड्छ । त्यसै घरको आँगनमा खेल्छ । त्यसैको आँगनछेउको अम्बाको रुखमा बस्छ । हाँगाबाट हाँगा उफ्रन्छ । खाली घरमा बस्दैन । बरु त्यहाँ सर्प बस्छ ।

अलि ठूलो भएपछि विद्यानिवास मिश्रको एउटा निबन्ध पढेँ— ‘आँगनका पंछी’ । कुरो भँगेराकै रहेछ । उनका धेरैजतो तर्कले आनन्द दियो । तर एउटा कुराले मनका दिएको पीडाले अहिलेसम्म घाइते छु । गाउँको फसल सखापै पार्यो भनेर एकफेर क्रान्तिकारी चीनले भँगेराको निर्मूलीकरणको अभियान चलाएछ । बन्दुरधारी हजारौँ सैनिकको निशानामा लाखौँ भँगेरा । कठैबरी, बिचरा । मिश्रले निबन्धभित्रै प्रश्न गरेका छन्— भँगेराले जति अनाज खायो, त्यसको मूल्यभन्दा कैयन गुणा महँगो गोली उसको विनाशमा खर्च गरियो ।

ती भँगेरा ! मिश्र लेख्छन्— ती निंशक हुन्छन् । निशंक भएरै घरघरमा आनन्दका दाना बर्साउँछन् । जति गेडा टिप्छन्, त्यसको चौगुना मुक्त हाँसो आँगनमा छरेर जान्छन् । उनको अपराध यत्ति हो— उनीहरू परेवाले जसरी घाँटीमा चिठी बाँधेर टाढा टाढा पुर्याउन सक्दैनन्, सुगाले जसरी हरेक स्तुति वा गाली दोहोर्याउन सक्दैनन्, प्वाँखले हम्केर पसिना सुकाउन सक्दैनन्, उनका शिरमा सिउर छैनन् जसलाई हल्लाउँदै फोहोरको डुङ्गुरमाथि उभिएर पनि सखारै घाम झुल्केको उद्घोष गर्न सकून् । उनीहरू बिहनका होइन, अपराह्नका साथी हुन् । उनीहरू वनका होइन, आँगनका पंक्षी हुन् ।

मैले कुनै बेला लेखेको थिएँ— ‘बालकहरूलाई खुशी हुन शर्त चाहिँदैन ।’ त्यसो भनिरहँदा पनि मेरो मनभित्र स्वार्थको कुनै आधार थियो, शायद । तर, जब मेरो आँगनमा मेरो शिशु अभिनन्दन खेल्न थाल्यो, र मैले वर्षांैदेखि मोटरसाइकल पार्क गर्न र घाम ताप्न प्रयोग गर्दै आएको आँगन पनि अलौकिक खुशीको श्रोत बन्न सक्छ भन्ने थाहा पाएँ, तब आफ्नै कवितांश गलत लाग्यो । शर्त त चाहिने रहेछ । कुरा यत्ति रहेछ, हामी ‘ठूला मान्छे’ ले पाइला पाइलामा झुण्ड्याउने गरेको स्वार्थको जञ्जीर उनका लागि कुनै शर्त होइन रहेछ । आँगनमा मेरो छोराले देखेको पहिलो चरी थियो भँगेरो । उसलाई त्यो भँगेरो हो वा होइन भन्ने पनि थाहा छैन, शायद । तर, त्यस भँगेराले उफ्री उफ्री आँगनभरि छरेको आनन्दले अभिनन्दको मन सृष्टिको मानवेत्तर आनन्दप्रवाहको मूल फुटाइरहेको थियो । आँखा भएर नदेख्ने, खुब बुद्धि भएको मानेर पनि नबुझ्ने त्यो आनन्दसत्ता बुझाउन मलाई भँगेरासँगको अव्यक्त संवादमा मग्न एउटा बालकको अबोध संसार चाहियो । शर्त थियो— चराको अनन्दसत्ता र बालकको आनन्दसत्ताबीच कुनै पर्दा, पर्खाल वा सिसा हुनु हुँदैन । त्यो खुला हुनुपर्छ ।

हो, यस्तै निरुदेश्य, निरपेक्ष र निस्वार्थ भावज्ञानलाई मैले ‘लोकप्रज्ञा’ भनेको हुँ । लोकप्रज्ञाको भूगोलभित्र बजार हुँदैन । किनमेल हुँदैन । तर्क, पैसा, लोभ वा प्रलोभन — केही पनि हुँदैन । एउटा निर्दोष हठ हुन्छ । कसै गरे नबिक्ने, कसै गरे नझुक्ने स्वभाव हुन्छ ।

यस कुराको बोधबाट म एउटा निचोडमा पुग्न पुग्न आँटेको छु, पुगिसकेको छैन । पुग्नलाई प्राज्ञिकहरूको भाषामा भन्दा, अनुसन्धान चाहिएला, प्रमाण चाहिएला । त्यो मसँग छैन । त्यसमा खासै रुचि पनि छैन । मेरो निचोड के भने— अचेल, शहर, अथवा छेउछाउ चलेका संरक्षण अभियानमा मान्छेलाई संलग्न गराउन माइक बजाउनुपर्छ, बारम्बार अपिल गर्नुपर्छ, छ भने भत्ता पनि बाँड्नुपर्छ, कानून बनाउनुपर्छ, डन्डा लगाउनुपर्छ, गोली चलाउनुपर्छ, हिरासद र जेल ठिक्क पार्नुपर्छ । र पनि, गीत गाइरहनुर्छ— बागमती सफा भएन, युमनमा नुहाउन सकिँदैन, तराईको सिसौघारी स्वाहा, हिमालमा नारान…फोहोरै फोहोर । यो हाम्रो असभ्यताको अनन्त गीत हो । यो अनन्त गीतको कुनै निकास देख्दिनँ म ।

देख्छु चैँ के त ? मैले माथि भनेको लोकप्रज्ञाको अलख जगाउनुपर्छ । वाङ्गरी मथाई पनि नपढेकी मनुवा कहाँ थिइन् र ! प्राध्यापक थिइन् । तर, उनले गृहिणी महिला र गरीब पुरुषहरूलाई रुखमहात्म्य बुझाइन् । बुझाइन् होइन, उनीहरूभित्रको लोकप्रज्ञा जगाइन् । त्यस लोकप्रज्ञाभित्र उनीहरूको अंश देखाइन् । ती सब अगाडि आए, र ‘ग्रिनबेल्ट मुभमेन्ट’ चलाए । स्मरण रहोस्, यो कुनै पढेलेखेकाको प्राज्ञिक नौटङ्की थिएन । यो लोकप्रज्ञाको स्वाभाविक उद्घाटन थियो । यो बालक र भँगेराको निष्कलङ्कित प्रेमको अर्को संस्करण थियो ।

लोकप्रज्ञ र कृत्रिम पाण्डित्यमा फरक छ नै । त्यसमा पनि एउटा कुरा मननयोग्य छ । वन गएर, विशेष मुहूर्तमा फूल, पात र लहराबाट विशेष रङ टिपेर, त्यसको लेपनले सौन्दर्यीकरण गरेर, हप्तौँ लगाएर एउटा डाली बनाउने कुनै कालिगड छ । एक दिन कुनै व्यापरीले भेट्छ, र ‘होलसेल’ भाउमा किन्ने गरी सयौँको सङ्ख्यामा डाली बनाइदिने अर्डर टिपाउँछ । तर अर्डरको सङ्ख्या जति बढ्छ, उति नै मूल्य बढाउँछन् कालीगढ । झोँक चलेर जब कराउँछ व्यापरी, उनी भन्छन्— आत्मामा रङ पोतेर बनाएका डाली, बेच्नु छैन कुनै होलसेल मूल्यमा, र पुर्याउनु छैन कुनै दुर्गन्धित शहरको कुडादानमा । कुरा बी ट्रभनको कथा ‘एसेम्ब्ली लाइन’ को हो । त्यस कालिगढको लोकप्रज्ञा आजको व्यापारिक समयको गणित कतै मिलेको देख्दिनँ । मलाई उक्त अनपढ कालिगढको ग्राम्य–गणितमा गर्व छ ।

हामी चराका कुरा पो गरिरहेका थियौँ ।

गजब छ । हत्यारा पनि मान्छे, मुक्तिदाता पनि मान्छे रे । सम्झन्छु रोबिन्सन जेफर्सको एउटा कविता ‘हर्ट हक’ यानि घाइते बाज । गोली खाएर क्षतविक्षत भएको कुनै घाइते बाज कविको आँगनमा देखा पर्छ । बाज मान्छेको घरमा आउने, जिस्कने चरो होइन । घाइत छ, तर उसको शिर अझै स्वाभिमानले उठेकै छ । कवि मल्हमपट्टी गर्छन्, खुवाउँछन्, पियाउँछन् र उसैको घर, यानि जाङ्गलमा छोड्दिन्छन् । अलिपनि पुनः उनैको आँगनमा आइपुग्छ । शरीर उस्तै क्लान्त, तर शिर उसै गरी उठेको स्वाभिमानले । कविलाई लाग्छ, ऊ मुक्तिको याचना लिएर आइरहेछ पटक पटक । मानौँ, उनीसँग मुक्ति थानका थान जगेडा छ, भित्र । जान्छन्, बन्दुक झिक्छन् र ताकेर दिन्छन् ‘सिसाको उपहार’ । मृत लडेको उक्त विक्षत बाजशरीरबाट जुन आत्मा निस्केर गयो, त्यसले एउटा प्रलङ्कार छोड्यो र, नदीकिनारतिरका अन्य चरा डरले चिच्याए रे ।

भो, मलाई यस्तो मुक्तिको कल्पना गर्नुमा कुनै दिलचस्पी छैन । यस्तो सिसाको उपहार मेरो कल्पनासंसारमा छैन । मेरो मनमा चरा छन् ।

चरा हाम्रो विराट् लोकप्रज्ञाका स्मारक हुन् । कलेरिजको एक्लो नाविकले चरा मारेकै कारण उसको जहाज दुर्घटनामा पर्यो, उसका सबै साथी मरे, र ऊ ग्लानि र दुःखको पर्याय बनेर बाँचिरहनु विषय भयो भन्ने कथा लोकप्रज्ञाले निर्माण गरेको हो । यहाँ विज्ञानले घुसपेंठ नगरोस् । नत्र, चरा मार्दैमा तुफान आउँछ भन्नेहरू जन्मन्छन् । तिनलाई ‘ओग्र्यानिसिज्म’ को सिद्धान्त बुझाउन यो जुनीमा सकिँदैन । बुद्धले घाइते सारसलाई उपचार गरेर उपवनमै किन छोडे? उनलाई थाहा थियो, प्रलयको आहट त्यतै कतै थियो ।

एक एक चरा मारिँदा हामीले सुन्न बाँकी हजार हजार गीत मरेर जान्छन् । गीतबिनाको धरतीको कल्पना गर्न सकिँदैन, तर चरा रहुञ्जेल धरतीको गीत कहिल्यै मर्दैन । नपत्याए, जोन किट्सलाई सोध्नू । उनले धरतीको गीतलाई एक अविछिन्न प्रवाह मानेका छन् । अँ, बजारको कर्कश ध्वनिले कहिलेकाहीँ ती गीतलाई खाइरहेको हुन्छ । तिनै गीतको अघिल्तिर एकछिन् लेखनाथलाई सम्झौँ न—

नसक्छौ यो आँशु टपटप टिपी चप्प पिउन

नसक्छौ मासुले दिनभर अघाएर जिउन

न सक्छौ यो भुत्ला लिईकन कुनै वस्त्र सिउन

चुँड्यौ व्यर्थै मेरो मनुज तिमीले जीवन किन?