बीसौँ शताब्दीको शुरुवाततिर उत्तराखण्डमा पर्ने अस्कोट राज्यका राजा गजेन्द्रबहादुर पालले जौलजीवीको मेला शुरु गरेका थिए। यो मेला भारतको उत्तराखण्डदेखि नेपालको सुदूरपश्चिम प्रदेशसम्म एक अत्यन्तै महत्त्वपूर्ण र ऐतिहासिक मेलाको रूपमा मनाउने गरिन्छ । उक्त समयमा अस्कोटका राजालाई गोरी र काली नदीको किनारमा पर्ने यो जलजीवी भन्ने ठाउँको दृश्य देखेर यहाँ सदाको निमित्त कुनै न कुनै प्रकारले मेला आयोजन भइराखेको खण्डमा यस स्थानको सुन्दरताको मजा सारा जनताले देख्न पाउँथे भन्ने लागेर आयो । अस्कोट राज्यअन्तर्गत पर्ने भारततर्फको जौलजीवीमा अत्यन्त कठीन परिस्थितिमा जनताले जीवनयापन गरिरहनुपरेको थियो । सरसामान खरिदको निमित्त केही दिनको यात्रापछि तराईको टनकपुर पुगेर सामान बोकेर ल्याउनु आफैंमा कठीन हुने गर्दथ्यो ।  त्यसकारण राजाले सोचे कि यदि यो विकट ठाउँमा एउटा मेलाको आयोजन गर्न सके भारतको काशीपुर, रामपुर, हल्दुवानी, बरेलीसम्मका व्यापारीहरू यहाँ आउँछन् र जनताले वर्षभरिको निमित्त आफूलाई चाहिने सरसामानहरू खरिद गर्ने सुविधा पनि पाउँछन् । यही कुरालाई प्रमुखताका साथ ध्यानमा राखी सन् १९१४ मा यो मेलाको शुरुवात भयो । यही मेलामा तीब्बत र हाम्रो नेपालका व्यापारीहरू पनि आफ्ना सरसामानहरू बिक्रीको उद्देश्यले आउनेजाने क्रम शुरु भयो ।

शरद्चन्द्र ओझा

शरद्चन्द्र ओझा

मेरा पिताजी स्वर्गीय आत्माराम ओझा मलाई सुनाउने गर्नुहुन्थ्यो – उहाँका जवानीका दिनमा कैयौँपटक जौलजीवीको मेलामा गएर घरका लागि चाहिने सरसामग्रीहरूका साथै घोडा पनि किनेर ल्याउने गर्नुहुन्थ्यो । कहिले पुरानो  घोडा पनि साटेर ल्याउने गर्नुहुन्थ्यो ।

प्रसङ्ग फेरि घोडातर्फ । त्यसबेला पहाडमा बाटोघाटोको राम्रो सुविधा नहुनाले सबैजसो मानिसहरू आवतजावतको निमित्त पैदलबाहेक घोडाको सवारी गर्ने गर्दथे ।  घोडालाई सवारीको निमित्त मात्र नभएर मालसामान ओहोरदोहोर गर्नका निमित्त पनि प्रयोग गर्ने गरिन्थ्यो । विभिन्न जातका घोडाहरू विश्वमा पाइने भए पनि जौलजीवीको मेलामा प्रायःजसो तीब्बती नस्लका र खच्चड नस्लका गोडाहरू बिक्रीका निमित्त ल्याइन्यो । एक महिनासम्म लाग्ने उक्त मेलामा लाखौं मानिसहरूको आवतजावत, लाखौं करोडौंको कारोबार हुने गर्दथ्यो।

पहिलेको समयमा जौलजीवीको मेलामा प्रायःजसो स्थानीय बुनकरहरूद्वारा निर्मित ऊनका लुगालगायतका सामग्रीहरू पनि पाइने गर्दथ्यो । दन, चुट्का, आसन, स्वीटर, कम्मल, टोपी, कुर्सीको कभरलगायतका उनी सामग्रीहरू बजारको सुन्दरताको रूपमा रहने गर्दथ्यो ।  अलि पछिदेखि तीब्बती व्यापारीहरूले ल्याउन थालेको चुरो लगायतका उनी वस्तुहरूले स्थानीय बुनकरहरूको उनी लुगाहरूलाई विस्थापित गर्दै गयो । तर पनि स्थानीय र तीब्बती दुवै स्थानका सामग्रीहरू यस मेलाको शोभा हुने गर्दथ्यो । अर्कोतर्फ पहाडमा प्रायःजसो खान नपाइने सामग्रीहरूमध्ये जिलेबी,  बाल मिठाइलगायतका तराईतर्फ बढी प्रचलन भएका मिठाइका परिकारहरू पनि यहाँ पाउने गर्दथ्यो । बरेली, रामपुर, किच्छादेखिका हलुवाईहरु यहाँ आएर गुलियो मिठाईहरू बनाएर  स्थानीय जनतालाई खुवाएर मनग्गै आम्दानी गर्थे । यिनका पसलमा राम्रो भीड लाग्ने गर्दथ्यो । धेरै हेर्नका लागि अनि खानाका लागि मिठाइको पसलहरूलाई घेरेर बस्ने गर्दथे। कालो भटमास, पहाडमा पाइने सोट्टा बोडी, राजमा, मासको दाल, मार्सी चामल, कोदोफाफर, नानाथरीका जडीबुटीहरू जलजीवी मेलामा हिमालदेखि पहाडसम्मको भूभागबाट आउने गर्दथ्यो । दार्चुला, बैतडी, डोटी, बझाङ, अछाम, कैलाली, कन्चनपुर र भारतका कुमाउँ, गढवाल प्रदेशका पनि यहाँ प्रतिनिधित्व हुने गर्दथ्यो । नेपाली दालहरूमा स्थानीय भारत-नेपाल दुवैतर्फका जनताको अत्यन्त रुचि रहने गर्दथ्यो । नेपाली व्यापारीहरूले पनि जौलजीवीको मेलामा आएर घिउ, दाल, गेडागुडी, मकैलगायतका सामग्रीहरु बिक्री गर्दै आफ्ना घरमा चाहिने अन्य सामग्रीहरू खरिद गरेर लाने गर्दथे ।

मङ्सिर महिनामा शुरु हुने जौलजीवीको मेला नेपाल भारतको सांस्कृतिक पहिचानको निमित्त पनि महत्त्वपूर्ण रूपमा हेर्ने गरिन्छ । भारत-चीनको कटु-सम्बन्धभन्दा पहिले यहाँ तिनै देशको सांस्कृतिक सम्पदाहरूको प्रदर्शनी हुने गर्दथ्यो । दार्चुला जिल्लाअन्तर्गत पर्ने जौलजीवीमा भारतभन्दा पनि विशाल मेला लाग्ने गर्दछ । यस सांस्कृतिक पर्वलाई हाम्रो नेपालको स्थानीय प्रशासन प्रदेश सरकारले  पनि अहिले आएर त्यतिकै महत्त्वका साथ हेर्ने गरेको पाइन्छ।

सन् १८७१ मा अस्कोट राज्यका राजा पुष्करपालले जौलजीवीमा जलेश्वर महादेवको मन्दिर स्थापना गरेका थिए । जलेश्वर महादेवको मन्दिर स्थापनापछि यहाँ मङ्सिर महिनामा अरुबेलाको पूजाआजाभन्दा पृथक् रूपमा एउटा भव्य मेलाका साथ विशेष पूजाआर्चना गर्ने परम्पराको शुरुवात हुन गएको देखिन्छ । पछि सन् १९१४ मा अस्कोटका राजा गजेन्द्रबहादुर पालले यस धार्मिक मेलालाई,  धार्मिक साथै व्यापारिक मेलाको पनि रूप दिन पुगेका थिए ।

नेपालतर्फ महाकाली नदी र भारततर्फ काली नामले प्रख्यात नदीको किनारमा जौलजीवी मेला लाग्ने गर्दछ । महाकाली नदीको उद्गम नेपालको ५००० फिटभन्दा माथि रहेको कालापानीबाट हुने गर्दछ। अत्यन्त पवित्र धार्मिक नदी महाकालीले आफ्नो उद्गमस्थलबाट लिपुलेकलाई पनि छुँदै भारत नेपालको सिमानाको रूपमा पहाड तराई हुँदै समुद्रसम्मको यात्रा तय गर्ने गर्दछिन्। कैलाश मानसरोवरको ठिक्क तल अवस्थित मानसखण्डमा बगेर त्यहाँको सुन्दरता, उर्वरता, धार्मिक, सामाजिक, आर्थिक अवस्थाको सुधारमा  ठूलो योगदान पुर्‍याएको महाकाली नदीले इतिहासदेखि वर्तमानसम्म महत्त्वपूर्ण स्थान ओगटेको देखिन्छ । तावाघाट, धार्चुला, दार्चुला, झुलाघाट, जौलजीवी टनकपुर, वनवासा, महेन्द्रनगर महाकाली नदीको  तटमा बसेको प्रमुख  सहरहरूमा पर्दछन्।

कालापानीबाट शुरु भएकी महाकाली नदीमा तावाघाट भन्ने स्थानमा पुगेपछि धौलीगंगा भन्ने नदी आएर मिल्दछिन् भने   जौलजीवीमा आएर गोरीगंगा मिल्दछिन् । हाम्रो नेपालको प्रसिद्ध तीर्थस्थल परशुरामधाम, जहाँ भगवान् परशुरामले आएर तपस्या गरेका थिए, यसै महाकाली नदीको किनारमा अवस्थित छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र यसमा पाइने जनावरहरू यसै नदीको पानी खाएर हुर्किएका छन् । महाकाली पारीको दोधारा चाँदनी पनि यसै नदीको किनारमा अवस्थित छ ।

भारत एकीकरणभन्दा पहिले यहाँ अस्कोट राज्य हुने गर्दथ्यो । भनिन्छ, १२७९ मा कत्यौरी राजवंशका राजा अभयपालले अस्कोट राज्यको स्थापना गरेका थिए । १२७९ भन्दा पहिले यहाँ खस राजाहरूले राज्य गर्दथे । खस राजाहरूको ८० वटा कोट रहेको स्थान भएकाले यसलाई पछि आएर अस्कोट भन्न थालियो । पाल राजाहरूको देवता नागल थिए । सनातनी पाल राजाहरूले शैवधर्मको पनि उत्तिकै पालन गरेको देखिन्छ । त्यसैको एक उदाहरणको रूपमा  जौलजीवीमा निर्माण भएको जलेश्वर महादेवको मन्दिरलाई पनि लिन सकिन्छ ।

सन् १७४२ मा ग्रेटर नेपालको अवधारणाका साथ अगाडि बढेका बहादुर शाह, अमरसिंह थापा, हस्तीदल शाह लगायतका महान् योद्धाहरूको युद्धकौशलले गर्दा पराजित हुन पुगेको अस्कोट राज्य पनि नेपाल राज्यको एक अङ्ग हुन पुगेको थियो । २५ वर्षसम्म कुमाउमा कुशल शासन गरेको गोर्खाली राज्यको वृत्तान्त नेपालको इतिहासमा सुनौलो अक्षरले लेखिएको छ ।  महाकाली पारीको अल्मोडालाई क्षेत्रीय राजधानी बनाएर गडवाल, काँगडा जित्दै पन्जाब निकटको सतलज सिमानासम्म पुगेको नेपाली सेना केन्द्र सरकारको अदुरदर्शिताले गर्दा ब्रिटिश सेनाको सहयोगमा हारको सामना गर्दै बिस्तारैबिस्तारै महाकाली नदीवारीसम्म आएर खुम्चिन पुगेको इतिहासमा प्रष्ट उल्लेख गरिएको छ ।

यसरी इतिहासदेखि वर्तमानसम्म आफ्नो धार्मिक, सामाजिक रूपलाई समयानुसारको परिवर्तनमा ढालेको महत्त्वपूर्ण जौलजीवी मेलाको एक विशिष्ट स्थान रहेको छ । कुनै समय तीन देशका जनताको प्रतिनिधित्व हुने यस मेलामा हाल आएर नेपाल-भारतका विभिन्न भाषाका गायक, नृत्य, कलाकारहरूको प्रस्तुति हेर्न पाइने अवसर जुरेको छ । नेपाली, हिन्दी,  कुमाउनी,  गढवाली, डोटेली लगायतका भाषाहरूमा गाना गाएर कलाकारहरूले श्रोताहरूको मनोरञ्जन प्रदान गर्दछन् ।