बाटोले हामीलाई नहिंडाए हामी कहाँ पुग्नु ? कतै पनि पुग्न सक्दैनौं । बाटो हाम्रो आँखा । बाटो हाम्रो संसार । बाटोले नै पुर्याउँछ हामी जहाँ जानुपर्ने हो, जता पुग्नुपर्ने हो, जे गर्नुपर्ने हो, बाटोले नै डोर्याउँदै हामीलाई त्यहाँसम्म पुर्याउँछ ।

हिजोदेखि हिंडेका मानिस आजसम्म हिंडिरहेकै छन् । हिंडाइको गति उही हो । बाटाहरू धेरै छन् । पुग्ने गन्तव्यहरू पनि अनेक छन् ।

कुन बाटो हिंडेर कहाँ पुगिन्छ ? त्यो कुरा पहिले हिंड्ने मान्छेले थाहा पाउनुपर्छ ।

आवतजावत गर्ने बटुवाहरू पनि धेरै हुन्छन् । हिंड्नेहरू सैयौं पाइला रातदिन नभनी हिंडिरहन्छन् । उनीहरूलाई प्रचण्ड घामले पोल्दैन । दर्के झरीले रोक्दैन ।

तथापि जति हिंडे पनि बाटो छोट्टिंदैन । जति दौडे पनि पुगिंदैन । हिंड्नुपर्ने गन्तव्य कति टाढा हो ? पुग्नुपर्ने ठाउँ अझै कता हो ? म आफैंलाई थाहा छैन । हिंडेर नसकिने बाटो कति लामो हो ? पुगेर नसकिने ठाउँ कति टाढा हो ?

पुग्नेहरू चन्द्रमामा पुगिसके । हिंड्नेहरूले विश्वभ्रमण गरिसके । बाटोमा पाइला टेक्न गाह्रो मान्नेहरू घरको घरैमा थन्किएका छन् ।

बाटो हिंड्दा काँडा टेकिन्छ । ढुङ्गामा ठेस लागेर लडिन्छ । पाइला–पदचापमा होश गरेर हिंड्नुपर्ने रहेछ । काँडा टेक्दा फूल सम्झेर फड्को मार्नुपर्ने रहेछ । कैयौं अपठ्यारा जङ्गार आउँछन् ।

कति सजिला बाधा आउँछन् । ती सबैमा मन रमाउँदै, आँखा डुलाउँदै पाइला हिंडाउनुपर्ने रहेछ ।

यसो हुँदा बाटो हिंडेको पत्तै हुँदैन । बाटो काटेको ख्यालै रहँदैन ।

परन्तु जिन्दगीमा हिंडेर कहिल्यै सकिंदैन रहेछ बाटो ।

कठिन उकालो उक्लियो । थाकेर हैरान भएर भन्ज्याङमा बिसायो । खुर्रर दौडियो ओरालो सजिलो ठानेर । थाकेर फतक्कै भएको ज्यान भुइँमा थ्याच्च बसायो, बिसायो । खुइय गर्यो । पसिना पुछ्यो, जिउ तन्कायो । खुट्टा उफार्यो । हात चलायो ।

फेरि बाटो हिंड्न त बाँकी नै रहिरहन्छ ।

देखेर थाक्नु हुँदैन रहेछ । पुगियो भनेर त्यसमै चित्त बुझाउनु पनि हुँदैन ।

बाटो देखेर आत्तिनु हुँदैन रहेछ । हिंडिरहनुपर्छ । हिंड्नैपर्छ । बाटोलाई भेट्टाउनै पर्छ ।

बाटोमाथि आफू सधैं ‘बाठो’ भएर हिंडिरहनुपर्ने रहेछ ।

एकैछिन सुस्तायो । आफू आएको बाटो हेर्यो । आज हिंड्नुसम्म हिंडियो भन्यो । फेरि बाटो पछ्याउँदै बाटोलाई भेट्न बाटोको अन्तिम टुङ्गोमा पुग्न दौडादौड गर्यो ।

शीतल छहारीमा बस्यो । बिस्तारै अलिकति साहस बटुल्यो । अलिकति शक्ति सञ्चित गर्यो । पुनः उसरी नै बाटो नाप्न थाल्यो । हिंड्यो फेरि हिंडिरह्यो ।

अब त सकियो होला उकालो भन्यो फेरि त्यस्तै ज्यान खाने उकालो देखिन्छ । त्यसलाई पनि साहस र धैर्यले फेरि बल गरेर हिंड्यो । अर्को घुम्ती आउँछ, अर्को कुइनेटो, बिसाउनी, देउराली चौतारी कति–कति !

जति हिंडे पनि हिंडेर बाटो सिद्धिदैन ।

‘आउनै लाग्यो चौतारी, त्यही पुगेर थकाइ मारौंला । त्यहाँबाट आफू आएको बाटो फर्केर हेर्दा कम रमाइलो देखिंदैन ।’

उकालोमा तरतरी पसिना चुहाउँदै हिंड्ने बटुवाहरूको कुरा कानमा गुञ्जिन्छ ।

बस्न, बिसाउनका लागि पनि उकालोमा ठाउँ चाहिन्छ । त्यसकै निम्ति हाम्रा पुर्खाहरूले चौतारी बनाएका । वरपिपल रोपेर शीतल पार्ने उपायको खोजी गरेका ।

भीरको बाटोमा कतै उभिने ठाउँसमेत हुँदैन । कतै त निकै जोखिम नै हुन्छ । खुट्टा चिप्लियो भने झरिन्छ भड्खालोमा । बडो होश गरेर पाइला चाल्नुपर्छ ।

पहाडको उकालोमा बस्नलाई चौतारी, गर्मी छल्न बरपिपल हुँदा साँच्चै भरिया ज्यानलाई पुनः शक्ति सञ्चार हुन्छ ।

कतिन्जेलसम्म हिंड्नु लखतरान हुन्जेल । भोकले पेटमा मुसा कुदुन्जेल । प्यासले मुख प्याकप्याक्ति हुन्ज्याल । बाटोले गन्तव्य पुर्याएकै हैन । हिंडेर अझै सकिएकै छैन ।

हिंडाइ टुङ्गिन त बाटो पनि सकिनुपर्यो । बाटो सकिएपछि न हिंडाइको अन्त्य हुन्छ । हिंड्नुको पूर्णविराम लाग्छ ।

बल्ल गन्तव्य पुगेर हिंड्नुको लक्ष्य सार्थक बन्छ ।

यस्तो लाग्छ, मान्छे र बाटोलाई जति सङ्गत गरे पनि जति नै गहिराइमा पुगेर बुझ्ने कोशिश गरे पनि फिटिक्कै बुझ्न सकिंदैन । चिन्न जानिंदैन रहेछ । बुझेर बुझ्न कहिल्यै सकिंदैन रहेछ । जतिसुकै आफन्त ठाने पनि बाटो पराइ नै हुन्छ ।

बाटोले मान्छेलाई चिन्दैन । मान्छेले चिनेर के गर्नु बाटो, बाटो नै हुँदोरहेछ । मान्छे मान्छे नै हुँदोरहेछ ।

कुनै बाटो पट्यारलाग्दो अब त यस्तो बाटो हिंड्नु नपरे पनि हुन्थ्यो जस्तो लाग्ने । कुनै बाटो यस्तो लाग्ने कि यही बाटो सधैं हिंडिरहनु जस्तो हिंडेर यो बाटो कहिल्यै नटुङ्गियोस् जस्तो ।

फेरि कुनै बाटो यस्तो कि जुन बाटो हिंड्नलाई मुटु हत्केलामा राखेर हिंड्नुपर्ने । सास रोकेर पाइला सार्नुपर्ने ।

बाटो हिंड्दा डरले मुटु कामेर थर्कमान हुने । यस्तो बाटो नहिंडी पनि नहुने ।

अत्यन्त जोखिमको साह्रै डरलाग्दो बाटो । तर कुनै बाटो यस्तो कि जहाँबाट देखिने दृश्यले पाइलै रोकिने । बाटैमा बसेर ती दृश्यलाई अघाउँजी हेरिरहौं जस्तो ।

कतिपय बाटाहरू यस्ता हुन्छन् बाटोमा मान्छेका अनेक कुरा सुन्न पाइन्छ । मान्छेका अनेक स्वभाव देख्न सकिन्छ ।

गफमा मस्त मनहरू बाटो काटेको पत्तै नभई लम्किरहेका हुन्छन् । त्यसमा कतिपयका दुःखका कैरन सुन्नेहरू पनि भावुक बनेर सान्त्वना दिइरहेका भेटिन्छन् ।

बाटो हिंड्दा मान्छेका अनेकौं पक्ष मान्छेलाई चिन्ने मौका पनि मिल्छ ।

दिनभरि मान्छेलाई दौडादौड । उछिना–पाछिन् गराएर कैयौं यात्रीको लात खाँदै, भार थाम्दै पीडाले थिल्थिलो हुँदै । तैपनि बाटो कत्ति जब्बर हो ? कत्ति पनि थाक्दैन रहेछ । जोडबलले बेजोडले लात हाने पनि बेतोडले दौडिए पनि । बाटो आखिर बाटोकै रूपमा रहँदो रहेछ ।

बरु बाटो हिंड्ने मान्छेलाई कहिले ठेस लगाएर दुखाउने । रुनै नसक्ने बनाएर हायलकायल पार्ने ।

यसरी दिनभरि मान्छेका पाइलाले कुल्चिँदै बाटोमा भोलिपल्ट बिहानदेखि उही क्रम दोहोरिन्छ । रातभरि बाटो निदाउँछ कि बिउँझै रहन्छ ? सुतेर सपना देख्छ कि जागै बसेर राति पनि मान्छेलाई यात्रामा हिंडाउँछ !?

आखिर बाटोको बखान गरेर सकिंदैन । बाटोमा हिंडेर कहिल्यै पुगिंदैन ।

बाटोले हामीलाई नहिंडाए हामी कहाँ पुग्नु ? कतै पनि पुग्न सक्दैनौं । बाटो हाम्रो आँखा । बाटो हाम्रो संसार । बाटोले नै पुर्याउँछ हामी जहाँ जानुपर्ने हो, जता पुग्नुपर्ने हो, जे गर्नुपर्ने हो, बाटोले नै डोर्याउँदै हामीलाई त्यहाँसम्म पुर्याउँछ ।

कहिलेकाहीँ त यस्तो लाग्छ, बाटोभरि फूलैफूल फुलिदिऊन् । मायालु मनहरू त्यहाँ रमाइरहुन् ।

कतै, कहिल्यै कसैलाई कुने चोट नलागोस् । कसैमाथि खोट नदेखियोस् । प्रेममय वातावरणले सबैलाई स्पन्दित गरिरहोस् ।

अनि कहिले त यस्तो लाग्छ– हिंड्दाहिंड्दै चिनेको मान्छेसँग जम्काभेट होस् । त्यो चिनेको मान्छे आफूलाई मन परेको प्रिय मान्छे होस् । त्यहाँ प्रणय–मिलनको इन्द्रेणी लागोस् । मान्छेहरू सबैका आँखाले केही देख्न नसकोस् । जोसँग वर्षौपछि भेटिएको खुशीमा दुबैजना केही बोल्न नसकिएको अवस्था आओस् ।

हिंड्ने बाटोमा आफ्नो मान्छे टुप्लुक्क आइदिए साह्रै जाती हुन्छ । यस्तो बेला त्यो बाटोमा अरू कोही नआइदिए पनि हुन्थ्यो । अलिकति भलाकुसारी गर्नु मिल्थ्यो । कैयौँ दिनदेखिको भन्ने कुरा बल्ल भन्नुहुन्थ्यो जस्तो लाग्छ ।

बल्लतल्लको त्यो भेटमा दुःख साट्नुहुन्थ्यो । खुशी बाँड्नु हुन्थ्यो । मीठो सन्तुष्टिसँग एकअर्काको हात समातेर पर–पर धेरै परसम्म पुग्नुहुन्थ्यो । हेर्दाहेर्दै आँखाबाट आँखाभित्र सम्मै पस्नुहुन्थ्यो । गुन–गुन गर्दै अरू कसैले नसुन्ने गरी, नबुझ्ने गरी प्रणय–मिलनमा हराउनुहुन्थ्यो ।

जहाँ कुनै मान्छेको पनि आँखा नपरोस् । कसैले नदेखोस् । कसैले नसुनोस् । झुक्किएर पनि कोही त्यहाँ नआइदियोस् ।

तर मान्छे छिनमै आइहाल्छन् । ओइरी हाल्छन् मान्छेहरू ।

त्यसपछि एकछिनमै एकान्त गायब हुन्छ । र, त्यहाँ मान्छेको चहलपहल बढ्न थाल्छ ।

एकान्त समय आउँला कि भनेर कति पर्खिनु, कति धर्यधारण गर्नु ? सबै व्यर्थ खेर जान्छन् ।

एकान्तमा यसो केही सोच्छु भन्छु फेरि मान्छे फुत्त आइहाल्छन् । र, बाटोले एकान्त गुमाउँछ ।  म एकान्तलाई पर्खिएर बसेको बिचरा पर्खिएको पर्खिएकै हुन्छु ।

एकान्तमा केही सोचौला भन्ने विचार गर्दानगर्दै सोचाइको क्रमभङ्ग हुन्छ । क्रमभुङ्ग भएपछि के सोच्नु ? विचार र भावनाहरू सबै भताभुङ्ग बन्छन् ।

यसरी मैले सोचेको कुरा केही पनि गर्न नपाउँदा मलाई दिक्क लाग्छ ।

हरेक पटकका पर्खाइहरू पट्यारलाग्दो भएर जान्छन् । अनि त्यहाँ निराशाका बादलले ढाक्छन् । पानी त पर्दैन तर मनमा खोलाबाढी बग्छन् ।

कुनै उपाय गरेर पनि मान्छेका आँखा छल्न सकिंदैन । मान्छेका कान बन्द गर्न सकिंदैन । झ्वाट्ट देखिहाल्छन्, सुनिहाल्छन् ।

एकान्तको प्रतीक्षा गरेको धेरै भइसक्यो । जताततै मान्छेकै आँखा, मान्छेकै चनाखा कान ठाडो पारेर सुनिरहेझैँ लाग्छ । नियालेर हेरिरहेझैँ लाग्छ । लुकेर चियोचासो गरिरहेझैँ लाग्छ ।

एकान्त पाए मान्छे नआइदिए त्यहाँ मनका कुरा खोल्नु हुन्थ्यो । मनको बह पोख्नु हुन्थ्यो ।

कति गुम्स्याउनु भन्न मन लागेका कुराहरू । ती गुम्सिएका कुरा सबैलाई खोलेर भन्न पाए हुन्थ्यो ।

कति कुरा भन्नलाई एकान्त नै चाहिंदो रहेछ । केही कुरा भन्नलाई खास मानिस नै हुनुपर्ने रहेछ ।

अरू कोही कसैले देख्लान् कि भनेर कतिन्जेल लुकाइ राख्नु र !

यसरी धेरै लुकाएर गुम्स्याइराख्दा त्यो प्रिय कुरा बिग्रिएर कामै नलाग्ने पनि हुन सक्ला । मायाले सम्हालेर राखेको । प्रेमले जतन गरी राखेको । अति नै प्यारो त्यो कुरा अनायसै बिग्रियो भने बर्बादै हुन्छ ।

यो भीडमा कहाँ भेट्नु खोजेको एकान्त ठाउँ । भेटिँदैन खोजेको शान्त ठाउँ ।

वास्तवमा भीड त भ्रम हो । एकान्तमै भेटिने हो सत्य ।

सबैलाई हतारै–हतार छ । त्यही हतारमा मानिसको भीड हुन्छ । भीडमा मानिसका अनेक दाउ हुन्छन् । त्यस्तोमा कहाँ सिर्जनाका कुरा । कहाँ माया र पेमका सन्दर्भ ।

‘मानिसकै भीडमा हो आफूले मन पराएकोलाई हेर्न, छान्ने र मन परापर भए भाग्ने ।’ पाका अनुभवीहरूका अनुभव पनि मैले सुनेको छु ।

उहिलेको समयमा भेट्नका लागि यस्तै भीड चाहिन्थ्यो रे । भेट्नलाई एकान्त त हुँदै नहुने । किनभने एकान्तमा छरछिमेकका चिनेजानेका कोही न कोहीले देखिहाल्छन् । देखेपछि सबैलाई थाहा हुन्छ । थाहा भएपनि लाज लाग्छ । बदनाम हुने ठानिन्छ ।

सबैलाई छिटो पुग्ने हतार हुँदोरहेछ । सबैलाई काम छिटो सक्न पाए हुन्थ्यो भन्ने लाग्दोरहेछ ।

यसले एकान्त ठाउँ हराउँदै गइरहेको छ ।

जताततै भीडको भीड छ । जुन भीडमा चिनारुहरू पनि बिरानो बन्छन् । टाढिंदै जान्छन् ।

मैले हिंड्ने बाटोमा कोही नआइदिए हुन्थ्यो भनेर के गर्नु हिंड्नैपर्ने सबै त्यही बाटो हो । कहिलेकाहीं त बाटो काट्न पनि निकै समय पालो पर्खिनुपर्छ ।

यस्तोमा कहाँ मिल्नु मनका कुरा भन्ने ठाउँ ?

खुसुक्क भन्नु भएन । सुन्नु पनि पर्यो, बुझ्नु पनि पर्यो ।

मनको कुरा मनमै रहेको धेरै दिन भइसक्यो । मनको खसखस छँदै छ ।

पुगेर नपुगिए जस्तै । हिंडेर पनि कहिल्यै पुग्न नसकिएको जस्तै । हेरेर पनि नदेखिए जस्तै । भेटेर पनि नभेटिए जस्तै । बोलेर पनि बोल्न बाँकी नै रहिरहे जस्तै ।

जिन्दगी जस्तै, त्यस्तै अधुरो सधैं र अपूरो सधैं । रहरहरू बाँकी नै थाँती । चाहनाहरूका चाङ उत्तिकै थाकैथाक । जति हिंडेर पनि पुग्न नसकिएको बाटो जस्तै ।