
यो निबन्ध आईआईटी बाबासँग कम, बाबा प्रवृत्तिसँग ज्यादा सम्बन्धित छ ।
हाल भारतको कुम्भ मेलामा एक जना साधुको चर्चा छ । आईआईटी बम्बेबाट एरोनटिकल इन्जिनियरिङ गरेका उनी अहिले साधु बनेका छन् । पत्रकारले ‘किन साधु बनेको ?’ भनेर सोध्दा उनले भने छन् – ‘केही नबन्न’का लागि । सबै केही बन्न लागेका बेलामा उनी किन ‘केही नबन्न’ लागेका होलान् !
इटालियन कलाकार साल्भाटोर गाराउले जुन, २०२१ मा ‘लो सोनो’ नामक एक ‘अदृश्य मूर्ति’ १८ हजार ३०० अमेरिकी डलरमा बेचेका थिए । आर्ट-राइट लिलाम घरद्वारा लिलामी गरिएको यस कलाकृतिको कुनै ‘भौतिक स्वरूप’ नै थिएन । कलाकार र खरिददारको बीचको विश्वास नै यो ‘अभौतिकता’को मूल्य थियो । त्यस्तै, आईफोन बजारमा आउनुभन्दा पहिले नै बिक्री हुन्छ, त्यसको भौतिक स्वरूप कस्तो हुन्छ, कसैलाई थाह हुँदैन तर बिक्री भइसकेको हुन्छ । अग्रिम पैसा तिरेका हुन्छन् । त्यो अभौतिक अवस्थामा नै बिक्री भइसकेको हुन्छ ।
अभौतिक वस्तु पनि बिक्री हुँदो रहेछ त, तर त्यस्तो वस्तु बिक्री हुनका लागि त्यो वस्तुप्रति विश्वास चाहिन्छ । व्यापारमा विश्वास ब्रान्डले बनाउँछ । जुनको ब्रान्ड भ्यालु बढी छ त्योप्रति विश्वास बढी रहेछ भन्ने बुझिन्छ । पहिलोमा साल्भाटोर गाराउ आफैं नै ब्रान्ड हुन भने दोस्रोमा एप्पल कम्पनी ।
ब्राण्डिङ् भन्ने कुरा पनि गजबको हुने रहेछ । समाजमा आईआईटी बम्बेको एउटा ब्राण्डिङ् छ । इन्जिनियरिङको अर्को ब्राण्डिङ् छ । तर यो ब्राण्डिङ्भन्दा पनि तगडा अर्को ब्राण्डिङ् रहेछ – दाह्री पाल्ने र गेरुवस्त्र लगाउने । गेरुवस्त्रको ब्राण्डिङ् भनेको ‘म केही हैन !” भन्ने ब्राण्डिङ् हो, सबै कुरा त्यागेको । जब कसैले ‘म केही हैन’ भन्छ ऊ झन् ठूलो हुँदो रहेछ । हाल ‘केही नहुँदा’ ऊ कति ठूलो भयो ? हाल उसको ब्रान्ड भ्यालु कति भन्ने कुरा ऊ ‘केही हुँदा’ के थियो भन्नेमा निर्भर हुने रहेछ । त्यसैले ‘नेपाली सरकारी कलेजबाट एमए पास गरेको’ वा ‘साउदीमा पैसा कमाउन नसकेर नेपाल फर्केको’ मान्छेले भन्दा ‘आईआईटीबाट इन्जिनियरिङ’ गरेको वा ‘अमेरिकामा महीनाको लाखौँ रुपैयाँ खाए तापनि केही नबन्नका लागि फर्केको’ मान्छेहरू ‘केही नबन्दा’ महान् देखिने रहेछन् । उनले यो बुझेर नै तीन शक्तिशाली ब्रान्डहरूलाई एकसाथ ल्याएका छन्: आईआईटी बम्बे, इन्जिनियरिङ पेशा, र गेरुवस्त्र ।
आईआईटी बम्बई, भारतका सबैभन्दा प्रतिष्ठित संस्थानहरूमध्ये एक हो । यसले बौद्धिक उत्कृष्टता र सफलताको प्रतिनिधित्व गर्दछ । इन्जिनियरिङले एक पेशाको रूपमा समस्या समाधान र आधुनिक प्रगतिलाई प्रतिनिधित्व गर्छ । अर्कोतर्फ, गेरुवस्त्रले सदियौँदेखि सांस्कृतिक र आध्यात्मिक महत्त्व बोकेको छ । यो त्याग, ज्ञान र उच्च उद्देश्यको प्रतीक हो ।
यी तीन तत्त्वहरूलाई एकसाथ मिलाएर, उनले एउटा विशिष्ट पहिचान निर्माण गरेका छन्, जसले आधुनिकता र कालजयी मूल्यहरूलाई संयोजन गर्दछ। एक वैमानिकी इन्जिनियरको रूपमा एक आशाजनक करियरलाई त्याग गर्ने निर्णयले उनको कथामा एक रोचक तह थपेको छ । इन्जिनियरिङभन्दा गेरुवस्त्र महान् कर्म रहेछ भन्ने भावना स्थापित गराएको छ । अब उनी ‘केही नबन्ने’ अमूर्ततालाई आईआटी र इन्जिनियरको साथै गेरुवस्त्रको ब्रान्ड प्रयोग गरेर बेचिरहेका छन्, यो एउटा ‘अदृश्यता’को बिक्री हो ।
किन ‘केही नहुनु’ राम्रो बिक्रीको वस्तु हो ? हाम्रो सभ्यताले किन ‘केही हुनु’भन्दा ‘केही नहुनु’लाई महान् ठान्छ ? यसको उत्तर मनोविज्ञान र विकासक्रमसँग सम्बन्धित छ । बिगव्याङ्ग अगाडि केही थिएन, यसको मतलब धेरैले खाली थियो भन्ने बुझ्छन्। खाली थियो भनेको मतलब त्यहाँ स्पेस त थियो नि भन्ने सोचले एउटा खाली स्पेसको कल्पना आउँछ । एउटा विशाल स्पेस, जुन खाली छ । तर त्यसो होइन, त्योबेला त्यो स्पेस पनि थिएन । अस्तित्व नै थिएन मात्र हैन, त्यो अस्तित्व बन्न चाहिने भौतिकीका नियमहरू पनि थिएनन् । एउटा परम् शून्य अवस्था । त्यहाँ महाविस्फोट भयो । त्यो परम् शून्यबाट कसरी महाविस्फोट भयो र भौतिकी उत्पन्न भयो ? हालसम्म अज्ञात नै छ । तर जब ब्रह्माण्ड बन्यो, तब ब्रह्माण्डले ‘जिम्मेवारी’ पायो, आफैंले आफैंलाई निरन्तरता दिने । अस्तित्वको मूल उद्देश्य नै निरन्तरता हो । ब्रह्माण्ड यो निरन्तरता कायम गर्न आफैंले गर्न पर्ने काम गरिरहन्छ । जब कुनै साधुले ‘म केही बन्दिनँ’ भन्छ, ऊ त्यो कल्पनाको परम् शून्यमा जान चाहन्छ, जहाँ केही पनि छैन, केही पनि गर्न पर्दैन । जहाँ कुनै कामको जिम्मेवारी लिन पर्दैन, आफ्नै निरन्तरताको जिम्मेवारी पनि लिन चाहँदैन । जिम्मेवारीहरूबाट मुक्त जीवनको आकर्षण मानव इच्छाहरूमा गहिरो रूपमा मिसिएको छ । सबैले कुनै न कुनै स्तरमा यस्तो अवस्था चाहन्छन् ।
हामीलाई बाल्यकाल प्रिय हुन्छ किनभने त्यसमा आफू बाँच्ने, आफ्नो निरन्तरताको जिम्मेवारी पनि आफैंले लिन पर्दैन । हुर्काउने, खुवाउने सबै अरूले गरिदिन्छन् । त्यस्तै साधु पनि समाजमा माग्न हिँड्छ, उसको जिम्मेवारी समाजले लिन्छ । बच्चाको रूपमा, हामी निर्भरताको स्थितिमा रहन्छौँ, वयस्कताका जिम्मेदारीबाट मुक्त र जीवनको जटिलताहरूबाट परिरक्षित भएका हुन्छौँ । यो लापरवाह अस्तित्वले हाम्रो दिमागमा एक उन्मुक्तताको छाप छोडेको हुन्छ, जुन हामी पछिल्लो जीवनमा पनि चाहना गर्छौँ । बच्चा पेटमा हुँदा पनि बच्चाले यो उन्मुक्तताको अनुभव गर्छ, त्यसैले आमाको काख प्यारो हुन्छ । यस्तो चाहना आफ्नो जिम्मेवारीहरू त्यागेर र समाजको उदारतामा निर्भर भएर बाँच्ने बालसुलभ स्वतन्त्रताको चाहना हो ।
मान्छेको ‘केही नहुने’ इच्छाले वयस्कताको दबाबबाट मुक्त भई उन्मुक्तताको अवस्थामा फर्कने सार्वभौम इच्छालाई प्रतिनिधित्व गर्छ । कुनै नै कुनै स्तरमा, हामी सबै एक यस्तो जीवनको चाहना गर्छौँ जहाँ हामी केही अरू “बन्नु” पर्ने दबाब बिना बस “भई” मात्र रहन सकौँ । जसको सबैले चाहना गर्छन्, त्यो व्यापारिक रूपमा बेच्न सकिन्छ । त्यसैले यो ‘जिम्मेवारी मुक्त अवस्था’ अर्थात् ‘केही नबन्ने’ पनि बिक्रीको वस्तु हो । यसलाई बिक्री गर्न जान्नु मात्र पर्छ । तगडा ब्रान्डको आवश्यकता पर्छ । उनले यो सार्वभौम चाहनालाई बिक्रीको वस्तु बनाए र एउटा तगडा ब्रान्ड प्रयोग गरेर बिक्री गर्दैछन्।
उनले बेची त रहेछन् तर खरिदकर्ताले कुन मुद्रामा खरिद गरेको छ ? यहाँ खरिद पनि अमूर्त मुद्रामा हुन्छ । त्यो मुद्रा हो ‘ध्यान’ जसलाई अङ्ग्रेजीमा ‘एटेन्सन’ भनिन्छ । जसरी भौतिक मुद्रा धेरै जम्मा भएपछि मान्छे धनी बन्छ, यो ‘एटेन्सन’ नामक अभौतिक मुद्रा जम्मा भए पछि मान्छे ‘प्रख्यात’ बन्छ । एउटा आईआईटीको इन्जिनियर खासमा इन्जिनियर कर्मबाट यति प्रख्यात हुन सक्दैनथे होला जति यो अभौतिक वस्तु, यो अभौतिक मुद्रामा बिक्री गरेर भइरहेका छन् । उनले सफलतापूर्वक करोडौँको ध्यान आकर्षित गरेका छन्, र यसलाई अमूर्त धनको रूपमा परिवर्तित गरेका छन् । यसले समाजमा उनको स्थिति बढाउँछ, उनी प्रख्यात बन्छन् । जब मान्छे प्रख्यात बन्छ, ऊ भ्यालिडेटर (सत्यापनकर्ता) बन्छ । उसले बोलेका कुरा मान्छेहरूले सत्य मान्छन् र विश्वास गर्न थाल्छन् ।
मान्छेले चाहने दुइटा मुख्य कुरा हुन्, आफ्नो ‘भविष्यको खुलासा’ र आफ्नो ‘भलो’ । उनी प्रख्यात बन्दै छन्, बलियो ब्रान्डबाट विश्वासिलो पनि बन्दै छन्, अब उसले भौतिक मुद्रामा बेच्न शुरु गर्ने नै यही दुइटा कुरा हुन् । मान्छेको भविष्य भनेको उसको विगतको विस्तार हो, विगतमा रोपेका बीजहरूको हुर्काइ हो । रोपेको बीजभन्दा फरक प्राप्ति हुन्छ भनेर ‘प्रख्यात’ले भनिदिँदा, मान्छेको मन डराउँछ । कसैले भविष्य जान्न चाहन्छ भने त्यो ‘डर’को कारणले नै हो । कतै मेरो अहिलेको अवस्था खस्किँदै त छैन भन्ने जानकारी लिने चाहना । अनि यस्तो अवस्थामा विश्वासिलो मान्छेले ‘तेरो भलो होस्, उन्नति होस्’ भनेर भविष्य सपार्ने आशीर्वाद बेच्न चाहन्छ भने त्यो राम्रोसँग बिक्न सक्छ । हामी आशीर्वाद लिएर पैसा दिन्छौँ, आशीर्वाद किन्छौँ । अन्त्यमा हुनेभनेको ‘भविष्यको डर’ र त्यसबाट मुक्त हुनका लागि चाहिने ‘आशीर्वाद’ जस्तो अभौतिक वस्तुको व्यापार नै हो । यी आईआईटी बाबाले चाहिँ यो व्यापार पनि शुरु गरिसकेछन् । उनले “भविष्यवाणी’ गरेका छन् । उनले दावा पनि गरेका छन्, उनको भविष्यवाणी धेरै मिल्छ भनेर ।
हाम्रो संस्कृतिले त्यो ‘केही नहुनु’को अवस्थालाई निरन्तर उच्च स्थानमा राख्छ । सुख र दुःखमा कुनै भाव नल्याउनु, भावको ‘केही नहुनु’ अवस्था हो । दिमागलाई ध्यान विधिबाट शून्य अवस्थामा लानु, दिमागमा विचारको ‘केही नहुनु’ अवस्था हो । कसैले गाडी किन्यो भने मनमनै भन्छौँ, ‘आखिरमा चार जनाको काँधमा चढ्नु छ भने अहिले यो गाडीमा चढेर के हुने हो र ?’ संस्कृतिले हामीलाई सबै पापको जड धन हो त्यसैले जीवनमा धनलाई महत्त्व नदिनु भनेर सिकायो । जीवनमा धनलाई महत्त्व नदिनु भनेको धनको ‘केही नहुनु’ अवस्था हो । हाम्रो संस्कृतिले केही हुनुलाई त्यति राम्रो मानेन ।
हामी एकातिर केही नहुनुलाई उच्च अवस्था मान्छौँ भने अर्कोतिर हामी हुनुको मापन चाहिँ जिडिपीमा गर्छौँ । मन पराउने चाहिँ ‘नहुनुलाई’ अनि “हुनु”लाई भौतिक वैभवको पश्चिमा रूपको जिडिपीको परिभाषाबाट हेर्दा फरक त देखिने नै भयो । सिकाउने चाहिँ ‘केही नहुनु’ भनेर अनि वैभव नाप्ने चाहिँ जिडिपीले ? नमिल्दो कुरा ! जिडिपीले ‘केही नहुनु’लाई सादगीको रूपमा बुझ्दैन, गरीबीको रूपमा बुझ्छ । हाम्रो संस्कृतिले हामीलाई ‘बुद्ध’ बन्न पर्छ भनेर सिकाउँछ अनि जाँच्ने बेलामा चाही ‘मस्क’ बन्यो कि बनेन भनेर जाँचिन्छ । विरोधाभास ! धनी ‘नहुनु’ भनेर जुन संस्कृतिले सधैँ वकालत गर्यो त्यसले भौतिक उन्नति कसरी सिकाउँछ ? विचार शून्यतालाई जुन संस्कृतिले उच्च अवस्थामा राख्यो त्यसले नयाँ विचार कसरी जन्माउँछ ? सुखमा सुखी र दुःखमा दुखी नहुनु भनेर जसले सिक्यो, ऊ अरूको दुःखमा कसरी भावुक बनोस् ? आफ्नो सुखलाई कसरी उत्सव बनाओस् ?
हाम्रो संस्कृतिले जिडिपीको मापनभन्दा ‘केही नहुनु’को मापनलाई मन पराउनु भनेको ‘केही नहुनु’का लागि उपयुक्त बजार वातावरण हो । यसको मतलब ‘केही नहुनु’ भन्ने कुरा बिक्न हुनका लागि पहिलेदेखि नै हाम्रो समाजमा राम्रो माग छ । शायद आईआइटी बाबाले यो बजारको मनोविज्ञान राम्रोसँग बुझे । आईआईटी बम्बेको एरोनटिकल इन्जिनियरिङबाट संन्यासको गेरुचोला लगाउने उनको यात्रा न केवल एक आध्यात्मिक कथा हो, बरु बजार बुझ्ने र सोही अनुसार ब्राण्डिङ गर्ने मास्टरक्लास पनि हो ।
हाम्रो सभ्यताले ‘केही हुनु’भन्दा ‘केही नहुनु’लाई महान् ठान्छ, त्यसैले बाबाहरू समाजमा सबै भन्दा ठूला हुन्छन् । जुन समाजले जबसम्म ‘केही नहुनु’लाई दिव्य ठान्छ तबसम्म त्यो समाजले कर्मलाई मान्यता दिएको छैन भनेर बुझ्नुपर्छ । भारत सरकारले त्यत्रो खर्च गरेर पढाएको एउटा व्यक्ति ‘केही’ भएन । भारतले एउटा एरोनटिकल इन्जिनियर गुमायो, ऊमाथि गरेको खर्चले उनकै शब्दमा भन्ने हो भने ‘केही भएन’। आईआईटी जस्तो संस्थामा पढेकाले उनले नयाँ नयाँ विचार ल्याउन्, नयाँ नयाँ निर्माण गरुन् भन्ने सरकारको चाहना थियो होला तर उनी ‘केही नबन्न’तिर लाग्दै छन् । जिडिपीको मापन अनुसार झन् गरीबी बढाउँदैछन् । उनका साथीभाइ र परिवारले देश बनाउने काममा उनलाई इन्जिनियरकै रूपमा फेरि फिर्ता ल्याउन सकून् !
(लेखक इन्जिनियर हुन्।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

