हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो – ‘तीज’ । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । तीजमा भगवान् शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू नारीहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । यो पर्व मुख्य रूपमा नेपालभर मनाइन्छ भने भारतका कुनैकुनै प्रान्तमा पनि मनाइन्छ ।

तीजको रमझम अर्कै हुन्थ्यो हाम्रो पालामा । माइतीबाट दाजुभाइ दिदीबहिनी लिन दिदी बहिनीको घरसम्मै आउने चलन थियो । घर आएर सासू, ससुरालाई मनाएर दिदीबहिनी जन्मघर लाने रीत थियो । रेडियोमा ‘तीजको रहर आयो बरिलै, तीजको रहर आयो बरिलै’, ‘हे आमा तिमी छैनौ माइती हरायो’ जस्ता गीत घन्किन्थे । अनि बुहारी आफ्नो भएको गहना बोकेर माइती जान्थे । आफ्ना साथी संगिनीलाई देखाउन गहनाले झरिझुट्ट भएर रातो सारीमा सजिएर छड्के तिलहरी ढल्काएर आँगनमा छमछमी नाच्ने चलन थियो ।

गाउँ भरिका दिदीबहिनी जम्मा हुने अनि आफूले भोगेको कुरा गीत मार्फत पीडा पोख्ने गर्थे । मादल मज्जाले घन्किन्थ्यो । जहाँ महिलाले आफू माथि भएको भेदभाव, अत्याचार, असहमति गीतबाट प्रस्तुत गर्थे । जुन एकदमै रोचक हुन्थ्यो । धेरै जसो गीतमा सासूबुहारी बीचको समस्यालाई उठाउने गर्थे भने कोही तीजमा माइतीबाट कोही लिन नआएको विरह गाउँथे । बिहानबाट शुरू भएको नाचगान साँझ अबेर सम्म पनि चल्थ्यो । जुन निक्कै रोमाञ्चक पनि हुन्थ्यो ।

माइतिघरमा दाजुभाइले आफ्नो गक्ष अनुसार दिदी बहिनीलाई रातो सारी, चुरा, पोते किनिदिन्थे । बहिनी श्रीमानको आयु बढोस् अनि कुमारी केटीहरू भगवान् शिव जस्तो श्रीमान् पाइयोस् भनेर पानी सम्म नखाएर निर्जला व्रत बस्थे । व्रतपछि नजिकैको गङ्गा किनारमा गएर दतिवनले जीउ नुहाएर पुजारी राखेर पूजाआजा विधिपूर्वक गरिन्थ्यो । तीजको दरमा मिष्टान्न परिकार खाने चलन थियो ।

त्यो पनि चोखो, शुद्ध साहकारी भोजन खाने चलन थियो । खीर, पुलाऊ, आलु काँक्रोको अचार, दही , जिलेबी, रसगुल्ला, गुलाब जामुन आदि इत्यादि पाक्थ्यो प्राय: सबैको भान्सामा । तीज सकिएपछि फेरि दिदीबहिनीलाई उनकै घरसम्म पुर्‍याउन जान्थे दाजुभाइ । दिदी बहिनीलाई माइतीले दिने प्रेम, सम्मान झल्किन्थ्यो । बहिनी घर फर्किंदा खाली हात पठाउँदैन थिए । सेलरोटी, अनरसा, फिनी डालोभरी भरेर दिदी बहिनीको घर पठाइन्थ्यो ।

तर आज कहाँ तीज पहिलेको जस्तो छ र ! अचेल माइतीबाट पार्टी प्यालेसमा सरेको छ । तीजको मौलिक गीत भन्दा छाडा अनि अश्लील शब्द प्रयोग भएको गीत बज्दछ । विदेशी कबाब, चिकेन तन्दुरी, बिरयानी, चाइनिज खाना पाक्दछ । ठूलाठूला स्पिकरमा विदेशी गीत संगीतमा नृत्य हुन्छ । विदेशी वाइन, ह्विस्की, रम अनि बियर हातमा लिएर नव तीज मनाइन्छ ।

अहिले तीजमा बज्ने गीतहरू : १) मायाको पोको चोखो छ चोखो बिहे अघि दिन्न लरी लरी लै, २) काले ले के के बोल्यो मलाई बिस्ताराले पोल्यो, ३) बिहे भाको छैन म म कुमारी नि होइन म खोइ यी गीतका रचनाकारहरूले कहाँ भेटे होलान् यी शब्दहरू ।

हुनसक्छ, तिनीहरूले बिर्से गीत, गजल, दोहोरीगीत सबै नेपाली साहित्यभित्र पर्दछन् । तीजगीत मौलिकता हराएको त पक्का हो । तर कता हरायो ? सासूबुहारी बिचको सम्बन्ध सान्दर्भिक गीत अनि सामाजिक समस्याहरू अचेलका तीज गीतहरूले त्यसका भाव किन बोक्न नसकेको होला ? गीतहरूले अश्लीलता भन्दा अरू केही भाव उठाएको देखिन्न अर्धनग्न भएर, परिवारका सदस्य सँगै बसेर हेर्न नमिल्ने गीतलाई कसरी गीत भन्ने हो ? सेन्सर बोर्डले कसरी यी गीतहरूलाई अनुमति दियो ? कुरोको चुरो बुझ्न गारो छ ?

तीज आउनु भन्दा एक महिना अघिदेखि तीजको दर शुरू हुन्छ पार्टी प्यालेसमा । अरूलाई देखाउन भए पनि भए नभएको सुनका गहना लगाएर जान्छन् । देखावटी गर्ने होडमा धेरै गहना देखाउँदा कति दिदीबहिनीहरू लुटपाटको शिकार भएका छन् । सामाजिक, मौलिक अनि सांस्कृतिक चाड भद्दा अनि छाडा हुँदै गएको छ । हुनेलाई त ठिक्कै छ भएको पैसा खर्च गर्छन् । नहुनेलाई आयो पर्व खुशी बोकेर, गयो पर्व ऋण छाडेर भन्दा अर्को उपाय छैन । अर्को प्रवृत्ति चलेको छ झन् डरलाग्दो गरी – टिकटकमा भ्यूज कमाउने । भाइरल हुने । यसैको बहानामा हुँदानहुँदा सामग्री, नृत्य ऊभन्दा म के कम भन्ने हिसाबमा पाइन्छ । यसरी संस्कृति बेचेर ब्यूज बढाई कमाएको धनले यिनलाई पोल्छ कि पोल्दैन होला ।

हरितालिका तीजको हरिबिजोग भएको छ । मेरो कानमा भने मेरै पालाको गीत ‘तीजको रहर आयो बरिलै’ नै गुञ्जिरहेको छ । मादल नै घन्किरहेको छ । तीजको नाममा देखिएका विकृतिले तीजको मौलिकता खोसेको छ । मौलिकताविहीन चाड पर्वले सांस्कृतिक मूल्यमान्यताहरू जोगाउन सक्दैन । त्यसैले भएका विकृतिहरूलाई हटाउँदै मौलिक रूपमै तीज मनाउनु पर्छ ।

सम्पूर्ण नारी वर्गमा तीजको शुभकामना !