फलेको वृक्षको हाँगो झुकेको हुन्छ भन्ने भनाइलाई चरितार्थ गर्ने मृदुभाषी, अनुशासित अनि सज्जन व्यक्तित्व भएका नरबहादुर साउदले नेपाली साहित्य तथा कृषि क्षेत्रलाई अतुलनीय गुन लगाएका छन् ।

तर दुखको कुरा धेरै नेपालीलाई यो तथ्य थाहा नै छैन । विश्वभरि छरिएका वा नेपाल भरिका नेपालीको के कुरा उनी जुन भेगमा जन्मे–हुर्के अनि जहाँ उनको बसोबास छ त्यहाँका बासिन्दाहरूले समेत उनलाई राम्रोसँग चिन्दैनन्, उनको योगदानलाई बुझ्दैनन् । हाम्रो देश, हाम्रो समाज धेरै कुराले पछाडि परेको छ त्यसको एउटा कारण यो पनि हो – हामीले महत्त्व दिनुपर्ने मान्छेको बेवास्ता गर्छौं, अनि काम नलाग्ने कुरा, मान्छे होस् वा विषयवस्तुलाई नै महत्त्वपूर्ण बनाउँदछौं । यसको कुपरिणाम नै त हामी अहिले भोगिरहेका छौं, होइन र ?

२०६६ सालको मदन पुरस्कारबाट सम्मानित ‘नेपालका नालीबाली र तिनको दिगो खेती’ पुस्तकका लेखक नरबहादुर साउदको जन्म २०१९ सालको फागुन महीनाको ४ गते बैतडी जिल्लाको रिम भन्ने गाउँमा भएको थियो ।

उनी जन्मेको गाउँ हालको दोगडाकेदार गाउँपालिकामा पर्दछ । उनले कक्षा १० सम्मको पढाइ आफ्नै गाउँमा रहेको पञ्चदेव महानन्द विद्यालयबाट गरेका हुन् । सानैदेखि मेधावी उनी पढाइलेखाइमा तीक्ष्ण थिए । विद्यालयमा भइरहने वादविवाद प्रतियोगिता, निबन्ध प्रतियोगितामा सहभागी हुदाँहुँदै लेखनतर्फ उनको रुचि बढ्दै हो ।

विद्यालय स्तरको अध्ययन पूरा गरिसकेपछि चितवनको रामपुरमा रहेको कृषि तथा पशुविज्ञान अध्ययन संस्थानबाट उनले कृषि विज्ञानमा प्रवीणता तहको अध्ययन पूरा गरेका हुन् । कृषि विज्ञानमा स्नातक तहको अध्ययन भने उनले सरकारी छात्रवृत्ति पाएर हिमाचल प्रदेश कृषि विश्वविद्यालय पालमपुरबाट सम्पन्न गरेका हुन् । स्नातकपश्चात् २०४६ सालमा नेपाल फर्केर उनले नेपाल कृषि अनुसन्धान केन्द्रमा १ वर्ष जागीर गरे भने २०४७ सालमा दुग्धविकास संस्थानको जागीरे भए ।

मदन पुरस्कार प्राप्त उनको पुस्तक ‘नेपालका बालीनाली र तिनको दिगो खेती’ उनले कुनै सहज र सरल पृष्ठभूमिमा तयार पारेका होइनन् । उनी आफ्नो जीवनको धेरै नै कठिन र कहालीलाग्दो समयमा भएका बेला नै उक्त कृति लेखिएको रहेछ ।

एउटा मेधावी र उज्ज्वल भविष्यको सम्भावनाले भरिपूर्ण २८ वर्षको युवकको जीवनमा ठूलो बज्रपात परको दिन थियो २०४७ फाल्गुण २६ गते । उनी त्यो बेला दुग्धविकास संस्थानको अधिकृतको रूपमा कार्यालयको कामकाजले बुटवलबाट नेपालगञ्ज जाँदैगर्दा बाँकेको कुसुममा उनी चढेको गाडी दुर्घटना हुन गएछ । त्यही दुर्घटनामा परेर उनको मेरुदण्डमा नराम्रोसँग चोट लाग्यो । केही दिन वीर अस्पतालमा उपचारपछि थप उपचारको लागि सफदरगञ्ज अस्पतालमा ६ महिना बिताउनु परेको थियो ।

दिल्लीबाट फर्केपछि उनी काठमाडौंमा अवस्थित आफू कार्यरत संस्थानको कार्यालय गए, तर आफ्नो स्वास्थ्य स्थिति खराब भएको हिंडडुलमा समस्या भएका कारणले उनलाई कार्यालय धाइरहन मन नलागेपछि उनले जागीरबाट राजीनामा दिएका रहेछन् ।

जागिर पश्चात् कञ्चनपुरमा अवस्थित आफ्नै घरमा गएर उनी बस्न थालेका हुन् । फर्केर घर त गए तर आफ्नो शरीरको पीडा अनि भविष्यको चिन्ता र डरले भने उनलाई पछ्याउन छोडेन । अकल्पनीय पीडा, विवशता र निराशाले घेरेको समयमा नरबहादुर साउदका लागि लेखाइपढाइ प्रतिको रुचि जिउने सहारा बन्यो । त्यो बेला पढ्ने सामग्री पाउन अहिलेको जस्तो सजिलो थिएन । कृषि विज्ञानको विज्ञता र रुचि भएका साउदले सीमापारि रहेको शहर पन्त नगरबाट कृषि सम्बन्धी पत्रिका मगाउन थाले । रेडियोका कृषि कार्यक्रम पनि उनको त्यो बेलाको साथी बने । धेरै अध्ययन गरेपछि, जानकारी बटुलेपछि उनले नेपालका बालीनालीका बारेमा लेख्नथाले । विषादले छोएको त्यो अँध्यारो समयमा जब उनी टुकीको उज्यालोमा लेख्न बस्थे उनको लेखनीको उज्यालोले नै उनको भित्री मनमा जीवनको उज्यालो छर्ने काम गर्दथ्यो ।

निरन्तर साधना र अथक प्रयासबाट २०५६ तिर पुस्तकको पाण्डुलिपि त तयार भयो तर अब त्यसको प्रकाशन कहाँ गर्ने, कसरी गर्ने भन्ने चुनौती भने उनका सामु टड्कारो रूपमा आइलाग्यो । साझा प्रकाशनले २०६६ सालमा सो पुस्तक प्रकाशित गर्‍यो । प्रकाशकले कृषि तथा पशुविज्ञान अध्ययन संस्थान, रामपुरका प्रोफेसर फणीन्द्र न्यौपानेलाई त्यो पाण्डुलिपि देखाउँदा उहाँले उत्कृष्ट रचना छ भनेपछि मात्रै उक्त पुस्तक छापिएको रहेछ ।

पहिलो पुस्तकको पाण्डुलिपि तयार भएर छापिन्जेल सम्म नरबहादुर साउदले च्याउखेती सम्बन्धी अर्को एउटा पुस्तकको पाण्डुलिपि समेत तयार पारिसकेका थिए, जुन २०७२ सालमा धनगढी स्थित चौलानी पुस्तक भण्डारले प्रकाशित गरेको थियो । कक्षा एक देखि पाँचसम्म पढाइ हुने ‘हाम्रो खेतीपाती’ उनले नै तयार पारेका हुन् । उनका थुप्रै लेख रचनाहरू स्थानीय पत्रिकाबाट छापिए तर उनले ती रचनाहरू बापत कुनै पारिश्रमिक कहिल्यै पाएनन् ।

उनको आम्दानीको स्रोत भनेको अपांग भत्ता नै हो जुन पाउन लागेको पनि १२–१५ वर्षभन्दा धेरै भएको छैन । दुर्घटनामा लागेको चोटका कारण कम्मर भन्दा तलको भागमा छोएको, घोचेको चाल पाउँदैनन् उनले । ह्विलचियरकै सहारामा यताउति गर्नुपर्छ । पहिलो पुस्तक लेख्दाताका लेखन कार्यमा निरन्तर बसिरहेका कारणले उनको हिपमा घाउ नै हुन गएछ । जसको उपचार गर्न उनले मदन पुरस्कारमा पाएको रकम पर्खेर बस्नुपरेको थियो ।

उनको प्रारम्भिक लेखनी सबै गद्यमै छ । नेपालका बालीनाली र तिनको दिगो खेती पुस्तक वर्णनात्मक शैलीमा लेखिएको ९५० पेजको ठूलो आकारमा छ । पछिल्लो केही समयदेखि भने उनको रुझान काव्य रचनातिर ढल्केको छ ।

काव्यप्रतिको रुचि बढ्नुको पछाडि उनको संस्कृत भाषाको अध्ययन रहेछ । विसं. २०७४ सालमा शारदा विद्यापीठ कञ्चनपुरबाट प्राक्शास्त्री तहको अध्ययन पूरा गरे पश्चात् उनले २०७५ मा शास्त्री तहका लागि अध्ययन शुरू गरेका रहेछन् । अहिले उनी शास्त्री पदवीका लागि बैतडली भाषाका धातु र पाणिनीय धातुहरूको तुलनात्मक अध्ययन बारे शोध प्रबन्ध तयार पारिरहेका छन् । संस्कृतको अध्ययनले नै उनमा छन्दको ज्ञान विस्तृत हुँदै गयो । फलस्वरूप उनले छन्दमा थुप्रै कविता सिर्जना गरेका छन् ।

उनको जीवनमा वेदनाको कुनै कमी नै रहेन । तिलक पेलाले गाउनु भएको गजलको पंक्ति

साथी रहेछ दुःख जहिले सवार हुन्छ,

पाहुना रहेछन् सुख जानै हतार हुन्छ

भने झैं दुःख उनका साथमा सधैं साथीको रूपमा आई नै रह्यो । शारीरिक अशक्तताले गर्दा रोजगार विहीन हुनुपर्दा आर्थिक कठिनाइले उनलाई घेरी नै रह्यो । घरको अभिभारा बोकिरहेका भाइको हृदयघातका कारणले निधन हुँदा उनीमाथि जुन बज्रपात परेको थियो त्यो अवर्णनीय नै छ । एक्लो जीवनमा आमा धर्मादेवी साउदको वात्सल्य पनि खोसिंदा एक्लोपन चुलियो नै । बुवा धनबहादुर साउदको सानिध्य पनि यही असोज ९ गते उनीबाट गुमेको छ । अब उनीसँग एउटी बहिनीको साथ मात्रै बाँकी छ । कान नसुन्ने भएकाले उनको बहिनीको विवाह हुनसकेको छैन ।

जीवनमा आइपरेका दुःख पीडाले सामान्य मान्छेलाई गलाउँछ । दुःख परेको बेला साथ दिनेहरू भन्दा थप दुःख दिनेहरू, तिरस्कार र अपहेलना गर्नेहरूको हाम्रो समाजमा कहाँ कमी छ र ? त्यसरी दुःखमा अझ दुःख दिनेहरू प्रति एउटा सामान्य मान्छेको हृदय तिक्तताले भरिन्छ । विषम परिस्थिति भएको बेला चारैतिरबाट काम कुराहरू बिग्रँदै जाँदा, दुःख र पीडाको श्रृंखला बढ्दै जाँदा, एउटा सामान्य मान्छे विचलित हुन्छ, कुण्ठित बन्छ, निराशको पहाडले थिचिएर विषादपूर्ण हुन्छ । आफ्ना दुःखभन्दा माथि उठेर यदि कसैले उच्च कोटिको सिर्जना गर्नसक्छ, योग साधना अनि अध्ययनको सहाराले आफ्नो अस्तित्वलाई उर्वर, आभायुक्त बनाउन निरन्तर लागिरहन्छ भने ऊ सामान्य व्यक्ति होइन, जीवन ऊर्जाले भरिपूर्ण ज्योति पुञ्ज नै हो । भीडभाड भन्दा टाढा, आफ्नै साधनामा लीन तपस्वीको झैं जीवन बाँचिरहेका नरबहादुर साउद पनि एउटा ज्योति पुञ्ज नै हुन् ।

उहाँ जस्ता स्रष्टालाई सहयोग गर्न राज्य लागिपर्नुपर्ने थियो । तर विडम्बना सरकारलाई वहाँको अस्तित्वको बोध नै हुनसकेको छैन । कला र साहित्यको संरक्षण र प्रवर्द्धनमा लागिपरेका कयौं संस्थाहरूले उहाँलाई सम्झनु पर्दथ्यो तर कसैले सम्झेका छैनन् । सञ्चारकर्मीहरूले वहाँको बारेमा खोजीनिती गर्नुपर्ने थियो तर गर्न भ्याएकै छैनन् । खै कसलाई के भन्ने ? बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड भनेको यस्तै नै त होला नि  ।

उनमा भएको कृषि सम्बन्धी विज्ञताको सम्मान गर्दै उचित प्रयोग गर्नसकेको भए हामी पक्कै कृषिकार्यमा अगाडि बढ्न सक्थ्यौं होला । उनको कठिन जीवनलाई सहज बनाउन सम्बन्धित निकायले सहजीकरण गरिदिएको भए उनबाट अझ धेरै सिर्जना पाएर हामी साहित्यिक रूपमा समृद्ध हुन सक्थ्यौं । हाम्रा नानीबाबु, किशोरकिशोरी अनि युवाहरूलाई उनको जीवनको बारेमा जानकारी दिनसकेको भए उनीहरूमा विषम परिस्थितिमा पनि कसरी सिर्जनशील र सकारात्मक रहिरहने भन्ने आत्मबल दिन सक्थ्यौं होला । उनलाई राम्रो गर्नसके भलो हाम्रो नै हुन्थ्यो ।

अहिले पनि ढिलो भएको छैन सम्बन्धित सबैले मिलेर उनलाई सहयोग गर्नुपर्छ, उनको योगदानको प्रतिभाको सम्मान गर्नुपर्छ । यसो गर्नसके आउने पुस्तामा उनका राम्रा गुणहरू हस्तान्तरण गर्न सकिनेछ । हाम्रो समाज गुणी, असल, प्रतिभाशाली व्यक्तित्वहरूको सम्मान गर्ने एउटा सभ्य समाजमा परिणत हुनेछ ।  नरबहादुर साउदले नै वैदिक छन्दमा रचना गर्नुभएको

जीवन शीर्षकको कविताका तलका पंक्तिले भने झैं

जीवन दुर्लभ छ,

बाँच्दछ जति

जीवन त्यति

धेर कम छ ।

दुर्लभ छ रे !

सुक्ख पनि हो ।

दुःख पनि हो ।

मिश्रित छ यो ।

जीवन अहो !

स्वच्छ मनमा

विश्व वनमा

जीवन मम

होस् शुभतम ।

अनि उनी जस्ता मेधावी र सद्गुणी मानवको अस्तित्व यो संसारमा अझ दुर्लभ छ । उनको संरक्षण गर्नु, आदर गर्नु सरकार र समाजको कर्तव्य हो ।