एक जना ओसो सन्यासी ब्रह्मलीन भएछन् । तिनको मृत्यु संस्कारमा आनन्द अरुण आफ्ना शिष्यहरूलाई मृत्यु सङ्गीतमा नचाइरहेका थिए । मलामीहरूमा आँशु थिएन, सबैमा एउटा असीम आनन्द सञ्चरित थियो । दृश्य अलि नौलो थियो ।
…
नलेखेको अलि धेरै भयो । समयक्रमका हिसाबले त उतिसारो ढिलो भएको होइन । लगभग २ हप्ता जति अघि मैले ‘किन लेख्छु म ?’ निबन्ध लेखेथेँ । आज पनि हातलाई टाउकाभित्रको सिलिङमिलिङ गिदीले हप्काइरहेको छ – लठ्ठू, दुई हप्ता भइसक्यो किन लेख्दैनस् केही ?
म केही लेख्ने मुडमा छु किनकि मेरो अभिमानी चेत कसैबाट पनि लठ्ठू भनिन चाहँदैन । तर के लेखौँ ? खासै सोचेको चाहिँ छैन ।
विषयहरू अनन्त छन् । ब्रह्माण्ड जत्रो छ त्यत्रै त्यत्रै छन् विषयका चाङहरू । म सम्झन्छु – शङ्कर लामिछानेलाई । उही नेपाली निबन्धका प्रगाढ व्यक्तित्व । अनि म फेरि सम्झन्छु उनैको ‘औपन्यासिक पात्र जीवनको पृष्ठभूमिमा’लाई पनि । यसैमा उनले भनेथे – “बाबू, जीवनमा कविता छरिएर बसेका छन्, देख्न सक्नु र टिप्न सक्नु मात्र पर्छ । लेख्ने फुर्सद कसलाई ?”
यही हो काटीकुटी कुराको सम्पूर्णता – विषयको अनन्तता ।
केही दिन अघि मैले एउटा मृत्यु देखेँ र त्यसको संस्कार पनि । त्यो संस्कार प्रत्यक्षजस्तै देखिने प्रत्यक्ष थियो । अर्थात् मैले देखेको त्यो मृत्यु संस्कार क्यामराका लेन्स हुँदै म समक्ष आइपुगेका थिए । घटना उही हो तर अनुभूतिको चेत मात्र फरक थियो त्यहाँ । मृत्युलाई उत्सवमा साटिरहेका थिए मलामीहरू । कुरा के भएको थियो भने एक जना ओसो सन्यासी ब्रह्मलीन भएछन् । तिनको मृत्यु संस्कारमा आनन्द अरुण आफ्ना शिष्यहरूलाई मृत्यु सङ्गीतमा नचाइरहेका थिए । मलामीहरूमा आँशु थिएन, सबैमा एउटा असीम आनन्द सञ्चरित थियो । दृश्य अलि नौलो थियो ।
मैले विषय भेट्टाएँ – मृत्यूत्सव । तर यसमा म कति न्याय गर्न सक्छु म भन्न सक्दिनँ । यसो त न्याय अन्याय छुट्याउने म होइन, तपाईं नै हो । यसैले यो कन्थो म किन बोकूँ ? काम तपाईंकै टाउकामा बिसाएर म निर्धक्क बग्न चाहन्छु ।
मैले भोगेको जीवनमा ‘मृत्यु’ अनि ‘उत्सव’ एकै ठाउँमा उभिनै नसक्ने विषय हुन् । दुई शब्द बीचको असामञ्जस्यता फैलिँदो छ मेरा रोम रोममा । मैले त मेरा आधा शताब्दीसँग जोडिएको थपथाप केही थान वर्षहरूमा मृत्युसँग रोदन, क्रन्दन, चित्कार, छटपटी, आँशु मात्र भेटेको छु । मैले मेरो सामाजिक वृत्तमा रिङ्गेको समयलाई सम्झने हो भने ‘मृत्युसँगको हाँसो र आनन्द’ म कल्पना गर्न पनि सक्दिनँ ।
मैले अनुभूत गरेको मृत्युमा जीवनभर वास्ता नगरिएका र कहीँकतै सम्बन्ध नभएकाहरू पनि आँशु बनेर छचल्किन्छन् आँखाहरूमा । आँशु आँखाहरूमा मात्र छचल्किन्छन् कि मनहरूमा पनि ! मैले आजसम्म बुझ्न नसकेको अप्ठ्यारो विषय हो ।
नौ दिनमा नौलो, बीस दिनमा बिर्स्यो – म यतिवेला सम्झिरहेछु यो वीजवाक्य जसलाई मेरा पूर्वजहरूले अनुभव खाँदेर बनाएका थिए । सायद यो वीजमन्त्र मृत्युसँग पनि सम्बन्धित छ कि ? मृत्युको पहिलो साक्षात्कारमा जसरी विचलित बन्छन् आफन्तहरू विस्तारै दोस्रो तेस्रो हुँदै शोकहरू मलिनो हुँदै जान्छन् । मलिन त हुनैपर्छ । मलिन बन्दै नगए शोकहरूले जीवनलाई मृत्यु नै बनाइदिन्छन् ।
मलाई थाहा छ – मैले अन्तर्आत्माले चाहे भनें म मर्दिनँ तर मेरो चाहना कर्ममा भने बदलिनु पर्छ । शरीर मरेर गए पनि मेरो नाम अजर-अमर बन्न सक्छ । कैयौँ मान्छेहरू शरीर मरेपछि मरेका छन् तर मैले कतिपयलाई माटेशरीर मरेर गए पनि जीवितै भेटेको छु । मलाई पनि जीवित बनिरहने सुषुप्त लोभ छ । यसैले म हरपल नमर्ने उद्यमको खोजीमा छु । म यस्तो मृत्यु चाहिरहेको छु जहाँ म जीवित बनिरहूँ, जीवनको ठुटो सल्किएर खरानी भइसक्दा पनि केही न केही बाँकी रहिरहने अस्तित्व भइरहूँ ।
कोही भन्छन् – मृत्युपश्चात् मान्छेको पुनर्जन्म हुन्छ, कोही भन्छन् – हुन्न । कोही कोही त पुनर्जन्मबाट पाइने अवकाश नै मुक्ति हो पनि भन्छन् । यी विषयहरूमा म पूर्णत: अनभिज्ञ छु । सामान्य धारणा पनि म बनाउन सक्दिनँ यसमा । तर म मृत्युको धारणा चाहिँ बनाउन सक्छु किनकि मलाई थाहा छ – म मर्छु । अलि अमूर्त कुरा भए पनि मलाई आत्माको उपस्थिति छ भन्ने चाहिँ लागेको छ । यो लाग्नुमा मभित्र केले प्रभाव पारेको छ, भन्न सक्दिनँ । म मरेर फेरि पटक पटक जन्मिइरहन्छु भन्ने मैले सानो तिलको दाना जत्ति पनि सोचेको छैन । यसरी नसोच्नुमा मेरो चेतनाको मार्गमा पुनर्जन्मको अप्रभावकारी हिँडाइ पनि एउटा कारण होला । मुक्तिका विषयमा पनि काटीकुटी पुनर्जन्मकै जस्तो अनुभूति हो मेरो ।
मेरो धर्मदर्शन मलाई भन्छ – बाबू, एउटा तोकिएको मृत्यु अधिकारी छ । त्यो अधिकारीलाई ‘काल’ भन्छन् । उसैको एउटा विश्वासिलो कर्मचारी हो चित्रगुप्त । जीवनको मेसोमा गरेका कामहरूको लेखाजोखाको अभिलेख उसैसँग रहन्छ । उसले रिठ्ठो नबिराई लेख्छ ढड्डामा । मृत्युपश्चात् ढड्डा पल्टाएर हेर्दा जे जे देखिन्छ त्यसैबाट व्यक्तिको मृत्युयात्राको गन्तव्य निर्धारित हुन्छ । म नपत्याएको भावमा ओठ लेप्र्याउँछु । म जसरी कालो वस्तुलाई हेरेर कालो भन्न सक्छु र नीलो वस्तुलाई हेरेर नीलो भन्न सक्छु त्यसरी नै कल्पना मात्रका कुरालाई यथार्थ मानेर सहीछाप लगाउन सक्दिनँ ।
पूर्व भन्छ – आत्मा छ । पश्चिमले पनि आत्माका विषयमा थोरबहुत चिन्तन गरेको छ । पश्चिमको चिन्तन पूर्वीय दर्शनमाथिको जिज्ञासाको उपज हो । म गीतालाई सम्झन्छु, गीताभित्रको आत्मचिन्तनलाई अनुभूत गर्छु । गीता भन्छ – आत्मा जसलाई काट्न, पोल्न, भिजाउन, सुकाउन सकिन्न । पूर्वले आत्माको अजर-अमर स्वरूपलाई स्वीकारेको छ । म प्रष्ट छु – शरीर आत्मा होइन र आत्मा पनि शरीर होइन । गीता पढेर अलि अलि अन्धाले हात्ती छामेर निकालेको निष्कर्ष झैँ कनीकुथी एउटा निष्कर्ष निकाल्छु – म त जीवनभित्रको आत्मा र शरीरको गठजोड हुँ ।
पागल कवितामा देवकोटाले भनेथे –
“तिम्रो शुद्ध गणित सूत्र हरहमेसा चलिरहेको छ
मेरो गणितमा एकबाट एक झिके एकै बाँकी रहन्छ ।”
मैले धेरै समयसम्म यसको अर्थ कत्ति पनि बुझिनँ । ‘पागल’ कविता राखिएको थियो विश्वविद्यालयका कक्षामा । कविताको यो ठाउँ आइपुगेपछि म निकै रफ्तार पक्डिन्थेँ । मैले डाँफो मारेको मेसै पाउन्नथे विचराहरू । जब मैले बुझेँ – म आत्मा र शरीरको गठजोड हुँ तब मलाई यसको गूढार्थ खुल्यो । म शरीर र आत्माको सिङ्गो गठजोडबाट एउटा माटेशरीर घटाउँछु । मेरो आत्मा–चरी शून्य आकाशमा एउटा अस्तित्व बनेर उड्न थाल्छ । अनि म भन्छु देवकोटालाई – गुरु, तपाईंको चेतनास्तर आम मानिसको भन्दा निकै उचो छ ।
शरीर भनेको बोक्रा हो आत्माको । म सोच्छु – शरीरको मृत्यु त एउटा खोसलिएको बोक्रा पो रहेछ । म मेरो कहिल्यै नमर्ने आत्मामा बाँचिरहन सक्छु भने एउटा बोक्राको अवसानमा त्यत्रो विधि दु:खमनाउ र हावाकावा किन ?
जसलाई दुनियाँले जीवन भन्छ त्यसलाई म भन्छु मृत्युयात्रा । हरपल हामी मृत्युयात्राका चटारामा छौँ । उमेरको नापोमा मृत्युले खाएर सकेको भागको ठुटो अवशेष मात्र फेला पर्छ । जीवनरूपी ठुटो अवशेष अघिको ‘म’ इरेजरले मेटिएको अक्षरको भाँतीमा बिलाइसकेको छु अतीतमा । वर्षहरूको फन्कामा फन्किँदा फन्किँदै मैले थाहा नपाइकनै अपर्झट आइदिन्छ मृत्युयात्राको आरम्भिक यात्राविन्दु । म क्रमश: दिन, मास, वर्षहरूजस्ता समयका ससाना नापोका गिन्तीमा मरिरहेको छु बारम्बार । म आजकल त यस्तो सोच्न थालिसकेको छु – मृत्युका गिन्तीमा थपिएको एउटा मृत्युलाई के हामीले बढी महत्त्व त दिइरहेको छैनौँ ? नत्र भने यसमा केको शोक ?
मेरो तपाईंसामु एउटा विनम्र प्रस्ताव छ – हरेक वर्ष मनाइने जन्मोत्सवलाई मृत्यूत्सवको भव्य तयारी भने हुन्न र ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२४ कार्तिक २०८२, सोमबार 










