प्रेमको जन्म कहिले भयो ? कसैलाई थाहा छैन । मलाई लाग्छ, प्रेम संसारकै सुन्दर भावनामध्येको एक हो । प्रेम पवित्र  हृदयले अरूलाई सम्मान गर्ने,  बुझ्ने र हेरचाह गर्ने भाव हो । प्रेम जीवनको हर्ष हो, स्वप्निल संसार हो । यसले भावना र सम्बन्ध साटेर दुई किनारलाई भँगालो नजिक ल्याउँछ ।

अनेकौँ स्वरूपमा प्रकट हुने प्रेम आनन्द, प्रेरणा र समर्थनको स्रोत हो । आनन्द र मनोरञ्जनात्मक प्रेम दुई व्यक्तिबीचको गहिरो आकर्षण र स्नेहमा केन्द्रित हुन्छ  । यसबाट जीवनसाथीसँग नजिकको सम्बन्ध निर्माण हुन्छ । पारिवारिक प्रेमले परिवारका सदस्यसँगको सम्बन्ध विस्तार गर्छ । यसले सुरक्षा, समर्थन र जीवनयापनको निश्चिन्तता प्रदान गर्छ । मित्रहरूको बीचमा बाँडफाँट हुने प्रेम मित्रता हो । साँचो मित्रता पारस्पारिक विश्वास, समर्थन र सम्मानमा आधारित हुन्छ । आफ्नै आत्मसम्मान र आत्मस्वीकृतिसँग सम्बन्धित प्रेमचाहिँ आत्मप्रेम हो । स्वास्थ्योन्नति, खुशी र आत्मविकासका लागि मानिसलाई आत्मप्रेम चाहिन्छ । यो खुशीको कारक हो ।

प्रेम भौतिक र आत्मिक विषय हो । यसले  मानसिक र शारीरिक स्वास्थ्यलाई सुदृढ बनाई जीवनयात्रामा गति दिन्छ । एकापसमा भेटेर गरिने प्रेमले दिने आनन्द र दूरवर्ती प्रेमको रस फरक हुन्छ । प्रेमको गहिराइ काव्यको रचना, चलचित्रको पर्दा र बगैँचाको सौन्दर्यमा मात्र प्रकट हुँदैन । यो मानिसका मुस्कान र रोदनभित्र घुलेर मानव हृदयको सहानुभूति र परानुभूतिमा अन्तर्घुलन हुन्छ ।

वर्तमान विश्वमा सूचना प्रविधिले प्रेमको परिभाषालाई बदलिदिएको छ । अहिलेका प्रेमी र प्रेमिकाले प्रेमिल वार्तालाप गर्न कुनै गुप्त स्थलको खोजी गर्नुपर्दैन । झरना, नदी किनार वा एकान्त खोज्नु पर्दैन । प्रेमका लागि सबै समय निःशुल्क छ । सूचनाप्रविधि कृत्रिम बौद्धिकताको उपयोगसम्म पुगेको छ । यसले मानिसका लागि डिजिटल प्रेमको उपहार दिएको छ । डिजिटल प्रेम आधुनिक युगको उत्कृष्ट प्रेम कथा बनेको छ ।

सामाजिक सञ्जाल, म्यासेजिङ याप्स र अनलाइन डेटिङ साइटहरूले डिजिटल प्रेमलाई सहज बनाइदिएका छन् । भौतिक रूपमा संसारको जुनसुकै कुनामा भए पनि यी माध्यमले मानिसका आफ्नै कोठाको मोनिटरमा डिजिटल प्रेम भित्र्याइदिएको छ । एउटा रूखका हाँगा र पातको सम्बन्ध जरासँग भएझैँ डिजिटल प्रेमले विश्वभरिका मानिसलाई एउटै सञ्जालमा जोडिदिन सक्छ । यसको प्रयोग गरेर मानिसले नयाँ सम्बन्ध शुरु गर्न र शुरु भएको सम्बन्धलाई दीर्घकालसम्म जोगाइराख्न सक्छ । भौतिक उपस्थिति नहुनाले विश्वासको कमी भए पनि अहिले धेरै मानिस डिजिटल प्रेममा रमाएका छन् । यसले सम्बन्ध सिर्जना, विश्वास विकास र सम्बन्धको नवीकरण गरिरहेको छ । यसले अनेकौँ विकल्पसहित विश्वभरका मानिससँग असल सम्बन्ध विकास गर्ने मौका दिएको छ । मौकाको  सदुपयेग गर्नेहरू प्रेमका पुजारी बनेका छन् ।

डिजिटल प्रेमको प्रारम्भिक शुरुआत अनलाइन डेटिङ साइट,  याप्स, सामाजिक सञ्जाल, च्याट फोरम वा गेमिङ प्लेटफर्ममार्फत हुन सक्छ । यो भौतिक बगैँचा वा कुनै गुप्त स्थल जस्तै हो । यहाँ मानिसहरू एकअर्कासँग चिनाजान गर्न सक्छन् । यो साथी बनाउने उत्तम अवसर हो । संसारभरका असल मित्रसँग विचार साटासाट गर्ने अवसर हो । मनमा कलुषित भावना राख्नेहरूका लागि चाहिँ यो ठगी र बेइमानीको बीज हो । असल प्रेमी प्रेमिकाले यही ठाउँमा विषालु बिउ चिन्न सक्नुपर्छ । विष वृक्ष चिन्न नसके  यसले सुन्दर बगैँचाका सबै वृक्षलाई एकैसाथ सखाप पार्न सक्छ । सुन्दर चित्र र मीठा शब्दमा फसेर कैयौँको जीवन असुन्दर बनेको पनि दृष्टान्त छ । मानिस चिनेर प्रेम गर्नु यसको लक्ष्य हो ।

डिजिटल प्लेटफर्मअन्तर्गतका टेक्स्ट म्यासेज, भिडियो कल, इमोजी, गिफ र सोसल मिडिया पोस्टको माध्यमबाट प्रेमी प्रेमिका एकअर्कासँग जोडिएका हुन्छन् । यो डिजिटल प्रेमको दोस्रो चरण हो । यस चरणमा पारदर्शिता र विश्वासको आवश्यकता हुन्छ । सम्बन्धलाई बलियो बनाउन नियमित सञ्चार, इमानदारी र सहयोग आवश्यक हुन्छ । मानिसले मानिस, अरू प्राणी, वनस्पति वा अमूर्त वस्तुसँग प्रेम गर्न सक्छ । पशु र बिरुवाले पनि प्रेम गर्छन् तर मानिसले तिनको प्रेम नबुझ्न सक्छ । प्रेमको अर्थ बिहे गर्ने तयारी मात्र होइन । प्रेम हुनासाथ पतिपत्नीको कल्पना गर्नु अल्लारे प्रेम मात्र हो । यो वर्षे झारभन्दा बढी हुँदैन, हलक्क बढ्छ अनि चाँडै ओइलाएर मर्छ । प्रेम गर्ने प्रेमीप्रेमिका, पतिपत्नीको अर्को रूप पनि होइन । हामी प्रेम गर्ने भिन्न लिङ्गीलाई पतिपत्नीको प्रारम्भिक रूप मान्छौँ तर यो सही होइन । विवाहित र अविवाहित वा विवाहित र विवाहितले पनि प्रेम गर्न सक्छन् । प्रेमले वैवाहिक जीवन र घरबार बिगार्नु हुन्न तर प्रेम सम्बन्धमा विरह र पीडाको साटासाट हुन सक्छ । खुशी र योजनाको साटासाट हुन सक्छ । अझ घरमा एक्लै बस्नुपर्ने र सहाराविहीनका लागि डिजिटल प्रेम आनन्द र सन्तुष्टिको माध्यम पनि हुन सक्छ । सन्तान टाढिएका ज्येष्ठ नागरिकका लागि नजिकको सहारा पाउने आधार पनि हुन सक्छ । कण्ठमा पीडा लुकाएर मर्म भोगेका दीनदुःखीका लागि आँशुको भेल उराल्ने र डाँको छाड्ने माध्यम पनि हुन सक्छ । डिजिटल संसारमा पसेर राम्रो चिनजान नभई आफ्ना वैयक्तिक कुरा साटासाट गर्दा चाहिँ आफ्नै कारणले आफैँ फन्दामा पर्न सकिन्छ । डिजिटल संसारभित्रको अपरिपक्वता गलाको पासो बन्न सक्छ ।

दृष्टि, श्रवण, बोलीजस्ता भावमा भौतिक दूरीले ठूलो असर नपारे पनि स्पर्श चेतानाका दृष्टिले डिजिटल प्रेमले भौतिक दूरीको सामना गर्नुपर्छ । सधैँ भौतिक भेट नहुँदा मन व्याकुल हुन सक्छ । डिजिटल माध्यमले नियमित भेटघाटको योजना बनाउन सकिन्छ । अनलाइन गतिविधिमा सहभागी हुने भई निश्छल भूमिका निर्वाह गरेर पनि आफूलाई सक्रिय राख्न सकिन्छ । यस्ता मानिस  डिजिटल प्रेममा रमाउन सक्छन् । डिजिटल प्रेमीले फेक प्रोफाइल, डाटा गोपनीयता र व्यक्ति पहिचानको समस्यामा भने सचेत हुनपर्छ । यी समस्याको सामना गर्न सतर्कता र सुरक्षित सञ्चारका उपाय अपनाउनुपर्छ । यो सतर्कता अपनाउनेहरू प्रेम सम्बन्धमा सफल हुन्छन् । यिनले अनलाइन प्रेमप्रति सकारात्मक दृष्टिकोण विकास गरी सबैलाई प्रेरित गर्छन् ।

मानसिक र शारीरिक स्वास्थ्यमा प्रतिकूल असर डिजिटल प्रेमका दुष्परिणाम हुन् । डिजिटल प्रेममा अनलाइन च्याट वा सामाजिक मिडियामा बिताउने समयले एकअर्कामा वास्तविक विश्वासको अभाव हुनसक्छ । एकले अर्कासँग झुट बोलेर अर्काको गोप्य खोल्ने सम्भावना पनि त्यति नै रहन्छ । सामाजिक एकान्तका कारणले वास्तविक जीवनमा सामाजिक सम्पर्क घट्न सक्छ । सामाजिक गतिविधि र मित्रसँगको समय घट्दा एकान्त र आत्मग्लानि हुन पनि सक्छ । अनलाइन च्याट वा भिडियो कलमा व्यस्त हुँदा व्यक्तिगत जीवन, काम र अध्ययनमा ध्यान कम हुनसक्छ । यसले काम र क्षमताको प्रदर्शन कमजोर बनाउँछ ।

अनलाइनमा हुने डिजिटल प्रेम वास्तविकताभन्दा फरक हुन्छ । मानिसले रूपाकृति, बोली र वैयक्तिक विवरण छलेर  आफूलाई प्रस्तुत गर्न सक्छन् । यसबाट एकअर्कामा गलत धारणा र आशङ्का पैदा भई प्रेमको वास्तविकता र अपेक्षाबीच  दूरी बढी असहमति पैदा हुन सक्छ । अनलाइन प्लेटफर्ममा व्यक्तिगत जानकारी र संवेदनशील पहिचानको चोरी हुन वा दुरुपयोग हुन सक्छ । यसले सुरक्षा र गोपनीयताको अन्त्य गरी व्यक्तिको वैयक्तिक र सामाजिक मर्यादामा समस्या सिर्जना गर्न सक्छ । लामो समयसम्म डिजिटल माध्यममा संलग्न हुँदा शारीरिक थकान, दृष्टिभ्रम, मानसिक तनाव र निद्रामा गडबडी आउन सक्छ । वास्तविक जीवनमा व्यक्तिगत भेटघाटको कमीले जीवनको मनोरञ्जन पक्ष पनि अपूर्ण हुन्छ ।

भावना, विचार र इच्छाको साटासाट, खुला संवाद र इमानदारी,  विश्वासको निर्माण र नियमित सञ्चार सम्बन्धलाई गहिरो र स्थिर बनाउने असल पक्ष हुन् । समयको अत्यधिक प्रयोग वा अनावश्यक छलफलबाट टाढा रहनु पनि डिजिटल प्रेम सफल पार्ने उत्तम उपाय हो । असमझदारी वा विवादको सामना गर्नु तथा धैर्य र सकारात्मक सोच राख्नु समस्या समाधानको परिपक्व सोच हो । यथार्थ प्रेम वा डिजिटल प्रेम दुवैमा परिपक्वता, समर्पण र धैर्य मुख्य तत्त्व हुन् । प्रेममा धैर्य, इमान र विश्वास हुनुपर्छ । विश्वासले डिजिटल प्रेमको संसारलाई लोभलाग्दो बनाउँछ । म साँचो र लोभलाग्दो प्रेम रुचाउँछु ।