
जसको प्रेरणाले म यो निबन्ध लेख्दै छु उहाँ हुनुहुन्छ, बेचुकाका ।
बेचुकाका लेखनदास हुनुहुन्थ्यो । शनिवार अथवा फुर्सदको बेलामा मात्र तास खेल्ने गर्नुहुन्थ्यो । तास खेलेपछि जित्नुहार्नु स्वाभाविकै हो । गोविन्दकाका क्यान्सरको बिरामी हुदाको कुरा हो यो । उहाँको अन्तिम अवस्था भएको हुँदा हेर्न बुझ्न र घर परिवारकालाई सान्त्वना दिन गाउँसमाजका हामी त्यो घरमा जाने गथ्र्यौं । त्यो घरमा सान्त्वना दिने मानिसहरूको जमघट भएपछि तासको खेल हुनु त स्वाभाविक नै हो ।
एकदिनको कुरा हो, बेचुकाकाले नराम्ररी हार्नुभएको रहेछ । उहाँमा क्रोध निकै बढ्यो । तास खेल्ने अवगुण हो, त्यसमाथि क्रोधित हुनु त राम्रो होइन । ७६ वर्षका बूढाले त्यहाँ भएको तास च्यातचुत परिदिनुभयो । “अब हम किजात तास नखेलम्, गौ मारी पाप, हम किरिया खैली एक नखेलम्, दु नखेलम्, तीन नखेलम्” भन्दै अब आइन्दा तास नखेल्ने किरिया खाएर खुट्टा बजार्दै बेचुकाका त्यहाँबाट निस्कनुभयो ।
सम्पूर्ण कुलतबाट मुक्ति पाएर हलुङ्गो बनेको झैँ देखिनुभएथ्यो, बेचुकाका । उहाँ बिरामी हेर्न आउनुहुन्थ्यो, केहीबेर भलाकुसारी गर्नुहुन्थ्याे, र फर्कनुहुन्थ्यो । पाँचौँ दिन भने उहाँ तास खेलिरहेको ठाउँमा टुसुक्क बस्नुभयो तर खेल्नु भएन ।
छैठौँ दिन एकजना केटालाई “बउआ हट् त हमरा के तनी खेले दे ।” भन्नुभयो । खेलाडी मध्येकै एकजनाले “काका अपने त किरिया खाइले रहि तास नखेलम् कहके” भन्यो । बेचुकाका पड्कनुभयो— “कैसन किरिया, जन्म देवेवाला माइबापके किरिया त तेह्र दिनमे पूरा होजाला तासके किरिया त तेर घण्टामे पूरा होगेल् । किरिया किरिया कहके काहे रट लगारहल् छे रे, छौडा ।”
….
पूर्व-पश्चिम राजमार्गमा जन्ती बोकेको बस गुडिरहेको थियो । एकजना भलादमी पाराका जन्ती छटपटिँदै बरबराउँदै थिए — “चुरोटको अम्मल पनि कस्तो, छाड्नै नसकिने !” ती मानिसले चार पटक चुरोट हातमा लिए तर सल्काउने आँट गर्न सकेका थिएनन् । बसमा उनले मान्नु पर्ने पाँच जना थिए । पन्ध्र जना जति महिलाहरू पनि थिए ।
हेरेँ, आपसमा रमाइरहेका युवाहरू पनि बीस जना जति पाए । सार्वजनिक स्थानमा व्यक्तिको चाहनाले धूम्रपान गर्न पाइन्न । धूम्रपान जहाँ गरिनुपर्ने हो त्यहाँ गरिँदा अन्यको स्वास्थ्यमा नकारात्मक असर पर्दैन । जहाँ नपिउँदा वातावरण स्वच्छ हुन्छ, त्यहाँ नपिएकै राम्रो । तब यो अम्मलको छटपटी किन ? जबरजस्ती धूम्रपान गर्न खोज्दा समस्या बेहोर्न पर्ने पनि हुन सक्छ । जहाँ पनि दुई किसिमका मानिस हुन्छन् । कुलतमा लागेका र यसबाट बचेका । ती अम्मलीकै छेउमा बसेका साथीले बसभित्र चुरोट नखान प्रष्ट शब्दमा भनेका थिए । तर चुरोटको तलतलले ती भलादमी ब्याकुल बनेका छन् । तीनले निधारमा आएका पसिना पुछे । फेरि बसमा रहेका जन्तीहरूमा नजर दौडाए, कुनै अर्को पनि चुरोटको तलतलले पिरोलिएको छ कि भनेर । तर पाएनन् । अन्त्यमा केही नलागे पछि उनले एउटै सिटमा बसेका साथीसामु मुख खोले, — “मलाई झ्यालमा बस्न देऊ, चुरोटको तलतल मेट्छु ।”
साथीले सम्झाउने भावमा भने— “ठीक छ बस, तर चुरोट भने नखाऊ ।”
ओहो, कस्तो सहयोग । चुरोटको अम्मलले सताएको साथीलाई चुरोट नखा ? चुरोटको धूवाँ झ्यालबाट बाहिर फाले पनि गन्ध त भित्र पस्छ । चुरोटको गन्ध मन नपराउने, सहन नसक्ने जमातमा एक व्यक्तिको अम्मलका खातिर प्रदूषण फैलाउनु पनि त राम्रो भएन !
साथीले चुरोटका अम्मलीलाई हेरे र भने— “त्यसो भए बस रोक्न भनूँ, तिम्रो अम्मलका लागि ?”
“नाइँ ।”
“चुरोट माडमुड पारेर मुखमा हाल ।”
“धूवाँ मात्र लिने गर्छु ।”
“धन्यवाद, तपाईँले बुझ्न पाउनुभयो चुरोटले दिएको पीडा ।”
“होइन ।”
……
…
एउटा प्रसङ्ग अर्को छ । कुरो अचम्मकै छ तर चुरोटको चाहिँ होइन ।
एकजना मित्रको वचन राख्न एकपटक ओमशान्तिको शिविरमा जाने मौका जुर्यो । पुस्तकालयको ठूलो हल, मोटो गद्दामा सेतो तन्ना बिछ्याइएको थियो । म खालि स्थान खोजेर अर्ध-पद्यासनमा बसेँ । वाचक ओमशान्तिकी दिदीले मधुर वाणीमा ब्रह्माण्डबारे जानकारी गराउँदै हुनुहुन्थ्यो । भित्तामा अडेस लाएर बसेका एक जना मानिस बडो चलमलाइरहेका थिए ।
अस्वाभाविक क्रियाकलाप देखाएको हुँदा म उनीतर्फ आकर्षित भएँ । उनको छेउमा गएर कानमा विस्तारै सोधेँ, “कुनै असुविधा छ कि ?” अस्वाभाविक क्रियाकलाप गरेकासँग दया वा विद्रोह गरिन्छ । त्यस्ताले आफ्नो क्रियाकलाप लुकाउन खोज्छ तर जतिसुकै लुकाउँदा पनि लुकाउन सक्दैन । उसले भन्नसक्छ – मेरो क्रियाकलाप अर्थात् बानी मेरो आफ्नै हो । प्रत्येकको क्रियाकलाप सभ्यता र संस्कारमा जेलिएको हुन्छ ।
मेरो सोधाइमा “छैन” त भने तर व्यवहार पहिलेझैँ नै थियो । उसलाई के भएको हो ? मनैबाट जान्न चाहेँ । उनले यथार्थ बताए, “मुखमा सुर्ती छ, पिक (थुक) फाल्ने ठाउँ नपाएर यताउती हेरेको … ।”
असहाय भएपछि सबैको नजर बचाएर गद्दा उल्टाएर फाले उनले । ती महाशयका क्रियाकलाप ओमशान्ति दिदीका नजरबाट लुकेका रहेनछ । उहाँले सहानुभूति देखाउनुभयो । तर म ती सुर्ती भलादमीको त्यस अवस्थाको वर्णन कसरी गरौँ ? उसको यथार्थ थाहा पाएपछि सबैजना हाँसे, मन्दमन्द । तर वास्तविकतामा उनी जस्तै अरुहरू पनि कुनै न कुनै अम्मलका दास पक्कै छन् । हामी बिर्सने गर्छौँ, आफूले साँचेको अम्मलले कुनै दिन दुःख दिन्छ भनेर ।
ती सुर्ती भलादमीले हलमा प्रवेश गर्नुअघि एक नम्बरको सरैसाको कण्ठा सुर्ती खाएका रहेछन् । उम्दा सुर्ती पाएको हुँदा फाल्न मन लागेनछ तर सत्संग शुरू हुनासाथ सुर्तीले करामात देखाउन थाल्यो । दुईपटकको पिक रुमालमा थापी बगलीमा हालेछन् । तर पुनः मुखभरि पिक भएपछि, कुनै उपाय नपाएपछि गद्दा उल्टाएका रहेछन् । उनका लागि अम्मलको सहारामा चलेको जिन्दगी लज्जास्पद् बन्यो । ज्ञान प्राप्ति हेतु गएका सबैको उपहासको पात्र बने ।
यस्ता अम्मली पनि पाएको छु जसले अम्मलका लागि ज्यान जोखिममा पारेका छन् । मेरो एकजना दाजु छन्, पानको एकदम शौखिन । जहाँ गए पनि पान खानै पर्ने । भात खाएपछि कुनै पनि अवस्थामा पान खानै पर्ने ।
सङ्कटकालको कुरा हो । बाहिरबाट भर्खर भर्खर आएका थिए । भात खाइसक्दा साँझ रात बनिसकेको थियो । घरका मानिसले रोक्दारोक्दै पान खान घरबाट निस्किएँ । बन्द गर्न लागेको एउटा पानपसल बल्लतल्ल फेला पारे । आफ्नो रूचि अनुसारको पान बनाउन लगाएर खाए । मस्तसँग फर्किए । बाटामा गस्तीमा हिँडेका सुरक्षाकर्मीको फन्दामा परे ।
अपशब्द सुन्नु त सामान्य कुरा, बन्दुक तेर्साएर खट्याक खट्याक गर्दा दाजुको आधा प्राण निस्केको थियो रे । आफू निजामती कर्मचारी भएको परिचय र आउनाको कारण बताउए । त्यसपछि उनी सुरक्षा कस्टडीमा त परेनन् तर पच्चीस पटक कान समातेर उठबस भने गराएरै छाडे । यस्तो समस्या पर्न सक्छ भन्ने ज्ञान नभएको होइन, पानको अम्मलले उनले कष्ट बेहोर्नु परेको हो ।
उनकै अर्को घटना त झन गज्जबको छ ।
गौर मालपोत कार्यालयमा द्वन्द्वरत माओवादीले बमविस्फोट गराएको १५ दिन जति भएको थियो । समयमै साइकल चढी पान खान निस्किएका थिए, पानप्रेमी दाजु । सेनाको डरले पसलहरू चाँडै बन्द भएको हुँदा पान खान पाएनन् । गाउँघरमा फुफाजू भनेर बोलाइने बादशाह नाम गरेका पानपसलेलाई अनुरोध गरी पान बनाउन लगाए, र खाएरै छाडे । घडी हेरे, कर्फ्यु लाग्न करीब दुई घण्टा बाँकी थियो ।
चिसो घट्दै थियो, साइकलमा सैर गर्न थाले सुनसान सडकमा । जर्दा पानको मस्तीमा गुनगुनाउँदै विस्तारै साइकल हाँक्दै घरतर्फ हिँडे । साइकल सुस्तसुस्त दगुरेको एक घण्टा बितिसकेको थियो । अदालत भवनको सुरक्षार्थ बसेको सेनाले “हल्ट” भनेपछि यथार्थको धरातलमा आइपुगे पानप्रेमी दाजु । कर्फ्यु लाग्न पच्चीस-तीस मिनेट बाँकी नै थियो तर शाही शासनको सेना न ठहर्थ्यो, घोक्राउँदै, पिट्दै लगिहाल्यो – शाही आशीर्वाद दिँदै । भोलिपल्ट कर्मचारी मेजरले परिचयपत्र हेरेपछि हप्काउँदै समयमै घर जानु, बाहिर ननिस्कनु भन्ने पाठ पढाएर छाडिदियो ।
अम्मलले सधैँ अप्ठेरोमा पार्छ, यो कुरा त मान्नै पर्दछ । अल्कोहलप्रेमी भेट्टाएको छु, नालीमा मुख जोतेको । कुकुरले रद्दी वस्तु ठानी तुर्क्याइदिएको । चाहिँदो नचाहिँदो बोलेर झगडा निम्त्याएको । अम्मलीले भन्न सक्दछ — “मैले होइन, अम्मलले गराएको हो ।” अम्मलका वशमा परेकाहरूले सहजै यस्तो भन्न सम्भव छ ।
अम्मलीहरू अल्छी हुन्छन् । समाज बहिस्कृत हुन्छन् । सहयोग पाउँदैनन् । यस कारण अमर्यादित हुन्छन्, सभ्य समाजले रुचाएको हुँदैन । यस मानसिकताको व्यूह भत्काउन सक्यो भने मात्र अम्मल त्यागेर सहज बन्न सकिन्छ । अन्यथा सहजतालाई अम्मलीहरू अशिक्षा र असभ्य भन्ने गर्छन् ।
अम्मलीहरू इष्टमित्रलाई टाढा भगाउने गर्छन् । धनसम्पत्ति मात्र होइन आफ्नो स्वास्थ्य पनि बिगार्छन् । भन्ने गर्छन्, “गम भुल्न र पीडा लुकाउन पिउन शुरु गरेँ । कहिले म रक्सीको दास बन्न पुगेँ, थाहै भएन । सूर्यास्त भएपछि छटपटाउने गर्छु, रक्सीको नशामा मात्र मुक्ति पाउँछु । यथार्थमा नशामा हराउने गर्छु ।”
गाजाका अम्मलीहरू त्यस्तै समाज खोजी हिँड्छन् । त्यहाँ समाजले राम्रो नजरले नहेरेकाहरूको जमघट हुने गर्छ । उनीहरू धुँवामा जीवन विसर्जित गर्छन् । आरम्भमा त चुरोट भरेर गाँजाको नशा लिन्छन् । गाँजाको नसाले चिलिम समात्न लगाउँछ । दिमाग सधैँ नशाका लागि लालायित हुन्छ । श्रम गर्ने जाँगर हराउँदै जान्छ । दमखोकीले पछ्याउँछ । गाँजाको अम्मलले उनीहरूका लागि चाँडै बुढ्यौली ल्याउने साधन बन्छ । यो कुरा पक्का हो ।
अम्मलले दिने तुष्टि के जीवनोपयोगी हो त ? जीवन प्रगती पथमा लगाउन अम्मलले महत्वपूर्ण भूमिका निभाउँछ त ? भाङको गोला सेवन गर्नेहरू भन्ने गर्छन्, नशा सात्विक भयो भने मात्र समाजको मङ्गल हुन्छ । भाङ, गाँजा खानेहरू झगडालु स्वभावका हुँदैनन् । अल्कोहल सेवनकर्ता अधिकांश झगडालु स्वभावका हुन्छन् । व्यक्तिको स्वभाव अनुसार अम्मल चयन गर्ने गरिन्छ । समाज र सङ्गतले अम्मल चयन गर्ने गरिन्छ । शान बढाउन नशा, पान खानु प्रवृत्ति बनिसकेको छ समाजमा ।
अम्मलको प्रतिकार/विरोध गर्न सकिँदैन, र त चुनौती छ । अक्सर पाइने गरेझैँ चुरोटका अम्मली जन्तीको बसमा भेट्टिएका भलादमीले चुरोट झ्यालबाट फालेर सबैलाई साक्षी मानेर “अबदेखि चुरोट नखाने” किरिया खाए । किरिया खानु एउटा कुरा हो, पालन गर्नु अर्को । सज्जन चुरोटका आसक्त थिए ।
चुरोट भक्त थिए मेरो बाल्यकालको मित्र, भलादमी बनी टोपल्थे । कुलतले गर्दा चुरोटको तलतल लाग्यो कि उनी ट्वाइलेट जाने गर्छन् रे अचेल ।
नैतिकताको कुरा गर्ने हो भने ओमशान्ति शिविरमा लज्जित भएकाले सुर्ती खानु त के मुखै नहेर्नुपर्ने हो, तर उनले आफ्नो कुलतलाई लगाम लगाउन सकेनन् । पान खाएर शान सम्झनेहरूको कमि छैन । पानमा हालिने केमिकलयुक्त गुट्का र सुर्तीले मुख, घाँटी, गिजा, जिब्रोमा क्यान्सर हुनेगरेको पानको खानी भारतका पत्रपत्रिकामा बरोबर पढ्न पाइन्थ्यो । अचेल त हाते साधनले हेर्न नै पाइन्छ ।
मलाई थाहा छ, कुलतमा लागेकाहरू बरोबर किरिया खाने गर्छन् । भन्छन्, “मैले ज्ञान प्राप्त गरें अब कहिल्यै गाँजाको सेवन गर्दिनँ । कसैले जतिसुकै कर गरोस् अब म भाङ खान्नँ ।” – अल्कोहल पिउँछ वा अल्कोहलले पिउँछ— यसको सही जवाफ मैले पाउन सकेको छैन । मेरो थुप्रै साथी मस्तसँग अल्कोहल पिउने गर्छन् । कतिपयलाई अल्कोहलले अर्कै लोकमा लगिसक्यो । कसले कसलाई पियो ? म भन्न सक्तिनँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

