बालाई पछिसम्म पनि ‘दाजु’ भन्थें म । दिदी ‘बा’ नै भन्नुहुन्थ्यो क्यार; तर मैले दिदीको सिको गरेनछु; कान्छी दिदी र काकाबालाई पछ्याएछु ।

बा सबैको दाजु हुनुहुन्थ्यो; बाले ‘दाजु’ भन्नु पर्ने तीनचार जना मात्र हुनुहुन्थ्यो । तीमध्ये सदानन्द ठूलाबा चाँडै बित्नुभयो; अब त बास्पाने ठूलाबा, शशिधर ठूलाबा र तुलसीराम ठूलाबा पनि हुनुहुन्न ।

तेजकुमार कोइराला हुनुहुन्थ्यो; जो बाभन्दा केही जेठो हुनुहुन्थ्यो । बाले उहाँलाई के भन्नुहुन्थ्यो; हेक्का रहेन; उहाँ भने बालाई ‘ठूलोबाबु’ भन्नुहुन्थ्यो । गहिरो दोस्ती थियो— उहाँहरूका बीचमा । मित्रता धेरै गहिरो भयो भने नाता हराउँछ क्यार । बाले उहाँलाई ‘दाजु’ भन्नुभयो र ? परोक्षमा भने ‘पण्डितका छोरा’ भन्नुहुन्थ्यो ।

गाउँछिमेकमा बाभन्दा उमेरमा जेठा जो थिए; बालाई ‘ठूलाबाउ’ भन्थे । हजुरआमा ‘नानी’ भन्नुहुन्थ्यो; ठूलीआमा र टोलछिमेकका अन्य जति पनि ज्येष्ठ महिला सदस्यहरू हुनुहुन्थ्यो; बालाई ‘नानी’ भन्नुहुन्थ्यो ।

यसरी बा कि ‘ठूलोबाउ’, कि ‘नानी’ कि ‘दाजु’ हुनुहुन्थ्यो । यी सम्बोधनहरू

मध्ये उमेर र भूगोलका दृष्टिले ‘दाजु’ भन्ने सदस्यहरू मेरो निकटमा धेरै हुनुहुन्थ्यो । काकाबा मभन्दा जम्मा चार वर्ष मात्र जेठो । कान्छी दिदी मभन्दा पाँच छ वर्ष जेठी । आफ्ना दिदीहरू बाहेक, कालीप्रसाद काकाबा, गोपाल काकाबा, हरि काकाबा, खिलनाथ काकाबा, देबु काकाबा, सावित्रा दिदी आदि बालाई ‘दाजु’ भनेर सम्बोधन गर्ने ।

यस्तो परिवेशका बीच हुर्किएको मैले कसरी बालाई ‘बा’ भन्न जान्नु ? वास्तवमा त्यो समय बाबुले छोरालाई काखमा लिने, बाबुआमा दुवै छोराछोरीसँग खेल्ने र शिशुले बाबु पनि आमा जत्तिकै निकट हो भनेर अनुभव गर्ने समय नै थिएन ।

बाको मात्र कुरा होइन; खासमा आमाहरू पनि बेफुर्सदमा रहने दिनहरू थिए— ती दिन । शिशुले ‘आ…’ भन्दा ‘आमा’ भन्यो भनेर फुरुक्क पर्ने हाम्रो समयको जस्तो फुर्सद आमाहरूले कहाँ पाउनु ! त्यतिबेला ‘गृहस्थी’ कामको थुप्रोका नाम थियो । संयुक्त परिवारमा सूर्य हतारहतार उधाउँथ्यो र अस्ताउन आनाकानी गर्थ्यो । र, बुहारी : झिसमिसेदेखि मध्यरातसम्म घरको मात्र होइन; व्यक्तिव्यक्तिको सेवामा समेत रहने यन्त्रको नाम थियो ।

मैले बाका लागि सबैभन्दा सजिलोसँग सिकेको सम्बोधन नै ‘दाजु’ हो । यो स्वतः सिकिएको सम्बोधन थियो । तर यो सामाजिक जीवन अनुकूलको सम्बोधन थिएन । अनि कसैले बालाई औंल्याएर सिकायो मलाई— ‘बा’ भन्न । सहज स्वाभाविक रूपमा भन्दै आएको ‘दाजु’ छाडेर ‘बा’ भन्ने क्रममा म कतिपल्ट झुक्किएँ हुँला । कति पटक सम्बोधनमा ‘दाजु’ र ‘बा’को मिसमास भयो होला । अनि उमेरको कुन बिन्दुबाट ‘बा’ भन्न थाले हुँला ।

बा ती दिन घरमा मेरालागि मिश्री लिएर आउनु हुन्थ्यो । दुब्लो थिएँ— म । बिरामी पनि बाक्लै हुन्थे रे । कसैले लगाइदिएछ— ‘बच्चालाई मिश्री ख्वाउनु पर्छ; दह्रो हुन्छ ।’ बा यो संसार सामु रोगी र पिलन्धरे व्यक्तिको रूपमा आफ्नो जेठो छोरालाई उभ्याउन चाहनु हुन्न थ्यो तर म त्यतिबेला यी दुवै विशेषता सहित हुर्किंदै थिएँ ।

त्यसैले मुखको क्षमता र मिश्रीको आकारका बीचमा उचित तालमेल नमिलाईकन मिश्रीको डल्ला मुखमा हाल्दा कति पटक गालाको भित्री भाग कोतरिएको छ मेरो । बाआमा भने धेरैभन्दा धेरै मिश्री खाइदिओस् भन्ने चाहनु हुन्थ्यो । यतिसम्म त ठीकै थियो ।

फेरि कसैले लगाइदिएछ— ‘बच्चालाई गाईको दूध ख्वाउनुपर्छ; सप्रिन्छ ।’ अनि शुरू भयो— बा गाई दुहेर उठ्दानउठ्दै गिलास लिएर गाईकै थलामा पुग्नुपर्ने रुटिङ ।

गाईको काँचो दूध हल्का गन्हाउँदो रहेछ । ढुंग्रामा दुहेको दूध गिलासमा खन्याउँदा फिँज चैं पहिले झर्थ्यो र खाँदा ओठमाथि लाग्थ्यो । गाईको दूध खाने विषयमा बिस्तारै मेरो रुचि मर्दैआयो; तर रुटिङमा चुक्ने सुविधा मलाई उपलब्ध थिएन ।

यिनै दिन होला; हामी सबै बनारस जाने भयौं । तिनताका कहाँसम्म हिंड्नु पर्थ्यो र कहाँ पुगेपछि कस्तो मोटर पाइन्थ्यो भन्ने बारेमा मेरो सम्झनामा छैन । यत्ति याद छ- मेरा कलिला पैतालामा बाटाका तिखा ढुङ्गाको सामना गर्नसक्ने कुनै सामर्थ्य थिएन । सहयात्रामा रहनुभएका काकाबा र श्रीराम भान्दाजुले बोकिने सुविधा पाउनु भएन; गुणराज बाबुले भुइँमा झर्नै परेन । म भने खुट्टामा फोका नउठुञ्जेल हिंडें; फोका उठेपछि बाको काँधमा चढें र चढिरहें । मैले मेरा छोराहरूलाई त्यति तन्मयका साथ बोकिनँ होला; बाले मलाई बोक्नु भयो ।

बनारसमा हाम्रो पैसा चोरी भएछ र कासीबासमा बस्नुभएकी हजुरदिदीसँग सापट लिएर लगभग बेखर्ची अवस्थामा फर्केका रहेछौं- हामी । त्यस्तो अवस्थामा पनि मिठाइपसलमा झुन्ड्याइएको यामानको जुलेबी औंल्याएपछि बाले मेरा लागि किनिदिनु भएको थियो ।

ओखलढुङ्गाको माम्खामा स्व. कृष्णप्रसाद र स्व. चम्पादेवीको ज्येष्ठ सुपुत्रका रूपमा वि. सं.१९९३ पुस ५ गते मेरा बा गोविन्द प्रसाद पोखरेलको जन्म भएको हो । वि. स.. २००६ सालमा सिन्धुली जिल्लाको तीनपाटन क्षेत्रमा आएपछि बाको जीवनको सर्वाधिक उर्वर समय यहीँ व्यतीत भयो । यहाँ बाको राजनीतिक भूमिका पनि रह्यो ।

यस क्षेत्रको शिक्षा र सामाजिक उत्थानका सन्दर्भमा बाले आफ्नो जीवनको महत्त्वपूर्ण समय खर्चिनुभयो । २०५५ सालमा हाम्रो परिवार रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा बसोबास गर्न थाल्यो । २०६९ सालदेखि हाम्रो मूलघर भक्तपुर जिल्लाको सूर्यविनायक— २, तजटोलमा रह्यो । यहीँ २०७९ साल वैशाख २९ गते घरमै बाको देहावसान भयो ।

बाको जीवनभरि मैले बाबाट सधैं त्यस्तै स्नेह पाइरहें । मेरो असफलतामा अँध्यारो हुने र सफलतामा उज्यालिने अनुहार मध्ये सबैभन्दा महत्त्वपूर्ण व्यक्ति- मेरा बा । बालाई विदा गरेपछि मेरो जीवनमा एउटा ठूलो रिक्तता व्याप्त भएको छ ।