डिसेम्बर महीनाको उत्तरी फ्रान्सको आकाश । यो आकाशले म जस्ता परदेशीहरूको कथा बोक्छ । हुस्सुले डुम्म ढाकिने यस्तो आकाश,  कुनै चित्रकारको पुरानो धुवाँले ढाकिएको क्यानभास जस्तो लाग्छ । हिउँ खस्ने याम न हो बिहानीपख हातहरू कठ्याङ्ग्रिन्छन् र ओठमा तुसारोको बाछिटाहरूले हान्छन् । खेतमा, जङ्गली घाँसहरूको टुप्पोमा तुसारो टल्किन्छ । लाग्छ यी तुसारोहरू परदेशीका खुल्न नसकेका मनमा गडेका आशाहरू हुन् जुन एक दिन पग्लने अपेक्षामा छन् ।

मैले बाल्यकालमा मेरै गाउँपाखामा यस्तो दृश्य कयौँ पटक देखें । यता मौसम अति अदलीबदली हुन्छ । कहिले हुस्सु या बादल हटेर नाङ्गिएका नीलो आकाशलाई सूर्योदयको किरणहरूले रङ्गिन र सङ्गिन बनाउँछन् । यही नीलो आकाशको एक प्राकृतिक क्यानभासमा मैले जहाज उडिरहेको देखिरहेको छु । मेरा जस्तै अधुरा सपनाहरू बोकेर उडेका यात्रीहरूलाई टम्म थुनेको छ यसले । उनीहरूका लागि म एक बिन्दु हुँ, देख्ने कुरा भएन तर मैले उनीहरू उडेको जहाजले सेतो धर्का कोरेको देखेकी छु जुन क्षितिजबाट शुरू भएको छ । अन्त्य कहाँ हुन्छ थाह छैन । उड्नेहरूलाई बाँध्ने एक लक्ष्मणरेखा हो यो जसले जीवनको अँध्यारो देखि सङ्घर्ष र आँसुका गाथाहरू कोर्छन् । तपाईंलाई पनि लाग्दैन र, आकाशका यी रेखाहरू तपाईंका आफ्नै अधुरा सपनाहरूका धर्साधर्सी हुन् ?

म चित्रकार भए पो प्रकृतिको यो अनुपम क्षणलाई रङ्ग र ब्रसले जीवन दिनसक्थें । न त म कवि नै हुँ, जसले भुइँको शीतको  संवेदना बुझेर महाकाव्य लेख्नसक्छ । म त केवल एक देश छाडेको यात्री हुँ तपाईं जस्तै । परदेशमा देश खोज्ने मानिसहरूको भीडमा एक । खेतका डिकहरूमा हाँसहरूको कोलाहल देखिंदा र नागा वनहरूले हावा झुलाएर सुस्ताइरहेको भेटिंदा एकतमासको नोस्टाल्जिया यात्रामा पुग्छु म । के तपाईं पुग्नुहुन्न र ?

अहो म कति भावुक बनें ।  यो भावुकताले मलाई अहिले त्यो मेरो ‘सेपे’को वनको पाखोमा पुर्‍याएको छ । त्यो कस्तो छ होला अहिले ? उस्तै र दुरुस्तै ? जुन मैले देखेकी थिएँ । ती सालका रूखहरू जुन मेरा पुर्खाले देखेका थिए ती कटुसका रूखहरू जसले मलाई पनि देखेका थिए । ती भकेम्लाका सानासाना बुट्यानहरू जुन सेतै दानाले लत्रक्क निहुरिएका हुन्थे । तिनका अमिलो झुप्पा माथि लचप्प टाँसिएका शीत टपटपाइरहेका हुन्थे । सूर्यको प्रकाशले ती शीतको थोपाहरू हिरा झैं चम्केका देखिन्थे । हो नि कक्षा कोठामा हीरा चिनाउँदा हामीलाई  विज्ञान शिक्षकले भनेका थिए- शीतको कन्चन थोपामा प्रकाश पर्दा जस्तो देखिन्छ हीरा त्यस्तै हुन्छ ।

त्यो वेला कसलाई खाँचो थियो र हीरा लगाउन ?

त्यो सितालु हीरा फल्ने त्यो पाखोमा अग्ला हुर्केउँला सालका पोथ्राहरू थिए । जसका टुप्पी समातेर हामी गोठालेहरू बाँदर झैं हाम फाल्ने खेल खेल्थ्यौं । यहाँको शीत र त्यहाँको शीतमा के फरक छ र ?  फरक छ नि त्यहाँको शीतमा हीरा छ । यहाँ हीराका महँगा पसल छन् ।

अहो ! हो नि त्यो वेला मेरो गाउँ थियो । अनि मेरो गाउँको नाउँ गुम्बा थियो । हाम्रो गाउँ होइन मेरो गाउँ ।

अनि ‘मेरो गाउँ ज्यामिरे जमुनीको छोरो म,

काले भन्छन् मलाई तर मान्छे गोरो म’ भनेर गीत गाएको त हिजै जस्तो लाग्छ । कति आत्मीयता टाँसिएको । त्यो गाउँभरी आफन्त थिए । अनि त्यहाँ बाको घर थियो । त्यो घरमा पनि सूर्योदय हुन्थ्यो । त्यो सूर्योदयको बिहानी सँगै कर्‍याङकुरुङ बथानहरू नदी किनारैकिनार तराई झर्थे अनि हाम्रो पहाडमा काँक्रा घिरौँला रोप्ने मौसमको शुरूवात हुन्थ्यो ।

आबुइ ! अहिले कहाँ मैले मेरो गाउँ पाउनु ?  मेरो बसेको शहरलाई कहाँ मैले मेरो पेरिस भन्न पाउनु र । हदै भने मैले हाम्रो पेरिस भनुँला तर यो भन्नलाई पनि मेरा पुर्खाहरूले बलिदान दिएको ठाउँ होइन यो । अरूले बनाएको ठाउँमा म पनि गर्छु भनेर आएको । यो त राजधानी हो र म यहाँको बासिन्दा । यो शहरमा हजारौं पतझर रूखहरू छन् र म कुनै एक रूखको एक पात हुँ । म हुनु र नुहुनुले यो शहरलाई के फरक पार्छ र ? तर मेरो गाउँ गुम्बामा म नहुनुले फरक पार्थ्यो उ बेला । गाउँलाई शोकमा डुबाउँथ्यो ।

म आफैलाई झट्कार्छु यस्तो वेला । हेर्नु त कति पीडा छ -माटोलाई मेरो भन्न नपाउनुको । अनि झोक उठे जस्तो हुन्छ उडिदिने जहाज देख्दा । सपनाको पखेटा यसैले हालिदिएको हो ।

साँच्चै, अचेल जहाजहरूले फेरी पनि म जस्तै यात्रीको सपना बोक्छन् कि केवल केही दिनलाई फेर्ने लुगा सुटकेसमा हालेर हिंडेका यात्रीहरू ?  सपना भएका यात्रीहरू भए यिनका पनि मेरा जस्तै सपना छन् कि फरक  ? साँच्चै छालाको रङ र सपनाको रङमा के फरक हुन्छ ?  कतै हाम्रा छालाहरूले अरूका छाला देखेर सपना त बनाउँदैनन् ? प्रश्न गर्छु । अनि म फेरि त्यही पहिलो दिनको परदेशको यात्राको नोस्टाल्जीमा ठोकिन पुग्छु ।

त्रिभुवन विमानस्थल पुग्नुअगाडि मेरो काठमाडौंको डेरामा आँखाभरी आँसु भरेर अक्षताले भरिएको पन्चपालाको थाली उठाइरहेकी थिइन् मेरी आमाले । छेउमा धिपधिपो दियो जलिरहेको थियो । आरी घोप्टे बादल जस्तो अनुहार बनाएकी मेरी आमाले बत्ती बलेझैं भाग्य बलोस् भनेकी थिइन् । आमाको यो रूप कहिल्यै नदेखेको मलाई त्यो क्षण झन् अत्याहारिलो र उच्चाट लाग्दो बनेको थियो । छोरी भएर पनि टुहुरो भएको ठानिन् आमाले त्यो दिन । आमा भएर पनि टुहुरी हुन आँटेको ठानें मैले ।

मातृभूमिको लागि अन्तिम र परदेशको लागि पहिलो पाइला । न यताको न उताको त्यो क्षण । कस्तो कस्तो भावुक त्यो क्षणमा आमाले सुकसुकाउँदै सोधिन्, ‘तँ कहिले फर्केर आउँछेस् ?’

साँच्चै तपाईंलाई थाहा थियो र फर्कने दिन ? तपाईंले पनि त आफ्नी आमालाई टुहरी या टुहुरो बनाएर हिंड्नुभयो । दुईचार पैसाको लालच देखाएर आमाको त्यो कोमल मनलाई फुस्लाई दिनुभयो मैले जस्तै । आमालाई फुस्लाउन जति सजिलो यो संसारमा अरू हुँदैन । भावीले ठ्याक्कै यही दिन तँ फर्कनेछस् भनेको थिएन, कसरी दिनु यसको जवाफ मैले ? त्यसैले यसको जवाफ न तपाईंले दिनुभयो न मैले नै दिएँ । बस बदलामा एक अँगालो माया भने दिएर छुटिएको हो । त्यो मायामा आमाको काखको पसिनाको बास्ना हरर आएकै हो । आमाको त्यो चोलो साथमा लैजाऊँ कि जस्तो पनि भएकै हो । आमाको त्यो पसिना बिदाइको क्षण आत्मीय र भावुक भएर पग्लिएको थियो जुन यसअघि कहिल्यै भएको थिएन ।

तपाईंलाई लाग्दैन र त्यही आत्मीयताले त हो नि हामी परदेशिएहरूका सपनाहरूलाई सधैं नै भिजाइरहने । तपाईं छोरो मानिस हो भने हिंड्ने वेला आमाका पाउ छुनुभयो होला । कक्रक्क परेका गोडामा बुढी अँगुलाको नङ लामो भएको देख्नुभयो होला  । यस्तो वेला आमाहरूले कहाँ पाउमा तेल घस्छन् र ? त्यहाँ त केवल मनले चिरेका दागहरू हुन्छन् ।

हो नि म पनि त यही क्षण व्यहोरेर विदेशिएकी हुँ । आखिर छोरी हुनु र छोरा हुनुले के फरक पार्छ र अब त हामी परदेशिएका परदेशी हौं ।

तपाईं हिँडेको कति भो ? म हिंडेको त दुई दशक भएछ । कस्तो दशाले घेरेको छ त्यो मेरो गाउँ र ठाउँलाई कुन्नि । त्यहाँ म विदेश हिंडेपछि जन्मिएको पहिलो पुस्ता फेरि विदेशमै आइपुगेको छ । मेरी आमा छोरी गई भनेर रुन्थिन् अहिले हजुरआमाहरू नाति हिंड्यो भनेर रुने दिन आएछन् ।  अब त यस्तो लाग्न थाल्यो बुबाहरूको शुक्रकीटको अपभ्रंश भएको छ र आमाको गर्भाशयको फुलमा ‘सपना’ नामको हर्मोनले फक्रिएको छ । दुई सपनाहरू मिसिंदा बालक मानिस होइन ‘सपनाको बीउ’ भएर जन्मेको छ र पण्डितहरू ‘सपनाको शहरमा सपनाको जहाज उडान भर्नेछ’ भनी सपनामय चिनाहरू बनाइरहेछन् । तिनलाई के थाह परदेश भनेको सपना होइन ।

निश्चय नै सपनाहरू मीठा हुन्छन् तर प्राप्तिहरू त कहाँ सधैं मीठा हुन्छन् र ? सपनाको मिठासमा परेर म पनि शायद अरूका सपना बढी र आफ्ना सपना कम लिएर उडें । त्यो भावी पिंढी मैले जन्माएकै छैन या जन्माए पनि त्यो पिंढी त्यो ठाउँमा रमाउँछ-रमाउँदैन थाहै छैन । रमाउँछ भन्ने भ्रममा अँध्यारोमा ढुङ्गा हान्ने यात्रामा म लम्केको थिएँ र तपाईं लम्किरहनुभएको छ ।

रातमा देखिने सपना कालो र सेतो हुन्छ । जिन्दगीको सपना बाङ्गोटिङ्गो हुन्छ र परदेशीको सपना वीर रसले प्रभावित हुन्छ ।

यतिका वर्ष विदेश बसेर थाहा पाउनुभयो होला तपाईंले पनि । सपना भनेका छाया जस्तै रहेछन् परिवर्तित । न त यी पूर्णतः हराउँछन्, न त कहिल्यै छुन सकिन्छन्, न त कहिल्यै सुखमा रमाउन दिन्छन् । ती कतै आमाका अक्षतामा त कहिले खादामा झुन्डेका छन् । ती कतै नयाँ घरको झ्यालबाट चिहाएका छन् त कतै पैसाको सिरानीमा सञ्चित । यी सपनाहरू सँगालेर आकार दिन पाए देखि सप्तरङ्गी भाइटीका जस्तो देखिंदो हो या इन्द्रधनुष बन्दो हो ।

भैगो प्रसङ्ग बदलौँ र भावुकताको यात्रामा कति डुब्ने ?  देश छुटाउने त्यो पहिलो यात्रामा विचरण गरौँ । त्यो जहाज जसले तपाईंलाई झ्याल बाहिरका सेताम्मे हिमालको अन्तिम दर्शन गराएको थियो । के तपाईंलाई लागेको थिएन र यी हिमालहरूले तपाईंको जाडो बटुलेका थिए र बटुल्नेछन् ? कर्‍याङकुरुङहरू यिनै सेता हिमाल नाघेर फेरि उड्नेछन् र काँक्रा, फर्सी रोप्ने दिन फेरि ल्याउनेछन् । अनि म पनि एकदिन कर्‍याङकुरुङ जस्तै बनेर आउनेछु र आमाले सोधेको उत्तर दिनेछु ! त्यो वेला मैले आशा अनि विश्वासको सन्देश लिएर आउनेछु । यस्तो वेला तपाईंलाई बाँचेर पनि मरेतुल्य भए जस्तो लाग्न सक्छ । चिरिप्प मुटु खुम्चिएको त्यो क्षण भन्नुहोला, ‘मेरा हिमालहरू हो ! तिमीहरू यसैगरी अग्लिरहनु है ।’ माधव घिमिरेको गीत जस्तै हामीले हिमाल उठायौं एशि‍याको माझमा । मतलब हाम्रा वीर पुर्खाहरूले झुक्न नदिएका हिमालहरू । यतिवेला परिस्थितले झुक्यौं भन्दैमा सधैं दिनहरू कहाँ उस्तै हुन्छन् र !

अनि फेरि उडिरहेको जहाजको झ्याल मुन्तिर पनि हेर्नुभयो होला । खेत, खोल्सा, खोल्सी मोटरबाटोका धर्काहरू, नदीहरू, तालहरू, तलैयाहरू त्रिकोण परेका अजङका पहाडहरू  र गाउँहरू, स्वयम्भू र लुम्बिनी,  हुरुक्क भयो होला है मन । आहा यो देश !  हो म आकाशमा छु यतिवेला तर मेरा जरा यहीं कतै गाडिएका छन् जस्तो भयो होला । तपाईंलाई लागेन र म थप जराहरू फैलाउने यात्रामा छु । म मूल बोट वृक्ष हुँ । यी पखेराहरू, खलिहान र बस्तीहरू केवल सम्झना होइनन् मेरा साहस र वीरता अनि शान्तिका गाथा बोक्ने बिम्बहरू हुन् । म अपरिचित ठाउँमा पुगे पनि यही माटोले दिएका गुणहरूले मेरो आसपास दशैंको टीका झैं रङ्गाउनेछु । म यहाँबाट हराउनुको अर्थ म हारेको होइन र मेरो अस्तित्व गुमाउनु होइन ।

हेर्नुस् त ! देशको सिमाना काट्दै गर्दा परदेशी बन्ने क्रममा तपाईं यसरी बदलिइरहनु भएको थियो । साथमा नेपाली राहदानी थियो तर दिमागले पहिलो सन्देश दिइरहेको थियो । तिमी जहाँ पुग्नेछौ अब त्यो तिम्रो हुनेछैन ।

हो नि आखिर हामी अधकल्चा मानिसहरू हौं दुई देश भएका अनि अदम्य आँटले भाग्य रेखा कोरिरहेका ।

पेरिस