म एक शिक्षक हुँ । मेरो कर्तव्य भनेको कुनै पूर्वाग्रहबिना सबै विद्यार्थीलाई आफूले पढाएको विषयवस्तु बुझ्न र त्यसलाई सही उपयोग गर्नका लागि प्रोत्साहन गर्नु हो । शिक्षकलाई आफूले अध्यापन गरेका प्रत्येक विद्यार्थी जीवनमा अगाडि बढून् र उज्ज्वल भविष्य निर्माण गरुन् भन्ने कामना हुन्छ ।
===
नेपाली छापामा बारम्बार अस्पतालमा उपचारका क्रममा हुने आफन्तको मृत्युलाई लिएर तनावग्रस्त स्थिति सृजना हुने समाचार आइरहन्छन् । हो न हो, त्यो मृत्यु डाक्टरहरूकै लापरवाहीले हो भन्ने लागेर मृतकका आफन्त उनै चिकित्सकमाथि खनिन्छन् । नियमित हुने यस्ता घटनाले आम जनतालाई अस्पतालहरूप्रति शङ्का उत्पन्न भएको पनि यदाकदा सुनिन्छ भने स्वास्थ्यकर्मीहरूलाई पनि आफ्नो कर्ममा निर्धक्क भएर लाग्न वाधा खडा भएको छ । तर बिरामी भएपछि अस्पताल नगएर कहाँ जाने ? के साँच्चै डाक्टरहरू यति लापरवाही होलान् त ? उनीहरूलार्ई आफ्नो व्यवसायप्रति सम्मान नहोला र ? भनेजस्ता प्रश्न मेरा मनमा बारम्बार उठिरहन्छन् ।
केही समयदेखि मेरो एउटा स्वास्थ्य समस्या देखिइरहेको थियो । विभिन्न तहमा डाक्टरहरूसँग परामर्श गर्दा यसको समाधान शल्यक्रिया नै हुने टुङ्गो लागेको थियो । जानु त अस्पताल नै पर्यो । त्यही समयमा मेरो जस्तो समस्या लिएर गएकी एउटी महिलाको हाम्रै छिमेकी नगरको एक अस्पतालमा शल्यक्रियाकै क्रममा मृत्यु भएको खबर समाचारमा आयो । यस्तो पढेर मेरो मन भरङ्ग त हुने नै भयो । मैले मनलाई अनेक किसिमले सम्झाएँ— ‘सबैको एउटै खाले समस्या हुँदैन । त्यो महिलामा शायद अरु नै समस्या थियो कि ! मृत्युको कारण शल्यक्रिया नभएर अरु केही हुन सक्थ्यो ! अर्थात् शल्यक्रियाकै क्रममा अचानक कुनै समस्या आयो कि ! सकेसम्म त डाक्टरहरूले आफ्ना बिरामी बचाउन नै खोज्छन् नि…।’
संयोगवश् म त्यो समयमा डा. अर्जुनदेव भट्टको ‘समय यात्रा’ भन्ने पुस्तक पढिरहेकी थिएँ । यो पुस्तकमा उनले करीब पचास वर्ष पहिले आफूले जलेश्वर र जनकपुरका जनतालाई चिकित्सा सेवा उपलब्ध गराउँदा के कस्ता अनुभव भए भन्ने कुरालाई सरल भाषामा लिपिबद्ध गरेका छन् । उनको यो पुस्तक पढ्दा पाठकहरूलाई डाक्टरहरूले आफ्नो पेशागत दायित्व पूरा गर्न के कस्ता प्रयास गर्छन् बुझ्नका लागि धेरै मद्दत पुग्छ । वर्तमान् परिप्रेक्ष्यमा आम जनताको अस्पताल र डाक्टरहरूप्रति रहेको नकारात्मक धारणालाई ‘समय यात्रा’ले परिवर्तन गर्न सक्छ ।
हामी सोचौँ त — जुनसुकै पेशा होस्, त्यसमा आवद्ध भएको व्यक्ति उक्त पेशाका मूल्य, मान्यता अथवा सिद्धान्तलाई बिर्सेर जथाभावी गर्न सक्ला ? उदाहरणका लागि, म एक शिक्षक हुँ । मेरो कर्तव्य भनेको कुनै पूर्वाग्रहबिना सबै विद्यार्थीलाई आफूले पढाएको विषयवस्तु बुझ्न र त्यसलाई सही उपयोग गर्नका लागि प्रोत्साहन गर्नु हो । शिक्षकलाई आफूले अध्यापन गरेका प्रत्येक विद्यार्थी जीवनमा अगाडि बढून् र उज्ज्वल भविष्य निर्माण गरुन् भन्ने कामना हुन्छ । हामी कुनै विद्यार्थीको कुभलो चिताउन सक्तैनौ । यद्यपि अपवाद त जुनसकै क्षेत्रमा हुन्छ भन्ने कुरालाई पनि हामीले बिर्सन हुँदैन ।
अँ, म आफ्नो बिमारको कुरो गर्दै थिएँ । डा. भट्टको पुस्तकले मलाई निडर भएर अस्पताल जान र निर्धक्क भएर उपचार गराउन प्रोत्साहित गर्यो । शल्यक्रिया सकिएपछिको दिन एक जना सफाइकर्मी बैनी मेरो क्याबिनमा सफाइ गर्न आइन् । यस्तै बिमारका कुरै कुरामा उनले भनिन्, ‘अन्टी, तपाईँहरूलाई आफ्नो रोगको बारेमा जति चिन्ता हुन्छ नि, त्योभन्दा धेरै चिन्ता डाक्टरहरूलाई हुन्छ । उनीहरूले गरेको अप्रेशन जति सफल हुन्छ, त्यसकै आधारमा त उनीहरूले गोल्ड मेडल पाउने हो नि ! अनि कसैलाई आफूले गरेको उपचार असफल होस् जस्तो लाग्छ त अन्टी ?’ उनले झ्याल पुस्तापुस्तै मतिर सहमतिका लागि पुलुक्क हेरिन् । मैले फिस्स हाँस्तै, ‘लाग्दैन नि, बैनी,’ भनेँ । उनले पुनः थपिन्, ‘तपाईँहरूलाई यहाँबाट डिस्चार्ज भएर घर जाँदा जति खुशी लाग्छ नि, त्योभन्दा बढी खुशी आफ्नो बिरामीलाई निको पारेर घर पठाएकोमा डाक्टरहरू हुन्छन् ।’ उनी त्यसै कल्पनाको भरमा यस्तो कुरा गरिरहेकी थिइनन् । एक दशकभन्दा बढी सोही अस्पतालमा बिताएकी ती महिलाले मलाई विश्वास दिलाउन धेरै उदाहरण दिइन् । मैले चार दिनको अस्पताल बसाइमा अवलोकन गर्दा त्यहाँ एउटा बलियो प्रणालीले काम गरिरहेको पाएँ । सबै डाक्टरहरू, नर्सहरू र अन्य कर्मचारीहरू आफ्नो आफ्नो काममा दत्तचित्त नै भएर लागेका देखिए । उनीहरूको भाषामा हामी ‘केस’ हौँ । आपसमा कुरा गर्दा उनीहरू भन्ने गर्थे, ‘आज त कति धेरै केस आएको !’ ‘फलाना डाक्टरले भनेको त्यो केस त धेरै सिरियस छ रे !’ यसो विचार गरौँ त — बिहानदेखि बेलुकासम्म एउटा अस्पतालमा कति किसिमका केस आउँदा हुन् ? ती सबै केसका समस्या पहिचान गरी तिनको उचित उपचार गर्नु आफैंमा कति संवेदनशील कुरा हो ।
बिरामीका र उनीहरूका आफन्तका पक्षबाट हामी अर्थात बिरामी मानिस हौँ । हाम्रो परिवारका प्रिय पात्र हौँ, विशेष हौँ । हाम्रो जीवन अमूल्य छ । त्यसैले हामीलाई डाक्टरले जसरी भए पनि बचाउनुपर्छ । हुन त डाक्टरको मुख्य धर्म जीवन रक्षा नै हो । यति हुँदाहुँदै पनि कहिलेकाहीँ विभिन्न कारणवश् त्रुटि भैहाल्छ । अनि यस्तो बेलामा प्राकृतिक रूपमा नै चिकित्सक पक्ष र बिरामी पक्षबीच तनाव उत्पन्न हुन्छ । यहाँ एक पक्षको संसार ध्वस्त भएको हुन्छ भने अर्को पक्षको ‘केस स्टडी’ असफल भएको हुन्छ । क्षती दुवैतर्फ हुन्छ तर तत्काल एक पक्षको मात्र भएजस्तो देखिन्छ । अनि यसैले उग्र रूप लिँदा अप्रिय दुर्घटना निम्तिन्छन् ।
डाक्टरको सानो लापरवाहीले बिरामीको ज्यानै जान सक्छ भन्ने विषयमा सन् २०१३ मा बलिउड चलचित्रकर्मी विक्रम भट्टले सत्य घटनामा आधारित ‘अंकुर अरोरा मर्डर केस’ नामक हिन्दी चलचित्र बनाएका थिए । नचाहँदा नचाहँदै प्रख्यात डाक्टरबाट समेत कहिलेकाहीँ त्रुटि हुन सक्छ भन्ने कुरा अझ गहिराइका साथ बुझ्न हामीजस्ता आम जनतालाई यो चलचित्रले सहयोग गर्छ ।
डाक्टर सधैँ सफल हुँदैन । आखिर ऊ पनि एउटा मानिस हो । त्यसैले विश्वव्यापी रूपमा भेटिने मानवीय त्रुटिबाट ऊ अछुतो रहन सक्तैन भन्ने तथ्यलाई डा. भट्टले आफ्नो पुस्तक ‘समय यात्रा’मा विभिन्न उदाहरण दिएर प्रष्ट पारेका छन् । उनी भन्छन् —‘के सर्जरी खाली सफलताको वर्णन हो ? पक्कै होइन तर के असफल शल्यक्रिया गराउन कोही आउँछन् ? पक्कै आउँदैनन् । तर काठमाडौँबाट जनकपुर आउनुभएका एक बिरामी निको हुन त कता हो कता, शल्यकक्षभित्र पहिलो नदुख्ने सुइ दिँदा बित्नुभयो ।’ सोच्नुहोस् त, त्यो बेला म सर्जनको अवस्था । एकछिन त म यो संसारबाटै बिलाएजस्तो भएँ,’ (पृ. १४४) । बिरामी निको भएर अस्पतालबाट घर जाँदा एउटा डाक्टरले कस्तो सुखानुभूति गर्छ भन्ने कुरालाई डा. भट्ट यसरी व्यक्त गर्छन्, ‘…बीस दिनपछि आफैंले प्राकृतिक रूपमा पिसाब फेर्ने भएपछि बिरामी घर गयो । ऊ ज्यादै खुशी थियो तर त्योभन्दा बढी हाम्रो शल्यटोली थियो खुशी…’ (पृ ८६) । यसैगरि अर्को प्रसंगमा उनी भन्छन्, ‘…कोठाको बेडमा बिरामी निकै शान्त र आज्ञापालक भएर आयो । हामीले उसको नाउ सम्बोधन गरेर बोलाउँदा उल्टै ऊ सोध्न थाल्यो । “वायु गयो ?” अब हामी सबै अनुभूति गर्दै थियौं यसपालिको जीवनको खेतीमा पनि मृत्युको हार भयो । मृत्युको विनिमय जीवनसँग भयो । यसपालीको खेतीमा पनि जीवन फस्टाउने नै भयो ! मृत्युमाथिको धावा सफल रह्यो । फलिभूत भयो,’ (पृ. १०७) ! हामीले कोरोना कालमा पनि स्वास्थ्यकर्मीहरूको बिरामीप्रति समर्पणको एक झलक देखेकै हो ।
मैले माथि नै भनिसकेँ — डा. अर्जुनदेव भट्टको ‘समय यात्रा’ले मलाई निर्धक्क भएर डाक्टरको हातमा आफूलाई सुम्पन सहयोग गर्यो । शल्यक्रियाको दिन जब मलाई शल्यक्रिया कक्षमा लगियो, वरिपरि ५÷७ जना अपरिचित अनुहार देखेर म अलि झस्किएँ । उनीहरू मलाई तयार गर्दैथिए । तर म त्यहाँ आफूलाई जाँच्ने डाक्टरलाई देखिरहेकी थिइन । मैले अलि सशंकीत हुँदै उनीहरूलाई भने, ‘खोई, डाक्टर साहेब यहाँ हुनुहुन्न त !’ एकजनाले सहज भावमा उत्तर दिए, ‘हामी यहाँ सबै ठीक पार्छौँ, अनि अपरेशन गर्ने बेलामा डाक्टर आउनुहुन्छ ।’ अर्ध बेहोशीको सुई (कम्मरभन्दा माथिको भाग सचेत नै रहने) दिएपछि, मेरो शरीरमा आवश्यक यन्त्र जडान गरिसकेपछि उनीहरूले मलाई अपरेशन बेडमा सुताए । बिस्तारै शरीरको तल्लो भाग अचेत हुँदै गयो । म आँखा चिम्लिएर पल्टिरहेँ । केहीबेरमा मेरा कानमा एक चिर परिचित आवाज गुन्जियो, ‘व्यन्जना जी, अब तपाईँको अपरेशन शुरु भयो है ।’ आफ्नी आमाको प्रतीक्षामा बसिरहेको बालक घरबाहिर आमाको बोली सुन्नेबित्तिकै खुशी भएजस्तो म खुशी भएँ । अनि सन्तोषको सास फेर्दै, ‘डा. साहेब, तपाईँ आइपुग्नुभयो ?’ भनेर सोधेँ । उनले ‘हजुर’ भनिन् र आफ्नो काममा जुटिन् । म ढुक्क भएर सुतिरहेँ । मेरो मनमा डा. भट्टले ‘समय यात्रा’ मा लेखेका शब्दहरू प्रतिध्वनित भैरहे, ‘…उसलाई (डाक्टरलाई) खाली इमान्दार भएर आफ्नो पेशामा लगनशील हुँदै जुधे पुग्ने छ । ऊ सधैँ बिरामीलाई उच्चस्तरीय सेवा प्रदान गर्न सक्नेछ । थुप्रै बिरामी रोगमुक्त भएर हँसिलो अनुहार लिएर बिदा हुनेछन् । यद्यपि केही भने अस्पतालमा आफ्नो जीवनचक्र नै पूरा गर्नेछन् ।… अकाल मृत्यु नहोस् त्यसका निम्ति स्वास्थ्य विज्ञानले प्रयत्न गर्ने हो,’ (पृ. १८७) ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।