यहाँहरू सबैमा नयाँ वर्षको हार्दिक शुभकामना !

सबैको जीवनमा सुख र शान्ति होओस् तर यो केवल मुखले भनिने कुरा मात्रै हुनुहुँदैन । यो सुख र शान्ति हाम्रो जीवनमा कसरी प्राप्त हुनसक्छ भन्ने कुरा पनि यसैमा समावेश हुनु आवश्यक छ । हाम्रो जीवनमा यो कुरा कसरी प्राप्त भइरहन्छ ! हामी आफ्नो जीवनमा कसरी खुशी हुन सक्छौँ ! यस कुरालाई बुझ्न हामीले ‘यो जीवन के हो’ भन्ने कुरामा गहन रूपले विचार गर्नु आवश्यक छ ।

तपाईंको जीवनमा खुशी पनि प्राप्त हुन्छ । तपाईंको जीवनमा सुख पनि प्राप्त हुन्छ, शान्ति पनि प्राप्त हुन्छ तथापि तपाईंको ध्यान कहाँ छ ! तपाईंको ध्यान तपाईंका द्विविधा, तपाईंका समस्याहरूमा हुन्छ । वास्तवमा विचार गर्ने हो भने तपाईंको जीवनमा दुवै कुराको सम्भावना हुन्छ । तपाईंको जीवनमा खुशीको पनि सम्भावना छ । यही कुरा तपाईंको जीवनमा ती सृष्टिकर्ताको आशीर्वाद हो । उनले तपाईंलाई तपाईंको चाहना भएमा खुशी हुन सक्ने आशीर्वाद प्रदान गरेका छन् । यदि तपाईंले आफ्नो जीवनमा शान्तिको चाहना राख्नुभयो भने यो पनि सम्भव छ ।

यी वर्षहरू त आउँछन् । आउनेजाने गरिरहन्छन् । यो नयाँ वर्ष मनाउने प्रचलन पनि मानिसहरूले नै ल्याएका हुन् । यथार्थमा तपाईंको जीवनमा यो श्वास आइरहेको छ अनि गइरहेको छ । तपाईंलाई आशीर्वाद प्राप्त भइरहेको छ । तपाईंमा कृपाको वर्षात् पनि भइरहेको छ तर तपाईंले त्यसलाई समेट्नुभएको छैन । तपाईंले त्यसलाई एकत्रित गरिरहनुभएको छैन । त्यसलाई आफ्नो हृदयमा सजाउनुभएको छैन । जब तपाईंले यस कुरालाई बुझ्नुहुन्छ तब मात्रै तपाईंका लागि यो कुरा आशीर्वाद बन्न पुग्छ । तपाईंले स्वयम्लाई चिनेपछि मात्रै वास्तवमा आफू को रहेछु भन्ने कुरा बुझ्नुहुनेछ ।

शान्तिलाई स्थापित तुल्याउनु आवश्यक छैन किनभने वास्तविक शान्ति त पहिल्यैदेखि सबैभित्र छ । यो संसारको तमाशा त धेरै पहिलादेखि नै भइरहेकै छ । कहिले कुनै प्रकारको तमाशा हुन्छ, कहिले केही फरक खालको तमाशा हुन्छ । यो त केवल एउटा नाट्यमञ्च न हो । यस मञ्चमा कहिले एउटा कलाकार आउँछ, कहिले अर्को कलाकार । कहिले एक खाले नाटक मञ्चन हुन्छ, कहिले अर्कै प्रकृतिको नाटक मञ्चन । कहिले के, कहिले के त भइरहन्छ नै तर यो कुरा कलाकारको होइन । सबैभन्दा ठूलो कुरा त यो समयमा तपाईं जीवित हुनुहुन्छ । मानिसमा हुनुपर्ने सबै खालका सम्भावनाहरू तपाईंका लागि उपलब्ध छन् । यो तपाईंको समय हो ! यस समयमा तपाईं मञ्चमा एक कलाकारका रूपमा हुनुहुन्छ ! कुन दृश्य देखाउनुहुन्छ ? कस्तो गीत गाउनुहुन्छ ? के भन्नुहुन्छ ? कुन नृत्य गर्नुहुन्छ ? यो तपाईंको समय हो । मेरो भनाइ के हो भने जुन वेला तपाईंले यो कुरालाई बुझ्नुहुन्छ त्यस वेला यथार्थमा नै तपाईंको जीवन शान्तिले भरिन थाल्नेछ । जीवनमा भित्री शान्ति हुन थालेपछि कुनै ईर्ष्या हुँदैन, कुनै द्वेष हुँदैन । त्यसपछि त खुशीमय स्थितिमा रहन गाह्रै हुँदैन ।

यसको अर्थ तपाईं सधैँ खुशी मात्रै भइरहनुहुन्छ भन्ने कुरा होइन तर धेरै हदसम्म खुशी रहनुहोस् । हृदयमा भित्री आभार होओस् । जसका कारणले यो सारा संसारको अस्तित्व सम्भव भएको छ त्यही शक्तिले तपाईंलाई सदा आशीर्वादै आशीर्वाद दिइरहेको छ । यदि तपाईंको जन्म भएपश्चात् तपाईंले आफ्नो पूरै जीवन त्यस आशीर्वादलाई सम्हालेर राख्नका लागि समर्पित गर्न सक्नहुन्छ । अनि, तपाईंको जीवनमा तपाईंले आफूभित्रको शान्तिलाई, त्यस खानीलाई खनिरहेर आफ्नो मञ्चलाई सजाउनुहुन्छ भने यो जीवन कति आनन्दमय हुन्छ होला । यो सम्भावना छ । एकातिर भय, ईर्ष्या, द्वेष, क्लेशजस्ता सारा कुराहरू छन् तर अर्कातिर शान्ति, आनन्द अनि त्यो खुशीको बहार छ ।

तपाईंको जीवनमा तपाईंले यस सम्भावनालाई सम्भव तुल्याएपश्चात् फेरि तपाईंले “तपाईंको यो वर्ष शुभ रहोस्” भन्ने कुरा सुनिरहनु आवश्यकै पर्दैन । त्यो त भइसक्छ । त्यसलाई पहिल्यैदेखि तपाईंले शुभ बनाइसक्नु भएको हुन्छ । तपाईंले आफ्नो जीवनलाई धन्य बनाउनुभएको हुन्छ ! अब यी वर्षहरू आउन्, आइरहुन् केही फरक पर्दैन । तपाईंले यो आशीर्वादलाई समेटिसक्नु हुन्छ । तपाईंले यस जीवनलाई शान्तिले भरिसक्नुभएको हुन्छ ।