छन्दको महत्व, नियम र उदाहरण :
संस्कृतको ‘छद्’ धातुबाट बनेको ‘छन्द’ शब्दको अर्थ मिलेको वा ‘चट्ट परेको भन्ने हुन्छ । श्रुतिमधुर एवं कर्णप्रिय भाषिक प्रयोगको ऐतिहासिक पृष्ठभूमि छन्दसँग गाँसिएको छ । रसमय पदावलीको प्रयोगले भाषिक संरचना उच्चकोटीको ठहर्छ ।
भावाभिव्यक्तिकलाको उत्पत्ति छन्दले नै गराएको हो । मन जब रमणीय बन्दछ तब भावहरू सहज तवरले रसात्मक बन्छन् र त्यसबाट उत्पन्न हुने अभिव्यक्ति कर्णप्रिय बन्दछन् । पीडा र मर्मजन्य भावहरु पनि साहित्यक दृष्टिले रसात्मक हुने हुँदा सहजरुपमा उत्पन्न जुनसुकै भाव पनि मधुर हुन्छन् ।
भाव साहित्यको मूल अभिप्राय हो भने छन्द भाव अभिव्यक्तिको कलात्मक पक्ष हो । मानव मनभित्र उत्पन्न हुने भावहरू प्राय संयोगात्मक हुन्छन् । संयोगहरू अस्थिर हुने हुँदा कहिलेकाँकही परिस्थिति र परिवेशको चित्रण सकारात्मक नबन्न सक्छ । त्यस्तो अवस्थामा स्रष्टा स्वयं संवेदनशील बन्नुपर्दछ ।
स्रष्टा संवेदनशील बन्नु भनेको आफ्ना भावहरूलाई उत्तेजनामा परिणत हुन नदिनु हो । उत्तेजित हुन खोज्ने भावहरूलाई बन्धनमा पारेर आवश्यकता अनुसार प्रस्फुटन गराउनुपर्ने हुन्छ । यही बन्धन छन्द हो भन्ने मैले ठानेको छु । भावहरूलाई बढी मात्रामा लयात्मक र कलात्मक बनाउनु स्रष्टाको साहित्यिक धर्म हो । साहित्यकार धर्मछाडा भयो भने साहित्यमा भुइँचालो आउँछ जसले साहित्यको पत्रि मन्दिर भत्काई दिन्छ । सामान्य बोलचालको भाषाभन्दा साहित्यिक भाषा अझै कमजोर बन्दछ ।
ठीक यही कमजोर पक्ष कविता मानिएको गद्यमा भेटिन्छ । समसामयिक नेपाली कविता विधा सस्तो, मूल्यहीन र विकृतिमूलक बन्नुको मुल कारण अनुशासहीनताका प्रवेश हो अर्थात् छन्दलाई अनावश्यक बन्धन मान्ने प्रचलन नै हो भन्ने मेरो ठहर छ ।
छन्द गणहरूको प्रयोग मात्र होइन । लयात्मक पंक्ति रचनाको साधन छन्द हो भनी बुझ्नुपर्दछ । ह्रस्वदीर्घको सही प्रयोग र गणको अवस्थिति भएपनि लयको अभावमा छन्दको प्रयोग भयो भन्न मिल्दैन । गणको प्रयोग त केवल लयसंयोजनको आधार मात्र हो । लय मिलाउनका निमित्त कविले पंक्तिमा जुन पसिना चुहाउँछ त्यो पसिना नै साहित्यका निम्ति अमृत हो ।
लयमा विसंगति नआओस् लयले मानव अनूभूतिलाई मन्द गतिले टिप्न सकोस् र एउटाको भावना अर्काको रचनाशैलीमा भरसक एकता होस् भन्नका निमित्त नै वर्ण, मात्रा र गणको प्रयोगलाई महत्व दिइएको हो । छन्दात्मक अभिव्यक्ति लयका माध्यमबाट नै गतिशील बन्ने हुँदा लय कविता र साहित्यका अन्य सबै विद्याका निमित्त पनि भरसक अनिवार्य मानिनुपर्छ । साहित्यको पर्याय नै भाव साहित्यिक बन्नका निमित्त लय अत्यावश्यक हुन्छ भन्ने मान्यतामा म छु ।
छन्द बिनाको लय र लय बिनाको छन्द कल्पना गर्नु व्यर्थ हो । मेरो अभिप्राय छन्द र लय एउटै सिक्काका दुई पाटा हुन् । बाह्य र आन्तरिक दुवै भावावेगका निमित्त छन्द र लयको उत्तिकै मह्त्व छ । छन्दलाई लयको पर्याय पूर्णरूपेण मान्न नसकिए तापनि एक अर्कोमा अन्यायोन्यास्रित सम्बन्ध भएको कुरालाई नकार्न सकिँदैन । छन्दले लय जन्माउन मद्दत गर्दछ भने लयले छन्दलाई विकृत पार्नबाट जोगाई रसात्मक अभिव्यक्तिमा जीवन्तता दिन्छ ।
साहित्यको उत्तपति नै आनन्दानुभूति प्राप्त गर्ने मार्ग खोज्ने क्रममा भएको हो । साहित्यका अन्य विधाभन्दा कविता विधा नै सशक्त मार्ग खोज्ने क्रममा भएको साहित्यका अन्य विधाभन्दा कविता होइृन त्यो कथा निबन्ध वा अन्य कुनै हो । तर नेपाली कविता विधामा गद्यलाई पनि समेट्न थालेपछि जे लेख्यो सो कविता बन्ने भएको छ । दिनभरिका पीडा, मर्म र वेदना तथा हर्ष,उमङ्ग र खुशीलाई सरसर्ती लामा र छोटा हरफहरूमा टिपेपछि आधुनिक महाकाव्य बन्ने परिस्थिति नेपाली कविता फाँटमा देखा परेको छ । त्यसैले होला आजकल उपन्यासकार, नाटककार, निबन्धकार र कथाकारको तुलनामा कवि भन्नेहरूको संख्या अधिक छ । लगातार हरफ मिलाएर लेखे कथा या निबन्ध बन्ने अभिव्यक्ति आजकल कविता बनेका छन् ।
कवितामा हरफहरू लामा छोटा नभएर लगभग एकै आकृतिका हुन्छन् तर आज त्यो भन्ने स्थिति छैन । मात्रिक छन्दमा भने हरफमा बराबरको स्थिति नरहन पनि सक्छ । छन्द र लयलाई विर्सेपछि एक हरफमा एउटै मात्र अक्षर र अर्को हरफमा २ अक्षर अनि तेस्रो हरफमा २/४ शब्द भएपछि कविता बनिहाल्छ ।
यसरी सहजै कविता बन्ने परिपाटी विकसित भएपछि छन्द र लयका निम्ति कसले मरिमेट्छ र ? कवितामा मैले देखेको वास्तविक विसंगति यही हो । लयात्मक नाटक र निबन्धहरु समेत नेपाली फाँटमा उम्रिसकेका छन् तर लयात्मक कविताहरु साहित्यफाँटमा त्यति उम्रन सकेका छैनन् । जति उम्रे तिनको संरक्षण हुन सकेको छैन । उचित मूल्य तिनले प्राप्त गर्न सकेका छैनन । वास्तवमा छन्द र लयको समागम नै कविता हो तर कवितामा छन्द र लय” जस्तो भएका छन् । जेबाट साहित्य जन्म्यो त्यो आज मुर्दा बन्ने स्थितिमा छ । आफ्ना बाबु र आमा माँदिदा निबन्ध, कथा र नाटक टुहुरा बनेका छन् । हाम्रा शास्त्रीय ग्रन्थ, वेद, पुरन, महाभारत र रामायण बढी लोकप्रिय हुनुको पछाडि तिनमा प्राप्त लगात्मकता नै हो ।
छन्द र लयले अभिव्यक्तिहरू सन्दर र गेयात्मक बन्दछन् । गेयात्मककताले नै अभिव्यक्ति जनमानसमा सहजै भिज्छ । छन्द ‘आनन्द’ को अर्को नाम हो । वर्ण र मात्राको निश्चित संख्या र विश्रामको नियम जहाँ छ त्यहाँ छन्द छ र लय छ ।
वैदिकालसँग अविछिन्न सम्बन्ध भएको छन्द साहित्यको संवेदनशील बस्तु हो । कवितामा त यसको महत्व कति छ त्यो छन्दको मर्म बुझ्नेलाई मात्र थाहा हुन्छ । ।
गद्यमा पनि एक किसिमको छन्द हुन्छ । छन्दहीन गद्य पनि साहित्य बन्न सक्तैन । छन्द बेगर विशिष्ट साहित्यको उद्भव हुँदैन । विचार र कल्पना छन्दोमय या लयात्मक हुँदैनन् । भन्ने पक्षमा छैन् । किनकि विचार र कल्पना मानसिक उपज हुन् । हरेक मनमा रहेका भावनाहरू छन्दमय त्यो बेला सम्म हुन्छन् जुन बेलासम्म प्रकटकर्ताले आफ्नो धर्म छाड्दैन । स्वाभाविक रूपमा भावहरूको रक्षा गर्ने स्थिति पैदा भएन भने भाव या कल्पनाले बाटो बिराउँछ र अर्थहीन गद्य यस्तो हुन्छ जसको कुनै सामर्थ्य र महिमा नै हुँदैन । अनुभूति स्वयंममा सहज हुन्छन् । सहज अनुभूति प्रकट हुँदा रसात्मक रूपमा हुन्छन् । रसको आस्वादन लिन सकिएन भने अनुभूतिमा विकृति पैदा हुन्छ । छन्दको दायरा साँघुरो छैन । छन्दमा नयाँ र पुरानोमा विभेद हुँदैन ।
परम्परागत छन्दलाई छाडेर छन्दमा नयाँपन दिन पनि सकिन्छ तर यी छन्दहरूले शास्त्रीय मर्यादालाई पालन गरेकै हुनुपर्दछ । कवितामा छन्द या लय अनिवार्य हुनुपर्छ भन्ने कुरा माथि नै चर्चा भएको छ । साहित्यमा विता सभ्यताको उत्कर्ष विन्दु हो । छन्दको औचित्यलाई कसैबाट पनि नकारात्मक दृष्टिले हेरिनु हुँदैन । कवितामा छन्दको औचित्यलाई मध्यनजर राखिएन भने कविता लङ्गडो हुन्छ । छन्दको औचित्यलाई स्वीकार गरिएन भने सुन्दर भावहरू कुरूप बन्दछन् र कविताको नाममा विकृति देखा पर्दछ । छन्दकाे महत्वलाई स्पष्ट पार्न म निम्निलिखित बुँदा उल्लेख गर्न चाहान्छु ।
१. कवितामा छन्दको प्रयोगले कविता सर्वसंवेद्य बन्दछ । छन्दले कवितालाई हृदयसंवेद्य बनाउँछ ।
२. छन्दपूर्ण वाणीहरू सम्मोहक बन्दछन् ।
३. कविताको भाव पक्षलाई छन्दले बढी सम्प्रेष्य पार्छ ।
४. जीवनमा मानिसले जस्तोसुकै पीडा र मर्म भोगेको भएपनि छन्दोबद्ध कविता सुनेपछि उनीहरूलाई आनन्दाभूति प्राप्त हुन्छ र जिउने प्रेरणा प्राप्त हुन्छ । ५. छन्दोबद्ध कविता पढ्न सबैलाई मन पर्छ । यसमा लय नै प्रमुख हुने हुँदा यसले उत्साह र जाँगर बढाउन मद्दत गर्नछ ।
६. छन्दविहीन रचनाको असर क्षणिक हुन्छ भने छन्दोबद्ध रचनाको असर दीर्घकालीन हुन्छ । अर्थात् छन्दोबद्ध रचना पढ्ने र सुन्ने गर्नाले स्मरणशक्ति तिखारिन्छ ।
७. कविका भावहरू छन्दमा संश्लेषित हुन्छन् जसले गर्दा थोरै पढेर वा सुनेर धेरै ज्ञान हाँसिल गर्न सकिन्छ ।
८. साहित्यका अन्य विधाबाट कवितालाई पृथक् गर्ने कार्य छन्दले गर्दछ ।
९. मानवीय संवेदनाले छन्दकै माध्यमबाट सौन्दर्य प्राप्त गर्दछ ।
१०. भाषाको अध्ययन र संरक्षण गर्नुपर्छ भन्ने भावको विकास गर्न पनि छन्दको भूमिका रहन्छ ।
११. छन्दकै माधयमबाट देशकाल र परिस्थितिको रोचक ढङ्गले प्रस्तुति दिन सकिने हुँदा व्यक्तिलाई नैतिकवान् र सिद्धान्तप्रेमी बनाउन कवि सफल हुन्छ ।
१२. छन्दकै प्रयोगले भाव र संवेदनाहरू अर्थपूर्ण बन्दछन् ।
१३. छन्दले भावलाई प्रभावकारी बनाउँछ ।
१४. छन्दले मानवीय संवेदनशील भई व्यक्त गर्न मद्दत गर्दछ ।
१५. कवितामा छन्दको प्रयोगले साहित्यक धर्म र संस्कृतिको रक्षा हुन्छ ।
१६. साहित्यलाई विकृतिपूर्ण हुनुबाट छन्दले बचाउँछ । अर्थात कवितामा छन्दको प्रयोगले कवितामा विसंगति आउन पाउँदैन ।
१७. छन्दोबद्ध कविता लेख्नाले कविमा बौदिक क्षमताको अभिबृध्दि हुन्छ ।
१८. परिश्रम र साधन तथा नैतिकता र आदर्शको बाटोमा लाग्न कवितालाई छन्दले प्रोत्साहन दिन्छ ।
——-
१. छन्दशास्त्रानुसार ह्रस्वलाई l दीर्घ S लेखिन्छ ।
२. अनुस्वार, विसर्ग र संयुक्ताक्षरभन्दा अघिल्लो ह्रस्व अक्षर दीर्घ मानिन्छन् । तर संयुक्ताक्षर अघिल्लो अक्षरमा टाँसिनुपर्छ जस्तैः खन्छ, भर्छ, उन्नति, कक्षा आदि । भन्यो, रच्यो, गर्यो, आदि शब्दमा अघिल्लो अक्षरले संयुक्ताक्षरलाई नतानेकाले अघिल्ला अक्षर ह्रस्व नै रहन्छन् ।
३. ह्रस्वलाई लघु र दीर्घलाई गुरु पनि भनिन्छ ।
४. सामान्यतया छन्दोबद्ध कवितामा ४ हरफ (पाउ) को एक श्लोक मानिन्छ ।
५. नियम जे भएपनि पाउको अन्तिम अक्षर लघु वा गुरु जे पनि हुनसक्छ तर लयमा बाधा पर्नुहुँदैन ।
६. अन्त्यानुप्रास नतोडिएमा राम्रो हुन्छ ।
७. छन्दबाट आउने लयलाई प्रवाह पनि भनिन्छ । । छन्दका हरफहरू नदी बगेझै सलल्ल बगेका हुनुपर्छ ।
८. लयमा रोकावट आयो भने छन्दभङ्ग भएको मानिन्छ ।
९. छन्द खासगरी तीन प्रकारका हुन्छन् । यी हुन् – वार्णिक, मात्रिक र गीति ।
१०. ‘ए’ अक्षर दीर्घ मात्र प्रयोग हुन्छ ।
वार्णिक छन्दका पाउमा वर्णहरुको समता हुन्छ । उपर्युक्त छन्द नियमसम्बन्धी कुर वार्णिक छन्दसँग सम्बन्धित छन् । वार्णिक छन्दमा आकार, ओकार, औकार, ऐकार र एकार भएका वर्णहरु दीर्घ मानिन्छन् । आकार, ओकार, औकार र एकार केही नलागेका वर्णहरू ह्रस्व हुन्छन् । वार्णिक छन्दको सूत्र तल दिएको छ ।
यमाताराजभानसलगा
गण गणसंकेत
य lSS
म SSS
त SSI
र SIS
ज ISI
भ SII
न III
स IIS
ल I
गु S
तीन अक्षरको एक गण हुन्छ ।
क) वार्णिक छन्दका केही केही उदाहरण :
१) इन्द्रबज्रा :
अक्षरसंख्या – ११ विश्राम – ५/६ अक्षरमा
गणसंकेत-SSI.SSI.ISI.S.S गण – त. त. ज. गु.गु
उदाहरण :
कर्तव्य आफ्ना दिनरात गर्दा ।
डोकाे र नाम्लो हँसिया नछुट्दा ।
वैलिन्छ यो निश्चल भाव मेरो ।
उल्टल्छ यो ढल्पल गर्भ मेरो ।।
२) उपेन्द्रबज्रा :
अक्षरसंख्या- ११ विश्राम- ५/६ अक्षरमा
गणसंकेत- ISI.SSI.ISI.S.S. गण- ज. त. ज. गु.गु
उदाहरणः
हिमाल मेरा शुभ रंग जोश ।
पहाड मेरा दरिला अठोट ।
नदी र खोला मनका तरङ्ग ।
छ देश मेराे दिनहूँ मसङ्ग ।।
३) उपजाति :
अक्षरसंख्या- ११ विश्राम ५/६ अक्षरमा
गणसंकेत-SSI.ISI.SSI.ISI.S.S. गण- त.ज. त. ज. गु. गु
उदाहरणः
राम्री, नराम्री ठिक वा अठीक ।
उराठ लाग्दी अथाव रसीक ।
जान्ने, नजान्ने जुन जेसुकै हौ ।
तिमी त मेरै मुटुकी टुसा हौ ।।
( स्पष्टीकरण : उपेन्द्रबज्रा र इन्द्रबज्रा मिलेर यो उपजाति छन्द बन्दछ ।)
४) शालिनी
अक्षरसंख्या – ११ विश्राम – ४/७ अक्षरमा
गण- म. त. त. गु. गु
गणसंकेत-SSS.SSI.SSI.S.S.
उदाहरण :
भाका हाली गीत मीठो नगाई
डुल्दै पाखा प्रीत नौलो नलाई ।
जान्छौ छाडी अन्त धर्ती अनन्त ।
रङ्गीचङ्गी जून जस्तै वसन्त ।।
५) स्वागता :
अक्षरसंख्या-११ विश्राम -७/४ अक्षरमा
गणसंकेत-SIS.III.SII.S.S.
गण – र. न. भ. गु. गु.
उदाहरण :
योग हुन्छ पछि फेर वियोग ।
धेर योग पनि हुन्छ विजोग ।
होशियारसित योग भएको ।
बन्छ जीवन प्रफुल्ल सबैको ।।
६) इन्द्रबंशा
अक्षरसंख्या -१२ विश्राम -५/७ अक्षरमा
गणसंकेत – त, त, ज, र/
गणसंकेत- SSI.SSI.ISI.SIS.
उत्फुल्लताको सब रङ्ग भङ्ग भो ।
निर्दोष आत्मा अब खण्डखण्ड भो ।
गार्हस्थ्यको जीवनले झुलीकन ।
संभावनाको गइयो तपोवन ।।
७) तोटक
अक्षरसंख्या- १२ विश्राम – ६/६ अक्षरमा
गणसंकेत- IIS.IIS.IIS.IIS.
गण- स. स. स. स.
उदाहरणः
शुभ मानिसको कुन भूषण हो ?
सिप, कौशल हो असली पन हो ।
दृढ निश्चय हो बढिया दिल हो ।
अनुशासन नै नर भूषण हो ।।
८) भुजङ्गप्रयातः
अक्षरसंख्या- १२ विश्राम – ६/६ अक्षरमा
गणसंकेत- ISS.ISS.ISS.ISS.
गण- य. य. य. य.
उदाहरण :
मलाई फकाई तिमीले फँसायौ ।
मलाई ननीको तिमीले बनायौ ।
तिमी पाप गछ्यौ मलाई छ थाहा ।
छ तिम्रो भिखारी र केही लुटाहा ? ।।
९) वसन्ततिलका :
अक्षरसंख्या- १४ विश्राम – ८/६ अक्षरमा
गणसंकेत-SSI.SII.ISI.ISI.S.S.
गण- त. भ. ज .ज. गु. गु.
उहारणः
भागेर दूर सब यी मनका विकार ।
मौलाउनैतिर जुटे रसिला विचार ।
नाचेँ म फुर्फर अहा ! बहुतै रमाएँ
लेखेर शुद्ध मनका कविता सुनाएँ ।।
१०) मालिनी
अक्षरसंख्या- १५ विश्राम- ८/७ अक्षरमा
गणसंकेत- III.III.SSS.ISS.ISS.
गण- न. न. म. य. य.
सबल कर हुनेले सिर्जना गर्न छाड्यो ।
अबल कर हुनेले तिर्सना सज्न छाड्यो ।
मधुर रस भएको बस्तु खाँदैन मान्छे ।
मन–हृदय खुलेको भावमा छैन मान्छे ।।
११) शिखरिणी
अक्षरसंख्या : १७ विश्राम- ६/६/५ अक्षरमा
गणसंकेत- ISS.SSS.III.IIS.SII.I.S. गण- य. म. न. स. भ. ल.गु
उदाहरण :
चखायौ–धोकाको अति जहरिलाे औरल फल ।
सिकायौ मायाको नपर वशमा पाउन छल ।
बुझायौं नारी हुन् पुरुष चुसने दुश्चर दल ।
खुलायौ–नारीको छलफल औ यौवन–बल ।।
१२) मन्दाक्रान्ता :
अक्षरसंख्या – १७ विश्राम – ४/६/७ अक्षरमा
गणसंकेत- SSS.SII.III.SSI.SSI.S.S. गण – म. भ. न. त. त. गु.गु
उदाहरणः
नेपालै हौ विविध गहना साथमा झल्किएको ।
पैल्यै देखिन् समर–पथमा वीर भै लम्किएको ।
चेपी अग्ला हिमशिखर यी काखमा मस्त राखी ।
आफ्नै चोखो श्रम र सिपले बन्छु राडी र पाखी ।।
१३) शार्दूलविक्रीडित् :
अक्षरसंख्या -१९ विश्राम – १२/७ अक्षरमा
गणसंकेत:SSS.IIS.ISI.IIS.SSI.SSI.S. गण -म. स. ज. स. त. त. गु
उदाहरण :
वैशाखी नवघामसाथ सबमा उत्साह मौलाउँछ ।
माटोमा् पसिना चुहेर जनको आस्था त्यहाँ फल्दछ ।
आऊ सज्जन हो ! एकै रहरले माटो लिऊ हातमा ।
बाचा एक गरौं, रमाैं प्रगतिमा बाँचौ एकै साथमा ।।
१४) स्रग्धरा :
अक्षरसंख्या : २१ विश्राम- ७/७/७ अक्षरमा
गणसंकेत :SSS.SIS.SSI.III.ISS.ISS.ISS. गण- म. र. भ. न. य. य. य.
उदाहरण :
फक्रेका यादलाई सरसर टिपने कर्मको खेल खेली ।
लेखेको भावलाई सरस पन दिई उच्चता नै अँगाली ।
चट्टै भाका मिलाई गति अनि यतिले काव्य आफ्ना पढेर ।
बाँच्दै जाऊँ सबैले भरसक रसिलो काव्य- यात्रा गरेर ।।
१५) अनुष्टुप :
अनुष्टुप छन्द पनि वार्णिक छन्द अन्तर्गत पर्दछ । यसमा अरू छन्दको जस्तो सबै ठाउँमा ह्रस्वदीर्घ मिलाई रहनु पर्दैन । यसमा ८ अक्षरको एक पाउ हुन्छ । निश्चित वर्णका ह्रस्वदीर्घ भने मिलाउनुपर्ने हुन्छ । जस अनुसार यो छन्दको प्रत्येक चरणको पाँचौ अक्षर ह्रस्व (लघु) र छैटौं अक्षर दीर्घ (गुरु) हुन्छ । त्यस्तै गरेर पहिलो र तेश्रो पाउको सातौं अक्षर गुरु र दोश्रो र चौथो पाउको सातौं अक्षर लघु हुन्छ । अरू अक्षर लय नबिग्रने गरी राख्नुपर्छ ।
उदाहरण :
म हिन्दु धर्मको मान्छे, बुद्ध महात्म्य गाउँछु ।
हिन्दु र बौद्धको आत्मा एकै हो भनि ठान्दछु ।
अुनष्टुप छन्दलाई पथ्याबक्त्र र यविपुला छन्द पनि भनिन्छ । अनुष्टुप छन्दका धेरै भेद छन् । अरू लक्षण उपर्युक्त भनिए जस्तै हुने तर चौथो अक्षर पछि भगण आए भविपुला, तगण अाए तविपुला, नगण आए नविपला, रगण आए रविपुला र मगण आए मविपुला छन्द बन्दछ । अनुष्टुप छन्दको कवितामा ८ पाउको एक श्लोक बनाई राख्ने चलन बढेकाले यसलाई अर्को छन्द नवअनुष्टटुपको रूपमा लिनुपर्छ भन्ने मान्यता मेरो छ । ‘नवअनुष्टुप’ छन्दको लक्षण यस्तो हुन्छ- हरेक पाउको पाँचौं, तेह्रौँ, पन्ध्रौँ अक्षर ह्रस्व तथा छैटौँ, सातौँ र चौधौँ अक्षर दीर्घ ।
उदाहरण :
छन्दको भावनालाई आत्माभित्र सजाउने ।
छन्द–प्रचारमा लाग्ने छन्दमा दिन काटने ।
व्यक्तिले दुःख पाउन्न सुखी हुन्छ निरन्तर ।
छन्दोबद्ध कलाकार दुःखी भै बाँच्न मिल्छ र ।।
(नवअनुष्टु नयाँ छन्द नभएर छन्दको रखाइको व्यापक तरिकाको सम्मान हो ।)
ख) मात्रिक छन्द र उदाहरण :
मात्रिक छन्दमा अक्षरको गणना हुँदैन । मात्राको मात्र गणना हुन्छ । सम्झनाका निम्ति ह्रस्वलाई १ अंक र दीर्घलाई २ अंक दिनुपर्छ । आकार, अाेकार, ऐकार, एकार र औकारलाई दीर्घ मान्नुपर्छ । अर्थात् ह्रस्वदीर्घ मात्राको नियम वार्णिक छन्द अन्तर्गतकै यसमा पनि लागू हुन्छ । धेरैजसो मात्रिक छन्दहरू प्रचलनमा आएका छैनन् । अलिकति मात्र परिश्रमले पनि मात्रिक छन्दका कविता बन्दछन् । केही उदाहरण तल दिइएका छन् ।
१) चउवोला : यसमा सम पाउ १४ मात्राको र विषम पाउ १६ मात्राको हुन्छ ।
उदाहरण :
भो भो नढोग पद मेरा ।
मलाइ पाप नबोकाऊ ।
धर्मकर्मको नवीन बाटो ।
जाऊ घरमा गई समाऊ ।।
२) रोला– यसमा हरेक पाउमा २४ मात्रा हुन्छन् । ११ मात्रामा विश्राम भए राम्रो हुन्छ ।
उदाहरण :
बैंशालु ! जोशमा बेहाेशी भई नलठ्ठिनु
संहारकारी आक्रान्तले कतै नरल्लिनु ।
दोबाटो हौ संघारमा उभिएर बाँचनु ।
जिरायत हौ आरक्ष ऐलानी भू नबन्नु ।।
३) हरिगीता– यसमा २८ मात्राको पाउ हुन्छ । अन्तिम अक्षर दीर्घ र सोभन्दा अगाडिको अक्षर ह्रस्व हुनुपर्छ।
उदाहरण :
छमछम छङछङ मिष्ठ वाणी आयो कुनाबाट कतै ।
आतुर नयन, सतत हृदय जाग्यो र लाग्यो हेर्न उतै ।
विपिन बीचमा बादलसितै प्रेम नौलो लगाउँदै ।
आयो छहरा जलको लहरा ! शैलबाट रमाउँदै ।।
४) लीलवती : ३२ मात्राको हरेक पाउले लीलावती छन्द बन्छ ।
उदाहरण :
गन्हाएर बस्नै नसक्ने भयौं नि ! कैले देखें मैले ।
बसाएर छाड्दै नसक्ने बन्यौं नि ! कैले पाएँ मैले ।
कर्तव्यमा नै रह्यौ लिहीन त्यो पनि मैले देख्नै पाएँ ।
कैले दुष्ट बनी गर्यौ पाप त्यो पनि बुझ्ने मौका पाएँ ।।
५) प्लबङ्गम : यसमा २१ मात्राको एक पाउ हुन्छ । अन्तिम अक्षर दीर्घ र त्योभन्दा अघिल्लो अक्षर ह्रस्व भए राम्रो हुन्छ । अन्यत्र लय,सल्ल बगेको भए हुन्छ ।
उदाहरण :
अस्तित्व विश्रृङ्खल भएको छैन कतै ।
संगति र सामञ्जस्यमा रहेछ अझै ।
आशीष त मरेको छैन अस्तित्वको ।
अन्तत मूलधार समाहित छ उच्चको ।।
६) समवृत्त : हरेक पाउमा १६ मात्रा भए समवृत्त छन्द हुन्छ । समवृत्त छन्द बराबर मात्राका अन्य मात्रिक छन्दलाई पनि मान्ने गरिन्छ ।
उदाहरण :
लेखा उनको कस्तो रहेछ ।
लोफ्रो र फुस्रो बनी रहेछ ।
ओज र क्रान्ति छैन शरीरमा ।
घुमी रहेछन् उनी शहरमा ।।
(मात्रिक छन्द धेरै किसिमका छन् । यो छन्दमा एक दुई मात्रा कमवेसी भए पनि खास असर पर्दैन । कविता मानिएको गद्य यही मात्रिक छन्द ज्यादा विग्रेको जस्तो देखिन्छ । गद्यलाई कविता मान्नुभन्दा मात्रा गणनामा परिश्रम लगाएर कविता लेख्नु राम्रो हुन्छ । आजकल प्रचलित आधुनिक गीत, गजल, हाइकू, मुक्तक आदिलाई पनि मात्रानुसार रचना गर्न सकिन्छ यिनलाई छन्दमै समेट्दा राम्रो हुन्छ ।)
ग) लोकछन्द र उदाहरण :
परम्परादेखि जनजिव्रोले पचाउँदै आएका लय लोकलय वा लोकछनद कहिन्छन् । लोकलय लोकगीतमा पाउन सकिन्छ । लोकगीतका लेखक र लेखनसमय थाहा हुँदैन । तर हिजोआज प्रचलित लोकलयका आधारमा लोकगीतको पनि रचना हुन थालेको छ । यो राम्रो परम्परा होइन, यसले लोकगीतको संस्कृति मेट्न सक्छ । रचना गर्नै नहुने भने होइन । विभिन्न ठाउँका मानिसहरुले आ–आफ्नै ताल र लयमा गीतमा विभिन्न ठाउँको परिवेशलाई समेटेको पाइन्छ । लोकलयमा आधारित गीतका केही उदाहरण तल दिइएका छन् ।
१) झ्याउरे :
अक्षरसंख्या-१६ विश्राम – ५/५/६ अक्षरमा
उदाहरण :
नेपाल मेरो सुन्दर देश छहरा छरर ।
यै देशलाई विशाल पार्ने छ मेरो रहर ।
खोला र नाला हरिया वन डाँफेको गीत छ ।
गुराँश फुल्ने पहाडसित अटुट प्रीत छ ।।
२) विरही :
अक्षरसंख्या- ८ विश्राम- ५/३ अक्षरमा
उदाहरण :
नानीको सिउँदो खाली छ ।
चुल्बुले उनको बानी छ ।
कहिले कसले झुक्याई ।
लैजाला बेसरी रुवाई ।।
३) मारुनी :
अक्षरसंख्या – १० विश्राम – ४/६ अक्षरमा
उदाहरण :
आज राती सपनी देखेर ।
रोएँ मत मायालु सम्झेर ।
मत सधैं मायालु सम्झने ।
माया भने किन हो तर्सने ।।
४) असारे :
अक्षरसंख्या- १० विश्राम-५/५ अक्षरमा
उदाहरण :
मनको धोको मनैमा रह्यो ।
नानीको सिउँदो खोली नै रह्यो ।
लैजान्छु भन्दा धर्धरी रुने ।
मनको धोको नफोई दिने ।
५) झोराली :
अक्षरसंख्या- १४ विश्राम – ४/४/६ अक्षरमा
उदाहरण :
जति हेर्यो उति राम्रा नेपालका ठिटा ।
बलिया छन् लडेका छन् फोडी दिन्छन् इँटा ।
जोरी खोज्ने वैरीलाई धुलोपिठो पारी ।
मिलाउँछन् यै माटोमा यस्तै हाम्रा नारी ।।
६) बालगीत
अक्षरसंख्या – १४ विश्राम – ८/६ अक्षरमा
उदाहरणः
सधैं खान्छन् मीठा भात मागीमागी जोगी ।
हेर्दा हुन्छन् फुस्राफुस्रा उनै हुन्छन् भोगी ।
मागी हिँड्ने घरघरै लाज शरम् छैन ।
बिना दुःख जोगीले नै गरेका छन् चैन ।।
७) चाम्रुङ् :
अक्षरसंख्या-१० विश्राम- ४/३/३अक्षरमा
उदाहरण :
चरी बस्यो रुखैकाे डालीमा ।
माया बस्यो मायाको सारीमा ।
माया गर्छु म मात्रै यसरी ।
माया जान्छे तर्सेर त्यसरी ।।
८) कर्खा (गाइनेलय)
अक्षरसंख्या – १४ विश्राम – ८/६ अक्षरमा
उदाहरणः
अबलाई विरहका गीत सुनाएर ।
फाइदा छैन मेरी हजुर ओठ सुकाएर ।
जातभात जेत होला हाेला अब विहे गरौंं ।
रमाइलो जिन्दगी सिरजना गरौं ।।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।