निश्छल पूर्व क्षितिजको आकाश च्यात्दै आफूसम्म न्यानो दिन आएको घामको कलिलो किरणमा प्रेमी स्याङ्वोलाई कल्पना गर्दै म्हेन्दो आफैंबाट हराउन पुगी । स्याङ्वो खर्च कमाउन शहर पसेको महिनौं भए पनि उससँग मयू, गोगनपानी आदि ठाउँमा सँगै घासदाउरा गरेका यादहरू मनभरि छन् । पिठ्यूमा रहेको रित्तो डोको, हातमा भरखरै साँध लगाएको हसिया, पोल्टामा मकै भटमासमा हालेर घाँस खोज्न एक्लै हिडेकी म्हेन्दो आज त्यत्तिकै खुशी छ । खुशी हुन कारण पनि छैन, खुशी बताउन साथी पनि छैन । तर खुशीका सीमाहरू अव्यक्त मनभरि पोखिएका छन् । मनभरि स्याङ्वोको चित्र फिजिएको छ । घामका कलिला किरणले चित्रमा रङ्ग भरेका छन्, चराचुरुङ्गीको सुरिलो चिरविरले ध्वनि भरेको छ । बादलका फिर्काहरूले भाव भरेको छ । स्वाँआ… गर्दै यात्रामा पूर्व हानिएको रोशीले कञ्चन ताना दिएको छ । दक्षिणतिरको अजङ्गको महाभारत र अगिल्तिर लमतन्न तिमालले रक्षा दिएको छ । प्रकृतिका अरु अवयवले विविधता थपेका छन् । प्रेमीहरू त्यत्तिकै रमाउँछन्, प्रकृतिमा गदगद हुन्छन्, उड्छन्, फैलिन्छन्, कहिल्यै खुम्चिैदैनन् । पसिनामा पनि प्रकृतिमा प्रेम त्यत्तिकै महसूस भैरहन्छ ।

रोमियो-जुलियटको अन्तहीन प्रेमकथाले पाठकहरूको हृदयमा अन्तहीन आशन जमाइरहेको छ । प्रेमपारखी भन्ने गर्छन् रोमियो-जुलियटको प्रेमले समय, संस्कृति र सीमाहरूलाई पार गरेको छ । अहिलेसम्मै लेखिएको उत्कृष्ट प्रेमकथा दुःखान्त छ, दुःखान्त भएकाले प्रेमको साँचो अर्थ दिएको छ । र युगौयुगका प्रेमीलाई आफूहरू जस्तै साँचो प्रेम गर्न प्रेरणा दिएको छ । आपसमा समर्पण र उत्सर्ग भएर नै प्रेम जीवन्त शक्तिको स्रोत बन्ने दृष्टान्त रोमियो-जुलियटको जोडीले दिएको छ । यो प्रेममा सम्मोहन सीमित रहेन, प्रेमको दियो झ्वार्र प्रज्ज्वलित भयो र प्रेमी सधैंका लागि समाधिस्थ भए । क्लियोपेट्रा र एन्टोनियोको प्रेम धेकाघडी र षड्यन्त्रमा पनि जीवन्त छ । कच र देव्यानीको प्रेम विश्वास, धोका, षड्यन्त्र, ईर्ष्या, साथित्व, शत्रुत्व र घृणामा लतपतिएर पनि समर्पणको उच्छवास देखाउन पुग्यो । हिन्दू वैदिक÷पौराणिक कथामा प्रेमलाई शक्ति र सृष्टिको ईश्वरीय रूप मान्छ । शिव र उमा, राम र सीता कर्तव्यको ईश्वरीय अनुपमता देखाउछन्, राधा आत्मिक उत्सर्गमा अद्वीतीय छन् । यी वैदिक–पौराणिक प्रेमका अनन्त आवृत्ति अनगिन्ती म्हेन्दो र स्याङ्वोले जीवन्त बनाइरहेका छन् । त्यसैले प्रेम कहिले सकिंदैन । प्रकृति र ब्रम्हशक्ति प्रेमको चुरो हो ।

प्रेम अन्तस्पर्श हो । प्रेम अनन्त उत्सर्ग हो । अनन्त ऊर्जा हो । अथाह शक्ति हो । प्रेम कहाँबाट शुरु र अन्त्य हुन्छ, त्यो पनि भन्न सकिंदैन । कुनै कुरा नैसिर्गक छ भने त्यो प्रेम हो । न रूप छ न ढाँचा तर सबैतिर फैलिएको छ । स्पर्शको आकारमा, संवेगको स्वरमा र भावनाको वयेलीमा सलल्ल सल्लिन्छ । कोसँग गरिन्छ र कसरी गरिन्छ पनि थाहा छैन । ँहेन्दोले स्याङ्गोसँग प्रेम गरेकी हो र ? कहिलेदेखि उनीहरू एकअर्काभित्र फैलिए उनीरूलाई नै थाहा छैन । प्रेम गरिंदैन, हुन्छ । महसूस गरिन्छ । यो आफसेआफ हुन्छ । आफैं भएर भावनात्मक सान्निध्य खोज्छ । प्रेम कर्ममा, कर्तव्यमा फैलिन्छ । मेलापातमा सँगै हिंड्ने स्याङ्वो र म्हेन्दो प्रेमका प्रतिनिधि मात्र हुन् ।

प्रेमका पारखीहरू यसलाई नानाभाँती परिभाषा दिइरहेका छन् । प्रेम नगरेकाहरू यसको परिभाषा गर्न रमाउछन्, प्रेम गर्नेहरू फगत प्रेम गर्छन्, उनीहरूको प्रेम त्यसै अर्थवान छ, किन परिभाषा दिनुपर्यो ? के मायाको पनि परिभाषा हुन्छ ? प्रेम गर्नेहरू कसैका परिभाषा र अर्थमा यसलाई देख्दैनन् । प्रेम त उन्मुक्त छ, उर्जावान् छ, अर्थवान् छ । परिभाषामा बाँधिएको भए, भाषामा व्यक्तिएको भए यो अन्तहीन फराकिलो र पवित्र हुने नै थिएन । माया, प्रेमका नाममा कथिएका कथा–काव्यहरू, कोरिएका विम्ब प्रतिविम्बहरू, मञ्चन–अभिनयहरू यसलाई बताउने प्रयासमा टुङ्गिएका छन् । युद्ध–विभीषिकाहरू त्यत्तिकै सकिएका छन् । प्रेमका नाममा हुने सबै कार्य–प्रतिकार्य प्रेमलाई समाउनै नसकी अन्तर्यबाट बाहिरिएका छन् । मायाबन्धनको सांसारिकताबाट मुक्त हुन सिद्धार्थले मध्यरातमा दरवार छाडे । मायाले डोर्याउन छाडेन, प्रेयसी यशोधरा र मुटुको धड्कन राहुललाई हेर्न कमण्डलु बोकेर एकदिन टुप्लुक्क दरवार पुगे । प्रेमको परिभाषा त्यति सानो र बुझिने भए प्रेम किन यति सर्वव्यापी हुन्थ्यो ? त्यसैले प्रेमको परिभाषा शब्द–वाक्य, काव्य–महाकाव्यमा अटाएन । मायाको मुक्तिमा हिंडेकाहरू मायाबाटै लफ्रक्क भिजेका छन् । विटल्स र शून्यवादी जीवनबाटै वाक्क भएर जहाँ जहाँ पुगे, विन्दास प्रेममा मोहित भए र प्रेमको गीत गाउन थाले । रेज्सो सेरेस र विल्ली होलिडेले उदास आइतवारमा प्रेमीहरू आत्महत्यासम्म उत्सर्गित हुने मायाका अनन्त आह्लादहरू पोखेर प्रेमलाई अमर गराइरहेका छन् । सचेत मनमाथि बस पार्न खोजे अवचेत मनले मायालाई झनै गहिरो बनाउँछ । मनोद्वन्द्वमा मानिस हारे पनि मायाचाहिं जितिरहेको छ । भौतिकीमा माया हारे पनि भावनामा झन फिजिइरहन्छ ।

माया मुक्ति हो कि बन्धन ? प्रश्न अनुत्तरित छ । चिन्तक युजी कृष्णमूर्तिका माया र स्वतन्त्रता साथसाथै हिंड्ने भन्दछन् । उनका अर्थमा प्रेम प्रतिक्रिया होइन, परिणाम हो । प्रतिक्रियामा गरिने प्रेम सौदा हो, साँटफेर हो, आत्मिक होइन । सौदा र साँटफेरको वस्तु हुँदो हो त बजारमा सजिलै किन्न सकिन्थ्यो । प्रेमले प्रतिफल खोज्दैन, प्रतिकार्य गर्दैन, न परिणयको बन्धनको अभिष्टमा नै प्रेम फक्रन्छ । लिनुदिनु, पाउनु गुमाउनु, हुनु नुहुनुभन्दा महान् र माथि छ, त्यसैले यो पवित्र छ । कृष्णमूर्तिले ठीकै भने, यो स्वतन्त्रताको पराकाष्ठा हो । प्रेमीहरू आफैंदेखि स्वतन्त्र हुन्छन् ।

ओशोका अनुसार प्रेम लक्ष्य हो, जीवनयात्रा हो । यात्रा लक्ष्यका लागि हुन्छ, लक्ष्य क्षितिजजस्तै उत्कर्षको गतिमा छ, यात्रा लक्ष्यलाई पक्ष्याइरहन्छ । यात्रा अविश्रान्त छ, प्रेम अनन्त छ ।

प्रेम मष्तिष्कबाट उब्जिदैन । मष्तिष्क नाफाघाटाको कुरा गर्छ । चेतनाले फाइदाको आग्रह गर्छ । प्रेम चेतनाभन्दा माथि हृदयबाट मूल फुट्दै फैलिने पवित्र भावना हो । यसको न तौलाइ छ, न मोटाइ, न त दृश्यमा सीमित हुन्छ । प्रेम महसूस हुन्छ । प्रेम एक्लैले अनेकन कुरा गर्न सक्छ । यो अदृश्य शक्ति, आत्मिक उत्सर्ग हो, प्रवञ्चना होइन ।

प्रेम न दुःख हो न ईर्ष्या । प्रेमीहरू दुःख, ईर्ष्या, रौस–राग गर्दैनन्, आत्मिक स्वतन्त्रतामा निथ्रुक्क हुन्छन् । प्रेमले विध्वंश गर्न, पीडा ल्याउन सक्छ, तर यी यावतलाई समन गर्ने साहस स्वयम् प्रेम हो । प्रेमीहरू जलिसक्दा पनि प्रेम चाहिं उजेलिएर बाँकी रहन्छ । प्रेमीहरू प्रेमलाई रूप र दृश्यमा हेर्दैनन्, सिर्जनामा पनि हेर्दैनन् । फगत प्रेमको महसूस गर्छन् । मृत्युमा प्रेमी विसर्जित होला, प्रेमचाहिं अन्त्य हुँदैन । जीवनभर प्रेममा रमाएकी अमर प्रेमी अमृता प्रीतमले ‘अमर प्रेम’ लेखिन । प्रेम लेख्न र प्रेम गर्न खप्पिस अमृताले प्रीतम, इम्रोन र साहिरसँग खतरानक अन्तहीन प्रेम गरिन् । त्रिकोणीय प्रेम गरिन् । न समाजसँग डराइन्, न चासो नै राखिन् । आफैं पात्र भएर अन्तहीन र खतरानक प्रेम लेखेकी, प्रेम गरेकी अमृता जीवनको अन्तपछि पनि प्रेमको दृष्टान्त बनिरहेकी छन् । आफूलाई विसर्जन गरेपछि पनि प्रेम अन्त्य हुन दिइनन् । सच्चा प्रेम सधैं अमर हुन्छ, प्रेमीको अवसानपछि झनै झाँगिन्छ । अमृता भन्थिन् – अमर प्रेमीको जीवन जलिरहेको चुरोटको ठुटाजस्तै मौन दुःखमा रहन्छ र फ्यास्स झरेको खरानी जसरी केही शब्दमात्र कथा–कवितामा अट्न सक्छन् । त्यसैले प्रेम अदृश्य संवेग हो, जोडले आउने आवेग होइन । अमृता त्यो संवेग नारीमा अझै घनीभूत देख्छिन् । अमृताका अर्थमा जीवनमा यस्ता कथाहरू हुन्छन् जुन कागजमा उतार्न सकिंदैन, ती स्वास्नी मानिसका मन र शरिरमा लेखिएका हुन्छन् । तर हामी भन्न सक्छौ, प्रेमको अनुभूति र आयतन लिङ्गले निर्धारण गर्दैनन् । गर्थ्यो भने रबर्ट ब्राउनीङ आफ्नी प्रेमिका एलिजावेथ ब्यारेटलाई तिम्रा शब्दहरू मेरो हृदयमा सजिएर लेखिएका छन् भन्दैन थिए होला । अमृता नारी भएकीले आफ्ना संवेगको गहिराईमा छिन् । ब्राउनीङहरू र अमृताहरू समान गहिराईमा छन् । बरु उनीहरूले नभनेको कुरा के हो भने प्रेमीहरू एकको दुःखमा अर्कोले झनै घनीभूत समानुभूति गर्छन् । प्रेमीहरू आफूलाई भन्दा प्रेमीलाई बढी माया गर्छन् । प्रेमीप्रतिको अनन्त उत्सर्ग नै प्रेमको अर्थ हो ।

प्रेममा कसैको पनि हार हुँदैन । हार हुने प्रेम नै हुँदैन थियो । सधैं जीत मात्र हुने कुरा नै प्रेम हो । प्रणय र प्राप्तिका भावनाले गरिएका सम्बन्ध मात्र हारजीतमा हुन्छन् । अमर प्रेम दुःखान्त हुँदा झनै झाँगिएका कैयन् दृष्टान्त छन् । राधाले प्रणय पाइनन् होला, तर प्रेमले कृष्णलाई जितिन् । राधाले जितेपछि कृष्णले पनि जिते । प्रेम प्रकृति हो, त्यो हार कसरी  हुन सक्छ ? सादृश्यता र तत्काल देखिएको हार जस्तो विषय प्रेममा त्यो झनै जीत बन्न पुग्छ ।

आधुनिकताले, अझ भनौं यान्त्रिकताले रोमान्सलाई प्रेम मान्न थाल्यो । प्रेमलाई मनबाट हुत्याएर शरिरमा पुर्याउन खोज्यो । रोमान्समा प्रेमको उपलब्धि देख्यो । रोमान्सले बासना र क्षणिकताको आस्वादमा प्रेम बरु विसर्जन हुन्छ भन्ने कल्पना गरेन । शरीर घोच्ने रोमन्सले प्रेमको अन्तर्य छुँदैन । त्यसैले मायाको अन्तहीनता र आत्मिकतालाई फेरि यसले खाइदियो । सच्चा प्रेमले प्राप्तिमा उपलब्धि देख्दैन, उपलब्धिको वास्ता र आग्रह पनि गर्दैन । प्रेम आफैं शुरु हुन्छ, अनुभूतिमा महसूस गरिन्छ, कहिले रित्तिंदैन । अवरोधले समानुभूति छेक्न सक्छ । यस अवस्थामा प्रेम एकपक्षीय हुनसक्छ । दुई आत्मको एकत्वीकरण मात्र प्रेम होइन । प्रेम उत्सर्गमा देखिन्छ, विम्बमा देखिन्छ, विन्दास बहलाईमा देखिन्छ । अप्राप्तिमा झनै गहिराईमा पुग्छ । पीडामा पोखिएको प्रेत त झनै प्रगाढ देखिन्छ । भोगाइका असजिलाहरू प्रेमीलाई फराकिलो बनाउछन्, त्यसको वोधले पाठक (प्रेमी) हरू शक्ति संगाल्ने गर्दछन् ।

प्रेम प्रकृति मात्र होइन, संस्कृति हो । प्रेमले जीवनलाई एउटा लय, जिउने शैली र बाँच्ने शक्ति दिएको हुन्छ । जीवन रहेसम्म प्रेम संस्कृतिको लय, नाद र ताल तानिंदै जान्छ । यो जीवनको लामो सूत्र हो । चेतना रहेसम्म सूत्र तानिंदै जान्छ, भलै त्यो रेखिए, बक्ररेखिए, चक्रीय र बहुचक्रीय किन नहोस् । चेतना रहेसम्म प्रेम जागा रहन्छ, स्वानुभूत गर्छ । यही चेतनाले जीवनलाई अनन्त प्रक्रियामा तान्ने अदृश्य शक्ति दिन्छ । चेतना चुडिएपछि स्वयम् प्रेमी प्रेमको अनुभूति गर्दैन तर प्रेम भने सकिंदैन । यो संस्कृतिको अनन्त लयमा रहन्छ ।

इतिहासले प्रेममाथि अन्याय गर्यो । अमर प्रेमका कथाहरूलाई, आदर्श प्रेमका कथालाई उपेक्षा गर्यो । इतिहास ठूला, कुलीन–भारदार, राजा–रजौटा, सम्राट–साम्राज्ञीका प्रेम कथाले इतिहास रङ्गिएको छ । कैयन् आदर्श प्रेमहरू दबिएका छन्, लुकाइएका छन् । मुमताजको प्रेम स्मारक शाहजहाले ताज महल बनाए । सर्वसाधारणहरू मनभित्र नै प्रेमको महल बनाउछन् । प्रेमको शक्ति, आदर्श र उदाहरणहरू छोपिएका छन् । लक्ष्मीप्रसाद देवकोटाले मुनामदन जस्तो सर्वसाधारणको प्रेम कथा लेखे, प्रकृतिलाई साक्षी राखेर प्रेमका नादहरू लेखे । तर राजा, राणा, दरवार भारदारका कथाहरू ठूला अक्षरमा कुदिएका छन् । अमर प्रेमीहरू, आदर्श प्रेमीहरू इतिहास र अक्षरमा आफ्ना कथाहरू आउनु नआउनुमा निरपेक्ष रहन्छन् । उनीहरू जीवन्त प्रेम मात्र गर्दछन् । लेखनहरू प्रेमीका घटनालाई सार्वजनिक मात्र गर्दछन् । सच्चा प्रेम प्रकृतिमा पोखिन्छ, अक्षरमा सजिनु नसजिनु उसलाई के पर्वाह ?

माया कहाँ हुन्छ ? कसरी व्यक्त गरिन्छ, त्यसको भाषा र भाका कस्तो हुन्छ ? भन्न सकिंदैन । माया भाषा र लिपिमा अक्सर देखिंदैन । प्रेमीहरूले व्यक्त गरेका कुराहरूबाट प्रेमको भाषा र अभिव्यक्ति बुझ्न सकिन्छ । पर्सी विस शेली र मेरी गोडवीनले एकअर्काको अधरमा आत्मा भेटेछन् । मनका भावहरू कसरी अधर उत्रिएका होलान् ? उनीहरूका मन पोखिएका अधरहरू उनीहरूले बुझे, तर उनीहरूले नबताएको भए बुझ्थ्यौँ र ? आत्मिक चाहनाले प्रेम गरेका कैयन् कथाहरू प्रकृतिभरि यत्रतत्र छन् । ती प्रेमिल घटनाहरू, स्पन्दन, व्यथा, जीत, कथा, चित्र, कला र दृश्यमा भरिएर हामीसम्म आइपुुगेका छन् । प्रेमिल घटनामा स्पन्दित भएर, झङ्कृत भएर भएर महसूस गर्छौ । मुना र मदन वास्तविक पात्र थिए र ? थिए थिएनन् भने पनि प्रेमका रेसाहरू मन मनमा झङ्कृत छन्, मुटु हल्लारहेका छन् । माया बिथोलिएर घायल जीतमा रहेका बर्वाद प्रेमीहरूमा स्वयम् विचरित भएर मायाका भाषा र भाव बुझिरहेका छौ । महसूस गर्ने मनलाई भाषाको पनि पर्वाह हुँदैन ।

प्रेमीहरू नबोलेका, बोल्न नसकेका भावनाहरू सोचिएभन्दा गहिरिएर बुझ्ने गर्दछन् । प्रेममा मैनताका भाषाहरू, बोल्न नसकिएका शब्दहरू मन उघार्ने माध्यम बन्छन् । गेली आर्टले, अमूर्त चित्रले बताएभन्दा बढी प्रेमीको चेहरा बुझ्ने गर्दछन् । महाकवि जोन किट्सले छिमेककी छोरी फेन्नी ब्राउनेसँग प्रेम गरे, अभाव र आवश्यकताले न विवाह गर्न सके न उपचार नै । फेन्नीसँगको प्रेमलाई चम्किलो तारा, बुलबुलका गीतहरू जस्ता महान् काव्यमा लिपिबद्ध गरेर अस्ताए । गौरीको शोकमा माधव घिमिरेको प्रेम स्मृतिमा झाँगिएको छ । व्हीट्ने हडसन र रेज्सो सेरेसका गीती झङ्कारहरू प्रेमीलाई आकाशभरि फिजाइरहेका छन् । गीत–कविताका अक्षर भित्रका भाव र ध्वनिले सच्चा प्रेमीको मन लठ्याइरहेका छन् ।

प्रेम कहिले सकिंदैन । प्रेमकथा सकिएपछि प्रेमका स्पन्दन र भावहरू घनीभूत हुने क्रम शुरु हुन्छ । कैयन् महान् प्रेमहरू भाषामा लेखिन पनि बाँकी छन् । प्रेम सृष्टिसँग शुरु हुन्छन् । प्रेमीहरू उत्सर्गमा अन्तहीन फैलिन्छन् र ईश्वरीय शक्तिमा जीवनको लय तन्काउछन् । म्हेन्दोले स्याङ्वोलाई भावनाको प्रकृतिमा देखेजस्तै । बादलको आकृति र क्षितिजको दूरी जस्तै । रोशी पटुका जस्तै, महाभारत र तिमालको युगल जोडी जस्तै ।