घरबाट निस्कें, विना उद्देश्य, विना गन्तव्य । कहाँ जाने, कता जाने ? थाहा छैन ।

हिजोदेखि मनमा विभिन्न कुराले आकार ग्रहण गरिरहेका थिए, रातमा पनि निदाउँन सकेको थिइनँ । समस्याका चाङले धुरिमाउर गरिरहेका थिए । मन अशान्त थियो । कुनबेला भाले बास्ला र निस्कुँला भन्ने सोचमा थिएँ ।

भालेको पहिलो डाकसँगै निस्किएँ । झिसमिसे बिहान, उज्यालोले धर्ती पोतिँदै थियो । मानिसहरू कार्यक्षेत्रमा जुट्न थालिसकेका थिएनन् । बरु केही महिलाहरू कम्मरमा गाग्री च्यापेर पानी लिन पधेंरोतर्फ लाग्दै गरेको भने देखेँ । मूलबाटोमा पुग्दा पण्डितबा श्रीकृष्णसँग भेट भयो ।

“कता हिडिस् बाबु बिहानै ?”, पण्डितबाले प्रश्न सोधिहाले । मलाई धेरै गह्रुँगो भारी जस्तो पो भयो त्यो प्रश्न । किनकि, मसँग कुनै गन्तव्य थिएन् ।

अल्मलिँदै जवाफ भने दिएँ, “म पनौती बजारसम्म गएर आउँछु गुरु ।”

बिहानै झुठो बोल्नु परेकोमा मन दु:खित भयो । झुठो बोल्ने मेरो आदत छैन । जुन कुरामा झुठो बोल्नपर्छ, त्यसमा प्रवेश नै नगर्ने मेरो बानी छ । जिन्दगीमा कमै बोलिएका झुठमा आज गुरुबासँग बोलिएको झुठ थपियो ।

म उहाँबाट उम्केँ । अघि बढेँ । सोचेँ, मेरो गन्तव्य कहाँ त ! घरबाट भागेर सबै तनावहरू मबाट दूर भाग्छन् त ! अनि फेरि सम्झेँ परिवार । परिवारका सबै सदस्यहरूलाई एक एक सम्झिएँ । उनीहरूको निर्दोष मुहार । मप्रतिको आशावादीपूर्ण अपेक्षा उनीहरूको आँखामा मज्जैले पढेको थिएँ । उफ्, मन झन् दुःखले द्रवित बन्यो । यसले मेरो चेतनाको क्षितिज फरक ढंगले उघारियो । सार्थक जीवनको आधार गन्तव्य बनाउन पर्छ । परिवारका दैनन्दिनी आवश्यकता पूरा गर्ने शर्तको गन्तव्यको खोजी गर्नुपर्छ । मनले आफूलाई पुर्नविचार गर्न भन्यो । “प्रदीप, तँ जुन मार्गबाट परिवारप्रतिका तेरा दायित्वहरू पूरा गर्नसक्छस्, त्यही गन्तव्यतिर दृष्टिगत गरेर हिंड् ।”, मनको सुझाव आयो ।

फेरि मन अघि बढ्यो, जुन मार्गको अर्थ लगायो– “गलत, दिशाहीन, भ्रष्ट भएर चाहिँ हैन है ।”

मैले भनेँ – “हे मन ! जिन्दगीमा यात्रीलाई केवल आफ्नो गन्तव्यसँग मात्र मतलब हुन्छ । कुन साधन, कुन मार्ग, कुन माध्यम ? त्यो तिम्रो सरोकारको विषय हैन ।”

मलाई थाहा छ । जीवनको एकमात्र सास्वत सत्य गन्तव्य मृत्यू हो, जुन मैले जन्मिएकै दिन लिएर आएको छु । मृत्यू मसँगै छ, केवल कतिबेला यो भने घटित हुन्छ भन्ने मेरो वशको कुरा होइन । काम, नाम, पेशा, सबै अस्थायी कुरा हुन् । भोलिको सुख भन्ने कुरा पनि भ्रम बाहेक केही हैन । अहिलेको व्यस्तता भोलिका लागि सञ्चित हुन सक्दैन । मसँग कुनै जादूको छडी छैन जुन केही कुरामा छुवाउनासाथ त्यसको अस्तित्व मेटियोस् वा परिवर्तन होस् । अनिश्चितताको धागोले उनिएको जिन्दगीमा गन्तव्यले के पो लछार्थ्यो । सुपात्र बन्न खोज्नु दुईदिने जिन्दगीमा राम्रो हो, किन कुपात्र बन्नु ? रहर पनि कसैलाई हुँदैन – नकाम गरुँ, नराम्रो बनुँ, अरुको बिगार गरुँ, अरुको भावनामा ठेस पारिदिउँ, कसैले सोच्दैन । फगत यत्ति हो, गन्तव्य सुन्दर रोज्ने नाउँमा धर्तीमा बसेर जून चुम्ने धृष्टता चाहिं कसैले गर्नुहुँदैन ।

यात्राविहीन गन्तव्य हुन्छ ? लक्ष्यविहीन जिन्दगी सजिलो हुन्छ ? – सोच्न मन लाग्छ । मन खेल्छ वयली बनेर । डुल्छ मन यस्तै विविध कुराहरूमा । भावनाहरू उब्जिन्छन् । तर्कनाहरू आउँछन् । गन्तव्य भएन भने जिन्दगी लगामविनाको घोडाको तालमा हुन के बेर ? गन्तव्यको मनोविज्ञानले मलाई राम्रै गाँज्छ । जीवनको सोच सत्मार्ग, उन्नति र प्रगतिको गन्तव्य हुनुपर्छ । जिन्दगीलाई सही दिशामा लैजान गरिने सबै यत्नहरूले मात्र जीवनमा सही दिशाबोध गर्न सम्भव हुन्छ ।

जीवनमा आइपर्ने जस्तोसुकै पीडाहरू सहजै कटुन्, अभावका काला समयहरूले आधिपत्य नजामाउन्, सुखका पलहरूले जीवनमा वर्चश्व कायम गरुन्, दुःखका बाछिटासम्म नपरुन् जिन्दगीमा – कसलाई चाह हुन्न र ! मीठा परिपाकहरू भान्सामा पाकून्, जीवन समथर पाटोमा निस्फिक्री डुलोस्, भीर र अप्ठ्यारोमा नपरोस् – मेरो पनि चाह अरूको जस्तै छ । यस्तै छन् सपनाहरू मैले मनमा सजाएर राखेका । अझ म त ‘सर्वे भवन्तु सुखिन:’को भावमा चल्ने मान्छे । सबैको भलो होस्, राम्रो होस् चाहना मनदेखि राख्छु । यसको निम्ति दरकार पर्ने उही कुरा गन्तव्य । यसको सरोकार उही गन्तव्यसँग हुन्छ । यही हो सुखद जीवन जीउन जरुरत पर्ने कुराको अन्तर्वस्तु । आशाहरू सुखमय बनुन भनेर टुसाउँछन् तर गन्तव्यविहीनताले त्यसमा मलजल पुग्दैन् र अंकुराउन पाउँदैनन् । त्यसैले समयलाई बुझेर, कर्मको भर गरेर अघि बढ्नुको विकल्प रहन्न् । दुई दिनको जिन्दगी, घामछाया हो भनेर मात्र बसियो भने गन्तव्यविहीन हुन के बेर । गन्तव्य नरोजे दुईदिने जीवन पनि दु:खमय जिउन बाध्य हुनुपर्ने रहेछ । हामी पूर्वीयहरू, आफूमात्र हैन्, आफ्ना लागि मात्र हैन् । घर परिवार, आफन्त, इष्टमित्र सबका लागि सोच्छौं र अनावश्यक दु:खी हुन्छौं । यो हाम्रो दर्शन हो । यसैले एकजनाको सुन्दर जिन्दगीले मात्र खुशी हुन सक्दैनौं । परिवारको चिन्ताले कतै न कतै हामीलाई चिमोटिरहँदो छ । घच्घच्याइरहेको छ । यसैले डोर्याइरहेको छ ।

म गन्तव्यविहीन यात्रामा निस्केको मान्छे । माथिका थुप्रै कुराहरूले मेरो मन मष्तिष्कलाई हल्लाउँछन् । फेरि घर फर्कन बाध्य पार्छन् । पहाड फोर्न सक्छु भन्ने अक्करे बल मनमा पैदा गर्छन् । हिम्मत नहार्न मनले साउती गर्छ । जीवनप्रतिको मूल्यवोधलाई म सामु स्पष्ट राख्छन् । मेरो रगतका कणकणमा आफ्नाहरूको मायाको सञ्चार जागृत गराउँछन् । आफ्नाहरूको म प्रतिको आशा अपेक्षा, भरोसा दर्शाउँछन् । अभावको आँशु पिउने रहर कसैलाई हुँदैन । मान्छे र भावनाको साइनो पनि बडो विचित्रको हुने रहेछ । भावनाले मान्छेलाई तान्दोरहेछ । त्यसमा पनि सुखको कामनासहितको भावना जो कोहीको मनमा उब्जिँदो हो । त्यसैले सुखमय भावनासहितको कर्ममा तल्लीन हुनुपर्छ भन्ने भावले मनमा दृढतापूर्वक आसन जमाएपछि एकपटक गहिरो श्वास फेरें । अलिकति उत्तरदायित्व  र जिम्मेवारी बोधले जिन्दगीलाई नयाँ गन्तव्यतिर डोर्याउन खोज्यो । जिन्दगीले अलग्गै उद्देश्यको धरातल खोज्यो । जीवनको अन्तरनिहित सारतत्वको निष्कर्ष थियो – तँ जिम्मेवार छस् । तेरो काधँमा परिवारप्रतिको दायित्व छ । तँप्रति परिवारले देखेको जुन सपना छ त्यसको हत्यारा हुन कदापी पाउँदैनस् । उनीहरूको तँप्रतिको आस्था, भरोसा र विश्वासलाई टुटाउने अधिकार तँमा छैन ।

बेथितिपूर्ण रूपमा घरबाट निस्केको मान्छे; बिनासित्ति वैरागिँदो भत्किएको मन लिएर हिंडेको मान्छे; झण्डै परिवारका सबैको सपनाको हत्यारा बनिसकेको मान्छे; कसरी कसरी अहिले छयाङ्ग खुलेको आकाश जस्तो मन खुलेको छ । जीवनको वैभवता र बाँच्ने धरातलको दिव्यज्ञान प्राप्त भएको छ । जीवनप्रतिको सोचमा बदलाव आएको छ । सकारात्मक भावको सञ्चार भएको छ । जिन्दगी बुझाउन धेरै बल प्रयोग गर्नुपरेन । धेरै दिमाग खियाउनु परेन । जीवन र गन्तव्यबीचमा अन्तरनिहित सारतत्त्व बुझिसकेपछि सक्किगोनी । अब जिन्दगीलाई सन्मार्गमा हिंडाउने हो, पहाडको फेदीमा छु जिन्दगीको सिंगो उकालो चढ्नै बाँकी छ । जोश, जागर, उर्जाको त्रिवेणीको डोरी समाएर चढ्ने हो उचाई । त्यो उचाई चुम्ने हो गन्तव्यको जहाँ पुग्दा प्राप्ति हुनेछ परिवारको सुख अनि मेरो जीवनको सन्तुष्टि । समयको गतिशीलतामा आफूलाई ढाल्ने हो । निराशा र उदासीपन फाल्ने हो । यति भएपछि सायद मुसार्छ सुखले जीवन ।

म फर्किंदै छु आफ्नै थातथलोतिर । मेरो फर्काइमा खुशीले पुलकित भएर मुस्कुराइरहेछ दन्तैलहर खोलेर हिमाल । उस्तै एकटक खुशीले हेरिरहेछ नागीडाँडा । त्यो हिमशैल र डाँडाले एकै स्वरमा भनेजस्तो भान पर्छ – ‘प्रदीप, दृढनिश्चयका साथ अगाडि बढ् । असम्भव केही छैन । तिमी सक्छौ । जीवनको यथार्थता बुझेपछि गन्तव्यको लय पक्डन सजिलो पर्छ । उज्यालोको आशावादीतामा जीवनको मोह जगाउ मित्र ।’ कति मुक्त भावको उत्ताल भावना व्यक्त गरे तिनले । मैले वर्षाैंदेखि हेर्दै आएको हिमाल र चढ्दै आएको डाँडाले मेरो पदचाप पहिचान नगर्ने कुरै भएन । उनीहरू पनि खुशीले पुलकित भएको पाएँ मेरो घर फर्काइमा । यसमा उनीहरूको हार्दिकता देखें । नमन गरें मैले त्यो सौहार्दताको निम्ति उनीहरूलाई ।

वास्तवमै जीवनको मोह जागृत भयो मलाई । जीवनको सौन्दर्यको बोध भयो । अलिअलि दुःख पनि लाग्यो कि झण्डै जीवनप्रतिको मोहभंग भएछ भनेर । अनि फेरि आफ्नासँग वियोगिन खोजेको रहेछु भनेर । जीवनको गन्तव्यलाई संघर्षमा जोड्न पर्छ भन्ने भावना मनमा उब्जिँदा भने बडो आनन्द महसूस भयो । कति छिटो मेरो चक्षुले ठम्यायो जिम्मेवार बन भनेर । कति चाँडो ह्रदयमा आफ्ना प्रतिको प्रेमको टुसा पलायो । यो कुरामा मन कन्भिन्स भो कि जिन्दगी पीडामा मात्र नहेर्नु, अभावमा मात्र नबुझ्नु, अलिक मिहेनत भयो भने, अलिकतिमात्र जिम्मेवारीको बोध भयो भने त्यहाँ आनन्दै आनन्द पाइन्छ । सुखै सुख मिल्छ । आहा ! आजको बिहान, अविस्मरणीय भएर रहने भयो जिन्दगीमा ।

म घर फर्कंदै छु । अहिले अलिअलि उकालो चढ्दै छु । चौतारो समिपमा छ । म फर्केको देखेर खुशी भएको छ । यो चौतारो कैयन् पटक फरक मार्न बसेको ठाउँ । स्कूल जाँदा होस् या आउँदा, बजार जाँदा होस् या फर्किंदा, खेतबाट धानको बोरा लिएर आउँदा होस् या परालको भारी, जहिल्यै सुखदु:खमा साथ छ यसको । ‘आत्मीय मित्र, आयौं तिमी फर्केर? सही निर्णय गरेउ । आफूलाई बल्ल चिन्यौ । तिमीलाई कसैले रोक्न सक्दैन सुखद गन्तव्य पहिल्याउन ।’ चौतारोको भावले मनै द्रवित बनायो ।

अब तेर्सोबाटो लाग्नुपर्छ घरतिर जान । पर चौबीसै घण्टा अहोरात्र बगिरहने मूलको धारो छ । त्यहाँ गएर अँजुली थाप्दै पानी पिएँ । धारोले पनि कलकल गर्दै मेरो निर्णयको संकेतात्मक भावमा स्वागत गरेको जस्तो भान पर्यो । ‘मैले भनिरहन परोइन, तिमी धेरै बुझ्ने छौ । जीवनको नयाँ गन्तव्य पहिल्याएर अघि बढ । त्यसमै तिम्रो भलाई छ । ’ धाराको अभिव्यक्तिले मेरो मन द्रवित बनायो ।

पर चिवेचरा पुच्छर हल्लाउँदै सुसेल्दैछ । उसको संगीतमय स्वरले मलाई हार्दिकता दिएको भान पर्छ – ‘रुमानी कल्पनामा नडुब मित्र । निराशामा नडराउ । हिम्मत गर । भगवानले पनि भन्छन् रे तँ आँट म पुर्याउँला । जीवनमा यो मायावी संसारभन्दा पर केही गन्तव्य हुन्न् । आफ्नाले हो गर्ने, आफ्नालाई हो हेर्ने । उमंग र उत्साह साथमा भयो भने दुनियाँमा तिमीले सजिलै गन्तव्य प्राप्त गर्न सक्छौ ।’ मैले उसको यो भावले पछुतो महसूस गरें । मलाई चिन्ने सबैको मप्रतिको सदासहायताप्रति नतमस्तक बनें ।

कहाँ अड्केको गन्तव्यविहीन म । कति धेरै निराश भएको, कति धेरै पथरहित थिएँ । उद्देश्यको अस्पष्टताभित्र कुहिरोको काग जस्तै रुमुल्लिइरहेको थिएँ । कति झस्किएँ बेस्सरी म । कति टोलाएँ । कति यो गरुँ कि त्यो को दोधारमा परें । असजिलो, अप्यारो, निराशा, अन्धकार र अभावग्रस्त रूपमा जीवनलाई बुझेर पलायन भएको थिएँ । जीवनको कस्तो विचित्र मोडबाट गुज्रिएको थिएँ । मेरो मन मन जस्तो थिएन् । शरीर आफ्नो जस्तो लाग्थेन् । जीवनप्रतिको मोहभंग हुँदै गैसकेको थियो तर गन्तव्य पहिल्याउन कोही चाहिएन । आफ्नै मन काफी भो । मनले सहजै कोल्टे फेर्यो । एकातिर पारिवारिक मायामोहको रेशमी चाहले लोभ्यायो अर्कोतिर आफू र आफ्नाको भविष्यप्रतिको चिन्ताले सतायो र जिन्दगी सुखद गन्तव्यको खोजीमा लयमा फर्किन चाह्यो ।

घर पुगें । आमा तुलसीको मोठमा पूजा गर्दै हुनुहुन्थ्यो । बूढी गोठमा गाईबस्तु स्याहार्दै थिइन् । बुबा फलैंचामा बसेर हुक्का ट्वार ट्वार तान्दै हुनुहुन्थ्यो । म सरासर गएँ र फुत्त झोला बिसाएर पिँढीमा बिछ्याइएको चकटीमा टुसुक्क बसें । जिन्दगीको गन्तव्यको खोजीले मलाई आज सही मार्गनिर्देश गरेकोमा एकातिर खुशीले मन पुलकित थियो मेरो भने अर्कोतिर बिना कुनै कारण घरबाट निस्केकोमा अलिकति लज्जाबोध पनि ।