कुरा काट्न थाल्यो कि मेरो मुखबाट त खालि खस्राखस्रा, टेढाटेढा कुरा मात्र पो निस्कँदा रहेछन् । त्यसैले म कुरा नलुकाईकन भन्छु– मैले कुरा काटेर पस्किदिएको छु, खान मन लाग्छ खानोस् मन लाग्दैन नखानोस् । मेरा कुरा खानैपर्छ भनेर कर म गर्दिनँ ।

===

रस लिन फल नै काट्नुपर्छ भन्ने छैन । रस त कुरा काट्दा पनि आउँछ । क्या मजाको छ यो कुरो भन्ने कुरो । धेरै रस लिन मन लाग्छ लामा कुरा काट्नोस् र थोरैले पुग्छ भने छोटा कुरा काट्नोस् ।

‘दिउँसो तेल दिँदा नखाने तर राति भने कोल चाट्न जाने’ भनेझैँ गरी काट्ने बेलामा चाहिँ चुटीचुटी कुरा काट्ने तर भन्ने बेलामा भने म त कुरा काट्दिनँ भनेर कुरा नलुकाउनोस् ।

कुरा काटेर रस नलिने मान्छे यस संसारमा बिरलै हुन्छन् । तर एउटा कुरामा चाहिँ तपाईंहरूले होस राख्नुपर्दछ । त्यो के त भने रसवाला फलका रूख तथा बोटहरूमा काँडा भएझैँ कुरामा पनि काँडा हुने गर्दछ । जथाभाबी काट्न थाल्यो भने कुरो बिझ्ने पनि गर्दछ ।

यो कुराको काँडा एक बाजि मैलाई पनि बिझेको छ । प्रजातन्त्र आउनुभन्दा अघिल्लो पटकको एकेडेमीको पुनर्गठन हुने ताकको कुरा हो । शिक्षामन्त्रीले “जरुरी कुरा छ, एक बाजि आउनोस् न” भने ।

भोलिपल्ट म शिक्षा मन्त्रालय गएँ र मन्त्रीसँग भेटेँ । मन्त्रीले कुरा बिछ्याउँदै भने, “एकेडेमीको पुनर्गठन हुँदैछ । सदस्यहरूमा नाम सिफारिस गरी पठाउन मलाई भनिएको छ । म तपाईंको पनि नाम सिफारिस गरूँ कि ?”

कुरो मेरो लागि नराम्रो थिएन, राम्रै थियो । मैले स्वीकृति दिएँ ।

यसको १४–१५ दिनपछि एक दिन बिहान सहायक शिक्षामन्त्रीले फोनैबाट बधाई दिए । यसको दुई–चार दिनपछि रेडियोबाट एकेडेमीका सदस्यहरूको नाम घोषणा भयो ।

शिक्षा सहायक मन्त्रीको बधाई त फोस्रो पो सिद्ध भयो । यसपछि सुनेँ शिक्षामन्त्रीलाई चाहिँ मलाई मुख देखाउन लाज लाग्यो रे ।

उनले एक जना मित्रसँग भनेछन्, “हेर्नोस् न, पिँडालीको नाम त्यत्रो सिफारिस गरेर पठाएँ तर दरबार पुगेर नाम काटिएछ ।”

दरबारले मेरो नाम काटेको कुरा च्वास्स गरेर भित्रसम्म बिझ्न पुग्यो । त्यस कुराले अझै पनि मलाई बराबर च्वास्स–च्वास्स घोच्ने गर्छ ।

आ, छाडिदिऊँ यो कुरा यहीँ । कुरा काट्ने कुरा गर्दागर्दै म त आफ्नै कुरो पो तुन्न थालेछु । बुझ्नुभयो त कुरा काट्दा रस आउँछ, मजाले आउँछ । पत्यार लाग्दैन भने तपाईं आफ्ना हित्तचित्त मिलेका तीन–चार जना बसेर जसको कुरा काट्न मन लाग्छ काट्न थाल्नोस् त, अनि थाहा पाउनुहुनेछ कुरा काट्दा कसरी रस आउँदो रहेछ भन्ने कुरो ।

म त अझ के भन्दछु भने कुरा नकाट्ने मान्छे त यस संसारमा हुँदै हुँदैन । हाम्रा घरघरमा सासूचाहिँ बुहारीको कुरा काटिरहेकी हुन्छे भने बुहारी सासूको कुरा काटिरहेकी हुन्छे । यस्तै, भाइले दाजुको कुरो काटिरहेको हुन्छ त दाजुले भाइको कुरा काटिरहेको हुन्छ ।

अझ राजनीतिमा त कुरा झन् काटिन्छ । पल्टाएर यसो हेर्नोस् त अन्तरिम कालमा सत्तासुख भोगेर निर्वाचनपछि सत्ताविमुख भएका वामपन्थीहरू सत्तारूढ नेपाली कांग्रे्रेसको कुरा काटिरहेका हुन्छन् भने नेपाली कांग्रे्रेस पनि प्रजातन्त्रको सुदृढीकरणमा सहयोग नगरी वामपन्थीहरू खालि विरोध मात्रै गरिरहेछन् भनी कुरा काट्दो छ ।

अरू त अरू नै भए तीस–तीस वर्षसम्म निर्दलीयताको कीर्तन गरीगरी जनताका टाउकामा झापताल र त्रिताल ठटाउनेहरू पनि जनताले स्वीकार्छन् स्वीकार्दैनन्, त्यतापट्टि सोच्दै नसोची कांग्र्रेसको कुरा काटेर प्रतिपक्षी त हामी नै हौँ भनिरहेछन् ।

मेरो आफ्नै कुरा पनि म भनिरहेछु । कुरा काट्नमा त म झन् सबका गुरु माधवदास नै छु । तर मेरो कुरा कटाइमा चाहिँ फरक के छ त भने अरूहरू कुरा काटेर आफू–आफू मात्र रस लिन्छन् भने मचाहिँ कुरा काटेर आफू मात्र होइन अरूलाई पनि रिसमा निथ्रुक्क पारिदिन्छु ।

मैले समाजका विकृति, विसङ्गति आदिलाई लिएर जुन व्यंग्य गर्ने गर्दछु ती सब कुरा काटेको होइन र !

वास्तवमा नेपाली भाषामा यो कुरो भन्ने कुरो यति अद्भुत र विलक्षणको छ यसलाई तपाईं जसरी पनि प्रयोग गर्न सक्नुहुन्छ । यस कुरालाई तपाईं काट्न सक्नुहुन्छ, लुकाउन सक्नुहुन्छ, यो बिझ्छ पनि भन्ने कुरो त माथि भनिसकेँ ।

यसका अतिरिक्त पनि यस विलक्षण कुरोलाई तपाईं बटार्न पनि सक्नुहुन्छ र बंग्याउन पनि सक्नुहुन्छ । देखिहाल्नुभएको छ गिरिजाबाबु प्रधानमन्त्री हुनुभएपछि मित्रराष्ट्र भारत गएर त्यहाँका नेताहरूसँग वार्ता गरी सम्बन्ध सुधारेर फर्कनुभयो ।

वाणिज्य सन्धि भयो, पारवहन सन्धि पनि भयो, जलविद्युत् योजना बन्ने कुराहरू भए र अवरुद्ध सम्बन्ध सामान्य भयो । यस सरल र सोझो कुरालाई वामपन्थीहरूले बटारे, बंग्याएर भन्न थाले, ‘गिरिजाले नदी बेचे, गिरिजाले देश बेचे ।’

सके अब तपाईं भन्नुहुनेछ, ‘आ, तेरो यो कुरो पनि एकोहोरो कुरो भयो । खालि वामपन्थीहरूलाई घोच्ने कुरा मात्र गरिरहन्छस् ।’

हो, तपाईंले भनेको पनि ठीकै हो । कुरो एकोहोरो मात्र हुँदैन कुरो दोहोरो पनि हुन्छ । वास्तवमा कुरा गर्दागर्दै कुरा त चिप्लिएर गई वामपन्थीहरूलाई नै घोच्न पो पुग्दो रहेछ । के गर्ने र, जीवनभर व्यंग्य लेख्दालेख्दा त म त चिल्ला, चिप्ला, मीठा र चेपारे कुरा त गर्नै नसक्ने भएछु ।

कुरा काट्न थाल्यो कि मेरो मुखबाट त खालि खस्राखस्रा, टेढाटेढा कुरा मात्र पो निस्कँदा रहेछन् । त्यसैले म कुरा नलुकाईकन भन्छु– मैले कुरा काटेर पस्किदिएको छु, खान मन लाग्छ खानोस् मन लाग्दैन नखानोस् । मेरा कुरा खानैपर्छ भनेर कर म गर्दिनँ ।

मेरा कुरा खाएनन् भनेर म कुरा लाउन पनि कतै जान्नँ, किनभने कुरा फाँड्ने र भाँड्ने बानी मेरो छैन ।

(‘प्रशन्न हुनुहोस्’बाट)