ग्रामीण बस्तीमा हुर्केकाहरूको मायाको परिवेश अलि भिन्दै प्रकारको नै हुन्छ । डेटिङ, च्याटिङ, रेस्टुरेन्ट जस्ता चीजहरूको अनुभूति प्रायजसो हुँदैन । काम गर्दागर्दै, बाटो काट्दाकाट्दै पँधेरोमा पानी भर्दाभर्दै, घाँस काट्दाकाट्दै, विभिन्न मेलापर्वमा सहभागिता जनाउँदाजनाउँदै केटाकेटीहरूको भेटघाट, चिनजान, बोलचाल हुँदै माया-प्रेमसम्म हुने गर्दछ ।
स्कूल पढ्ने केटाकेटीहरूले अलि सजिलोसँग मायाप्रेम साट्ने मौका पाउँछन् । सँगै पढ्ने साथीको झोला वा किताबको पानाको बीचमा चिठ्ठी लुकाइदिएर मनका भावना साटासाट गर्ने अवसर त्यहाँ हुने गर्दछ ।
मैले पहिलोपल्ट अंग्रेजी भाषाको ‘लभ’ भन्ने शब्द महिलाहरूकै मुखबाट सुनेको हो । मेरो घरको छेउको चनाबारी नजिकबाट बाटो हिंड्ने एक हूल महिलाको भीडबाट आवाज आयो, “पुष्पाले बजारको एउटा केटासँग ‘लभ’ गरेकी छे अरे । उसैसँग बिहे हुन्छ होला ।”
मैले त्यतिवेला त्यो भनाइ खासै बुझिनँ । उमेर सानै भएर होला । तर जब उमेर बढ्दै गयो यस्तो भयो कि मेरो परिवेशमा लभका कहानी र घटनाहरू धेरै सुनिन, देखिन थाले । मलाई एकजना युवकले उसको प्रेमको सन्देशवाहक बनिदिन आग्रह गर्दा मैले त्यो काम गर्न डर मानेर अस्वीकार गरेको थिएँ ।
शुरूशुरूमा मैले सुनेअनुसार लभ गरेर विवाह गर्नु भनेको समाजलाई चुनौती दिनु जस्तो लाग्दथ्यो । एकपल्ट मेरा अग्रज साथी नारायण पुरीले प्रसङ्गवश प्रेमविवाहको कुरा चल्दा भनेका थिए, “सकिन्छ भने घर परिवारको सल्लाहमा विवाह गर्नु, चोर जस्तो लुक्दै, भाग्दै प्रेमविवाह गर्नु भनेको निकृष्ट काम हो” ।
अनुभवी पुरी जीको यो भनाइले युवा उमेरको मेरो मस्तिष्कलाई एक हदसम्म प्रभाव पारेको थियो । तर जसले जे भने पनि युवा उमेरको प्रेम निकै रमाइलो र मीठो हुन्छ । आफूले प्रेमको अनुभव नगरे पनि साथीहरू र स्कूले अग्रज दाइहरूका कहानी सुन्न निकै आनन्द लाग्दथ्यो ।
मलाई आफ्ना प्रेम कहानी सुनाउने मध्ये एकजना कुमार पनि थिए । युवतीले आफूलाई मन पराएको वा नपराएको कसरी थाहा पाउने भन्ने बारेमा उनले निकै घतलाग्दा अनुभवहरू सुनाउने गर्दथे । उनका अनुसार आफूलाई मन पराउने युवतीले एक आपसमा कुरा गर्दा सीधा नजरले हेर्दैन अरे । अलि लाज माने जस्तो गरेर कहिले यता कहिले उता हेर्दै मात्र बोल्छे अरे । उनले युवतीहरूलाई आकर्षित गर्ने सूत्रहरू पनि बताउने गर्दथे ? कुमारले निकै आकर्षक प्रेम गरेर पछि मागी विवाह गरेका थिए ।
स्कूले जीवनमा पढिएका प्रेमकथाहरूको त्यति धेरै याद छैन । अनिवार्य नेपाली विषयमा केही कथा थिए। गुरुप्रसाद मैनालीको ‘नासो’ भन्ने कथा एउटा प्रेमकथा भन्दा पनि सामाजिक समस्या र भावनाको उजागर गरिएको कथा थियो । पछिल्लो समय लेखिएका केही प्रेमकथाहरूमा एन्टोन चेकोभको ‘अवाउट लभ’, कृष्ण धारावासीको ‘राधा’, सुबिन भट्टराईको ‘समर लभ’, नारायण वाग्लेको ‘पल्पसा क्याफे’, अमर न्यौपानेको ‘सेतो धर्ती’, र नेपाली सिनेमामा ‘कवडी’, ‘प्रेमगीत’, ‘पशुपती प्रसाद’ जस्ता सिनेमाले रोमाञ्चक सम्बन्धका पक्षहरुलाई उजागर गरेका छन् ।
कागजी कथाहरू भन्दा पनि निकै रोचक र सुनिरहूँ जस्तो लाग्ने कथा मलाई एकपल्ट मेरा एकजना साथी ‘भूपति जी’ले सुनाउनु भएको थियो । पोहोर साल उहाँ र म कीर्तिपुरको दक्षिणी भेग हुँदै थानकोट पार्कसम्म करीब ३ घण्टाको पैदल यात्रा गरेका थियौं । यही क्रममा बाटो उहाँसँग प्रेमको विषयमा संवाद भयो ।
सोध्नुभयो, “माधवजी ! के तपाईं लभलाइ परिभाषित गर्न सक्नहुन्छ ?”
“यो त गाह्रो प्रश्न भयो सर, तर यसको परिभाषा मान्छेको भोगाइ अनुसार हुन्छ, होइन र ?” मैले भनें ।
“अलि प्रष्ट पार्नुस् न कस्तो भोगाइ ?”
“मतलब, प्रेमबाट सुखभोग गरिरहेकाहरूको लागि प्रेम वरदान हो, भने प्रेमबाट दुख पाएकाहरूको लागी यो अभिशाप हो ।”
“बरु यसमा सरकै दृष्टिकोण सुनौं न ।”
जब मैले यति सोधे, भूपतिजीले शुरू गरिहाल्नु भयो, “मेरो दृष्टिकोणमा प्रेम एक रहस्य हो । यसलाई न त कुनै साहित्यकारले आजसम्म परिभाषित गर्नसकेका छन् न त भविष्यमा नै सक्नेछन् । आजसम्म गरिएका परिभाषा त केवल सीमित व्यक्तिहरुका अनुभव वा दृष्टिकोण मात्र हुन् जो सर्वस्वीकार्य परिभाषा हुन सक्दैनन् ।”
मैले बीचमा भूपतिजीलाई हस्तक्षेप गरें, “सर ! यो कुरा जमानामा रसियन लेखक एन्टोन चेकोवको ‘अवाउट लभ’ भन्ने कथामा भनिसकेका छन् । बरु सरको कुनै आफ्नै अनुभव भए सुनम् न ।”
“अफ कोर्स, म त्यही त भन्दै थिएँ ।”
भूपति अघि भन्नुहुन्छ, “जब म एम. एस्सी. सकेर एउटा गाउँको स्कूलमा पढाउन गएँ, त्यहाँ कक्षा १२ सम्म साइन्स पनि पढाइ हुन्थ्यो । जहाँ मैले सयौं विद्यार्थीलाई कक्षाकोठामा र घरमा ट्युशन पढाएँ । ग्रामीण भेगको विद्यालय भएकोले विद्यार्थी तथा अभिभावकले निकै नै श्रद्धा गर्दथे । जब परीक्षा नजिकिन्थ्यो त्यहाँ अप्ठेरो लाग्ने विषयहरूको ट्यूशन पढ्ने घुइँचो लाग्थ्यो । मेरोमा पनि विज्ञानको ट्यूशन पढ्न थुप्रै विद्यार्थी आउँथे ।
६ घण्टा सुत्ने समय बाहेक सबै समय विद्यार्थीहरूसँग बित्दथ्यो । भर्खरै पढाइ सकेको, एक अविवाहित सक्षम युवक शिक्षकलाई विद्यार्थीहरूले रोलमोडलको रूपमा हेर्दथे भने केटीहरूले शिक्षकको अलावा प्रेमको दृष्टिकोणले पनि हेर्दथे ।
एकपल्ट एउटी छात्राले मलाई ‘सर ! तपाईं विवाहित कि अविवाहित’ भनेर सोधिन् । मैले जे हो त्यै भनिदिएँ, त्यसपछि त उनको म प्रतिको दृष्टिकोण नै फरक हुन आयो । उनको घरबाट एक दिन मलाई दिउँसोको खाजाको लागि निमन्त्रणा पनि आयो । निमन्त्रणा आएपछि जानै पर्यो, म गएँ । त्यहाँ भएको कुराकानी, हाउभाउ र प्रश्नहरूबाट आशय अनुमान गर्न सकिन्थ्यो ।
केटी पक्षको सबै कुरा राम्रो हुँदाहुँदै पनि विषयवस्तु अघि बढाउने वातावरण थिएन वा भएन । अरू छ महीना जति त्यही विद्यालयमा पढाइरहँदा ती यवतीसँग हेराहेर, सामान्य बोलचाल तर अव्यक्त अनि निकै मीठो माया बस्दाबस्दै मलाई जागीरको सिलसिलामा फेरि राजधानीको विश्वविद्यालयमा अवसर मिल्यो र भर्खर पलाउँदै गरेको मखमली माया विस्मृतिमा हराउँदै गयो ।“
म ध्यानपूर्वक सुनिरहेथें । भूपति एकछिन रोक्नुभयो । यताउति हेर्नुभयो । एक छिनपछि पुनः आफ्नो कथालाई अघि सार्नुभयो, “शहरको विश्वविद्यालयमा पढाउन शुरू गरेको केही समयपछि बुवाआमाको इच्छा बमोजिम र मेरो पनि सहमतिमा अर्कै केटीसँग विवाह भयो मेरो । म आफ्नै दुनियाँमा रमाएर बसें । सन्तानको पिता पनि भएँ । निकै वर्ष बिते, तर मेरो पुराना साथीहरूसँग भेटघाट, कुराकानी केही भएन । जब फेसबूकको जमाना आयो, कैयौं पुराना-नयाँ साथीहरूसँग डिजिटल भेट हुन थाल्यो । पुराना स्मृतिहरू खुल्दै जान थाले । साथीभाइ जति टाढा भए पनि भर्चुअल्ली जोडिन थाल्यौं ।
एकदिन जुन विद्यार्थी गाउँमा पढाएकी थिएँ, खाजाको लागि उनको घर गएकी थिएँ, ती युवतीले फेसबूकमा मेरो तस्वीर देखिन् र फ्रेन्ड रिक्वेस्ट पठाइन् । मैले पनि तुरुन्तै स्वीकार गरें र हामी फेसबूकमा जोडिन पुग्यौं ।
लगत्तै ती युवतीले भनिन्, ‘सर, नमस्कार ! हजुर हामीले पढेको विद्यालयमा पढाउनु भएको त्यही भूपति सर होइन र ? मैले पनि फोटो हेरेर चिनें ।
मैले पनि कुरा अगाडि बढाएँ, ‘हो म त्यही मान्छे हो ।’
उनले मेरो बारेमा बुझ्नुपर्ने सबै सोधिन् । मैले पनि जवाफ दिएँ । अनि उनको बारेमा पनि हल्का सोधें, ‘तिमी कहाँ हो अचेल ? विवाह कुन ठाउँमा भयो ?’ उनले पनि शिष्ट भाषामा जवाफ दिइन् । यत्तिकैमा मैले कुरा बिट मारें ।
त्यसदिन साँझ मैले फेसबूक स्टोरीमा मेरो एउटा फोटो अपलोड गरें । त्यो पोस्टमा उनको कमेन्ट सहित लभ इमोजीको वर्षा भयो । उनले तुरुन्तै ‘हो यस्ता फोटोहरू पो पोस्ट गर्ने हो’ भन्ने कमेन्ट लेखिन् । मैले ‘धन्यवाद’ भनें ।
हामीबीच एक अर्काका विषयमा अल्लि डिटेलमा सोधपुछ पनि भयो । विगतको याद र अन्य कुराहरूले वार्तालाप निकै मीठो भयो । उनले हामी दुवैले एक अर्कालाई राम्रो माने पनि विवाहको कुरा अघि बढ्न नसकेको कुरा गरिन् । उनी हाल सन्तानको आमा भैसकेको र परिवार सुखी भएको कुरा गरिन् ।
हामी दुवै आ-आफ्ना सन्तानका अभिभावक हुँदाहुँदै पनि उनले जहिले केही न केही प्रश्न मार्फत सम्पर्कमा रहन खोजे जस्तो गरिरहिन् । मैले पनि एक शिष्ट महिलालाई शिष्ट जवाफ दिंदै गएँ । टेक्स्ट मेसेजबाट शुरू भएको हाम्रो वार्ता एकदिन उनको अनुरोधमा भिडियोकल सम्म पुग्यो । विस्तार अब यो वार्ता मायाको विषयमा प्रवेश गर्न थाल्यो ।
एकदिन उनले सोधिन्, ‘तपाईं किन मैले सोधेको जे प्रश्नको पनि जवाफ दिइरहनुहुन्छ ?’
मैले भन्ने गर्थें, ‘यो मेरो सामान्य शिष्टता हो र त्यसमा पनि तिमी चिनेकै मान्छेसँग बोल्दा केही हुँदैन र जवाफ नदिएर तिमीलाई किन दुखी बनाउनु भनेर हो । तर एउटा बिन्ती चाहिं गर्नै पर्छ आज तिमीसँग । तिमी र म विवाहित तथा सन्तानको अभिभावक भैसकेको मान्छे भएकोले प्रेमको कुरा चाहिं आजदेखि नगर्नु र नसोध्नू पनि, है !’
‘हवस् !’ भनिन् ज्ञानी बच्चा झैं ।
जसरी हवस् भने पनि उनले मलाई मेसेज गर्न छोडिनन् । यसबाट प्रष्ट हुन्थ्यो – उनी मसँग सम्पर्कमा रहिरहन चाहन्थिन् भने म पन्छिन चाहन्थें । भौतिक दूरीको हिसाबले उनी र म निकै टाढा भए पनि उनले एकपल्ट भेटेर देख्न चाहेको कुरा गरिरहन्छिन् जसलाई मैले इन्कार गरिरहेको छु । उनले यसलाई निकै बिलौनामार्फत मैले उनलाई हेय दृष्टिले हेरेको गुनासो गरेर भेट्न बल गरिरहन्छिन् ।”
यहाँ आइपुगेर कुरा अचानक रोक्नुहुन्छ । मलाई निकै बेर हेरेर प्रश्न गर्नुभयो, ” माधव सर ! तपाईंलाई मेरो कुरा सुनेर बोर त भएको छैन नि ?”
“छैन छैन, कति बोर भएको छैन, बरु रमाइलो लागिराछ, अगाडि भन्दै जानुस् न ।” मैले कथा जारी राख्न कर गरें ।
म बोर नभएको पक्का भएपछि उहाँले भन्नुभयो, “अचेल पनि फुटकर फाटकर प्रश्नमार्फत उनी मसँग सम्पर्क गर्न खोजिरहन्छिन् । उनी मसँग कुरा गर्दा खुशी हुन्छिन् । तर न त उनी र मेरो सम्बन्ध त्यो भन्दा अघि जान सक्छ न छुट्न नै सकेको छ । ल अब तपाईं नै भन्दिनुस् यो के सम्बन्ध हो ?”
मैले भनें, “हेर्नोस् भूपति सर, यो एक प्रकारको प्रेम नै हो । अघि तपाईंले भनेजस्तै अहिलेसम्म दिइएका प्रेमका परिभाषाहरूले प्रेम भन्ने शब्दलाई सम्पूर्णतामा परिभाषित गर्न सकेका छैनन् र सक्दैनन् । त्यसैले माथि चेकोवले भने जस्तो प्रेम व्यक्ति र भोगाइ अनुसार फरकफरक हुन्छ । तर प्रेमको नाममा तपाईंले आफ्नो परिवारलाई छोडेर अथवा तपाईंकी प्रेमिकाले आफ्ना सन्तानलाई छोडेर तपाईंहरू सँगै बस्न थाल्नुभयो भने ‘प्रेम’ भन्ने शब्दकै अपमान हुन्छ । परिवारलाई धोका हुन्छ । समाजले तपाईंहरूबाट गलत कुरा सिक्न सक्छ । बच्चाहरूलाई अन्धकारतर्फ धकेल्छ र त्यो प्रेम समाजको नजरमा घृणालाग्दो उदाहरण बन्छ ।
तपाईंले कसैलाई सहानुभूति वा सम्मान गरेर प्रेमपूर्वक बोल्नु गलत होइन तर आफ्नो परिवारलाई छाडेर नयाँ प्रेमकथा बनाउनु गलत हो । तपाईं एउटा पढेलेखेको मान्छेले धमिलिन खोज्ने समाजलाई सफा पार्नुपर्छ । झन् गलत नजिर बसालेर प्रेम जस्तो पवित्र चीजलाई अपवित्र गर्नु हुँदैन ।
आज समाजमा प्रौढहरूका प्रेमका कारण कैयौं कलिला बाबुनानीहरू मातापिताको माया तथा जिम्मेवारीबाट टाढिएका छन् । यसलाई हामीले रोक्नुपर्छ । हामी प्रौढहरूले प्रेममा बहकिएर आफ्ना सन्तानको भविष्यमा लात हान्नु हुँदैन । त्यसैले प्रेमको नाममा नयाँ सम्बन्धहरू विकास गर्दै परिवारसँगका सम्बन्धलाई कम महत्वपूर्ण ठान्नु राम्रो होइन जो तपाईंले उनलाई पनि बुझाउनु पर्छ । पारिवारिक जिम्मेवारी पूरा गर्दै अरूलाई सहयोग गर्नु, सहानुभूति राख्नु, सामाजिक बन्नु जस्तो राम्रो यो जीवनमा केही छैन ।”
मैले यति सम्झाएपछि भूपति जी ले भन्नुभयो, “आज तपाईंले मेरो आँखा खोलिदिनुभयो, माधव सर ! हामी जिम्मेवार नबने समाज बिग्रन्छ, जीवनलाई जिम्मेवारीपूर्वक अघि बढाउनु पर्दछ ।”
यति कुरा गदागर्दै हामी थानकोट बाट पार्क पुग्यौं र हाम्रो पैदलयात्रा सकी घर फर्कियौं ।
त्यसपछि आजसम्म त्यसबारेमा उहाँसँग कुरा गरेको छैन । कामना छ उहाँहरूको त्यो मखमली माया त्यही रहिरहोस्, जसमा कहिल्यै दाग नलागोस् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।