
अहिले हिउँदे हिउँको सौन्दर्यले प्रकृति मुस्कानभरि खुशीमा रमाइरहेछ । यही प्रफुल्लित आभास प्रकृतिप्रेमीलाई सम्प्रेषित गर्दै आफ्नो सौन्दर्य रसास्वादन गर्न आमन्त्रण गरिरहेछ ।
हिउँदको आगमनसँगै प्रकृतिले आफ्नो रूप झनै निखार्छ । हिमालका चुचुरोहरूमा सेतो सिरक ओढिएको झैं लाग्छ । जमिन, घरका छाना, रुखका हाँगाहरूमा चाँदीका थोपाहरू तप्किएको आभास हुन्छ । हिउँले ढाकेको भू–भागमा सुखद् शान्तिको आभास हुन्छ । यसले मनलाई आनन्दले भरिदिन्छ । हिउँ परेपछि हिउँको सौन्दर्यले सर्वत्र ढाकिदिन्छ ।
हिउँदलाई ‘शिशिर ऋतु’ भनिन्छ । यो नेपालमा विशेषतः पौष र माघ महिनामा पर्छ । शिशिर ऋतु ठण्डीयुक्त मौसम हो । यस समय तापक्रम धेरै कम हुन्छ, हावा सुख्खा र चिसो चल्छ । हिमपात हुन्छ । यो समय खेतीपातीका लागि आराम गर्ने र चिसोबाट बच्न न्यानो कपडा लगाउने गरिन्छ ।
यस ऋतुको सौन्दर्य मात्र दृश्यमा सीमित हुँदैन । यसले प्रकृतिप्रेमीहरूको हृदयमा जीवनको रस थप्ने अद्वितीय शक्ति बोकेको हुन्छ । हिउँको चिसो स्पर्शले आत्मालाई ताजा बनाउँछ । आँखाले देखेको सेतो संसारले मनलाई काव्यमय बनाउँछ । यसले मानिसलाई दैनिक जीवनको चटारोबाट टाढा राखेर प्राकृतिक आनन्दको संसारमा लगिदिन्छ ।
हिउँदमा घामले पारिलो मुस्कान बाँड्दा त्यसको झल्को हिउँमा पर्छ । त्यो झल्को हेर्दा लाग्छ प्रकृति आफैं खुशीको उत्सव मनाइरहेछ । मानौं, यो सौन्दर्यले हामीलाई बोलाइरहेछ– ‘आऊ, मेरो सुन्दरताको रसास्वादन गर, मेरो हृदयमा डुब ।’
यसैले त हिउँद ऋतु मात्र होइन, यो एउटा ‘काव्यमय’ समय हो । हिउँ सौन्दर्यको ‘काव्योत्सव’ हो ।
जति समय बित्दै जान्छ, हिउँको यो चमत्कारी सौन्दर्य पनि विस्तारै बिलाउन थाल्छ । तर यसको प्रभाव भने हरेकको मनमा गहिरो छाप छोडेर जान्छ । प्रकृतिले दिएको यो अमूल्य उपहार हाम्रो मनलाई सधैं ताजा राख्ने प्रेरणाको स्रोत हो ।
हिउँदको हिउँको सौन्दर्य दृश्यमय अनुभूति हो । एक कविता हो, एक यस्तो कथा हो, जुन प्रकृतिले हाम्रो लागि लेखेको छ । यसको सौन्दर्यमा डुबेर आत्मालाई शान्ति दिनु, शायद जीवनको सच्चा आनन्द यही हो । साँचो अर्थमा सौन्दर्यपान यही हो ।
हिउँदे यामको आगमनसँगै प्रकृतिले नयाँ रूप धारण गर्छ । बिस्तारै शीतलहरको चिसोले वातावरणलाई घेर्दै लान्छ । बिहानको हुस्सुले आकाश र धरतीलाई कुहिरोको खास्टोले ढाकेको जस्तो देखिन्छ । यही याममा हिमाली र पहाडी क्षेत्रमा हिमपात प्रारम्भ हुन थाल्छ । हिउँदे हिउँको सौन्दर्यले सुन्दर प्रकृतिलाई झन् सुन्दर स्वरूपमा सिँगारिदिन्छ ।
सगरमाथाको भूमि नेपालमा हिमाली सौन्दर्यको अनुपम छटा प्रस्तुत हुन्छ । संसारकै सर्वोच्च शिखर सगरमाथा आफ्नो हिमाच्छादित शिर उचालेर पर्यटकलाई स्वागत गरिरहेको हुन्छ । अरू हिमालसँगै पहाडहरूमा पनि हिउँ परेर सबै हिमालमा परिणत भएका हुन्छन् ।
नेपाल एक यस्तो भूमि, जसले हिमाललाई अँगालोमा बाँधेर प्रेमको कथा लेखिरहेको हुन्छ । यहाँका चिसा बरफजस्ता तर शीतल हिमालले प्राकृतिक सौन्दर्य मात्र प्रदान गर्दैनन्, विश्वका अनगन्ती पर्यटकलाई मनमोहक क्षण दिने गन्तव्य पनि बनिरहेका हुन्छन् । हिउँदे याममा जब विदेशी पर्यटकहरू नेपालको धरातलमा पाइला टेक्छन्, उनीहरूको आँखा हिमालको काखमा रम्न स्वतः व्यग्र देखिन्छ ।
हिउँ हेर्ने चाहनाले तिनको मनमा उत्साह भरिएको हुन्छ । पदयात्रा र पर्वतारोहणको कठीन यात्रामा चिसोले पनि ती पर्यटकहरूको मनोबललाई कमजोर पार्न सक्दैन । उनीहरू चार हजार मिटरमाथिको उचाइमा कठिन पदयात्रा गर्दै हिउँका चिसो तर न्यानो र चम्किला दृश्यसँग साक्षात्कार गर्छन् । त्यहाँको हिउँले बिर्साइदिन्छ सबै थकाइ र दुःख । उनीहरूको अनुहारमा मुस्कानको चमक हुन्छ, जुन हिउँजस्तै पवित्र र चम्किलो लाग्छ । म आफैंले पनि प्रत्यक्ष अनुभव सँगाल्न सकेकोले यी अनुभूतिहरू लेखिरहेको छु ।
अन्ततः नेपालका हिमाली काखले मात्र विदेशी पर्यटकलाई होइन, यहाँका स्थानीयलाई पनि गर्वको अनुभूति गराउँछ । ती हिमालमा बगेको हिउँदको शीतल हावा र शीतलहरले सारा विश्वलाई एक नयाँ अनुभव दिन्छ । हिउँले ढाकेको भूमिलाई हेर्दा मानौँ, प्रकृतिले आफ्नो सुन्दरताको अनुपम सिर्जना गरेको छ ।
नेपालको हिमालले जनजीवन मात्र नभएर साहित्य, कला र संस्कृतिलाई पनि प्रेरणा प्रदान गरेको हुन्छ । कविहरूले यहाँको हिमाललाई कवितामा उनेका छन् । चित्रकारहरूले हिमाललाई क्यानभासमा सजाएका छन् । हिउँको सौन्दर्य नपग्लिने सम्झनाको हिमाल हाम्रो मनमा खडा गरिदिन्छ ।
यसरी हिउँ, हिमाल र शीतलहरको यो अनुपम संगम नेपालका लागि मात्र होइन, सारा विश्वका लागि अनुपम उपहार हो । हिउँदे हिउँले हाम्रो जीवनलाई शीतलतासँगै सौन्दर्यको पाठ पढाउँछ । हिउँले भित्रिएको हर चिसोमा एउटा विशेष मिठास हुन्छ, जो हिउँमा पाइला राख्ने हर मनमा बस्छ ।
वास्तवमा हिउँको सौन्दर्य आँखाले हेर्ने विषयसँगै यो हृदयले महसूस गर्ने कला पनि हो । यसले प्रकृतिप्रति प्रेम र सम्मानको भावना जगाउँछ । यसको शीतलता, यसको उज्यालोपन र यसको शान्तिले हामीलाई प्रकृतिसँग गहिरो सम्बन्ध स्थापित गर्न सिकाउँछ । हिउँको सौन्दर्यले सधैं मानिसको मनलाई ऊर्जाशील पार्न प्रेरित गरिरहन्छ ।
प्रकृतिले सृष्टिलाई अनेक रूप, रङ र रूपान्तरण दिएर सिँगारेको छ । ती सबैमध्ये, प्रकृतिको सुन्दर उपहार हो हिउँ । यसले धरतीलाई चाँदीजस्तै सफा र न्यानो ओढ्नेमा आफ्नोपनको नयाँ परिभाषा दिन्छ ।
यसै हिउँसँगको न्यानो सम्बन्ध र सौन्दर्यको प्रतीक बनेर हिउँयात्रा हरेक प्राकृतिक प्रेमीको मन–मस्तिष्कमा गहिरो स्थान ओगट्छ ।
हिउँयात्रा, यो हिमालको आरोहण मात्र होइन पहाडको रोमाञ्चक पदयात्रा पनि हो । यो आफ्नै मनको गहिराइमा डुबुल्की मार्ने यात्रासमेत हो । हिउँले ढाकिएको भूगोल ! मानौं, समयले आफ्नो गति रोकेर एकान्तमा रमाउने बहाना बनाएको हुन्छ ।
हिउँ आफैँमा एउटा रहस्य हो । यसको शीतलता र सौन्दर्यबीच लुकेको सन्देश भनेको शान्ति र नवीनताको हो । हिउँले हामीलाई आत्मविश्लेषणको निम्तो दिन्छ । यसले सिकाउँछ– एकअर्काको सहयोग र सामूहिकता बिना यो कठीन यात्रा सम्भव छैन । त्यस्तै जीवनका संघर्षहरू पार गर्न पनि सहयोग अपरिहार्य हुन्छ ।
हिउँयात्रा एउटा पृथक् अनुभव हो । हिउँ–स्मृतिको यो यौटा भव्य खजानासमेत हो । हिउँको सौन्दर्यमा रमाएका सम्झना सधैँ ताजा रहन्छन् । यो यात्रा मानौं आत्माको कुनै सुमधुर संगीत हो । यसले जीवनभरि गुञ्जिरहने आनन्द प्रदान गर्छ ।
हिउँसँगको यो रमाइलो सम्बन्ध, जीवनका नयाँ आयामहरू पत्ता लगाउने अवसर हो । हिउँयात्रा पहाड चढ्नु होइन, प्रकृति र आफ्नै हृदयसँग सामीप्य स्थापित गर्ने अनुपम अवसर हो । हिउँले दिन्छ चिसो तथापि जीवनलाई एउटा न्यानो मायाको आभास चखाउँछ । यो सम्झनायोग्य, सुमधुर र सधैंभरि प्रिय रहने एक अविस्मरणीय यात्रा हो ।
जीवनको कुनै क्षण प्रकृतिसँग यति नजिक जान सकिन्छ कि ती क्षणहरू सदा अमर बनिदिन्छन् । हिउँको चुम्बकीय आकर्षण र त्यसले सिर्जना गर्ने अनौठो शान्तिले मानिसको मनमा यौटा विचट्टकै मीठो आनन्द प्रदान गर्छ । हिउँदे हिउँसँग हातेमालो गर्दै हिउँयात्रा गर्नु प्रकृतिको काखमा रमाउनु मात्र होइन, आत्माको गहिराइसम्म प्रकृतिको संगीतको धुन घोल्नु पनि हो ।
हिउँको स्पर्शले जीवनको क्षणिकताबारे पनि पाठ पढाउँछ– हिउँझैं जीवन क्षणिक छ । तर यसको सौन्दर्य र महत्त्व गहिरो छ । हिउँले आफूलाई स्वच्छ, निर्दोष र न्यानो प्रेमको प्रतीक बनाएको हुन्छ । त्यो अनुभवले हरेक हिउँप्रेमीलाई बाँधिराखेको हुन्छ ।
प्रकृतिको यो अनुपम कृति हिउँ र हिउँको सौन्दर्य । वातावरणीय सौन्दर्यको नमूना मात्र होइन; यो मानव हृदयको गहिराइसम्म पुगेर प्रेरणा दिने स्रोत हो । हिउँले जीवनको यात्रामा दुःख–सुख, उतार–चढाव, चिसो–न्यानो सबैको संगम कसरी हुन्छ भन्ने सन्देश दिन्छ ।
यसरी हिउँयात्रा एक सामान्य भ्रमण मात्र होइन, यो आत्माको यात्रासमेत हो । हिउँप्रेमीको जीवनमा यो यात्राले सुमधुर स्मृतिका पानाहरू थपेर, मनलाई सधैं ताजा र उल्लासमय उमंगले भरिदिन्छ । हिउँप्रेमीहरूको यो हातेमालो हिउँसँगको अमर सम्बन्धको प्रतीक हो । यसले हरेक पलमा प्रकृतिप्रतिको प्रेमको सुगन्ध फैलाइरहन्छ ।
हिउँयात्रा भौतिक रूपमै गरिने यात्रा होइन । यो मानसिक शान्ति र आत्मिक शुद्धताको यात्रा हो । हिउँप्रेमीहरूले यो यात्रालाई आफ्नो जीवनको सजीव सम्झना बनाउँछन् । हिउँको त्यो सफा, चम्किलो, निर्दोष सतहसँग हातेमालो गर्नुभनेको प्रकृतिसँग आफ्नो गहिरो प्रेमको अभिव्यक्ति हो । हिउँका साथ बिताइएका ती सुमधुर क्षणहरू सधैं स्मृतिमा ताजै रहिरहने छन् ।
हिउँ ! तिम्रो सौन्दर्य सधैँ अमर रहोस् । तिमी केवल प्रकृतिको शृङ्गार होइन, हाम्रो हृदयको न्यानो अनुभूति पनि हौ । चिसो याममा पनि न्यानोपनको सौन्दर्यको दर्पण हौ । तिम्रो यो रूपलाई म नमन गर्छु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

