
हाम्रा दु:खका कुरा गर्दा हाम्रा सन्तानहरूले कथा सम्झिए, पत्याएनन् । मिथक माने, ओठ लेप्राइदिए । पत्याउन पनि किन पत्याउने ? हाम्रो समयमा असम्भव लाग्ने धेरै कुराहरू दैनिकी बनेर उपयोगमा आइसकेको छ । भाग्यमानी पुस्ता जेन–जीले के उपयोग गरेन ? अक्षरविहीन पुस्तक, अर्केष्ट्राहीन सङ्गीत, विद्यालय नगई विद्या, खेल मैदान नगई खेल, बैंक नगई कारोवार, के के उपयोग गरे के के ? लिन चाहेजति सबै लिए । लिएर मानिस कहाँ अघाएको छ र ? अवसरको प्यास र हुटहुटीले थप अवसरहरू सम्भव गराउने रहेछ ।
उसले लिएको स्वाद, उपभोग गरेका कुराले मलाई हीनताबोधी बनायो । मैले के जाने र ? के गरे र ? के गर्न सकेँ र ? गर्न नसक्ने अनि गर्न नसकेकोमा चिन्ता लिएर के गर्नु ? अलि अलि गर्दै निष्ठूर समयले अजङ्गको लामो फेरोमा छाडिसक्यो । डण्डीबियो र भोगटेको बल खेलेरै बाल्याबस्था बित्यो । जवानी र जोशहरू केही लहड र धेरै कर्तव्यमा बिते । अलिअलि पढेर के के न गरेको आत्मतुष्टि पालेँ । जाबो अक्षर पढेर, श्रम गरेर, केही पसिना चुहाएर, दौडिएर के के गरेँ भनेर मनमनै मख्ख परेँ । पाखापखेराका, कुनाकन्दराका जीवलाई श्रव्यदृश्यमा तरङ्गित हुन पाउँदा, आफ्ना कुरा र कामलाई फैलाउँदा, चिन्दै नचिनेकाहरूको विचार र व्यवहारमा पत्यक्षीकरण हुन पाउँदा, मेरा लागि त्यो सफलताका सगरमाथा थिए । मानिसको धन, समृद्धि र सफलता भनेको स्वाद र सन्तुष्टि हो । सन्तुष्टि लिने ससाना स्ट्रोकहरू कति ठूला सफलता ? कति स्वादिला सपना । सानो चौघेरामा दृष्टि थुनिएकाहरूका लागि ससना सफलता ठूला हुने नै भए । दृष्टि सङ्क्षेत्रले फराकिला क्षितिज हेर्नेहरूका सपना, कर्म, स्वाद सबै ठूला । मेरा गाउँतिर भन्ने गरिएको ठीकै रहेछ–‘भ्यागुतालाई पोखरी नै संसार (स्वर्ग)’ । मन, विचार, सामर्थ्य, सङ्घर्ष, सफलता सबै देखेपछि तन्किदै जाने गर्दा रहेछन् । दृष्टिचेत सङ्घर्ष र सफलताको आधार हो । हत्केलाले छेकेको क्षितिज जत्रो दृष्टि सङ्क्षेत्रले मेरो पुस्तालाई आशामा, उत्साहमा र सपनामा पनि साँघुयार्यो ।
अहिलेको जसरी पढ्न पाएको भए, अहिलको खेल खेल्न पाएको भए, अहिलेको अवसर पाउन पाएको भए ! छोटो जीवन लिएर आउने व्यक्तिले उपलब्धि चुलिँदै गएको संसारलाई अर्को शताब्दीसम्म कसरी पिउन सक्छ ? तर मानिसहरू आफ्नै सन्ततिका अवसर देखेर पनि लोभिँदा रहेछन् । भोगिएको समयलाई अहिलेमा बदलेर अहिलेको गर्न नपाए पछि मानिस तड्पिनुको विकल्पमा रहँदैन । त्यसैले ऊ लामो जीवन बाँच्न चाहन्छ ।
जेन–जी ढाट्न जान्दैन । बच्चाले प्रष्ट भनिदिइ हाल्यो– हजूरहरू त मर्नुहुन्छ होला, तर हाम्रो पुस्ता शायद मर्दैन । मृत्यु भनेको कोषिका नास (सेल डिके) हुने, पुरानो हुने र मक्किएर काम गर्न नसक्ने अवस्था न हो । त्यसलाई फेर्न सके, डिके नुहने कोषिका प्रत्यारोपण गर्ने जैविक–रासायनिक प्रविधि विकास गर्न सके मानिसले मर्नु पर्दैन । वैज्ञानिकहरू खोज गरिरहेका छन् । यो शताब्दीले शायद त्यही गर्छ । त्यसो गर्न सके अबको पुस्ता नमर्न सक्छ ।
बच्चाको विचार गल्ती कि मेरो सोचको सीमितता ? मर्नु चेतनाशून्य हो कि नवीकरणको जैविक प्रक्रिया ? मरेर बह्मलीन हुने हो कि माटोमा मिलेर जैविक प्रक्रियामा समाहित हुने ? सेक्रेटस, श्रीकृष्ण, हकिन्स को सत्य ? गीता र विज्ञान कुन सत्य ? शास्त्र, स्मृति, दर्शन, विज्ञानमा जीवनलाई आफूखुशी व्याख्या गरिएको हो कि वास्तविकतामा ? धर्म र शास्त्रले मिथक र कथामा व्याख्या गरे, दार्शनिकले तथ्यहीन तर्कमा । बच्चाले भनेको सत्य कि श्रीकृष्णले भनेको ? हरारीले भनेको कि हकिन्सले भनेको ? कि ओशो र चार्वाकले भनेको चाहिँ सही हुन् ? जीवन खुशीले बाँच्ने, चाहे जसरी मज्जाले बाँच्ने, पुर्याएर होइन भएकोमा मज्जाले बाँच्ने तर्क जोर्वा जस्तो जीवन्त पात्रलाई प्रतीक बनाएर आशोले गरेथे । उनको जोर्वा बुद्धले देखिएको भोगिएको मात्र सत्य हो, अरु सब भ्रम भन्ने गर्छ । बहुधा मानिस भ्रममा अल्झिएर के के न पाएँ, गुमाएँ भन्छ । आजसम्म रचिएका कथा, मिथकले जन्माएका भ्रमहरूले हामीलाई सत्यबाट अलग्याएर बाँच्न सिकाएको छ । भय, ईर्ष्या, आरिस र तृष्णाका पौल सिर्जना गरेको छ । भ्रमका ठूला अग्ला पर्खाल ठड्याएर बाँच्न सिकाएको छ । शास्त्रले त्यही सिकायो, राज्य प्रणालीले त्यही भन्यो, कला साहित्यले त्यसैलाई विस्तार गर्यो ।
विज्ञान सही हो भने यसले चकमत्कार गर्छ, बच्चाले भनेको सही हो । कोषिकाहरू क्षयीकरण मृत्यु हो । त्यसो हो भने कोषहरूको नवीकरणले मृत्यु धकेलिन्छ र मानिस युगौँ जिउँछ । धेरै गर्न सक्छ । धेरै स्वाद र नयाँ नयाँ स्वादहरू लिन सक्छ । बाच्नु भनेको गर्नु पनि हो, स्वाद लिनु पनि हो ।
त्यो युगौँ बाँच्ने मानिस, रहस्य सकिएको मानिस सुखी कि थाहै नपाई अवस्यम्भावी कब्जामा पुग्नु खुशी ? चेतनाशून्य खुशी कि शून्य आनन्द खुशी ? कोष नवीकरणको युग आउने हो भने जेन–जी र अल्फा जेनहरू, त्यसपछि आउने बेटा-जेनहरू खुशीले लामो आयतनमा बाँचिरहने छन् ।
होइन, त्यस अवस्थामा पनि मानिस खुशी हुने छैन । अहिलेको जति खुशी पनि हुने छैन । कोषिका नवीकरण गर्ने प्रविधि विकास गर्ने मानिस खोज, अनुसन्धान र विकासमै रहने छ । अरुलाई बचाउँदैमा, खुशी बनाउँदैमा ऊ चाँहि फिसिक्क सकिने छ । उसको विज्ञता उपयोगमा धनीहरू बाँच्ने छन् । बीसौँ शताब्दीदेखि नै धनी मानिसहरू मुटु, कलेजो, आँखा जस्ता अंग किनेर अरुको जीवन बाँचिरहेका छन् । एक्काइसौं, बाइसौँ, तेइसौँ शताब्दीमा अरुको प्रविधि, विचार र बुद्धिमा बाँच्नेहरू बाँचिरहने छन् । फेरि एउटा असमानताको शक्ति ठिङ्गिने छ अरुको अवसर लिएर आफू बाँचिरहने समाज ठूलो हुनेछ ।
एक्काइशौं शताब्दीमा जैविक प्रविधि र कृतिम बौद्धिकताको संयोजनले जेन–जी र अल्फा जेन नाङ्गिदै जाने छन् । मानव रहस्यका पर्खालहरू गर्लाम्मगुर्लुम्म भत्किने छन् । सिग्मण्ड फ्रायड र कार्ल जुङ्गले व्यावहारिक मनोविश्लेषण गर्दा निकै हौसिएर, मच्चिएर आफ्ना दमित भावना प्रकाशनमा थोरै नाङ्गिन लागेको मानिस मानव स्वभाव विश्लेषणको पोजिट्रोन इलोक्ट्रोन टोमोग्राफी (पेट) मा डराएको थियो । आफ्ना मनका कुराहरू अर्कोले अरुको आफूले छर्लङ्ग थाहा पाउने प्रविधिको उपयोगले मानिस रहस्यहीन हुने छ । एकछिन रहस्य सकिएको मानिसको कल्पना गरौं न, त्यो समाजको कल्पना गरौँ न ! यसले मनोवृत्तिलाई कति नियन्त्रित गर्ला वा सन्त्रासको भूमरी पुर्याउला ? रहस्य हुँदा पनि दुःखी, रहस्य सकिँदा पनि झनै दुःखी । आखिर यो मानिस कहिले खुशी होलान् ?
कसैको पनि भविष्य पूर्व निर्धारित हुँदैन । भविष्य खुला क्यान्भास हो । निरन्तर लागेर आफ्नो क्यान्भासमा रङ भर्न सकिन्छ । यसका लागि जेन–जीहरू निरन्तर सङ्घर्षमा रहन्छन् । सङ्घर्ष गर्नेहरू निरन्तर उत्साहमा, निरन्तर उत्सर्गमा गरिरहेका छन् । तर उसका सफलताको स्वाद सम्पन्नहरू लिइरहेका छन् । स्टीभ जब्सले कहाँ सफलताको स्वाद लिन पाए र ? उत्पादक र उपभोक्ताको कित्तै फरक भयो । सङ्घर्ष गर्ने र सफलताको स्वाद लिनेहरू अलग कित्तामा छन् । बिचरा जेन–जी र अल्फा जेनहरू अनभिज्ञ भएर पछि जन्मने अघिल्ला पुस्ताका सोचवृत्ति भएकालाई सेवा र स्वाद दिइरहेका छन्, दिइरहने छन् । आत्मिक उत्सर्गमा रहनेहरू आफूलाई यसरी नै भुल्दै अरुलाई खुशी बनाइरहन्छन् । हिजोका शहीद हेरौ कि अहिलेका जेन–जी र अल्फा जेनहरू, उस्तै उत्सर्गमा छन् ।
अगिल्लो पुस्ताकै जीवन भोग गर्न पनि अबका पुस्ताले अतिरिक्त श्रम, सङ्घर्ष र पसिना गर्नुपर्छ । बिचरा जेन–जी र अल्फा जेनहरू यान्त्रिकता, औपचारिकता र निरन्तरको खटाइले निरस छन् । सम्बन्ध शृङ्खलाहरू बेग्लिएका छन् । सम्बन्ध संरचना सङ्कुचित छ । बाँच्नका लागि सङ्गत, साथी र सम्बन्ध । बिन्दास खुशी, त्यत्तिकै रमाइलो, हँसीमजाकहरू पहिल्यै छुटिसकेका छन् । कार्यस्थल र निवास एकै बन्यो, ग्याड्जेट र यन्त्रहरू छरिएका छन् । आजका लागि आजै कमाउने बाध्यता छ, आफैँले कमाउनु पर्ने बाध्यता छ । चाड–पर्व, संस्कार–संस्कृति निकै खुम्चिएका छन् । विस्तारै ती पनि विस्मृतिमा पर्दै मिथक–कथा बन्ने छन, हामीले उनीहरूलाई सुनाएका हाम्रा बालपनका कथा जस्तै । विस्तारै ती कथा सम्झिने, सुरक्षित हुने मन मुटु रहने छैनन् । स्मृति मेटिएको समाज सम्पन्न कि विपन्न ? अफसोच ! यो प्रश्न उठाउने फुर्सद र जाँगर पनि रहेने छैन ।
आफ्नै सङ्घर्ष, सफलताका कथाले मानिसलाई आत्मिक सौर्य र उत्साह दिन्छ । पुस्ताहरू आफ्नै कठीनता र विजयका स्वादिला स्मृतिले आफ्ना बाबु–नानीलाई शक्ति भर्न चाहन्छन्, भनौं आफूभन्दा राम्रो गरोस भन्ने इच्छा लदाउन चाहन्छन् । यो जेन–जी र अल्फा जेनहरू त्यो सुन्दैनन् । सुन्नका लागि न उनीहरूलाई फुर्सद छ न जाँगर नै । कथामा बाँचेका मानिसहरूलाई तथ्यमा रहनेहरूले किन मन पराउथे ? सन्ततिलाई आकाश गंगाको चम्किलो तारा बनाउने चाहनामा अभिभावक (जेन एक्स र वाइहरू) आफ्ना विगत कोट्याइहाल्छन् र रामकथा हल्न शुरु गर्छन् । तर यो पुस्ता कथा निरपेक्ष छ । सोचिरहेको छ –हामीलाई तिम्रा कथा सुनेर के फाइदा । संवेदनाका कथाहरू सुनेर उत्साह मार्नु छ र ? तिम्रा अर्ति र उपदेशले के दिन्छ ? तिम्रा सपना पूरा गर्न हामीलाई जन्माएका हौ र ? हो भने त्यो महाभूल हो । हाम्रा चेहरामा तिम्रा सपना नखोज । पूर्वदिप्तीको विचरणमा हामीलाई नबिथोल । मैले मेरै लागि गर्नु छ । पसिना बगाउनु छ । तिमीलाई थाहा छ, तिम्रा पालाको भन्दा तीनगुणा गरेर पनि तिम्रो जस्तो जीवन बिताउन सकिँदैन । हाम्रो पुस्ता काम, काम, काममा छ । आफ्नै खुट्टामा छ । हाम्रो प्रप्तिबाट गर्व पनि नगर, यी सामान्य हुन् । सानो उपलब्धिको सेलेब्रेशन गर्ने तिम्रो पुस्ता हो, उपलब्धिको प्रचार पनि नगर, ती जो कुनैले गर्ने काम हुन् । दुःखी भैकन पनि कति व्यावहारिक छन यी पुस्ता । न ईर्ष्या, न आरिस, फगत कर्म ।
काम, खटाइ र तनावको निरन्तरताले दिमाग र दिलको सम्बन्ध तन्तु बदलिएको छ । सामाजिक एकान्तीकरण यी पुस्ताको परिवेश हो । यो आफैँले निम्त्याएको, समयले दिएको परिवेश हो । पटक पटकका विपद् र आर्थिक–सामाजिक तनावले ठुङेको छ । वातारणको तनाव, सधैँ सीपयुक्त हुनुपर्ने तनाव । आफ्नै औचित्यका लागि निरन्तर ताजा भैरहुनेपर्ने तनाव । यी तनावले अक्सिजन किन्नुपर्ने चुनौतीमा त पुर्याउँदैन ? यति धेरै चुनौतीमा माझिएको जेन–जी, अल्फा जेन शक्ति र एक्लो सामर्थ्यमा छ । यी तनाव उसका लागि सिर्जनात्मक तनाव बनिरहेका छन् । तर कहिलेसम्म ? प्रविधि पनि भलाइ र भयको दोहोरो रूपमा छ । त्यसैले सन्तान हेरेर अभिभावक अर्को चिन्तामा छन् । जेन एक्स र वाई केवल चिन्ता लिन्छ, सधैँ चिन्ता । चिन्तन गर्दैन । उसका सन्तानको विवाह, सन्तान, घरवार कसरी होला ? चिन्ता नलिएर भो र । तर स्वयम् उनीहरू भने पर्वाहमा छैनन् । पर्वाह गर्नु पनि ठीक होइन उनीहरूका लागि ।
निरन्तरको प्रयत्न, खटाइ, श्रमले बाँचेको पुस्ता निमानवीकृत हुनु नै भयो । उसको समाज, साथी, व्यवहार र शैली निर्धारित छन् । जीवन संरचित छ । संवेदना निख्रिँदैछ । अल्गोरिदम उनीहरूको सार्वभौम शक्ति बन्यो । अल्गोरिदम नै बह्मशक्ति बन्यो । अल्गोरिदम अहम् ब्रहस्मिः बन्यो । सम्बन्धको परिभाषा, कामको परिभाषा, व्यवहारको परिभाषा सबै यसैले बदलेको हो । विवेकलाई उछिनेर, संवेग र भावनालाई उछिनेर सबै पुनपरिभाषा गरिएपछि जेन–जी र अल्फा जेनहरू निमानवीकृत मानिस बने । आफैँले सिर्जना गरेको शक्तिले आफैँमाथि धावा बोलेपछि आफ्नै शक्तिको पुनः परिभाषा गरिरहनुपर्ने चुनौतीमा पुग्दैछन् यी पुस्ताहरू ।
पहिलो पुस्ताभन्दा यिनले अवसर पाएका छन् । भन्ने गरिएको, बुझिएको तथ्य यही हो । अवसरको पुस्ताको भाष्य बनेको छ । तर यिनै पुस्तालाई मन्दी थिचेको छ, तनावले किचेको छ, पसिनाले भिजाएको छ, यन्त्रले निखारेको छ । वर्तमान त यति बोझिलो छ, भविष्यको सम्भावित सुरक्षा कस्तो होला ? वर्तमानमा साँघुरिएका छनौटहरू भविष्यमा झनै सीमित हुने, कठोर हुने निश्चित जस्तै छन् । तर कठोरताबाट जेन–जी, अल्फा जेनहरू कत्ति पनि डराउँदैनन् । विकल्प नभएका कुराबाट डराएर के गर्ने ? तनाव, हाँक, हुरी, हुण्डरी सबै उनीहरूका लागि सङ्घर्षका शक्ति हुन् । किनकि यिनीहरू थाक्दैनन् । कसैप्रति आग्रह पनि गर्दैनन्, परिस्थिति स्वीकार्छन् र कठोरता चढ्दै जान्छन् । कार्यशैली बदल्छन् र आफैँ बदलिँदै जाने गर्छन । परिस्थितिसँग जुध्नु नै यी पुस्ताको जीवन हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

नियात्रा : अस्ट्रेलिया–न्यूजिल्याण्डको यात्रा र प्रिन्सेस क्रुजको सानो विश्व
