देउराली कुनै एउटा स्थान होइन । यो एउटा भावना हो । यो केवल विश्रामस्थल होइन । यो प्रेमको पालना हो । भेटघाटहरूको माध्यम स्थल हो । त्यसैले देउरालीका मायालुहरू जहाँ–जहाँ जान्छन् । उनीहरूको मनमा सधैं देउरालीको त्यो मीठो स्पर्श बाँचिरहन्छ ।

===

जीवनको यात्रा कहिलेकाहीं कुनै घुम्तीमा आइपुग्छ । कहिलेकाहीं देउरालीमा बिसाउन पुग्छ । कुनै दिन हिंड्दाहिंड्दै भञ्ज्याङमा थकाइ मार्न पुग्छ । जे होस घुक्तीमाथिको देउराली प्रत्येक यात्रीका निम्ति नयाँ ऊर्जा उमार्ने चौतारी पनि हो ।

त्यही देउरालीमा बिसाएपछि थकिन ज्यानमा शक्ति सञ्चित हुन्छ । त्यहाँबाट अगाडि बढ्न नवीन दृश्य, नौलो बाटो र नयाँ उद्देश्य फेरि परिभाषित हुन्छ । घुम्तीमाथिको देउराली त्यसरी नै मेरो जीवनको एउटा अध्याय बन्यो, जहाँ प्रकृतिले आफ्नै आवाजमा आफ्ना कथा सुनारह्यो । त्यहाँ जीवनले नयाँ अनुभूतिको महसुस गर्न पायो ।

म पहाडको उकालो चढ्दै थिएँ । पाइलाहरू भिजेको माटोमा गड्थे ।

सँगै सुस्ताएको चिसो हावाले मलाई सुम्सुम्याइरहेको हुन्थ्यो । बाटो अलिक गाह्रो थियो, तर त्यसैले त्यसलाई रमाइलो बनाएको थियो । अनि जब घुम्ती आइपुग्यो, त्यहाँ एउटा विशेष जादु थियो– साँच्चै, त्यो देउरालीले मलाई रोक्न खोजिरहेको थियो ।

खासमा देउरालीमा बिसाउन पुग्दा त्यहाँबाट देखिने स्वप्निल दृश्य रमाइलोको पराकाष्टा थियो । चराको चुरीफुरी हेर्न लायक देखिन्थ्यो । बादलको लुकामारी झन् आनन्दमय लाग्थ्यो ।

त्यसमाथि एकछिनको घामपानीमा परेको इन्द्रेणीय सौन्दर्यको उपस्थिति । आहा, कति मनमोहक दृश्य प्रकृतिको । यस्तो प्राकृतिक छटालाई चटक्कै छोडेर बाटो लाग्नु कसरी ?

घुम्तीमाथिको देउरालीमा उभिएर मैले चारैतिर आँखा दौडाएँ । पाखाभरि हरिया रुखहरू झुम्मिरहेका थिए । तल बगेको खोलाले गीत गाइरहेको थियो । माथि–माथि हिमालले मुस्कानभरि खुशी बाँडिरहेको थियो । त्यहाँ बस्नु, बिसाउनु, हेर्नु, रमाउनु र आफैंभित्र प्रकृतिको मिठास पल भेट्नु कम सुखद क्षण हुन्न रहेछ ।

त्यही देउरालीमा तल्लो फेदीको तातो वाफ र माथि लेकको चिसो हावाको मिलनमा पृथक् साङ्गीतिक गुञ्जन कति प्रिय ।

अतः घुम्तीमाथिको देउरालीमा बसेर जीवनको रस प्रकृतिमा मिसाएर पिउँदै तृप्त हुने यौटा मीठो पल रहेछ ।

त्यही हावाको गहिरो सुस्केरामा सुनिन्थ्यो समयको गाथा । घामको किरणहरूले देउरालीलाई उज्यालो बनाएको थियो । मानौँ, यो स्थान प्रकृति आफैंले तयार पारेको कुनै मन्दिर हो । त्यसैले त्यहाँ पुग्नेहरू आस्था र आदरपूर्वक नतमस्तक हुन्थे । खुशीले रमाएर तृप्त बन्थे ।

यात्राको एउटा महत्त्वपूर्ण क्षण यही थियो । त्यहाँबाट मैले बाटो मात्र नभएर आफ्नै सोचाइलाई पनि पुनः आकार दिएको थिएँ । यो देउरालीमा उभिंदा मैले पहिलोपटक बुझें जीवनका सबै ‘घुम्तीहरू’ चुनौती मात्र होइनन् । तिनीहरू विश्राम र आत्मचिन्तनका थलो पनि हुन् ।

देउराली जहाँ हरेक हिंडाइले विश्राम पाउँछ । हरेक थकानले उमङ्ग खोज्छ । हरेक मनले मायाको स्पर्श अनुभव गर्छ । प्रत्येक पाइला र पदचापले एकछिन बिसाएर आफूभित्र नयाँ शक्ति भेट्छ ।

यो हिमाली बस्ती यौटा अलग्ग प्रकृति र परिवेशको भूगोल मात्र होइन । यो ती प्रेमिल भावना हो, जुन यात्रुहरूको मनमा एकपटक होइन बारम्बार अङ्कित भइरहन्छ ।

देउरालीलाई छोडेर कतै पुगे पनि यादहरू आइरहन्छ । फेरि त्यहाँ जाने मन जागिरहन्छ ।

देउरालीमा पुग्दा मजस्तो मात्र होइन अन्य अधिकांश यात्रुको हृदयमा नयाँ जोश पलाउँछ । ती उचाइले कहिल्यै गुनासो गर्दैनन् । बरु, उनीहरूको काखमा विश्राम माग्नेहरूको लागि खुशी साथ ठाउँ छाड्छन् । ती धुपी र सल्लाका रुखहरू, चिसो बतासका झोकाहरू र परम्परागत घरहरूको झझल्को दिने ग्रामीण परिवेशहरू ।

अन्ततः यी सबैले मायालुहरूको उपस्थितिजस्तो महसुस गराउँछन् । धेरैपछिको भेटजस्तो अविरल भलाकुसारीको थालनी गराउँछन् । हिजोका सबै तनाव बिर्साउँदै बरु भोलिको खुशी निम्त्याउँछन् ।

यात्रामा थकित पाइला जब देउरालीमा रोकिन्छ, मनका गहिराइहरूबाट प्रेमले फेवा झैं सतहमा आउँछ । यहाँ प्रेम शब्दमा मात्र सीमित हुँदैन । यो बस्तीले हरेक हिंडाइमा मायाको सङ्केत दिन्छ । जोडीहरूले एक–अर्कालाई हातको स्पर्श दिन्छन् । शायद देउरालीको मायालुले उनीहरूलाई भौतिक दूरीलाई नजिक्याउन प्रेरित गरिरहेको हुँदो हो ।

देउरालीबाट देखिने पहाडका विशाल तरेली, हिमाली लस्कर मात्र होइन, त्यहाँको नीरव वातावरणले पनि मायाको अभिव्यक्तिलाई समर्थन गर्छ । त्यो सानो बासस्थान, चियापसल र केही निश्चल मुस्कान बाँड्ने स्थानीय अनुहार !

वास्तवमा यी सबै एक अमूर्त मायालुहरू हुन् । ती मायालुहरूले शहरको व्यस्तताबाट टाढा रहेका ती यात्रुहरूका लागि आफ्नै प्रेमको मिठास बाँड्छन् । त्यसले नपत्याउँदो तरिकाबाट हामीलाई केही न केही नयाँपनको आभास दिन्छन् ।

फलस्वरूप क्षीण बन्दै गएका हाम्रा सोचाइहरूमा ऊर्जा थपिन्छ । जीर्ण भइरहेका शारीरिक र मानसिक अवयवहरूमा समेत नवीन शक्ति–सामर्थ्यको शुरुआत हुन थाल्छ ।

देउरालीमा जोडीहरू देखिन्छन् – जो आफ्नो गन्तव्यतर्फ अघि बढिरहेका छन्, तर उनीहरूको प्रेमले देउरालीको माटोमा आफ्नो एउटा अंश छोडेर जान्छ । ती पहाड र हिमालका वरिपरि मडारिएका बादलहरू, रुखहरूका हावामा फर्फराएका पातहरू र चराहरूको गुञ्जायमान आवाज ।

यी सबैले मायाको गीत गाउँछ । जीवनका स्वरहरू सुसेल्छ । व्यतीत जीवनका कैरनहरू कहन्छ ।

देउराली कुनै एउटा स्थान होइन । यो एउटा भावना हो । यो केवल विश्रामस्थल होइन । यो प्रेमको पालना हो । भेटघाटहरूको माध्यम स्थल हो । त्यसैले देउरालीका मायालुहरू जहाँ–जहाँ जान्छन् । उनीहरूको मनमा सधैं देउरालीको त्यो मीठो स्पर्श बाँचिरहन्छ ।

देउराली, यात्रुहरूका लागि केवल एक विश्रामस्थल होइन, यो त्यस्तो स्थान हो जहाँ प्रेम र प्रकृतिले हातेमालो गरेर मनहरूलाई शीतलता दिन्छन् । यहाँका मायालुहरू सजीव मात्र होइनन्, ती परिदृश्य, प्रकृति र भावनात्मक ऊर्जा हुन्, जसले देउरालीलाई सधैं स्मरणीय बनाइराख्न मद्दत गर्छ ।

देउरालीबाट फर्कंदा, मेरो हृदयभरि ऊर्जा र उत्साहले भरिभराउ थियो । मलाई लाग्यो, मैले कुनै अदृश्य शक्ति र नयाँ विचारहरूलाई भेटेर फर्कें । घुम्तीमाथिको देउरालीले मलाई समय र स्पेशको सीमा नाघेर आफूलाई खोज्न मद्दत गर्यो ।

घुम्तीपछिको देउराली एउटा भूगोल होइन; यो जीवनको एउटा प्रतीक हो । जीवनका प्रत्येक मोडमा एउटा देउराली हुन्छ, जसले तपाईंलाई रोक्न, सोच्न, र फेरि अघि बढ्न प्रेरणा दिन्छ । यस्ता स्थानहरूले जीवनलाई अर्थ दिन्छन्, अनि हाम्रो पाइलाहरूलाई सही मार्गतर्फ निर्देशित गर्छन् ।

घुम्तीमाथिको देउरालीमा जीवनतिर फर्किने अवसर मिल्छ । प्रकृतिसँग साक्षात्कार हुने सौजन्य जुर्छ । त्यसपछि अनुभूतिका अनेकौँ आयामहरूले भरिभराउ मन हुन्छ । यति भएपछि अरू केही चाहिंदैन । कसैको रीस र डाहले केही गर्दैन । कसैको घृणा र निर्मायाले केही हुँदैन । घुम्तीमाथिको देउरालीले सबै कुरा माफ गरिदिन्छ ।