आजभन्दा करीब दश वर्षअघि प्रसिद्ध गीतकार, संगीतकार र गायक कालिप्रसाद बाँस्कोटाको चर्चित गीत थियो – सुन साइँली, सुन साइँली चालीस कटेसी रमाउँला ।

त्यो गीत जनजनको जिब्रोमा झुण्डिएको थियो । युवा पुस्ताले त्यसको संगीत, लय र स्वरलाई मन परायो, मजस्ता तीसको चरणमा हिंडिरहेकाले ओहो चालीस कटेपछि त साँच्चै रमाइलो हुन्छ कि के हो भनेर मन पराइयो । चालीस कटेकाले त्यसैअनुसार मन पराए होलान् । जे होस् उक्त गीतले युवादेखि अधबैंसे सम्मलाई सम्मोहित बनायो । प्रसङ्ग गीतको मात्र नभई उमेरजन्य अनुभव र त्यसका तरङ्गहरूको आदान प्रदानका रूपमा पनि लिन सकियो । त्यस समय आफू चालीस नपुग्दा गीतकारले किन चालीसलाई मापदण्ड बनाए भन्ने तर्कना मनमा उठ्थ्यो । आखिर चालीसमै के छ जुन अरूमा छैन ।

खासमा उमेर के हो ? भन्ने विषयमा देशविदेशका घागडान दर्शनशास्त्रीदेखि साहित्यकार सम्मले मथिङ्गल हल्लाउँदै आएको विषय हो । उमेर भनेको संख्या, नम्बर मात्र हो कि त्यसको गुणस्तर, अनुभव, महत्वकांक्षा, पुर्नमूल्याङ्कन पनि हो । सबैका आ-आफ्नै तर्क, वितर्क र अनुभव छन् । यसको सर्वमान्य र मापक परिभाषा त केही पनि छैन । हुनत करीब आठ अर्ब जनसंख्या रहेको यस धरामा सर्वमान्य र मापक परिभाषा के नै पो हुनसक्छ र ? देश, काल, परिस्थिति, वातावरण अनुसार सत्य त फरक हुनसक्छ भने परिभाषाको त के कुरा ।

प्रसङ्ग फेरि चालीस तिरै फर्किऔं । आखिर चालीसलाई नै तोकेर किन रमाउने कुरा निस्कियो त ? यसका विभिन्न आयाम र पाटाहरूका विषयमा आफ्ना अनुभवजन्य भावना र विचारलाई पस्किने जमर्को गरेको छु । वास्तवमा चालीस वर्षको उमेर नेपाली जनको सरदर आयुको करीब करीब आधा उमेर पनि हो । मानिसले आधा बाटो हिंडिसके पछिको समीक्षा सहितको जीवनको आनन्द लिने मानक पनि रैछ । चालीसको उमेर यस्तो टाकुरो बनिदिंदो रहेछ कि जसबाट अगाडि पार गरेर आएको बाटोको दूरी र पछाडि जाने बाटोको दूरी प्रष्टसँग देखिंदो रहेछ । शायद त्यसैले होला कि त चालीसको महत्व ! यसलाई सिङ्गो जीवनको पानी ढलको रूपमा लिन सकिन्छ । अर्को शब्दमा चालीसलाई बुढेसकाल तर्फको संक्रमणको मानक मान्दा पनि भयो ।

चालीस वर्षको उमेरसम्म आइपुग्दा धेरै अनुभव, उखाडबखाड पार गरिंदो रहेछ । शैशवकालको रमाइलो एवम् अबोधपना पार गर्दै शिक्षा आर्जन, खेलकूद, साथीभाइ, हुँदै व्यावसायिक जीवनमा प्रवेश, समयसँगै आइपर्ने चुनौती र अवरोधहरू, अर्थोपार्जन, गृहस्थ जीवनको शुभारम्भ, संघर्ष, समाज, आफन्तजन, धर्मसंस्कृति, राजनीतिक व्यवस्था, राज्यका नीतिहरू, सामाजिक सम्बन्ध, पारिवारिक संरचना यी सबैसँग पौठोजोरी खेल्दै, सम्झौता गर्दै, बोध गर्दै, विजय र पराजय हुँदै जीवन अगाडि बढ्ने रहेछ । विविध रङहरूलाई चिन्दै, पर्गेल्दै र तिनैसँग लुकामारी खेल्दै पाइला चाल्नु नै जीवन हो कि जस्तो पनि लाग्ने । यो उमेरको चरणसम्म आइपुग्दा मानिस लगभग व्यक्तिगत, पारिवारिक र सामाजिक रूपमा स्थापित भइसक्ने रहेछ । पारिवारिक संरचना बनेर त्यसले गति लिन थालेको अवस्थामा सन्तान प्राप्तिसँग तिनीहरूको बालापन र रमाइलोले आफ्नो व्यतीत भएको समयलाई पुनर्ताजगी गराइदिंदो रैछ ।

अर्कापट्टी चालीसको उमेर पार गर्दैगर्दा बिस्तारै आफन्तहरू पनि कुरा काट्न थाल्ने रहेछन्, हिजो सम्मका सहयोगी र आत्मीय साथीभाइ पनि खुट्टा तान्न लाग्ने । प्रगति र उन्नतिको जलन, प्रशंसा, लायक नालायक, सक्षम असक्षम यी सबैको पगरी गुथ्दै जीवनको रथ अगाडि बढ्दो रहेछ । जीवन सरल हुने रैनछ भन्ने बोधसँगै नयाँ परिभाषाको खोज र आविष्कार हुँदै जाँदो रहेछ । शायद संसारका दार्शनिक र विचारकहरूले पनि नयाँ विचार र दर्शन यसैगरी विकास गरेका थिए होलान् ।

युवा अवस्थामा फूल फुलेको मात्र देखिन्थ्यो । या भनौं फूलको मात्र महत्व छ भन्ने भान पर्दथ्यो । तर बिस्तारै बीउ, बिरुवा, काँडा, पात, मलजल, कोपिला, ओइलाएको, फल लागेको, पाकेको र झरेको यी सबैको उत्तिकै र बराबरी महत्व रहेछ भन्ने बोध हुनथाल्दो रैछ । श्रृष्टिका सबै पक्षको उत्तिकै महत्ताको बोधले एक प्रकारको रमाइलो रस उत्पन्न गरिदिंदो रहेछ ।

वसन्तको बहार मात्र जीवन हो भन्ने भ्रम तोडिंदै ६ वटै ऋतुको महत्व र मर्मको बोधले जीवन रम्य बन्दो रहेछ । एउटा डाँडाको टुप्पोमा आकाश जोडिएको क्षितिज नै अन्तिम ठान्ने परिस्थितिबाट त्यस्ता क्षितिज त डाँडै पिच्छे बन्दा रहेछन् भन्ने ज्ञानले पुलकित बनाउने रहेछ । वर्षा र हिउँदको महत्व, अग्लो र होचोको विशेषता, नजिक र टाढाको भेद, आफन्त र पराईको अन्तर, उकालो र ओरालोको बोध, दिन र रातको अस्तित्व बडा गजबले छर्लङ्ग हुने रहेछ ।

ती सबै एकाङ्गी नभैकन एकअर्काका परिपूरक हुन् भन्ने चुरो कुरो बुझ्न पनि चालीस नै पुग्नुपर्ने । बिस्तारै तुलनात्मक मानक हट्दै गई सबैको बराबर अस्तित्वलाई स्वीकार्ने परिस्थिति बन्दो रहेछ । अस्तित्वका कुनै पनि विषय पूर्ण रूपमा स्वतन्त्र हुनसक्दा रैनछन् ती त कुनै न कुनै रूपमा अन्तर सम्बन्धित हुने रहेछन् भन्ने तत्वबोध हुनका लागि पनि चालीस वटै भोटा फटाउनु पर्ने रहेछ ।

त्यसो त आफू, आफ्ना मात्र किन र ? सिङ्गो समाजका पत्र-पत्रको ज्ञात हुने रहेछ । समाजको सहयोग र हौसला मात्र हैन कि यसको हतोत्साही बनाउने पक्षलाई अझ नजिकबाट व्यहोर्नु पर्दाको आनन्द नै बेग्लै छ । समाजले छेपारोले रङ फेरेजस्तै गरी विचार र व्यवहार फेरिरहेको पाटोलाई अलग्ग बसेर नियाल्दा स्वर्णिम आनन्दको अनुभूति हुने । अगाडि पर्दा प्रशंसा गर्ने समाजले पछाडि खोइरो खनेको सुन्दा र बुझ्दा मात्र आहा… कस्तो आनन्द ! समाजको द्वैध चरित्र हुन्छ भन्ने गुह्यबोध हुन पनि चालीस काट्नुपर्ने रैछ । भ्रष्ट ठीक कि आदर्श व्यक्ति, धर्म कि अधर्म, विज्ञान कि कर्मकाण्ड भन्ने विषयका बहस पनि बिस्तारै किनारा लाग्दै जाने रहेछन् भनौं कि बिस्तारै औचित्यै छैन कि जस्तो पनि हुने ।

चालीस वसन्त कट्दै गर्दा जीवनको तथाकथित ‘करिअर’ को उडान पनि निश्चित स्थानमा अवतरण भइसक्ने रहेछ । मानिसहरू ‘सेटल’ भइसक्ने स्थितिले पनि केही सन्तुष्टि दिने होला । पारिवारिक सञ्जालको निर्माण र विस्तारसँगै बालबच्चा हुर्कने क्रमले बेग्लै अनुभूति हुने रहेछ । जीवन र जगतलाई हेर्ने दृष्टिकोणमा फरकपना आउँदो रहेछ ।

त्यसैगरी बाँकी जीवन जिउने सवालमा आफ्नै प्रकारको मार्गदर्शनको विकास हुँदो रहेछ । सम्बन्धका क्षितिजहरू उघारिंदै जाने रहेछन् । चालीस पार गर्दैगर्दा सामाजिक जिम्मेवारी र उत्तरदायित्वको बोध पनि हुने रहेछ । साथै मोही मथेर नौनी लाग्नलाग्न लागेको वेला जस्तो हुने रहेछ । शंकर लामिछानेले भनेको ‘एब्स्ट्रयाक्ट चिन्तन प्याजको’ महिमा छर्लङ्गै हुँदो रहेछ । त्यसो त लेखनाथ पौडेलको ‘कालमहिमा’, भवानी भिक्षुको ‘मेरो सानी साथी’, बीपी कोइरालाको ‘शत्रु’, गुरुप्रसाद मैनालीको ‘नासो’ र पारिजातको ‘शिरीषको फूल’को महत्व बोध यही उमेर आसपासमा हुने रहेछ ।

यही माटोका बुद्ध, जनक, शिवको दर्शन र आदर्श हुँदै याज्ञवल्क, गार्गी, कात्यायनी, सीता, भृकुटी, चाणक्य, अरनिको र पृथ्वीनारायण शाहसम्मका विचार र कर्मको महत्वबोधले मन यसै यसै रमाउँदो रहेछ । त्यसो त बाहिरी संसारका एडम स्मिथ, कार्लमार्क्स, फेडरिक नित्से हुँदै हिटलर, मेकियाबली, दुर्खिम, महात्मा गान्धी, हङ्टिनटन, थोमस पिकेटी र हरारीसम्मका विचारलाई मथी दिंदाको मजा नै बेग्लै ।

समग्रमा भन्दा आदिम र वैदिक साम्यवाददेखि, सामन्तवाद, पूँजीवाद, नवउदारवाद, फाँसीवाद, समाजवाद, उत्तर आधुनिकवाद हुँदै वैज्ञानिक साम्यवादसम्मका बहसलाई पर्गेल्ने जोशले निद्रा र भोक हराएको ‘नोष्टाल्जिया’ ले पनि चालीसको उमेर त्यसै रमाइलो । यी सबै पक्षले रहस्यको गर्तमा रहेका विषयहरू प्रति विहङ्गम दृष्टि निर्माणमा सहयोग पुर्‍याउने आभास हुन पनि चालीस नै कट्नु पर्दो रहेछ । विज्ञान र अध्यात्म बीच ‘ग्रे लाइन’ मात्र हुने बोधका लागि पनि चालीस वाञ्छनीय रहेछ ।

समग्र बाह्य जगतलाई बोध गर्दैगर्दा आफूले आफूलाई चिन्नका लागि पनि चालीस प्रस्थान विन्दु रहेछ । व्यतीत यात्राको विश्लेषण र आगामी यात्राको संश्लेषण गर्ने मध्यविन्दु पनि चालीस हुनाले यसको छुट्टै महत्व झल्कने रहेछ । त्यसो त प्रागैतिहासिक मानवदेखि सांस्कृतिक मानव हुँदै ‘आर्टिफिशिल इन्टलिजेंस’ विकास हुँदा सम्मको समाजलाई अध्ययन र मनन गर्न पाउने वर्तमान चालिसे पुस्ता कम्ता भाग्यमानी होइनन् !