यस पुस्तकमा मेरो जीवनदृष्टि, नैतिक धरातल, आस्था र प्रेमको मूल स्रोत मेरा प्रातःस्मरणीय काका कवि सदानन्द झा हुनुहुन्छ । यो पुस्तक उहाँको र मेरो साझा अभिव्यक्ति हो भन्दा फरक पर्दैन । यो कथा एक प्रकारले रामायण र महाभारतको प्रभावमा आएको कथाझैँ बन्न पुगेको छ ।
…
व्यक्तिको आत्मकहानी लेख्ता सत्यको अभिव्यक्ति हुनुपर्छ । मेरो जीवन आमजीवनभन्दा फरक छैन, तर पनि मेरा सङ्घर्ष र सफलताका कथा चाखलाग्दा हुन सक्छन् । म यसलाई तिलस्मी पारामा प्रस्तुत गर्न चाहन्नँ । मैले साहित्यिक लेखनको कहिल्यै अभ्यास गरिनँ । त्यसैले यो कथा अब के होला भन्ने कुत्कुती वा पन्नैपिच्छे नयाँ रहस्य खुल्दै जाने खालको नहुन सक्छ । कसैको मनोरञ्जनका लागि, सामयिक खपतका लागि वा बौद्धिक अभ्यासका लागि लेखिएको कृति होइन यो । यसका पाठकले एक उद्देश्य लिएर पढ्लान् र यसबाट अलिकति भए पनि प्रेरणा लेलान् भन्नेमा म विश्वस्त छु ।
यस पुस्तकमा मेरो जीवनदृष्टि, नैतिक धरातल, आस्था र प्रेमको मूल स्रोत मेरा प्रातःस्मरणीय काका कवि सदानन्द झा हुनुहुन्छ । यो पुस्तक उहाँको र मेरो साझा अभिव्यक्ति हो भन्दा फरक पर्दैन । यो कथा एक प्रकारले रामायण र महाभारतको प्रभावमा आएको कथाझैँ बन्न पुगेको छ । आफ्नो जीवनमा कविजी काकाले ती कथा वर्णन गर्नुहुन्थ्यो, त्यस्तै प्रकारका घटनाहरू घटित भई यो कथा बन्न पुगेको हो । मलाई सानैदेखि उहाँका कुराहरू सुन्दाखेरि लाग्थ्यो, पक्का पनि उहाँका शब्द र कुराहरूमा जादु छ, दैवी शक्ति छ । तर जीवनमा यसको खास अर्थ छ भनेर थाहा थिएन ।
मलाई लाग्छ, कसैले यसको भविष्यवाणी गरिसकेको रहेछ । मेरो भाग्यमा यो सब पहिलेदेखि नै लेखिएको रहेछ । मैले त्यो काम पूरा गरेको मात्र रहेछु । मैले त्यो भविष्यवाणी पुष्टि गरेको मात्र रहेछु । आज एउटा सन्तको बोली साँचो भइरहेको छ । म सुन्थेँ – भगवान् सन्तको वाणीलाई मान राख्नका लागि प्रत्येकमा वास गर्नुहुन्छ ।
यी सब काम गर्नका लागि मै किन चुनिएँ ? म सोच्छु, मानौँ या नमानौँ, प्रत्यक्ष रूपमा वा अप्रत्यक्ष रूपमा रामायणको महिमा अझै पनि विद्यमान छ ।
मान्छेले भन्लान्– सानो मुख ठूलो कुरा । तर मैले लेख्ता कुनै विवाद नहोला, किनभने मेरो कहानी एक भविष्यवाणीमा आधारित छ । यहाँ देशविदेशको कथा छ, धर्म र कर्म छ, सडक छ, इतिहास छ, सङ्घर्ष छ, सफलता छ, एउटा सानो गाउँदेखि शक्तिशाली देशसम्मको कथा छ, भक्ति छ, परिवार छ । यो कथा रामायण र महाभारतजस्तै बन्न पुगेको छ । यस कथालाई दृष्टिविहीन भएर पनि रामायण र महाभारत ग्रन्थका अनन्य अध्येता बन्नुभएका व्यक्तिबाट व्यक्त ज्ञानको रूपमा, भविष्यवाणीको रूपमा वा नीतिको रूपमा मैले लिएको छु ।
एउटा साधारण गाउँले सरकारी विद्यालयमा पढेको म, त्यसबेला आजका जस्ता सुविधासम्पन्न निजी विद्यालय कहाँ थिए र ? यद्यपि आज सम्झँदा लाग्छ, चेतना भर्न र ज्ञानको ढोका खोल्न ती स्कुल सक्षम थिए । हामीले आज जे–जस्ता प्रगति गरेका छौँ, तिनै स्कुलबाट पाएका शिक्षाको जगले काम गरेको छ । स्कुलसँगै हाम्रो पारिवारिक आध्यात्मिक वातावरण, बुबा–काकाहरूको अध्यात्मचेत, आमा–काकीहरूको धर्मभीरूताले हामीलाई आदर्श मार्गमा हिँड्न सधैँ प्रेरित गरेको हो ।
हाम्रो घरमा रामायणका सुमधुर दोहा र चौपाईहरू, श्लोक र कविताहरू सधैँ गुन्जन्थे । हाम्रो घर मन्दिरझैँ पवित्र लाग्थ्यो, भगवान् यहीँ बस्नुहुन्छ भन्ने लाग्थ्यो । बाल्यकालदेखि नै हाम्रो जीवनमा भगवान्को प्रत्यक्ष उपस्थिति छ भन्ने विश्वास लाग्थ्यो मलाई । मेरा कविजी काका सदानन्द झाको वात्सल्यपूर्ण काखमा बसेर म चार वर्षको उमेरदेखि ज्ञानगुनका कुराहरू सुन्दै हुर्केँ । ती कथाहरू हामीले धारण गर्नुपर्ने धर्म र नैतिकताको जलपले सिँगारिएका हुन्थे । तर मलाई यति सूक्ष्म र गहिरो कुरा उसबेला थाहा हुने कुरा भएन । ती भनाइहरू, कथात्मक अभिव्यक्तिहरू उसबेला मेरा लागि मीठा कथामात्र थिए । आज सम्झन्छु, ती सबै कुराहरू मेरै जीवनमा घटित हुने घटनाका भविष्यवाणी पो रहेछन् ।
यस पुस्तकमा मेरो सङ्घर्षपूर्ण यात्रा, अध्ययन, जीवनका महत्त्वपूर्ण घटनाहरू, अनपेक्षित कष्टपूर्ण दिनहरूको पनि चित्रण गर्ने प्रयास गरेको छु । हाम्रा बीच वादविवाद हुन सक्लान्, तर म विश्वस्त छु, यहाँ भविष्यवाणी गरिएका कुरा अरूको जीवनमा पनि मिल्छन् । कविजी काकाका अर्ती, उपदेश, शिक्षा र भविष्यवाणी अन्तर्निहित भएका कारणले यहाँ प्रसङ्गअनुसार राखेको छु । यस काममा मलाई कवि काकाका बारेमा गहिरोसँग घटना विवरण अवगत गराउनु हुने मेरो पिताजी महानन्द झा, कान्छा काका मदन झा, दाजु विजय झाप्रति नतमस्तक छु । भाइ सुधीरले गरेको व्यवस्थापकीय सहयोग बिर्सी नसक्नु छ । पुस्तक प्रकाशन हुनुपूर्व भखरै भएको अकस्मात्को निधनले कान्छो भाइ डा. रणधीर झाको पुस्तक पढ्ने प्रबल इच्छा पूरा हुन सकेन । उसले पनि यस पुस्तकको लेखन तथा अन्य कतिपय सामाजिक कार्य गर्नमा मलाई अथाह सहयोग गरेको हो । यसै आलेखमार्फत उसको आत्माले वैकुण्ठवास पाउने कामना पनि गर्दछु ।
यस पुस्तकका निम्ति गरिएको मेहनत, अग्रजहरूको आशीर्वाद तथा कनिष्ठहरूको प्रेम–सद्भाव र ईश्वरको इच्छाको अपरिहार्यता कति धेरै छ, सबैले एकदमै नजिकबाट बुझ्नुहुने विश्वास मैले राखेको छु ।
यो पुस्तक मेरो नाममा प्रकाशन भए पनि यसका मूल लेखक कविजी काका नै हुनुहुन्छ भन्ने मलाई लाग्छ । मैले त सम्झेजति सन्दर्भ र प्रसङ्ग टिपोट गरेको मात्रै हुँ । मेरा समस्त गुरुहरू यस कृतिका सहलेखक हुनुहुन्छ । त्यसैले उहाँहरूमा नै यस कृतिको लेखनको मूल श्रेय जान्छ । अनि यस पुस्तकको कुशल सम्पादन दिनेश पौडेलले गर्नुभएको छ । उहाँले मेरा छरपस्ट लेखाइलाइ छाँटकाँट गरी मिलाएर शृङ्खलाबद्ध ढङ्गले प्रस्तुत गर्न बहुतै मेहनत गर्नुभएको छ । आदरणीय पत्रकार दाजु कृष्णमुरारि भण्डारीले दिनुभएको आलोचनात्मक सल्लाह सुझावले आफ्नै लेखाइलाई फर्केर हेर्न प्रेरणा मिलेको छ । उहाँले किताबलाई प्रकाशनपूर्व पुनर्लेखनमा धेरै सहयोग गर्नुभएको छ । लेखक अश्विनी कोइरालाको सुझाव मिसिएपछि पुस्तक यस रूपमा तयार भएको हो । उहाँहरू सबैलाई धन्यवाद छ । प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा अमूल्य सहयोग, सल्लाह र शुभचिताउने मेरो आफ्नो परिवार, छोरीहरू, बहिनी, इष्टभित्र, साथीभाइ सबैप्रति हादिक साधुवाद प्रकट गर्दछु । उहाँहरूको सहयोग नभएको भए यो पुस्तक यस रूपमा आउने थिएन ।
यस पुस्तकमा प्रस्तुत विचार, धारणा र सोचहरू मूलतः कविजी काकाका वाक्य, शिक्षा र दृष्टिकोणहरू हुन् । उहाँसँगका संवाद र शास्त्रार्थ हुन्, उहाँको मुखबाट निःसृत उपदेशहरू हुन् । वहाँले यी कुराहरू कुनै व्यक्ति, समाज वा देशले कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरालाई धर्म, नीति र व्यवहारका आधारमा दर्साउनुभएको छ । यी दृष्टिकोणहरू कविजी काकाले मलाई सिकाउन खोज्नुभएको, बुझाउन र मार्गनिर्देशन गर्न खोज्नुभएको हो । जसलाई मैले अक्षरमा उतारेर यहाँहरूसमक्ष प्रस्तुत गर्ने प्रयत्न गरेको मात्र हुँ । कतिपय कुराहरू उहाँ आफैंले आधा मात्र जानेर पनि भन्नुभएको हुनसक्छ, तर मेरो जीवनमा उहाँका भविष्यवाणीहरू एकएक गरेर सत्य साबित भइरहे ।
===
लेखक सुनीलकुमार झा सिस्को सर्टिफाइड नेटवर्किङ इन्जिनियर हुन् । उनी CCIE (Cisco Certified Internetwork Expert) प्रमाणपत्र हासिल गर्ने पहिलो नेपाली हुन् । यो विश्वका कठिनतम परीक्षाहरूमध्ये एक मानिन्छ । उनको अध्ययन र सङ्घर्षको जीवनयात्राले धेरैलाई प्रेरित गर्छ । झाकृत ‘देशको पीडा विदेशको पीर’ मङ्सिर १३ गते बिहीबार २ बजे अकमा होटल, धुम्बराहीमा लोकार्पण गरिँदैछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
जसले पञ्चायतमा घुम्ती विद्यालय चलाए, प्रजातन्त्रको पक्ष लाग्दा जागिर गुमाए
२१ मंसिर २०८२, आईतवार 








