प्रतिशोध कसैले गरेको कुनै अपकार वा हानिमा बदला लिनका लागि गरिने मानसिक वा अन्य कर्म हो । मानिसले साटो फेर्न प्रतिकारको बाटो रोज्छ । प्रतिशोधको भावना मानव स्वभावको गहिरो र जटिल पक्ष हो । यो मानव सभ्यताको प्रारम्भदेखि अस्तित्वमा छ । यसले समाज, संस्कृति, धर्म, राजनीति र व्यक्तिगत सम्बन्धमा प्रत्यक्ष प्रभाव पार्छ । अशान्त र क्षणिक सोचले प्रतिकारलाई जन्म दिन्छ ।  प्रतिकारको जन्म कलङ्कको मार्ग हो ।

एउटा मानिसले अर्को मानिसलाई गर्ने अन्याय वा अपमानले प्रतिशोधको भावना जन्माउँछ । व्यक्ति शारीरिक, मानसिक वा मनोवैज्ञानिक हानिको सिकार भएमा स्वाभाविक रूपमा उसमा प्रतिशोधको भावना जन्मन्छ । आफ्ने फाइदाका लागि अरुको हिन हुन नदिनु प्रतिशोधको नियन्त्रण हो ।

प्रतिशोध पीडाको बदलामा पीडा दिने प्रतिकारक भावना हो । अन्यायको विरोधमा प्रतिशोधको मनेवैज्ञानिक जन्म भएको हो । प्रतिशोध प्राकृतिक भावना हो । प्रतिशोधले मानवलाई आत्मसम्मान जोगाउन र न्यायको खोजी  गर्न नकारात्मक ढङ्गले प्रेरित गर्छ ।

प्रतिशोध व्यक्तिगत वा भावनात्मक रूपमा स्वाभाविक  देखिन्छ तर यसको प्रकृति र प्रभाव गहिरो हुन्छ । प्रतिशोधले व्यक्तिगत, पारिवारिक र सामाजिक सम्बन्धमा असन्तुलन ल्याउँछ । प्रतिशोध हिंसा र द्वन्द्वको कारक बन्न सक्छ । मानिसमा मनोवैज्ञानिक कारणले उत्पन्न हुने क्रोध, आक्रोश, ईर्ष्या जस्ता संवेग प्रतिशोधका स्रोत हुन् । आत्मसुरक्षा र अन्यायको सामना गर्ने आवश्यकताले प्रतिशोधको सृष्टि हुन्छ । प्रतिशोधको सम्बोधन नहुँदा यसले व्यक्ति वा समूहलाई नकारात्मक दिशामा धकेल्छ । प्रतिशोधको मात्रा बढ्दै गएमा र प्रतिशोधीको संख्या बढेमा यसले समाजलाई अधोगतितिर  लैजान्छ र समाजको न्यायिक व्यवस्था खलबल्याउँछ ।

मनोवैज्ञानिक दृष्टिमा मानिसले आफ्नो प्रशंसा र सामिजक दृष्टिमा सम्मान चाहन्छ । मानिस सम्मानमा रमाउँछ तर अपमान वा अन्यायलाई सहन सक्दैन । अपमानबाट प्रतिशोधको भावना उत्पन्न हुन्छ । व्यक्तिको आत्मसम्मानमा ठेस लाग्दा उसले मानसिक रूपमा असुरक्षा महसूस गर्छ । असुरक्षित मानिसले प्रतिशोधलाई प्रतिरक्षा प्रणालीको रूपमा विकास गर्छ । असुरक्षा वा अपमानको सामना गर्न मानिसले प्रतिकारात्मक व्यवहार विकास गर्छ । क्रोध, अपमान र असन्तुष्टि प्रतिकारात्मक  व्यवहारका प्रेरक हुन् । प्रतिकारात्मक व्यवहार सामाजिक व्यवस्थाका लागि घातक हुन्छ ।

मानिस सामाजिक प्राणी हो । प्रतिशोध सामाजिक समायोजनका लागि प्रत्युत्पादक हुन्छ । प्रतिशोधले समाजमा गहिरो असर पार्छ । यसले समाजका प्रत्येक अङ्गलाई निष्क्रिय बनाउँदै जान्छ । प्रतिशोध संक्रामक हुन्छ । यो एकल व्यक्तिबाट शुरू भएर धेरै मानिसमा फैलिन सक्छ । संक्रामक रोगले झैं महामारी फैलाएर यसले समाजका व्यक्ति र सामाजिक निकायको कार्यशक्तिलाई नकारात्मक बनाउँछ । समुदाय, समूह वा राष्ट्रले प्रतिशोधका कारण युद्ध, हिंसा, हत्या र विनाशकारी सङ्घर्षको अनुभव गरेका हुन्छन् । प्रतिशोधको भावना विकास हुँदा समाजिक विचलन भई विखण्डनको अवस्था सिर्जना हुन्छ । प्रतिशोधकै कारण हतियार निर्माण र प्रयोगको होड शुरू हुन्छ । विज्ञान र प्रविधिको दुरुपयोग हुन्छ । सूचना सञ्जालको चोरी र हानिकारक प्रयोग हुन्छ । अर्थतन्त्र र विकासको गति नकारात्मक हुन्छ । मानवीय र सांस्कृतिक सम्पदाको विनाश हुन्छ ।  आफैले सिर्जना गरेको विनाशपुञ्जमा मानिस सलबलाउन थाल्छ ।

पारिवारिक द्वन्द्व, जातीय विभाजन र राजनीतिक सङ्घर्षका मूल कारण प्रतिशोध नै हुन्छन् । मानिसले अन्यायको सामना गर्न कानुनी र शान्तिपूर्ण उपाय अपनाएन र प्रतिशोधको साथ लियो भने  समाजमा असन्तुलन र अस्थिरता उत्पन्न हुन्छ । प्रतिशोधकै कारण द्वन्द्वले द्वन्द्व जन्माउँछ । यसबाट समस्याको समाधानको सट्टा जटिलताको बहुश्रृङ्खला विकास हुन्छ । सामाजिक द्वन्द्वको श्रृङ्खला सामाजिक एकता खण्डित भई मानिसमा विखण्डित भावना विकास हुन्छ । यो विकास, व्यवस्था र उन्नतिको बाधक बनेर देखापर्छ ।

मानिसमा प्रतिशोधको भावना कहिले विकास भयो भन्ने त यकिन छैन तर यो प्राचीन छ । मानव इतिहासमा प्रतिशोधलाई  व्यक्तिगत वा सामूहिक न्यायको रूपमा लिइएको छ । प्राचीन मेसोपोटामियाको हामुराबीको कोडलाई प्रतिशोध कानूनकै रूपमा लिन सकिन्छ । यस कानूनी व्यवस्थामा आँखाको बदला आँखा सिद्धान्त अपनाइएको थियो । यसमा यदि कसैले कुनै व्यक्तिलाई क्षति पुर्‍यायो भने उसलाई समान रूपले क्षति पुर्‍याउन वैधानिक अनुमति दिइन्थ्यो । कतिपय समाजमा हत्याको बदला हत्यालाई गौरवका रूपमा लिने प्रचलन थियो ।

प्राचीन ग्रिक र रोमन सभ्यतामा पनि प्रतिशोधको अवधारणा प्रचलित थियो । होमरको महाकाव्य इलियडमा ट्रोजन युद्धको कथा प्रतिशोधकै कारणले उत्पन्न भएको देखिन्छ । यसमा युद्धको प्रारम्भ नै व्यक्तिगत अपमानको प्रतिफलका लागि भएको छ । प्रतिशोधको भावना व्यक्तिगत मात्र नभई राष्ट्रको निर्णयमा पनि देखिन्छ । कतिपय राष्ट्रले प्रतिशोधकै कारण अर्को राष्ट्रलाई शत्रु घोषणा गरेका छन् । युद्धको घोषणा गरेका छन् । विश्वयुद्धका पछि पनि प्रतिशोध नै लुकेको छ । प्रसिद्ध साहित्यकारले पनि प्रतिशोधलाई विषयवस्तु बनाएका छन् । समाज र विश्व आधुनिक भए पनि प्रतिशोध मानिसको सोचबाट टाढा हुन सकेको छैन । मानिसलाई प्रतिशोधले आफ्नै अवयव बनाएको छ ।

प्रतिशोध र न्याय विपरीत ध्रुवमा हुन्छन् । प्रतिशोध न्यायविरोधी हुन्छ । प्रतिशोध व्यक्तिगत क्रोध र अन्यायको विरुद्धमा  व्यक्त हुन्छ । न्याय निष्पक्षता र  तटस्थतामा हुन्छ ।  प्रतिशोध भावनात्मक प्रतिक्रिया आधारित हुन्छ, न्याय निष्पक्ष प्रक्रियामा आधारित हुन्छ । प्रतिशोधले समाजमा विसङ्गति निम्त्याउँछ । न्यायले समाजमा शान्ति, समानता र तटस्थता कायम गर्न खोज्छ । प्रतिशोध पछ्याउने समाज अधोगतितिर लाग्छ, न्यायको पालनाले इमानदारीको पहिचान कायम राख्छ । न्यायको परिणति सभ्यताको विकास हुन्छ ।

न्यायले व्यक्तिको क्रोध र आक्रोशलाई कानुनी रूपले सम्बोधन गर्छ । यसमा व्यक्तिगत प्रतिवाद वा  बदलाको भावना हुँदैन । कानूनको पालना न्यायको विशेषता हो । यो प्रतिशोधको विपरीत चरित्र हो । न्यायले समाजमा एकरूपता र स्थायित्व कायम गर्छ । न्याय सम्पादनमा अवधि हुन्छ तर प्रतिकार तत्काल हुन्छ । क्षणिक सोचका मानिसले प्रतिशोधलाई समाधान ठान्छन् तर  प्रतिशोध अस्थायी समाधान हो । यसले तत्कालको पीडालाई केही समयका लागि कम गर्न सक्छ तर दीर्घकालीन समाधान प्रदान गर्दैन । दीर्घकालीन समाधान र  अनन्त शान्ति प्रतिशोधको त्याग हो ।

प्रतिशोधको सामना क्षमाबाट हुन्छ । क्षमा प्रतिशोधको विपरीत शान्ति र सद्भावको मार्ग हो । क्षमाले प्रतिशोध शमन गर्छ । मानिसले आफ्नो अपमान वा अन्यायलाई क्षमा गर्न सक्यो भने व्यक्तिगत र सामाजिक शान्तिको स्थापना हुन्छ । क्षमाशीलता अरूको गल्तीलाई माफी दिनु हो । यो मानिसको मानसिक र भावनात्मक स्वास्थ्यको सुधार पनि हो । क्षमाशील मानिसमा तनाव, क्रोध र मानसिक असन्तुलन कम हुन्छ । प्रतिशोधविहीन वा क्षमाशील मानिस  भावनात्मक रूपमा सन्तुलित र सक्षम हुन्छन् । प्रतिशोधले तनाव र द्वन्द्वलाई बढाउँछ, क्षमाशीलताले शान्ति र सन्तुलन ल्याउँछ ।

प्रतिशोधको भावना प्राकृतिक हो तर यसलाई नियन्त्रण गर्न सकिन्छ । मनोवैज्ञानिक परामर्श, ध्यान र आत्मचिन्तनले मानिसलाई सकारात्मक बनाउँछ ।  पठन संस्कार पनि  प्रतिशोध विरोधी हुन्छ । पढाइले मानिसलाई नम्र बनाउँछ । यसले प्रतिशोधको भावनालाई हिंसात्मक हुनबाट बचाउँछ । हिंसात्मक भावनाको त्याग प्रतिशोध निराकरणको उपाय हो ।

कानूनको पालना प्रतिशोधको भावना घटाउने अर्को उपाय हो । कानुनी प्रणाली निष्पक्ष र प्रभावकारी भएमा अन्यायको सामना गर्दा प्रतिशोधको सट्टा न्यायको खोजी हुन्छ । यसबाट  हिंसा र द्वन्द्वमा पनि कमी आउँछ ।

वर्तमान विश्वमा समाज बदलिएको छ । आधुनिक समाजमा प्रतिशोधलाई व्यक्तिगत र कानुनी दृष्टिले स्वीकार गरिंदैन । मानिसले  मानवअधिकार खोज्छ । मानव अधिकार र न्यायिक प्रणालीले प्रतिशोधको स्थानमा कानुनी प्रक्रियालाई प्राथमिकता दिन्छन् । समाजमा हिंसा र द्वन्द्व कम गर्न मानिसलाई प्रतिशोधमा होइन कानूनमा विश्वास गर्ने बनाउनुपर्छ । यसले सामाजिक स्थायित्व र शान्ति कायम गर्न मद्दत पुर्‍याउँछ । प्रतिशोधको भावना व्यक्तिगत वा सामूहिक रूपमा उत्पन्न भएमा कानुनी उपायले समाधान खोज्नुपर्छ । यसबाट सभ्य समाज निर्माण हुन्छ । सभ्य समाजको निर्माण विकसित मानिसको पहिचान हो । प्रतिशोधविहीन मानिस असल समाजको शृङ्गार हो ।

प्रतिशोधले व्यक्तिलाई जलाउँछ । मानिसको सोचमा प्रतिशोधले बास गर्नुहुन्न । म प्रतिशोधलाई सोचको घरमा बास दिन सक्दिनँ ।