
डरलाग्दो परिस्थितिले म काँपिरहेको छु । हामीले सोच्यौँ, निश्चय उसलाई मृत्युले यसरी डोर्याएको हुनुपर्छ, निर्भीक बनाएको हुनुपर्छ । उसलाई देख्दा हामी जति त्रासमा छौँ त्यति नै त्रास उसलाई पनि हुनुपर्ने होइन ? ऊसँग हामी डराइरहेका छौँ भने ऊ पनि हामीदेखि डराउनुपर्ने होइन ?
====
प्रभातसँगै आज मूड त्रासदीमा छ । उत्साह विहीन छु । केही क्लान्त, केही हताशाको मनस्थितिमा छु । तर पनि आफूलाई क्रियाशील राख्न चेष्टारत छु । सुत्नु अघि आफैँलाई एउटा सूचना दिएकी थिएँ, ‘भोलि बिहान एउटा आलेख तयार गर्नु छ ।’
एक सातादेखि मनमा एउटा दृश्य थियो । त्यो धमिलिएर नजाओस् भनी नित्य सम्झिरहेकी थिएँ । त्यस दृश्यबारे म केही लेख्न चाहन्छु । निद्रामा जानु अघि स्मृतिमा पुनः त्यो दृश्य बनेर आयो । अहिले थाहा पाउँछु मैले भूल गरेछु । सुत्ने बेला त्यस्तो कुरा सम्झिन नहुने थियो ।
हाम्रो घर पछाडि एउटा ठूलो गह्रो छ । कर्साको भित्तादेखि दुई मिटर जति टाढा रहेको एउटा कान्लो छ, अग्लो छ । त्यस गह्राको डिल र पालीको छानो बराबरको उचाइमा छ । पुरानो शैलीको बूढो घर । त्यो अहिले पनि उतिकै भोगचलनमा छ । बुवा आमालाई त्यस घरप्रति बढो प्रेम छ, आसक्ति छ । ‘माटाको घर स्वास्थ्यका लागि धेरै राम्रो हुन्छ’ उहाँहरू यही भन्नु हुन्छ । छेउको सिमेन्टीको घरमा आजसम्म उहाँहरू बस्नु भएको छैन । एकदिन पनि सुत्नु भएको छैन ।
प्रकृतिको निकटता रहेको हाम्रो जीवनशैली देखेर—शहरी परिवेशमा बस्ने केही आगन्तुकहरू भन्ने गर्छन्, ‘ढुङ्गा माटाका घरमा बसेर तपाईंहरूले पाँच प्रतिशत आयु लम्याउँदै हुनुहुन्छ ।’ आगन्तुकका यस्ता कुरा सुनेर आमा खुशी भई सहज अनुभूति गर्नुहुन्छ । उहाँको अनुहारमा कान्ति आउँछ । प्रायः मानिसले यसरी बुझ्दैनन् । बरु हीन दृष्टिले हेर्न खोज्छन् । गाउँमा आजभोलि माटाका घरहरू खासै पाइँदैनन् । अनि माटाको घरमा बस्नुलाई आधुनिक नहुनुको दृष्टिले हेरिन्छ या त निर्धनताको भावले हेरिरन्छ । जसरी हेरियोस् बुवा आमालाई त्यसले थोरै पनि प्रभाव गरेको म देख्दिनँ । खुशी लाग्छ । आफ्नो जीवन आफ्नै इच्छाले बाँच्न मन पराउनु अर्थात् आफ्नो जीवनमा अरूको प्रभाव नपुर्न अर्थात् आफ्नो बचाइमा अरूले के भन्लाको वास्ता नगरी बाँच्नु कति महान् कुरा छ । आफ्नो इच्छा, आफ्नो धारणा, आफ्नो परिस्थिति र दृष्टि अनुकूल आफूलाई बचाउन सक्नु नै वास्तवमा जीवन बाँच्ने कला हो । अचेल कति धेरै जीवनहरू आफैँलाई बिर्सिएर— कला विहीन बाँचिरहेका छन् । अरूलाई देखाउन बाँचिरहेका छन् भनौँ अरू जस्तै हुन बाँचिरहेका छन् । आफू जस्तो नभई बाँचिरहेका छन् अर्थात् आफ्नो प्राणलाई मारेर बाँचिरहेका छन् ।
नब्यूँझिन्जेल यथार्थ जस्तो लाग्ने उफ् कस्तो त्रासद ऐंठन ! प्रत्यक्षतः मैले यस्तो भयानक दृश्य देखेको थिइनँ अनि यस्तो सर्प पनि देखेको थिइनँ । ए … होइन, होइन यो त अजिङ्गर नै हुनुपर्छ । सपनामा, कल्पनामा मात्रै सम्भव हुने कस्तो आतङ्कित पार्ने दृश्य ! साँच्ची नै अजिङ्गर कस्तो रङ्गको हुन्छ, म ठ्याक्कै भन्न जान्दिनँ । तर मेरो सपनाको अजिङ्गर पहेँलो रङ्गको रूप फेरिरहने बडो खतरापूर्ण छ । एकचोटि गाईको सानो बाच्छो जस्तो देखिँदै थियो । फेरि उतिनखेरै अजिङ्गर बनिहाल्यो । मानिसहरूको भीड लागेको छ । ती को हुन् ? म चिन्दिनँ । लामो लठ्ठी लिएर म अजिङ्गर मार्न खोज्छु । ताउमाउर गर्छु । कसैलाई हानी गर्छ कि डस्छ कि भनेर एकदम तत्परताका साथ त्यसलाई नियन्त्रण गर्न खोज्छु ।
घर पछाडिको डिल हुँदै अजिङ्गर पालीमा आइसकेको छ । म अनियन्त्रित किसिमले आत्तिन्छु । अरू आत्तिएका छन् कि छैनन् कुन्नि ? हेक्का हुँदैन । घाँसको एउटा सानो तृण देख्दा समेत सर्पको भ्रान्तिले आतङ्कित हुने म, अहिले सम्मुखै अजिङ्गरसँग भिड्दैछु ।
त्यसपछिको घटना वर्णन गर्न म असमर्थ छु । त्यसलाई शब्दको दृश्य दिन म चाहन्नँ । मेरो मन कहालिएको छ । रोएको छ, चिच्याएको, गुहार मागेको छ । तर कसैले सुन्दैन । म आवाज विहीन भइसकेको छु । राति ऐंठन हुँदा या क्रुद्ध भएर कसैलाई गाली दिन खोज्दा मेरो वाणी हराउने गर्छ । तैपनि स्वरतन्त्री फुट्ने गरी जोडजोडले कराउँछु, वाक्य फुट्दैन । मद्दत माग्दै हातले इशारा गर्छु, कसैले देख्दैन । पसिनाले म भिजिसकेको छु । पराजित योद्धा-मनस्थितिले थकित हुन्छु ।
यसरी सपनामा म जहिल्यै हार्छु । अहिले पनि हारिरहेको छु । अजिङ्गरले आमालाई … ! त्यसपछि के भयो, म भन्न सक्दिनँ । भुइँमा ढुन्मुनिनु भएको उहाँलाई मैले उद्धार गर्न सकेको छैन । सहारा माग्दै रुन्छु, कराउँछु तर अहँ कोही आउँदैन । मेरो अलापविलाप आफैँमा सीमित हुन्छ । कसैले थाहा पाउँदैन । अन्तिममा कसो कसो मेरो अस्पष्ट वाक्य फुट्छ । अकस्मात् फुटेको वाक्यसँगै मेरो निद्रा पनि टुट्छ । अनि थाहा पाउँछु – ए … म त ऐंठनमा रहेछु । त्यसै क्षण कृतज्ञ भावमा भन्छु— धन्य हो प्रभु ! भर्खर मैले भोगेको विपद् सपना रहेछ । विपना होइन म विश्वस्त हुन्छु ।
अचानक सपनाको विघटन हुन्छ । मुटु तेज गतिमा ढुकढुकाइरहेको छ । निद्राबाट झस्याङ्ङ हुँदा आफ्नै संकटपूर्ण आवाज सुनेँ मैले । भयले आक्रान्त वाणी अर्थपूर्ण सुनिनँ । तैपनि त्यस निरर्थक वाणीमा अर्थ खोज्न लागेँ । अहँ भेटिनँ । निकैबेरसम्म भयाक्रान्त स्वर कानमा गुञ्जिरह्यो ।
कष्टपूर्ण ऐंठनले त्यसपछि निद्रा परेन । सपना बिर्सिएर निदाउन खोजेँ । त्यसो भएन । छ्या कस्तो दुस्स्वप्न ! हुन त त्यो आफ्नै मनको जीवित भाव थियो । मनले बढाउँदै–बढाउँदै त्यसलाई हुर्काएर निकै ठूलो बनाएछ । त्यस दिनको घटना हो — अकस्मात् एउटा भयभीत पार्ने भनौँ या भयानक दृश्य आँखै अगाडि घट्छ । बुवा, आमा र म बाहिर पिँढीमा बसिरहेका थियौँ । बिहानको दश बजेको हुँदो हो । प्रचण्ड सूर्य तापले वातावरण उत्तप्त छ ।
शुरुमा त हामीले दृश्य ठहर्याउन सकेनौँ । घरभित्रबाट ठूलो सर्प निस्किएको छ । अघि कहाँ थियो ? एकैछिन पहिले भित्र केही थिएन । उसको मुख अनौठो देखिएको छ । फाटेको, च्यातिएको जस्तो ल्याफ्रयाक्क परेको मुख । यस किसिमको सर्प त कहिल्यै देखेका थिएनौँ । आश्चर्यले दृष्टि तीक्ष्ण गरी हेर्न लाग्यौँ । ए … बल्ल दृश्य स्पष्ट भयो । सर्पले मुखमा भ्यागुतो च्यापेको रहेछ । पछाडिको हर निल्न बाँकी थियो । दुई खुट्टा र पुछारको भाग अब निल्दैछ ।
आहार खान लागेको सर्पको दृश्य स्थिर छ । हामीले पिँढीमा बसेर उसलाई हेरिरहेका छौँ भन्ने शायद उसलाई थाहा छ । आहार खान लागेको बेला— नजिकै रहेका हामीसँग रिसाउने पो हो कि ? बाधा अनुभव गरी हामीमाथि जाइलाग्ने हो कि ? ऊ अब कता जाने हो ? या त फेरि भित्रै पस्ने हो ? एकछिन अघिसम्म यस्तो दृश्य देख्नु पर्ला, हामीलाई लागेको थिएन । तत्कालै एउटा कठीन संकट आइलाग्यो । ऊ कहीँ जान्छ कि भनी केहीबेर बाटो हेर्यौँ । अहँ, कहीँ गएन । निल्न बाँकी भ्यागुतो मुखमै छ । किन त्यसरी आहार खान विलम्ब गर्यो ?
यस्तो भयानक स्थितिमा हामी निर्णय विहीन भयौँ । अब के गर्ने ? उसको अस्तित्वलाई स्वीकार्दा आफैँलाई खतरा हुने निश्चित छ । यस्तो भयपूर्ण अन्योलमा—कवि शिरोमणी लेखनाथको कविता अचानक मेरो मस्तिष्कमा स्मृति बनेर आयो, ‘मूर्खका मनमा अर्ति गाली तुल्य बिझाउँछ, दूध पान गरी सर्प खाली विष बहाउँछ ।’
भरिसक्य जीव हत्या गर्न बुवालाई मञ्जुर लाग्दैन । बित्थामा कसैको जीवन नाश गर्नु हुँदैन । उहाँ भन्नुहुन्छ, ‘प्राणलाई प्राणकै दान देऊ । यही परम् धर्म हो ।’ आखिर हो नि त । दया नै धर्म हो । माया, सद्भाव र हार्दिकतामै त यो जगत् चलेको छ । सद्भावमै सृष्टिको निरन्तरता कायम छ । प्रकृतिले प्राणीलाई मित्रवत् व्यवहार नगर्ने हो भने के हुन्छ ? घामको प्रकाश सम्पूर्णलाई समान छ । जल, वायु, तेज सप्पैसप्पै समान छन् । ठूलोसानो, तलमाथिको विभेद खै कहाँ छ ? उनै प्रकृतिको एकांश भएर पनि किन हामी विभेदकारी छौँ ? विभेद गर्ने पाठ कहाँबाट सिकिरहेछौँ ?
भोक, प्यास अनेक कष्टबाट सुरक्षित गर्दै आएको जीवन । कठीनताबाट जोगाउँदै ल्याएको उसको अस्तित्व—मानव क्रूरताले निमेषभरमा कसरी अन्त गरिदिन्छ ? हामीलाई उसको जीवन नगण्य एक साधारण थोक लाग्न सक्छ । तथापि सत्य त्यसो हुन सक्दैन । उसलाई उसको जीवन कति प्रिय छ, कति अर्थपूर्ण छ । भलै हामी उसको जीवनको अर्थ देख्दैनौँ । फरक त्यति मात्रै हो । किन कोही मानिस पनि बुझ्दैन उसको जीवनेच्छा हाम्रो जतिकै कति सशक्त छ भनेर । उसको जिजीविषा कति प्रबल छ भनेर ।
तर अहिले हामी विवश छौँ । बुझेर पनि नबुझे जस्तो भएका छौँ । हाम्रो एक निमेषको सोचले अब उसको जीवन सकिँदैछ । परन्तु उसलाई किञ्चित ज्ञान छैन म मर्दैछु भन्ने । अहिले ऊ जीवनको सुन्दर क्षण बाँचिरहेको छ । भोक मेटाउँदैछ । तृप्तिले अविचलित छ । आत्मरक्षाको खातिर यसै क्षण बुवाले लठ्ठी उज्याउनु भयो । अझ ऊ भाग्न खोज्दैन । बरु रिसाउन लाग्यो । मानौँ हामीले उसलाई जिस्क्याइरहेका छौँ, यही बुझेको हुनुपर्छ उसले । क्रुद्ध भावमा फणा उठाउने तयारी गर्यो । अब झन् बढी खतरा होला जस्तो छ ।
डरलाग्दो परिस्थितिले म काँपिरहेको छु । हामीले सोच्यौँ, निश्चय उसलाई मृत्युले यसरी डोर्याएको हुनुपर्छ, निर्भीक बनाएको हुनुपर्छ । उसलाई देख्दा हामी जति त्रासमा छौँ त्यति नै त्रास उसलाई पनि हुनुपर्ने होइन ? ऊसँग हामी डराइरहेका छौँ भने ऊ पनि हामीदेखि डराउनुपर्ने होइन ?
अब के हुन्छ ? तपाईं अनुमान लगाउन सक्नु हुन्छ ? एकदमै अप्रत्याशित किसिमले एउटा दृश्य घट्छ । यस्तो पनि हुँदो रहेछ । अहिले आएर म अझ बढी विश्वस्त छु आफ्नो धारणाप्रति । जन्म र मृत्यु जस्ता कुरा हामीले नचाहेरै घट्ने घटना रहेछन्, म निसन्देह छु । सर्पको मुखमा भ्यागुतो मर्दैछ होइन त ? अनि सर्प मर्छ मर्दैन ? के भन्न चाहनु हुन्छ ? यी दुवै मर्छन् या कुनै पनि मर्दैनन् या त एउटा मर्छ एउटा बच्छ ? उसो भए तपाईं कसको दीर्घायु होस् भन्ने चाहनु हुन्छ ? अनि अल्पायुको कामना कसको नाममा गर्नुहुन्छ ? बडो सङ्गीन छ प्रश्न । उत्तर झन् बढी सङ्गीन हुनुपर्छ ।
अब पर्दा फेरिने छ । बुवा हत्यारा बन्न लाग्नुभएको छ । सम्भवतः बुवालाई पनि डर लागेको हुनुपर्छ । मुखमा आहार च्यापेको सर्प कतै आक्रामक हुने त होइन ? उहाँलाई सर्पको नजिक गएको देख्दा मेरो मन कहालिन्छ । कतै आपत्ति घटित हुने हो कि ? अब जस्तो दृश्य निर्माण हुँदैछ त्यो म हेर्न सक्दिनँ । अहँ, म कदापि हत्या भएको हेर्न सक्दिनँ । आजसम्म कुनै हत्या मैले देखेको छैन । देख्न चाहन्नँ । दृश्य छल्न आँखा चिम्लिन खोज्छु । चिम्लिरहन पनि सक्दिनँ । ज्यान जोगाउन भाग्दै गर्दा सर्प सुल्ल बगेर पिँढीमा आउने पो हो कि ? क्षुब्ध भई फणा उठाउने हो कि ? त्रासले आतङ्कित भई ढुन्मुनिएर गोडामा बेरिन आउने हो कि ? यस्तो अज्ञात भयले म काँतर हुन्छ । अनि त दृष्टि छोप्न असमर्थ हुन्छु, दृष्टि उर्घान अझ बढी असमर्थ हुन्छु । यस्तै विचलित क्षणमा ड्वाङ्ग आवाज आउँछ । फेरि अर्को आवाज, फेरि अर्को … ।
अहिले पनि मेरा आँखाका पटल घोप्टिरहेका छन् । सर्प मरिसकेको थाहा पाउँछु तर पनि आँखा खोलेर नजिक जान आँट आउँदैन । मृत सर्पको बीभत्स देह, त्यो क्षतविक्षत देख्न नपरोस् हुन्छ । फेरि अर्को के कुरा छ भने— जीवित या मृत अवस्थाको नै किन नहोस्, सर्प भनेपछि मेरो हंस उड्छ । चित्रका, रबरका सर्प पनि पर्याप्त छन् मलाई भड्काउन ।
सर्पको यस घटनालाई लिएर त्यसै क्षण एक आलेख तयार गर्छु लागेको थियो । धेरै दिन भयो यसरी सोच निर्माण गरेको । दृश्यमा त्यसै दिन सर्प मरिसकेको थियो । तथापि मेरो मनभित्रको सर्प भने अझै जीवित रहेछ, भनौँ मरेको रहेनछ । बरु उल्टै उसलाई आफूभित्र हुर्काउँदै रहेछु । त्यो हुर्किएर यति ठूलो भइसकेछ । अनि त मलाई कहल्याउन सपना बनेर आएको रहेछ । हेर्नूस् त, मैले उसलाई कसरी हुर्काएँ होला ? ऊ त अजिङ्गर बनिसकेछ ।
कृपया ! पख्नूस् । घटनाको अन्त्य भएको नठान्नू होला । मैले भन्न खोजेको तात्पर्य अझ शुरु भएकै छैन । एउटा विश्वास गर्न नसकिने कुरा त बाँकी नै छ । आरम्भमा एउटा प्रश्न तपाईंहरूलाई । त्यसपछि के भयो होला ? अनुमान गर्न सक्नुहुन्छ ?
रगत लतपतिएको भुइँ । चोला उठाइएको भुइँ । जीवन र मृत्युको संघार बनेको भुइँ । जहाँ एउटा प्राणवान् देह उतिनखेरै निष्प्राण हुन्छ । अर्को निष्प्राण हुन लागेको देह थाहै नपाई प्राणवान् हुन्छ । पुनर्जीवित हुन्छ । सर्पले आधा, अझ बढी खाइसकेको भ्यागुतो । उसले पुनर्जीवन पाउँछ । कस्तो अपत्यारिलो संयोग ! मृत्युलाई जितेर ऊ बाँच्छ अर्थात् मृत्यु भोगेर ऊ बाँच्छ । मृत्युलाई झुक्याएर बाँच्छ । मृत्यु अनुभव गरी पुनः जीवितताको महसूस गर्न पुग्छ । तथापि सकुशल भने ऊ छैन । उसले हर घिस्याएको छ । भ्यागुतोलाई लागेको थियो, म मर्दैछु । अनि सर्पलाई लागेको थियो, म बाँचिरहेछु । तर … कस्तो दुर्लभ जीवनको अभिनय … ।
यसरी म आफ्नो विचारप्रति अरू बढी विश्वस्त छु । दृढ छु । जीवनको गन्तव्य नटुङ्गिउन्जेल अर्थात् हिँड्नु पर्ने बाटो नपुगुन्जेल मृत्यु कदापि सम्भव छैन । उसको जीवन लामो होस् या छोटो, मृत्युलाई किञ्चित वास्ता हुने छैन । हिँड्नु पर्ने बाटो कति छ ? हिँड्न बाँकी छ, छैन ? यही कुरालाई आधार मानेर मृत्युले— उसको जीवन निर्धारण गर्छ शायद । म आफूलाई यसरी बुझाउँछु, बीच बाटोमा मृत्युले कसैलाई उठाउने छैन । मलाई पनि उठाउने छैन । म निसन्देह छु । हामीले बुझे जस्तो मृत्यु त्यति अज्ञानी छैन, कठोर छैन । गन्तव्य नपुग्दासम्म बरु उसले हामीलाई उद्धार नै गर्नेछ । हेर्नु त बाँच्न असम्भव लागेको भ्यागुतोको— चोला नउठाएर मृत्युले कसरी उद्धार गरेको छ ?
त्यसो हुँदा म निर्भय छु । मृत्यु कदापि क्रूर हुन सक्दैन । भलै हामी क्रूर देख्ने गर्छौं बस् त्यति मात्रै । मानिलिऊ मृत्यु अहिले मेरो अगाडि आएछ भने पनि मलाई गुनासो हुने छैन । ऊसँग भयभीत हुँला, आफूलाई बचाउने अनेक चेष्टा गरूँला त्यो अर्कै कुरा हो । मेरो जिजीविषाले, मेरो जीवन शक्तिले मृत्युसँग त्यसरी भिड्न लगाउँछ त म के गरूँ ? तर मृत्युलाई किमार्थ धिक्कार्ने छैन । त्यसो त धिक्र्काने समय नै कहाँ पाउँछु र ? ऊसँग भिड्दाभिड्दै कतिखेर पराजित भइन्छ, आफैँलाई होश नहोला शायद ।
बुवाको एक प्रहारमै ढुन्मुनिएको सर्पले भ्यागुतो ओकलेपछि— मृत्युसँग म अझ बढी परिचित हुन लाग्छु । सँगै नारिएको जीवित भ्यागुतो अनि मृत सर्पको अनौठो दृश्यले— मलाई वैचारिक मूडमा डुबाएर जान्छ । अहिले भ्यागुतो के सोच्दै होला ? कस्तो अनुभूति गर्दै होला ? भयले काँप्दैछ या जीवन बचाइको उत्सव ! ऊ कस्तो अनुभव गर्दैछु कुन्नि ? फुत्रुकफुत्रुक उफ्रिने ऊ अब उफ्रिन नसक्ने भएको छ । उसले पाएको पुर्नजीवन—यतिखेर हामी आफैँले पाएको अनुभव गर्दैछौँ । आत्मविस्मृतिको अवस्थामा हामी विस्मयले अभिभूत छौँ ।
आमाले भ्यागुताको संरक्षण गर्दै घरदेखि पर कुनै सुरक्षित ठाउँमा लगेर राखिदिनु भयो । हुन त उसलाई घर नजिकै राख्न पनि सकिने थियो । तथापि अर्को सर्प आउने भयले उसलाई नजिक राख्नु ठीक थिएन । आमा प्रत्येक रात सुत्नुअघि घरभित्र छिरेका भ्यागुता टिपेर करेसातिर हुत्याइदिने गर्नुहुन्छ । तर ती मान्दैनन् । भोलिपल्ट ब्यूँझँदा ती सप्पै भित्र आइसकेका हुन्छन् । किन यिनीहरू मान्छेको अभद्रता सहेर पनि मान्छेको नजिक बस्न रुचाउँछन् ? मान्छेको आश्रय खोज्छन् ? मान्छेले आफूलाई मन नपराएको किन जान्दैनन् यिनीहरू ? मलाई एक किसिमको क्षुब्धता हुन्छ । उपेक्षा सहेर घरभित्र बस्नु भन्दा बरु बाहिर निस्फिक्रीले बाँच्नु नि ! स्वतन्त्र भएर बस्नु नि ! मानिसको निकटतामा दबिएर, उपेक्षा सहेर बस्नुभन्दा आफूखुशी बाहिर विचरण गर्नु कैंयन् गुणा श्रेयस्कर होइन र ?
जीवनमा ससाना घटनाले पनि कति ठूलो अर्थ राखेको हुने रहेछ । कति महान् शिक्षा दिएर गएको हुँदोरहेछ । जीवनको मार्ग नै बदलेर जाँदोरहेछ । त्यस दिनको भोलिपल्ट अझ बढी आश्चर्यचकित हुने एउटा घटनाले— हामीलाई अरू बढी शिक्षा दिएर गएको थियो । त्यस बिहानै देख्छौँ— हर घिस्याउँदै त्यो भ्यागुतो कहाँदेखि घर आइपुगेको छ । कुन आपतले कसरी आयो होला ? घर आउने बाटो कसरी पत्ता लगायो कुन्नि ? अधमरो देह घिसार्दा कति कष्ट भोग्यो होला ? उसलाई लाग्यो ‘म आफ्नै घर जान्छु ।’
यतिखेर मेरो मनमा भाँती भाँतीका उत्सुकताहरू छन् । दुःख सुखले आर्जिएको घर—हामीले आफ्नो मात्रै ठानिरहेका थियौँ । तर होइन, कति ठूलो भ्रम रहेछ हाम्रो बुझाइमा । भ्यागुताले पनि त यस घरलाई आफ्नै ठानेको रहेछ नि ! असक्त हुँदा समेत त्यति टाढादेखि नत्र ऊ किन आउँथ्यो । अन्तै जान पनि त सक्थ्यो ? तर गएन ।
पुनः पुनः उसलाई आमाले घरबाट निकालिदिनु भयो । तर ऊ रोकिएन । त्यसपछि विकल्पमा उसलाई धन्सारमा राख्ने निर्णय भयो । आमाले त्यसै गर्नु भयो । उसलाई धन्सार पनि मन परेन । किनकि त्यहाँ कोही मान्छे बस्थेन । पछि उसको मनोविज्ञान बुझ्दै जाँदा थाहा भयो—उसले मानिसको निकटता चाहेको रहेछ । ऊ सहअस्तित्वमा बाँच्न मन पराउने रहेछ । त्यसैले ऊ घरभित्र मान्छेको नजिक बस्ने भन्छ । परन्तु हामी उसको सहअस्तित्वलाई रुचाउँदैनौँ । किनकि हामी बडो स्वार्थी छौँ । आफूलाई लाभ हुन्छ भने मात्रै सहअस्तित्व स्वीकार्न तयार हुन्छौँ । नत्र अहँ … ।
बाध्यतावश भ्यागुता र हामीबीचको सहअस्तित्व अहिले ठीकै मन पर्न थालेको छ । उसले हामीलाई क्षति हुने त्यस्तो कुनै व्यवहार गरेको छैन । बरु केही हित नै गरेको छ । ऊ तालिम दिए जस्तै बाठो छ । गाली खानु पर्छ भनेर दिनभर लुकेर बस्छ । कहाँ लुक्छ हामीलाई थाहा हुँदैन । ऊ घरभित्र छ, छैन भन्ने पनि थाहा हुँदैन । चुपचाप श्वास दबाएर बस्छ । राति उज्यालो निभाएपछि ऊ स्वतन्त्र हुन्छ । निर्धक्क भएर चहार्न थाल्छ । झिँगा, साङ्ला, भुसुना … खोजी गर्न थाल्छ । कस्तो चलाख ! ट्याप ट्याप आहार पक्डिन सिपालु छ । प्रभातसँगै अब मान्छे जाग्ने बेला भयो भनेर— ऊ यसरी समय अड्कल्न पनि सिपालु छ । हामी उठ्दा ऊ लुकिसकेको हुन्छ ।
भ्यागुताको दैनिकी देखेर मलाई बडो विचित्र लाग्छ । केही शरम पनि लाग्छ । उसले हामीलाई गिज्याए जस्तो पनि लाग्छ । हरेक प्राणीलाई आफ्नो जीवन कति प्रिय छ । हरेक प्राणी जीवन सङ्घर्षमा कति व्यस्त छ । उनीहरूसँग अस्तित्व बचाउने कति धेरै ज्ञान छ, कति धेरै तरिकाहरू छन् । लाग्यो यति बाठो त म कहिल्यै हुन सक्दिनँ होला, जति उनीहरू छन् । मानिसको मर्यादा राख्न पनि उतिकै सचेत छन् । किन्तु उनीहरूको मर्यादा चाहिँ हामी किन राख्दैनौँ ?
लाग्यो यस भ्यागुताबाट मैले धेरै पाठ सिक्नु छ । विश्वविद्यालयमा सिकाउने पाठभन्दा उसले मलाई कैँयन् गुणा—लाभदायक, जीवन उपयोगी ज्ञान सिकाइरहेको छ । जीवन के हो त्यो बुझाएको छ । सहअस्तित्वको बोध गर्न लगाएको छ । अहिले थाहा पाउँदैछु म कति विराट् अज्ञानताले सम्पन्न रहेछु । मैले बुझेकै रहेनछु सहअस्तित्व विना सृष्टिको निरन्तरता—कायम रहन सक्दैन भन्ने कुरा । यतिको उमेर बाँचिसक्दा समेत— मैले आफूबाहेक यस धर्तीमा अरूको पनि उतिकै अस्तित्व छ भनेर— बोध गरेकै रहेनछु अझ भनौँ अरूको अस्तित्वलाई स्वीकार्ने मसँग केही चेतना रहेनछ । सहअस्तित्व रहित जीवन असम्भव छ भन्ने— मसँग थोरै पनि ज्ञान रहेनछ । सहअस्तित्व बेगरको जीवन देख्ने, भविष्य देख्न म कति विमूढ रहेछु ।
भ्यागुतो अब पूरै आरामी भएको छ । पहिले जसरी फुत्रुकफुत्रुक उफ्रिन सक्ने भइसकेको छ । शुरुका दिनमा उसले हामीलाई खूबै हँसायो अर्थात् उसको चरित्रले हामी हाँस्यौँ । विस्मित भयौँ । ती दिनमा उसलाई बाहिर निकालेर हामी राति ढोका लगाउँथ्यौँ । तर ऊ कहाँबाट पस्थ्यो कुन्नि ? बिहान उठ्दा मझेरीमा चाहरो टिप्दैछ हुन्थ्यो ।
अचेल हामी अभ्यस्त छौँ, उसलाई बास दिँदा केही कठीनाइ छैन । ऊ परिवारको एउटा सदस्य जस्तै भएको छ । परन्तु उसको उपस्थितिमा नित्य एउटा भय चाहिँ— हाम्रो मनमा बाँचिरहेको छ । भ्यागुतो खान फेरि फेरि सर्प घरभित्र पस्ने हो कि ? उफ् कत्रो त्रास ! सुन्नू त ! त्रास यति मात्रै कहाँ छ र ? सर्प दैलोबाट बाहिर निस्कियो भने बडो अनिष्ट हुन्छ रे ! तर हामी विश्वस्त छैनौँ यस भनाइप्रति । ऊ आफ्नो बाटो हिँड्न पनि नपाउने ? निर्दोष प्राणीप्रति शुभ अशुभ धारणा बनाएर मानिस किन यति धेरै विमूढ हुन रुचाउँछ ?
भ्यागुताले जस्तै मानिसको नजिक बस्न मन पराउने, सहअस्तित्व रुचाउने हाम्रो घर परिशरमा अरू पनि धेरै थोक छन्— कुकुर, बिरालो, मुसो, गौँथली, सारौँ, भँगेरा, ढुकुर, लोखर्के आदिआदि ।
बिचरा यी अबोध जीवनहरू ! जो हिँडेको, बोलेको पनि हामी मन पराउँदैनौँ । हाप्सिलो गाउँ गाउँमा कराउँदै हिँड्यो भने अशुभ हुन्छ रे ! मानिस मर्छन् रे ! नभए केही न केही अपशकुन हुन्छ रे ! भनिन्छ, बिरालाले बाटो काट्यो भने साइत पर्दैन रे ! यसरी मानवेतर प्राणीलाई हेर्ने हाम्रो दृष्टिकोण कति निरङ्कुश ? कति निर्विवेकी ? कति अधिनायकवादी … ?
मानिस खूब अभिमानी छ । उसलाई आफ्नो पुरुषार्थमा घमण्ड छ । आफू जगत्कै श्रेष्ठ र सबल छु भन्छ । यति हुँदाहुँदै पनि फेरि ऊ किन काँतर छ ? बिचरा ! अञ्जान प्राणी बोलेको सुन्दा पनि अपशकुन हुने भयले किन भड्किन्छ ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

