तारादेवी सुनुवार बहुभाषी साहित्यकार हुनुहुन्छ । उहाँ निजामती सेवामा पनि कार्यरत हुनुहुन्छ । हालसालै उहाँको ‘युद्धभूमिमा  डामिएको मन’ पुस्तक प्रकाशन भएको छ ।

रोल्पाली भावभूमिमा डायरी – शैलीमा उद्भव भएको खाट्टी कहानी ‘युद्धभूमिमा  डामिएको मन’  रोल्पाली जनजीवनलाई नियाल्न सकिने सुन्दर झ्याल हो जहाँबाट पाठकले युद्धको आँधीले विचलित भूगोल, निर्दोष समुदाय र अभावको बगरमा गुज्रिएको माटोको जीवन्त चित्र देख्नसक्छन् । एक राष्ट्रसेवक कर्मचारी फरक भाषा, रीतिरिवाज, संस्कार र आर्थिक जीवनको पहेलीमा बाँचेका समुदायसँग जोडिएर कसरी सत्कर्म गर्नसक्छ ? उनीहरूसँगसँगै भावनाको गहिरो समुद्रमा कसरी सम्मिलन हुनसक्छ ? नयाँ कारिन्दालाई नौलो भूगोलमा युद्धसङ्क्रमित राजनीतिक आँधीले कसरी तारो बनाउँछ ? यी यावत प्रश्नको साहसिक उत्तर पढ्न पाइन्छ यस पुस्तकमा ।

प्रस्तुत छ, यही पुस्तक सम्बन्धी तारादेवी सुनुवारका तीता–मीठा अनुभवहरू :

 

तपाईंको अनुभूतिहरूको संग्रह ‘युद्धभूमिमा डामिएको मन’ प्रकाशनमा आएको केही समय भइसकेको छ । कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ।

– धन्यवाद छ कृष्ण सर, प्रश्नको लागि ! ‘युद्धभूमिमा डामिएको मन’ प्रति आदरणीय पाठक ज्यूहरूबाट सकारात्मक प्रतिक्रिया पाएको छु, माया पाएको छु । विशेष गरी ‘नजिकैबाट युद्धभूमिका विचलित मनहरूलाई नियालेर युद्धको खाटाको गहिराइलाई छर्लङ्ग देखाएको युद्ध साहित्य’ भन्ने प्रतिक्रियाहरू पाइरहेको छु ।

युद्धभूमिमा मनहरू कसरी डामिएका थिए ? त्यसको प्रभाव कस्तो परिरहेका छ ?

– कलाकारहरू कलामञ्चमै मारिए । युद्धमा राइफल र बारुद खेलाउँदा खेलाउँदै साहदात प्राप्त गरे, राजनीतिक प्रशिक्षणमा मारिए, आफ्नै घरमा सुतेर बसेको बेला थुतिए कता गए, कता पुगेका छन् पत्तो छैन । आफन्तले युद्धमा मारिएका लाशलाई आफ्नो हो भनेर धित मारेर रुन पाएनन्, राम्रोसँग सतगत गर्ने कर्तव्य त अधुरो रह्यो, आफ्नो परिवारसँगै बस्न पाएनन् । सिन्दूर पुछियो, काख रित्तियो, घर आँगन शून्यताले छायो । परदेश र जङ्गलमा लुकेर दिन बिताउनु पर्‍यो, बाँच्नको लागि युद्धकर्ता र युद्ध दबाउने दुवै पक्षको शिकार बन्नुपर्‍यो, आफ्नै घरमा आफन्तकै अगाडि बलात्कृत भएर बाबुको पहिचान नखुलेका बच्चाहरू जन्माउनु पर्‍यो, प्रगतिशील शिक्षा मात्र नारामा सीमित भयो । शैक्षिक गुणस्तर त के सामान्य शिक्षा लिन पनि कठिन भयो । मुश्किलले बाँचेकाहरूको मन यसरी डामियो जुन खत कहिल्यै नमेटिने गरी गहिरो बसेको छ ।

युद्धभूमिमा सकारात्मक, नकारात्मक प्रभाव दुवै छन् । भौगोलिक कारणले ढिलाइ हुने बाध्यता भए पनि विकासले फड्को मार्दै गएको कुरा कहीकतै छिपेको छैन । चेतनाको विकासले पाइला चालेको छ तर त्यतिखेर डामिएका मनहरूले भने पुस्तान्तरण सम्म पीडाका डंगुरहरुलाई पार गर्न सकिरहेको छैनन् । जुन वर्गमा जे प्रभावको अपेक्षा गरिएको थियो त्यो भन्दा फरक दिशा भएर परिवर्तन भयो । कलिला बालमस्तिष्कले बाल अधिकारको स्वाद चाख्न पाएनन्, महिला अधिकार, मानव अधिकार सबै कुरा छायामा पर्नुपर्‍यो । केही नभएको पक्कै होइन तर जुन जति हुनुपर्ने परिवर्तन थिए ती कताकता अलमलिए, जसको कारण उजाड जिन्दगीको गीतसंगीतले प्राथमिकता पायो ।

तपाईंको पुस्तक डायरी–शैलीमा लेखिएको छ । समय आख्यानको छ भनिन्छ, यस किसिमका कथाहरूलाई आख्यानका रूपमा पनि ल्याउन सकिन्थ्यो । त्यतातिर किन सोच्नु भएन ?

– पेशागत हिसाबले म निरन्तर समुदायमा डुलिरहने वर्गमा पर्छु । पछाडि परेका वर्ग आफ्नो बारेमा वकालत गर्न नसक्ने वर्ग मेरो कार्यक्षेत्र पर्छ । साहित्यमा मैले सुने, भोगे र देखेको विषयलाई डायरीमा उतार्नु नयाँ कुरा होइन । कला साहित्य र संगीतको ठोस समय हुन्छ जस्तो मलाई लाग्दैन । अन्तर्वस्तुले मन छुने र नछुने कुरा हो जस्तो लाग्दछ मलाई ।

प्रस्तुत पुस्तकको विषयलाई कल्पनाले ओतप्रोत बनाएर आख्यान निर्माण गर्दा न्याय हुन्छ जस्तो लगेन । यसैलाई आख्यान वा कथाको रूपमा पस्कन पनि सकिन्थ्यो । मैले त्यो गर्दा डामिएका मनहरूलाई अन्याय हुन्छ जस्तो ठानेर यसरी प्रस्तुत गरेकी हुँ ।

पूरै गाउँ फन्को मारिसक्दा पनि फरक पनमा डुब्न सकिन । जता जाऊँ, जुन घरमा बास बसूँ, जोसँग कुराकानी भएपनि ओर्कीफर्की तिनै डामिएका मनहरूसँग साक्षात्कार । रोल्पा बसाइँका सन्दर्भहरू अनगिन्ती हुने नै भए । छोटो रूपमा डायरीमा उतार गर्ने र अनगिन्ती विषयलाई जस्ताको त्यस्तै पस्कने विचारले डायरी शैलीमा तयार भएको अनुभूति संग्रहको रूपमा “युद्धभूमिमा डामिएको मन” लाई सार्वजनिकीकरण गरेको हो ।

छोटोमा तपाईंले सुनेको, देखेको र भोगेको रोल्पालाई कसरी परिभाषित गर्नुहुन्छ ?

– भौगोलिक विकटताको बीचमा सुन्दर र कञ्चन मनका धनीहरूको बस्ती, राष्ट्रिय शासन सत्तालाई नै उथलपुथल पारी पूर्ण रूपमा परिवर्तन गर्न छाती थापेर मृत्यु तुल्य कष्टलाई सहर्ष स्वीकार गरी योगदान पुर्‍याउने भूमि हो रोल्पा । सोझा, इमानदार भाइचारामा विश्वास राख्ने जमातहरूको भूगोल जहाँ तँ, म भन्दा हामीमा विश्वास राख्छन् । यो रोल्पाको पुरानो जातिगत विशेषता पनि हो ।

तपाईं नेपाली र आफ्नै मातृभाषामा गीत, कविता, मुक्तक र गजलमा रमाइरहेको मान्छे । यो गैरआख्यानको विधामा कसरी हाम फाल्नु भयो ? गैरआख्यान लेख्नु र काव्य लेख्नुमा के के समानता र भिन्नता महसूस गर्नुभयो ?

– कला, साहित्य, संगीत एकल वा बहुल सबैलाई मन पर्छ । तर मेरो यी तीनवटै विधा सानैदेखि मन पर्थ्यो । म फरक भूगोल र समुदायमा काम गर्ने भएकोले पनि भाषागत रूपमा बहुल भाषाको जानकारी राख्ने व्यक्ति हुन पाएँ, यो मेरो फरक सौभाग्य हो । मैले नेपाली र मरो मातृभाषा (सुनुवार भाषामा) गीत लेखेको र गाएको छु । सुनुवार भाषामा कविता, आख्यान धेरै पुस्तक र लेखहरू लेखेको छु साथै नेपाली भाषामा पनि कविता गजलको पुस्तकहरू प्रकाशन भएका छन् ।

तपाईं सरकारी सेवामा पनि हुनुहुन्छ । साहित्यमा पनि विविध भाषा र विधामा बाँडिनु भएको छ । परिवारलाई पनि समय दिनु पर्ला नै । यो सबै कसरी सम्भव भइरहेको छ ? समयको व्यवस्थापनको केही सूत्र भए बताइदिनुस् ।

– मैले सरकारी सेवामा दुई दशक भन्दा बढी नेपालका विभिन्न भूगोलमा बिताउने अवसर पाएँ । यसले मलाई नेपालको सुदूर पश्चिम, कर्णालीदेखि पूर्वसम्मका विभिन्न भागहरूमा रहेको कला, साहित्य, संगीत, लोक, संस्कार र संस्कृतिलाई नजिकबाट जान्ने अवसर मिल्यो । मेरो योगदान कला, साहित्य र संगीत तीन वटै क्षेत्रमा आफूले सकेको गरिरहेको छु । यद्यपि यो पूर्ण होइन ।

गर्न सक्ने, गर्नुपर्ने धेरै बाँकी छ भन्ने कुरामा मलाई राम्रो हेक्का छ । परिवारलाई समय दिनुपर्छ दिएको पनि छु । म एक गृहिणी महिला, सरकारी जिम्मेवारी पनि निर्वाह गरिरहेको छु । जे गर्ने हो उत्कृष्ट ढङ्गले गर्नुपर्छ भन्ने चिन्तन र मान्यता महत्त्वपूर्ण कुरा हो । जुन एक कला र साधनाको अर्को रूपमा हो यसलाई मूर्तता दिनुपर्छ । अनुशासन र मेहनतले मानिसलाई तिखार्दे लैजान्छ । इच्छाशक्तिले रुचि अनुसारको समयको व्यवस्थापन गर्न सहयोग गर्दोरहेछ  ।

तपाईं आफैं पनि राज्यको अङ्गको हिस्सा हुनुहुन्छ । राज्यले कला–साहित्यलाई उपेक्षा गरेका आवाजहरू उठिरहेका हुन्छन् । यसमा तपाईंको धारणा के छ ?

– राज्यले सीमित श्रोत र साधनले असीमित आवश्यकता र आकाङ्क्षालाई सम्बोधन गर्नुपर्छ । राज्यले नहेर्नु पर्ने विषय नै छैन तर हेर्ने कला, कौशल र तरीका कसरी भन्ने कुरामा मतभेद भएको हो । नेपाल जस्तो कला साहित्यले भरिएको मुलुकमा कला र साहित्यमा गरिएको लगानी पनि कमजोर छैन । १२५ भाषाभाषी र असीमित जातवर्ग रहेको मुलुकमा सबैलाई समान ढङ्गले श्रोत साधन उपलब्ध गराउनु सजिलो विषय होइन । निजी क्षेत्र समेतको कला साहित्य संगीतमा कला र संस्कृति संरक्षणमा भएको लगानी कमजोर छैन । राज्यको क्षमता अनुसारको लगानी कमजोर छैन तर पर्याप्त पनि छैन ।

राज्य–संयन्त्रको हिस्सा भएपछि राज्यकातर्फबाट भाषा साहित्यको उत्थानमा तपाईंको भूमिका पनि अवश्यै होला । के कस्ता पहल गरिरहनु भएको छ ? थप के के गर्न सके हाम्रो भाषा साहित्यलाई समृद्धिको बाटोमा डोर्‍याउन सकिएला ?

– म महिला, बालाबालिकाको क्षेत्रमा काम गर्ने जिम्मेवारी पाएको कर्मचारी हो । कला, साहित्य र संगीत महिलाको दुःख लुकाउने र वेदना भुल्ने विषयको रूपमा नेपाली समुदायमा परम्परादेखि चलिआएको लोक रीति पनि हो । राज्यको तर्फ बाट मैले सकेको क्षेत्रमा योगदान गर्नु मेहनत गर्नु र उचित व्यवस्थापन गर्नु मेरो दायित्व र कर्तव्यको रूपमा सकेको गरिरहेको छु । भाषा, कला र साहित्यलाई प्रत्यक्ष शिक्षासँग शिक्षाको तल्लो तहदेखि नै जोडेर लैजानु पर्छ । भाषा साहित्य र कलामा मुलुक सम्पन्न छ यसलाई पर्यटन र आयआर्जन सँग जोड्नुपर्छ । समयले भाषा साहित्य र कलाको विकासमा तीव्रता आफै सृजना गर्छ । हाम्रो चिन्तन र श्रम बजारले मागेको जनशक्ति भाषा कला साहित्य मा उत्पादन गर्न नसक्नु आजको कमजोर पक्ष हो यसलाई समयले सुधार गर्दे लैजान्छ ।

अन्त्यमा, तपाईंलाई भन्न मन लागेको तर मैले सोध्न छुटाएको केही छ ?

–  साहित्यपोस्टलाई हृदयदेखि धन्यवाद ! मैले कला साहित्य र संगीतमा गरेको योगदान चर्चाको लागि समय दिनुभएको छ । नेपाली लोक गीत र संगीतको बजार राम्रो छ । भाषागत समूह धेरै भएकोले नेपाली भाषा बाहेकका भाषा भाषीको साहित्यको बजार कमजोर छ । भाषागत रूपमा सृजना भएको गीत, संगीत र साहित्यको पाठक समेत संख्यात्मक रूपमा थोरै छन् । भाषागत रूपमा सृजना भएको कला, साहित्य र संगीतको सृजना र संरक्षण भए मात्र नेपालमा रहेका बहुल भाषाहरूको संरक्षण हुन्छ । भाषाको संरक्षण भए मात्र जातिगत रूपमा रहेको कला र संस्कृतिको संरक्षण हुन्छ । कला र संस्कृति नेपालको महत्त्वपूर्ण धरोहर र सम्पत्ति हो ।