
“धूवाँ, तुवाँलो, कुहिरो छिःछिः, यस्तो नर्कजस्तो शहरमा कसैलाई बस्नु नपरोस् । यी बैसले मैमत्त भएका उत्ताउला-उत्ताउलीहरू सिङ्गै पटी ओगटेर हिँड्छन् । यो शहर झन्झन् कुहिँदै गएको लाग्दछ । असी-पचासी हिउँद बोकेर कुप्रिएकी समयले असङ्ख्य डोब छाडेर गएको अनुहारलाई अझ अमिल्याउँदै एउटी बूढ फतफताइरहेकी छ । हामी सबै लाम लागेर बस परिर्खरहेका छौं । बसको पट्टाइलाग्दो प्रतीक्षा र बूढीको प्रलापले सबै दिक्दार भैसकेका छन् । मेरो पछाडि एउटा सिलोनिज साथी उभिएको छ । ऊ मेरो कानमा भन्छ, ‘बोर गरी यस बूढीले, जाऔं मास्तिर कतै गएर बस समातौ ।”
“यहीं बसौ मलाई बूढीको गनगन बेस लागिरहेको छ, यस्तो सुनिरहने अभ्यास पनि छ मलाई ।” म हाँसेर ऊतिर फर्किन्छु ।
कालो सिलोनिज अनौठो अनुहार लाएर भन्छ, ‘विचित्र छ तिमी नेपालीहरूको प्रकृति ? यस्तो वाहियात र अनुपयोगी कुरा सुनिरहने धैर्य छ र अझ अभ्यास पनि ।’
बूढी जहाँसुकैका हुन्- बेलायतका हुन् वा वीरगन्जका सबै एकनासका हुन्छन् । भाषा अङ्ग्रेजी होस् वा नेपाली ती धाराप्रवाह फलाकिरहन्छन् ।
समयले बिस्तारै उमेरलाई ढल्काउँदै लैजान्छ र एउटा खास बिन्दुमा पुगेपछि मानिसलाई विरक्तिको ‘भिजन’ हिल्ला लाइदिन्छ । प्रतीक्षा बसको होस् वा मृत्युको बडो उराठलाग्दो हुन्छ । समयले उमेरलाई लखेट्दै त्यहाँ पुऱ्याउँछ जहाँ पुगेपछि प्रत्येक क्षण मानिसलाई मृत्युबोधले ठुङ्न थाल्छ । यस कहालीलाग्दो ठुङाइले मानिसका सम्पूर्ण रागात्मक संवेगहरूलाई अचेत तुल्याइदिन्छ । जरामरणको साँघुरो दोसाँधमा बसेर अन्तिम प्रतीक्षा गर्नेलाई समयको स्वाद खल्लो लाग्दछ किनकि स्वाद व्यञ्जनमा हुँदैन; जिब्रोमा हुन्छ । विरक्तिएका प्रतीक्षारत आँखा एक पटक मास्सिँदै गएको समयको मूल्याङ्कन गर्दछन्- नाडीको घडी उचालेर होस् वा विगत वयका पत्र-पत्र पल्टाएर ।
“देख्यौ, बूढी कराउँदा-कराउँदा कसरी फिँज काड्न थालेकी छ ?” मेरो दार्शनिक तन्द्रा भङ्ग गर्छ सिलोनीले र फेरि पेच पार्दै थप्छ, “तर तिमी त अभ्यस्त छौ – तिमीलाई रमाइलै लाग्ला !”
हो, म अभ्यस्त छु । अनि बेलायतको माटोमा स्थिर भएर टेकिरहेको खुट्टा र सन्तुलन मिलाएर बसको लाममा ठडिएको शरीरलाई त्यहीँ छाडेर मेरो मन स्मृतिको पखेटा फिँजाएर हतारहतार सात समुद्र तर्दै त्यस घरको सेरोफेरोभित्र आइपुग्छ र सुस्तरी ओर्लिन्छ बारीको सरिफाको हाँगामाथि । यस हाँगामाथि बसेपछि मेरो अवस्था वेदको त्यस चराजस्तो हुन्छ जो स्वयं भोक्ता हो र साक्षी पनि । त्यहाँबाट देखिन्छ- त्यस घरको धुलौटे आँगन जहाँ पाँचै दाजुभाइहरू लडीबुडी खेल्दै दूधे ओठमाथि जुंगाको रेखी हाल्दछन् र पिताको आतङ्क, माताको ममता तथा बज्यैको अनवरत फतफतका बीच ती हुर्किन्छन् । ममताको पोल्टो सधैंका लागि छिटै रित्तियो र त्यो फतफत घरलाई सधैंका लागि शून्य र बुच्चो तुल्याएर मौन भैसक्यो । परस्परको सम्बन्धलाई स्वार्थको झीनो कसरले धमिल्याउँदै लग्यो र पिताको अहर्निशको आतङ्कले आफ्नो फणा खुम्च्याएर बिस्तारबिस्तार एउटा अव्यक्त आशीर्वादको काँचुली फेर्यो । तर ममता र आशीर्वादमा धेरै अन्तर हुन्छ । ममतामा स्नेहको सुस्केरा हुन्छ भने आशीर्वादमा शुष्क सहानुभूति ।
“हे… धुरधुर को हँ त्यो सरिफाको हाँगा हल्लाउने ? यसपालि एउटा गेडो मुखमा हालूँला भन्नु पर्दैन । यस्ता पनि छिमेकी हुन्छन्, यी त सत्तुर हुन् सत्तुर ।” बीचको कोठाको ढोका खुल्छ । एउटी सेतै फुलेकी बूढी कराउन थाल्छिन् । म बस्दा सरिफाको रूख झाङलभुङल त भएन ?
“हे दुलही, दुलही हे.. बाबा ! कस्तो निद्रा हो यसको ? हे मनरावाली ! खन्याऊँ दुई लोहोटा पानी कि उठ्छेस् तँ ?” बज्यैको चर्को स्वर घरका प्रत्येक ढोका घचघच्च्याएर भाते निद्राले कोल्टो फेर्छ ।
पच्छिमपट्टिको कोठाबाट एउटा महिला आकृति निस्किन्छ ।
“हेर् त सरिफा कसले झार्यो ?”बूढी अह्राउँछिन् ।
“कसले झार्छ आधा रातमा सरिफा ?” भित्रबाट झर्किएको स्वर आउँछ ।
“तिमीहरूलाई जस्तो बैस कसैलाई नआओस् । घाम झुल्किने बेला भैसक्यो आधी रात भन्या’छ, ओछ्यानमा तेर्सिरह्या’छ ।”
म यसो घडी हेछु, भर्खर दुई बजेछ । बिहान हुन अझै तीन-चार घण्टा बाँकी छ । मलाई थाहा छ वयस्कहरूको उषाकाल दुई बजे राति नै हुन्छ । कालो कपाललाई सधैं उँघ लागिरहेछ, फुलेको कपाल रातभरि आँखा झिम्म गर्न गाह्रो मान्छ ।
रातभरि बूढी बज्यै विभिन्न विषयमा धाराप्रवाह फलाकिरहन्छिन् । फलाकेका गेडाहरू कठोर हुन्छन् र झटारो कष्टप्रद र शब्दहरू स्नेहले पुटित पारिएका हुन्छन् । बज्यै फतफताउँदा त्यो सूक्ष्म स्नेहको हरक कताकताबाट घरका सबैले पाइरहेका हुन्छन् ।
“ठूल्नानी कति लछिनकी, पाँच-पाँचवटा छोराछोरी पाएकी । सबैले कमाएर ल्याए भने कहाँ राख्ली पैसा यसले ?” धुलौटे आँगनमा बुज्रुक आइमाईहरू भेला हुन्छन् ।
“खोइ त्यति बेलासम्म आफू मरिसकिन्छ कि ?”
हरबखत अलच्छिन छ यसको मुखमा । केही गरी कुरा गन्यो कि त्यस्तै नचाहिँदो बोल्दछे । हेर आज फेन्साको रूखमाथि अघिदेखि काग कराइरहेको छ, बिहान दुलै भन्थी, चुलोको आगो पनि भर्भराएको थियो रे । मलाई त ठूलो नाति आउँछ कि जस्तो लागेको छ । निर्दयीहरूले कति टाढा पढ्न पठाएका – म त त्यसको अनुहार सम्झिरहन्छु ।’ बजैका आँखा रसाउँछन् ।
“आफ्नी दुलहीलाई भेट्न एउटा एउटा निहुँ पारेर आइहाल्छ नि । सके लुकाई-लुकाई प्रेमपत्र लेखिँदो हो पतिदेवलाई ।” सबै गलल हाँस्छन् ।
घुम्टो हालेर पात गाँसिरहेको एउटा आकृति लाजले भुतुक्क भएर कोठाभित्र पस्छ ।
एउटा एक्का घरमा आएर रोकिन्छ, “दाजु आयो, दाजु आयो ।” भाइहरू हर्षले अतालिन्छन् । “म त भन्दै थिएँ, त्यो नाथु आज आउँछ भनेर के खाइस् रे तैले बाटोमा ?”
“भाउजू लड्नुभो भाउजू लड्नुभो ।” (केटाकेटीहरूको समूहस्वर) ‘बढी उत्ताउली छे यो, पोइलाई देख्यो कि भुइँमा न भाँडोमा हुन्छे । (चारैतिरबाट खित्का)
“अस्ति जाँदा एक सेर घिउ लगेको थिइस् खाइस् कि खाइनस् ? म त झन् दुब्लाएको देख्छु ।” प्रत्येक पटक आमाले छोराको अभिवादन वा स्वागत गर्ने प्रारम्भिक शब्द यही हुन्छ । माताका आँखा छोराको कपाल मुसार्छन्, पिठ्यूँ सुमसम्याउँछन्, छातीका कप्टेरा छामेर हेर्छन्, चिउँडो अग्लाएर अनुहार नियाल्छन् र टाढादेखि आएको छोराका थाकेका धुस्राफुस्रा खुट्टा मिचिदिन्छन् ।
“ए मनरावाली ! हेर् त बारीमा गएर; मैले दुईवटा सरिफा गछपक्कु गराएर राखेकी थिएँ ।”
बूढी बज्यैको आदेश सरिफाको हाँगामा ठक्कर खान्छ ।
“ऐले मलाई केही खान मन छैन ।” नाति डुल्न हिँड्छ । अनि फेरि घरका सबै कार्यव्यापार सामान्य चल्न थाल्दछन् र बूढी बज्यैको फतफत यथावत् अविराम गतिले चल्न थाल्दछ ।
एक दिन ऊ बज्यैसित सोध्छ, “हजुरआमा । तपाईं कहिल्यै हाँस्नुहुन्न, किन ?”
“अब के हाँस्नु छ बाबै । गैसके हाँस्ने दिन हाम्रा । बज्यैको मृत्युन्मुखी कल्पना सधैं स्वर्ग-नर्कको झ्यालबाट चिहाइरहन्छ । यी दुवै ठाउँमध्ये कतापट्टिको रिक्ततालाई ओगट्न पुगिने हो ?”
“म हँसाइहाल्छु तपाईंलाई ।” उनको पेटमा काउकुति लाइदिन्छ । एकछिनका लागि बज्यैको मुख सफा हुन्छ र चाउरीहरू तन्किन्छन् । तर केवल एक क्षणका लागि, अनि प्रारम्भ हुन्छ उही वीतरागी फतफत । ‘हेर बाबै ! यसपालि ठूलो अनिकाल पर्छ । असार लागिसक्यो, माथि बादलको एउटा धर्सो छैन । यसपालिजस्तो खडेरी कहिल्यै हुनेछैन । गर्मीले बसिनसक्नु छ; पानी भने एक थोपा छैन ।”
केही दिनपछि मनसुनले रासका रास बादलका ढिस्काहरू बोकेर ल्याएर खत्याइदिन्छ । अखण्ड वृष्टिले धरतीको छाती शीतल हुन्छ ।
“बाबू । यसरी दर्किरह्यो भने प्रलय आउन कति बेर ? ठूलो अनिकाल आउँछ, बाली सबै सखाप भैसके।” बूढी बज्यै घरको बलेँसीमा फतफताउँदै तराजु झुन्ड्याइरहेकी हुन्छिन् । बज्यैले पनि विरक्तिको मनोदशा पाइसकेकी छिन् । प्रकृतिको नियमचक्रदेखि पनि आफूलाई अनभिज्ञ र असम्पृक्त राख्न सक्ने मानसिकता ।
घोर सन्त्रासले ग्रस्त बज्यैमा कता-कता विश्वविलयको छद्म कामना लुकेको हुन्छ- ‘के मसितै सारा पृथ्वी पनि लय हुन सक्दैन ?’
एउटा रित्तो एक्का बेलुकीपख फेरि दहिलोमा आएर उभिन्छ ।
“अझै दुई दिन बस्न सक्दैनस् रे ? पर्सि छठ हो, अलिकति ठेकुआ लैजान्थिस् ।”
“जति लामो बिदा भए पनि आमाको मन कहिल्यै मान्दैन छुट्टिन ।”
घुम्टो हालेको आकृति हिँड्दाहिँड्दै एकछिन आँगनमा अड्छ, “म त भनेर हार भएँ, अब आमाको भनाइ मानिहाल्ने हो कि ?”
“पर्सिदेखि टेस्ट छ, आज नपुगी हुन्न ।” छोरो सानो सुटकेसभित्र लुगाफाटो हाल्न थाल्छ । घर रित्तिन लागेको आभास सबैलाई हुन्छ । भाइहरू गाँती बाँधेर एक लहरमा उभिई अँध्यारो अनुहार लाउँछन् ।
“किन तिमीहरू आत्तिएका ? म तीन-चार महिनापछि फेरि आइहाल्छु नि !’ ऊ हाँसेर भाइहरूको गाला मुसारिदिन्छ ।
आमालाई ढोग्न ऊ निहुरिन्छ । आमा आफ्नो पैतालाको धूलो झिकेर उसको टाउकोमा छरिदिन्छिन् – माताले छोरालाई पहिराएको अभेद्य रक्षाकवच । “आर्को पालि तँ आउँदा म सारा आँगन पक्की इँटले छापिसक्छु, वरिपरि सयपत्री र मखमलीको फूल लाउनेछु ।”
भाइहरूको स्नेह, आमाको ममता, बज्यैको शुभकामना बोकेर ऊ हिँड्छ टाढा-टाढा विदेशको कुनै शहरमा पढ्न ।
“त्यो हुँदा घर कस्तो थियो, गमगम गम्किरहेजस्तो । कसरी त्यो सारा घरमा एक्लै अटेसमटेस भएर बस्थ्यो । हे गढीमाई । त्यसको रक्षा गर ।” बूढी बज्यैका असहाय हात शून्यमा उठेर हल्लिरहेका हुन्छन् ।
भत्केको पर्खाल, शून्य घर, उदास आँगनलाई म रूखको हाँगामा बसी आँखाभरि टिप्छु । देख्छु, आमाले छाप्ने इच्छाले थुपारिराखेको ईंट एकमाथि एक खप्टिँदै गैरहेका छन् । एकछिनमा देख्छु, त्यस धुलौटे आँगनको बीचमा एउटा गारो उभिएको छ र त्यसको वारिपारि छुट्टिएर केही छायाजस्ता आकृति मौन, उदात्त र जीवनदेखि थाकेजस्ता हिँडडुल गरिरहेका छन् । एकपटक फेरि नियालेर हेर्छु, ती उही मेरा गाँती बाँधेर मेरो बिदाइमा उभिइरहने प्यारा भाइहरू रहेछन् ।
(ध.च. गोतामेको संस्मरणसंग्रह ‘सम्झनाका गल्छेडाहरूमा‘बाट)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

