समानताको गन्धले मुग्ध बनाइएको छु । तसर्थ मलाई गधा धोएर गाई बनाउने कथामा विश्वास छैन । हस्तरेखाहरू मोटो भएको भरमा सुखी भविष्यको कल्पना गर्दिनँ । आवेग र उत्तेजनाले कोपिला नै नभई फूल फूलाउँछु भन्ने मनको उम्मेदवार पनि हैन म ।

भनिएको छ मीठो बचनले सबै खुसी हुन्छन्, त्यसकारण सधैं मीठो बचन बोल्नुपर्छ । मीठो बोल्न किन कन्जुस्याईँ गर्नु बेकारमा । बोल्दा के नै खेर जान्छ र ?

कुरो ठीकै हो अग्रजहरूबाट सिक्नुपर्ने र अनुजहरूलाई सिकाउनुपर्ने पनि यस्तै हो । सिक्ने र सिकाउने जेसुकै भए पनि आदर्शपरक नै हुनुपर्छ । व्यवहार भनेको भोगिएपछि मात्र थाहा पाइन्छ । मान्छे चिन्ने, चिनाउने, सपार्ने र बिगार्ने पनि बोली नै हुने भएकोले मीठो बोल्नु सबैको हितमा नै हुन्छ । नदेखिने गरेर बोलीको मुल्य शिखरतुल्य नै हुन्छ ।

राम्रो ढङ्गले बोल्दा त्यही बोली मूल्यवान हुन्छ भने त्यही बोली अर्को शैलीमा भन्दा मूल्यहीन बन्ने गर्छ । यसको सूत्र छ एउटै । शिष्ट भए सफल र अशिष्ट भए असफल । जुन विषयमा पनि ठीक हुने सूत्र हो यो । बोलीको कुनै अनिकाल भएको छैन आजसम्म । कतै महङ्गो भए पनि अधिकांश मान्छे बोलीका दृष्टिले सम्पन्न छन् । अन्यत्रको के कुरा, भोकमरीले आक्रान्त अफ्रिकाका इथुपियाहरू पनि बोलीका चरम विकासमा छन् । विश्वका दुई करोड सडकबालकदेखि इथुपियालीहरूसम्म बोल्नमा कन्जुस्याई गर्दैनन् । आफ्नो जिब्रोमा अनिकाल जन्माउँदैनन् ।

कुरा यति मात्र हैन । बोल्नु, मीठो बोल्नु, अनिकालबिहीन बोल्नु, नाफाजनक बोल्नु, सबै औचित्यपूर्ण हुन्छन् त ? मैले विश्वास गर्न नसकेको ठाउँ नै यही हो । बोलेर केही हुन्छ र । धेरै हुँदैन । आजको विश्वको सर्वाधिक प्रमाणित र स्वीकारोक्ति पनि हो यो । यी सब पेशा र प्रवृत्तिमा भरपर्ने मान्यताहरू हुन् ।

उखानै छ बोल्नेको पिठो बिक्ने नबोल्नेको चामल पनि नबिक्ने । समय पूर्णत प्रचारकै छ अहिले । व्यवस्था वाक चातुर्यमा निर्भर भएको छ । मीठो बोलेर आशाको दियो बाल्नसक्ने नै असल, योग्य र कुशल नेता बन्नसकेको हिजोको इतिहास र आजको वर्तमान आँखा चिम्लेर लुकाउन सकिंदैन ।

मीठो मतको प्रत्यासी हुँ म । बोलीको असन अर्थात् भण्डारको श्रीवृद्धिले भोकमरीले समर्पण गर्छ भन्ने पक्षको पनि वकालत गर्न सक्दिन । बोलेर आँखाको सपनालाई साक्षात् गर्न सकिन्छ भन्ने पनि मलाई लाग्दैन । आजको समय बालबालिकाको हो । तर टेलिभिजनमा देखाइने र रेडियोमा बजाइने जिज्ञापनले उनीहरूलाई भ्रमित पारिरहेका छन् ।

उनीहरूका निमित्त हात्ती र हात्तीछाप चप्पल उस्तैउस्तै बनेको छ । चाउचाउ खाएर पढ्न मनलाग्ने राराको बोली छ । सुर्ती र खैनी खाए गुन्डा कुट्नसक्ने बलवान हुने भनिएको छ ।  चुरोट खाएर साहसी र सफल हुने देखाइएको छ । विज्ञापनको बोली र प्रभाव बलियो भएको देखिन्छ ।

अहिले हुनुपर्ने पनि यस्तै हो, मन पनि जित्ने र धन पनि जित्ने । समाजमा अगुवाई गर्नेहरूका लागि सूत्रैसूत्रको रल्लीबल्ली । हवाई चप्पल भन्नुको मतलब हावाजस्तो हलुङ्गो चप्पल हो । यस्तैलाई हात्तीजस्तै भनेर झूठमाथि विश्वासको लेपन लगाएर स्वार्थसिद्धी गर्न सक्नेहरू विश्वको कुनै कुनामा पनि बेकामी भएर, असफल भएर बसेका छैनन्, हुँदैनन् ।

समय आवश्यकतामा जोखिएर जहाँ जोडिन सकिन्छ त्यहाँ खेत बनिदिएर बग्न सकिन्छ । त्यहाँ कुलो बनिदिएर सेवाको ढ्वाङमा समर्पण प्रदर्शनी गरिरहेका हुन्छन्– सदैव त्यस्ताहरू । जबसम्म मुकुण्डो लगाएर नौरङको नौटङ्की गर्छन् तबसम्म अरुहरूका लागि सुख सेवा र मनोरञ्जनका आधार बनिदिन्छन् । आफ्नो क्यारेमको गोटी नसकुन्जेल चालिरहन्छन् । जस्तै कठिन आरोहअवरोहको यात्रामा विचलन भए पनि प्रदर्शनी गर्दैनन् । अप्ठेराहरूमा आत्तिँदैनन् । खुसीमा उन्मुक्त भएर मात्तिँदैनन् । हरेक पृथक् क्षणमा आफूलाई पूर्ववत् सन्तुलित बनाउन सक्षम हुन्छन् । यही सक्षमता नै सफलताको आधार हुन् यिनीहरूका ।

समयलाई तनतनी पिएर, पर्दा अर्काको आँखाबाट आँसु बनेर झर्नसक्ने र आवश्यकता हुँदा अरुको ओठको हाँसो हाँसिदिनसक्ने कला जो कोहीमा हुन सक्दैन । मीठो बोलेर बहकाउन सक्नेहरूका सारांश नै हुन् यिनीहरू । मीठो बोल्ने, कन्जुस्याईं नगरी परहितका लागि बोल्नेहरू घाटै घाटामा रुमलिएका पनि कम छैनन् ।

राम्रो र मीठो बोलेकै भरमा सुँगामैनाहरू कैदी बन्नुपरेका छन् । मीठो स्वादका परिकार नै बढी पाक्ने गर्छन् । आकाशमा इन्द्रेणी भरिएको समय पारेर मुजुरहरू कराउँदै नाच्छन् । चरीहरूको बैंस किन चैत बैशाखमा नै फुर्छन् ? हाम्रा सुन्दरी दिदीबहिनीहरू नै किन बम्बैमा विक्री सुलभ बन्छन् ? बेश्यालयमा पनि रुपवतीहरू नै अधिक भारमा भागेदार हुन्छन् ? यो प्रचलन आजको विश्व र विज्ञानको होइन । विज्ञानको पहिलो घाम झुल्कनुपूर्वको बौद्धिक समयमा नै मनग्गे प्रवर्धन भएको गन्धले ठाउँ छोड्न सकेको छैन । यी सब समयकै कुरा हुन् । समयले जता कोल्टो फे¥यो उतै फर्फरिने ।

सायद मानिसहरू आफ्नो वंशको सिक्रीमा बाँधिएर बस्न नसक्नुको कारण पनि यही होला । हिजो आज मलाई त्यस्तै अनुभूत हुनथालेको छ । एक मित्र, जो परोपकार र मानवीयताका लागि नमूना थिए । उनी भन्नेगर्थे मान्छेको समस्यामा मान्छेले नसघाउनु पशुतुल्य हो । एउटा मान्छेको पीडाले अर्को मान्छेलाई नदुख्नु मान्छेको स्वभाव हैन । आँसुले कसैको आँखालाई नपोल्नु र मान्छे भएर जन्मेपछि मान्छे बन्न नसक्नु पाप, अपराध हो ।  यस्तै तर्ककासाथ नैतिक पाठशाला प्रमाणित गर्न खोज्थे उनी आफूलाई ।

आज समयसँगै उनी रङ्गिसकेका छन् । समयको तालमा सन्तुलित भएर हिँड्न सक्षम बनिसकेका छन् । अरुका निम्ति सोच्नु घाटा ठान्छन् । उनी कसैको क्रन्दनमा एकपटक पनि आखिभौँ फरफराउँदैनन् । उनी भन्ने गर्छन् मलाई पीडाले चिच्याएको आवाज सँगसँगै हाँस्न खुब मनपर्छ । आँसुमाजस्तो स्वाद अरु केही पाउँदिन । मान्छे मान्छेका निम्ति सबैभन्दा ठूलो मनोरञ्जन, सन्तुष्टि र सुखका लागि सृष्टि भएको साधन हो भन्ने मैले धेरैपछि मात्र थाहा पाएँ । अहिले ढिलै भए पनि मैले मान्छेलाई आफूभित्र कैद गरेर इच्छाअनुसारको रङ दलेर स्वर्गानुभूति गर्न थालेकोछु । मेरो रुचि नै यस्तै बनेको छ हिजोआज ।

यस्तै छन् समयका रङहरू । नाच्न नजाने आँगन टेडो, जान्नेहरूका लागि सबै सीधा ।

हो पनि, एकोहोरो मनले भन्दा दोहोरो मनले यात्रा गर्नु फलदायी हुन्छ । विशाल नदीबिचमा निर्धक्क भएर पारि तर्नुभन्दा मृत्युको भय र त्रासले ढुङ्गामा खिइनुको अर्थ नै अर्को । यस्तै हो मनको कुरो भनेको । गाह्रो, अप्ठेरोबाट उत्रेपछि चरम मज्जा । हरेक अप्ठेरा र पीडादायी क्षणहरू अन्ततः मीठो सपना भएर फुल्ने गर्दछन् । दुःखको अँध्यारोबाट सुखको उज्यालोमा आँखा खोज्दाजस्तै । यथार्थ पनि हो कि हरेक स्थानमा दुःख र सुख अदृश्य रुपमा समाहित भएजस्तै ।

बादलमा पानी देखिंदैन तर कसले छैन भन्न सक्छ ? आँखामा आँसु ? नदीभित्र धार ? अहिले मैले दुईवटा मन बोकेर हिंड्ने गरेको छु । एउटा आफ्नो, अर्को अरुको । मीठा र उज्याला क्षणहरू आफ्नो, अप्ठेरो र दुःख जति अर्कोलाई भाग लगाउने गरेको छु । समय सापेक्ष बन्न एउटै मनले मलाई दिएन । अन्यहरूले गरेझैँ कुनै नयाँ सिर्जनाचाहिं होइन ।

प्रदर्शन र प्रभाव पार्नसक्ने आखिर एउटै पनमा को पो बाँधिरहेका छन् र ? तालपरे तिवारी नत्र गोतामे । आवश्यक पर्दा सिंहबाट स्याल र स्यालबाट सिंह बन्नसक्ने ।

अपरिहार्य नै बनेपछि कसको के लाग्छ र ? हामी त्यस्तै छाँै । हाम्रो समाज त्यस्तै छ । अझ भन्ने हो भने आस्थाको शिरमा बस्ने भगवान् पनि समयअनुकूल बन्ने गरेको छ । होइन भनेर बेद पुराणलाई झूठा पानाहरूको ठेली बनाउन सकिंदैन । आफूजस्तो होइन्छ त्यस्तै अरुलाई बनाएर पुथक नबन्ने चाहना मान्छेलाईृ भगवान्ले गराएका हुन् । भगवान्प्रति यथार्थको उद्घोष गर्न रत्तिभर डर छैन मलाई । नराम्रो र अप्रिय जति आफ्नो भाग्यको कारण र राम्रो र प्रियजति ईश्वरको कृपा भनी असमानताको जुलुसमा आफ्नो स्वर थप्न चाहन्न म ।

समानताको गन्धले मुग्ध बनाइएको छु । तसर्थ मलाई गधा धोएर गाई बनाउने कथामा विश्वास छैन । हस्तरेखाहरू मोटो भएको भरमा सुखी भविष्यको कल्पना गर्दिनँ । आवेग र उत्तेजनाले कोपिला नै नभई फूल फूलाउँछु भन्ने मनको उम्मेदवार पनि हैन म । मञ्च र माइकको घोषणाले मूर्तता लिनसक्ने जिकिर गर्ने स्थिति पनि छैन ममा । समय नै यस्तै बनेको छ । बिचरो वर्तमान, विगतले कुल्चँदा निक्र्यौल गर्नै गाह्रो भइसकेको छ ।

भिल्ल देशकाहरू श्रीखण्डको जङ्गलमा बस्ने हुनाले श्रीखण्ड नै बालेर भात पकाउने गर्छन् । भिल्ल बन्न खोजेको अभिप्राय हैन मेरो । मान्छेभन्दा बढी भगवान् भएको देश हो हाम्रो । पौने दुई करोड हामी र पुज्नुपर्ने तेत्तीसकोटि । एकजनाले सत्र देवदेवीको चाकडी गर्नुपर्ने । कस्तो अचम्म ? भगवान्को पालामा परिवार नियोजनको कुनै औचित्य थिएन कि ? कि प्रचारको माध्यम सशक्त थिएन ? कि भगवान्ले भगवान्हरुको सङ्ख्या बढाउन सक्नु नै भगवानत्व थियो ?

जेसुकै होस् सबै कुराको चासो लिएर कपाल पकाउनु छैन मलाई । भन्न खोजिएको के मात्र हो भने मान्छेभन्दा बढी भगवान् भएको देश र धुरीभन्दा बढी गजुर भएको देशमा जन्मेर नि देवदेवीका नाटकहरूलाई निधारमा टीका बनाएर लगाउन चाहन्न ।

स्वस्थानीका महादेवले वीर्यदान दिएको, विष्णुले अर्काकी पत्नीलाई छल गरेर बलात्कार गरेको, कृष्णले नाङ्गानाङ्गै पोखरीमा नुहाइरहेका युवतीहरूको वस्त्र लुकाएर लाजमर्दो बनाएको, युधिष्ठिरले आफ्नो र भाइहरूकी श्रीमतीलाई जुवाको दाउ लगाएर नारीको मूल्य र अस्मितामाथि हिलो छ्यापेकाजस्ता अश्लील र असभ्य कुराहरू हाम्रा पुराण बनेका छन् । यी पुराण पढ्दा धर्म हुने, धूप बालेर निधारले ढोग गर्नुपर्ने संस्कार हाम्रो । यस्ता पाखण्डी पुराणलाई फुटपाथका क्षणिक सस्ता मनोरञ्जनभन्दा अर्को रुपमा लिन सकिंदैन । के गर्ने ? अहिलेको संसार नै यस्तै छ । न बोलीमा कन्जुस्याई गर्नु हुने, न संस्कारमा कन्जुस्याई गर्नु हुने । समय नै यसरी बग्ने गरेको छ, नबगी धरै छैन । जानेरै पनि आफूले आफैलाई ढाँट्नु परिरहेको छ ।

यथार्थको गुफाभित्रबाट अभिनयको त्रिशुल गुन्जाएर त्यसैमा बाँधिनु आजको सत्य बनेको छ । आजको नियति बनेको छ । नगरेर के गर्नु समय नै यस्तै छ ।