
एका बिहानै सामाजिक सञ्जालमा नेपाली पासपोर्ट कमजोरको सूचीमा देखेँ । मनमा भुइँचालो गयो । कति रेक्टरको मापन गर्न सकिएन ? जनधनको क्षतिको विवरण छैन । तर मनोवैज्ञानिक क्षतिको मापन गर्न कुनै यन्त्र बनेको छ जस्तो लाग्दैन । बेचैन भए कालो कफी पिउने बानीले मलाई कफी खान भनिरह्यो । कफी खाई बेचैन हटाउन कोशिश गरेँ । कालो कफीले मेरो धमिलिएको मन गोरो बनाउन सकेन । सलाईको बट्टा भन्दा सानो भाडाको अपार्टमेन्टमा चिनीलाई कमिलाले फन्को मारे जस्तो फन्को मारेँ । जति फन्को मारे पनि मन शान्त हुने सम्भावना देखिएन ।
श्रीमती र सन्तानको आँखा छल्नको लागि नुहाउने बहानाले बाथरूम छिरेँ । तर मलाई थाहा भएन, खोइ मैले पानीले नुहाए कि आँसुले ? मनमा ठूलो भुइँचालो गएको छ । आफ्नो प्यारो चीज गुमेको जस्तो, आफन्त गुमाएको जस्तो भान छ । व्यापारमा करोडौँको नोक्सानी भोग्दाको अनुभव भइरहेको छ । प्रवासी भूमिमा काम गर्दागर्दै चटक्क मेशिनले शरीरका कुनै अङ्ग गिँडेर लगेको जस्तो भान भएको छ । कुनै आपत्तिले दुई प्यारा मुटुको बिछोड भएको झैँ रिक्तता महसूस हुन्छ । विश्वकै सबभन्दा ठूलो दुःखमा परेको जस्तो हुन्छ । खैर दिल बेचैन छ चाहे कफीको सहायता लिए पनि, भएन भनेर नुहाइसक्दा पनि मेरो मनस्थिति जस्ताको त्यस्तै ।
२०१३ सालमा कालीप्रसादको नाममा बुटवलदेखि तौली हावा जान जारी भएको हस्तलिखित पासपोर्ट आज कसरी कमजोर भयो ? विक्रम सम्बत २०१९ सालमा पहिलो पासपोर्ट जारी गर्ने सिङ्गापुर अहिले विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्टको ताज पहिरन कसरी सफल भयो ? हामीभन्दा ६ वर्षपछि मात्रै पासपोर्ट दिन थालेको सिङ्गापुरमा के त्यस्तो छ, मेरो प्यारो मातृभूमिमा छैन ?
मलाई लाग्छ, यो विषय नै गलत ढङ्गले उठाइएको छ । विश्वमै कमजोर मानिएको नेपाली पासपोर्ट बोकेर वा नबोकेर संसारभरि नेपाली फैलिएका छन् । १४ महिना पैदल हिँडेर बिना पासपोर्ट अमेरिका छिर्ने नेपाली पनि छन् । खोइ त कमजोर पासपोर्टले रोकेको ? अफ्रीका महादेशमा ठूलाठूला विकास निर्माणको प्रोजेक्ट हाँक्ने हिक्मत थापा छन् । अमेरिकामा व्यापारमा तहल्का पिट्ने हेमराज थापा छन् । विश्वभर ज्योति दिने डाक्टर सन्दुक रुइत छन् । अस्ट्रेलियामा महादेशकै धनीको सूचीमा शेष घले छन् । नि:स्वार्थ, निष्पक्ष कविता लेख्ने कवि अर्जुन पराजुली छन् । विश्वका उच्च हिमाल हाम्रै देशमा छन् । सगरमाथा, अन्नपूर्ण, माछापुच्छ्रे, गणेश हाम्रै देशमा छन् । विश्वको एक मात्र जीवित देवीकुमारी हाम्रै देशमा छिन् । शान्तिको दूत भगवान् बुद्ध हाम्रै देश नेपालमा जन्मेका हुन् । के छैन हाम्रो देशमा, मेरो देश नेपालमा ?
रोग, हैजा, महामारी सजिलै हामीले जितिरहेका छौं । महाभूकम्प, कोरोना, बाढी, पहिरो हामीले झेलिरहेका छौं । राजनीतिको भेष ओडेर लाजनीति गर्ने भ्रष्ट नेताहरू झेलिरहेका छौं । गणतन्त्रको नाम मा “गन तन्त्र” झेलिरहेका छौं । रोग, त्रास, सन्त्रास, भोकमरीले त हामीलाई हराउन सकेको छैन ।
तर पनि हामी खुशी छौँ । यदि विश्वको खुशी मान्छेको आधारमा पासपोर्टको तुलना गर्ने हो भने हामी नेपाली पहिलो नम्बरमा आउँछौँ । विद्यालयमा भन्दा ठूलो भीड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छ दिनहुँ । त्यसैले भन्छु हामी नेपाली वीर छौं इतिहासमा जस्तै । हामीले हार्न जानेका छैनौं । हामी कमजोर छैनौं र हुँदैनौ पनि । जय नेपाल । जय नेपाली साहित्य ।
प्रसान्त उप्रेती “भुइँ मान्छे”
पेरिस, फ्रान्स



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

